युक्रेनको ड्रोन प्रदर्शनीमा रुसकाे हमला: १० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
किभ : युक्रेनको राजधानी किभ नजिकै आयोजित ड्रोन प्रविधि सम्बन्धी एक प्रदर्शनीलाई लक्षित गरी रुसले गरेको ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार रक्षा क्षेत्रका प्रमुख व्यक्तित्वहरू तथा प्रविधि विशेषज्ञहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा दिउँसोको समयमा घातक हमला भएको हो।ड्रोन प्रदर्शनी स्थलमा ३ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएकोमा एउटालाई मात्र युक्रेनी वायुसेनाले विफल पार्न सफल भएको थियो। पूर्वी शहर स्लोभियान्स्कमा रुसी ग्लाइड बम प्रहारबाट ५ जनाको ज्यान गएको छ।
उत्तरी शहर सुमीमा भएका आक्रमणमा परि २ जनाको मृत्यु भएको सैन्य अधिकारीहरूले पुष्टि गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले रुसले आगामी ४८ घण्टाभित्र अर्को ठूलो क्षेप्यास्त्र आक्रमण गर्न सक्ने गुप्तचर सूचना प्राप्त भएको जानकारी दिएका छन्। यता युक्रेनले पनि रुसी भूभागभित्र ६०० माइल (अन्दाजी १,००० किमी) टाढा रहेको किरोभ शहरस्थित सैन्य कारखानामा आक्रमण गरेको छ। उक्त कारखानाले रुसी विमान तथा क्षेप्यास्त्रका लागि आवश्यक पुर्जाहरू निर्माण गर्दै आएको थियो।
उक्त आक्रमणमा ६ जनाको मृत्यु र २६ जना घाइते भएको जनाइएको छ। यसका साथै युक्रेनले रुसको ठूलो अनलाइन व्यापारिक संस्था वाइल्डबेरीजका गोदामहरूलाई समेत निशाना बनाएको छ।
रुसी रक्षा मन्त्रालयले आक्रमणको पुष्टि गर्दै रुसी भूभागमा हमलाको योजना बनाउने तथा ड्रोन निर्माणमा संलग्न अधिकारीहरू उपस्थित रहेको स्थलमा उच्च-सटीक प्रविधिको क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ।
युद्धको समयमा यति ठूलो सार्वजनिक कार्यक्रम आयोजना गरिनु र व्यापक प्रचारप्रसार हुनुमा युक्रेनभित्र तीव्र आक्रोश व्यक्त भएको छ।राष्ट्रपति जेलेन्स्की र युक्रेनका महान्यायाधिवक्ताले घटनाको आयोजना कसको निर्णयमा भएको थियो र सुरक्षाका के-कस्ता उपाय अपनाइएका थिए भन्ने विषयमा छानबिन सुरु गरिएको बताएका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्की अर्को साता अमेरिका जाने र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। रोमानियामा रुसी ड्रोन खसालियोस् रोमानियाको वायुसीमा उल्लङ्घन गरेको रुसी ड्रोनलाई रोमानियाली फाइटर जेटले खसालेको रोमानियाका राष्ट्रपति निकोसार डानले पुष्टि गरेका छन्।
प्रतिक्रिया दिनुहोस !