पृथ्वी राजमार्गतिर हेर त सरकार
देशको राजधानी काठमाडौंलाई बाँकी नेपालसँग सडक यातायातबाट जोड्ने एउटै पृथ्वी राजमार्ग छ। पूर्वदेखि पश्चिमका लागि भरोसायोग्य अरू विकल्प छैन। अर्थात् देशको मूल राजमार्ग नै यसैलाई भन्दा हुन्छ। तर, यसको हालत राजमार्गको जस्तोचाहिँ छैन। साँघुरो सडक छ, विकसित देशहरूका नजरबाट हेर्दा यसलाई राजमार्ग भन्ने स्तर पुगेको छैन। बल्लतल्ल दुई लेनको सडक छ। तै मुग्लिनबाट पोखरातिर भने फराकिलो सडक बनिसक्यो, काठमाडौं–मुग्लिनको काम भइरहेको भए पनि कहिले पूरा हुने हो थाहा छैन।
दैनिक हजारौं गाडी गुड्दा धन्न धानेको छ भन्नुपर्छ पृथ्वी राजमार्गले। जति नै स्तरीय सडक भए पनि मेसनरी चिज भएका हुँदा गाडीहरू जहाँ कहीँ बिग्रन सक्ने हुन्छन् नै झन् पृथ्वी राजमार्ग त कुनै न कुनै ठूलासाना गाडी दिनहुँ बिग्रन्छन् वा दुर्घटित हुन्छन्। अनि एकाध गाडीका कारण पूरै राजमार्गलाई पक्षघात लागेजस्तो हुन्छ, गाडी आवातजावतमा अवरोध पुग्छ।
राजमार्गमा सम्भावित दुर्घटनालाई ख्याल गर्दै बिग्रेका वा दुर्घटित गाडी पन्छाएर अरूलाई ओहोरदोहोर गर्ने बाटो खुला तत्काल गरिनुपर्छ। पृथ्वी राजमार्गमा भने त्यस्ता गाडी पन्छाउने ठूला उपकरण नै छैनन्। अनि कहिले घण्टौं कुरेपछि क्रेन ल्याएर पन्छाइन्छ त कहिले बीच सडकमै गाडी मर्मत गरिन्छ। हाम्रो पहाडी भूगोलमै पनि कम्तीमा डेडिकेटेड दुई लेन हुनैपर्छ। अहिले जस्तो नाममात्रको दुई लेन होइन।
ठूला राजमार्गहरू कम्तीमा पनि ४÷६ लेनका हुनुपर्छ। अनि त्यस्ता राजमार्गमा सर्भिस लेन भन्ने छुट्टै ठाउँ खाली हुन्छ, जहाँ विस्तारै सवारी चलाउन वा बिग्रेका वा दुर्घटित गाडी थान्को लगाएर मर्मतसम्म गर्न सकिन्छ। अहिल्यै त्यो परिकल्पना टाढाको कुरा भयो, किनभने नेपाल सरकार बल्लतल्ल पृथ्वी राजमार्गको स्तरोन्नतिको चरणमा छ। निकट भविष्यमा त्यो सुविधा पनि होला। त्यतिबेला पनि र अहिले पनि हुनै पर्ने सुविधा भनेको ड्युटी उपकरणको चाहिँ अनिवार्य नै हो। अर्थात् ठूला क्रेन र आधुनिक रिकभरी प्रणाली। त्यसको यथोचित व्यवस्थाका लागि सरकारले कुनै आइतबार कुर्नु पर्दैन, यो राजमार्ग स्तरोन्नतिजस्तो समय लाग्ने वा लगाउनुपर्ने चिज होइन।
पृथ्वी राजमार्ग केवल यात्रु ओसारपसार गर्ने गाडी कुद्ने सडक होइन, सरसामान ढुवानीका साधन पनि यही बाटो कुद्छन् र राजधानीको पेट भर्छन्। एक किसिमले भन्ने हो भने यो देशको अर्थतन्त्रको एउटा महŒवपूर्ण धमनी हो, राजधानी र सिंगै देशको मेरुदण्ड पनि हो। बिरामी पनि यही सडक हुँदै उपचारका लागि लैजानुपर्छ, खाद्यान्न र औद्योगिक कच्चा पदार्थ पनि। बर्खाको बेला भएको हुँदा पहिरो पन्छाउने उपकरण र भवितव्य भइहाल्ने उद्धारका सामग्रीको यथोचित व्यवस्था गर्न राज्यको ध्यान नपुग्नु ठूलो विडम्बना हो।
चौबिसैघण्टा सदावहार चलायमान भइरहनुपर्ने यो राजमार्गको बाध्यता सरकारले बुझ्नुपर्छ। चलायमान बनाइरहन आवश्यक यन्त्र उपकरणको व्यवस्था यथाशीघ्र गरिनुपर्छ। सानो खति, ठूलो खाँचो भने झै आजको जमानामा सर्वत्र उपलब्ध हुने ड्युटी उपकरणको खाँचो सरकारले तत्काल पूरा गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !