डिभिजन वन कार्यालयको गाडीको ठक्करबाट महिलाको मृत्यु
झापा : झापामा डिभिजन वन कार्यालयको गाडीको ठक्करबाट सिटी सफारीमा सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ निवासी ४० वर्षीया आरती उराउ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान १०:४५ बजे मेचीनगर १५ कालिकास्थित भित्री सडक खण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्र ०१–००२ झ ७३६० नम्बरको स्कोरपियो गाडीसँग ठोकिँदा दुर्घटना भएको थियो। दुर्घटनामा सिटी सफारीमा सवार महिला उराउ गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा बिहान ११:१५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो।
दुर्घटनापछि स्कोरपियो गाडी फरार भएको थियो। इलाका प्रहरी कार्यालय काँकडभिट्टाकाको टोलीले बिहान ११ः५० बजे मेचीनगर ४ बाहुनडाँगीबाट गाडी र गाडी चालक भद्रपुर नगरपालिका १० निवासी ५४ वर्षीय लीला श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। सिटी सफारी चालक मेचीनगर ६ निवासी ४५ वर्षीय गम्भीर प्रसाद बातरलाई प्रहरी चौकी ज्यामिरगढीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस !