भूकम्पले भत्काएका १४ हजार लघु उद्यम पुनर्स्थापित
रातमाटे (नुवाकोट): भूकम्पले आफ्नो घरलाई क्षतविक्षत बनाइदिएको एक वर्षपछि अरुकुमार राई पहिलेकै अवस्थामा नियमित आम्दानी गर्नसक्ने उद्यमी भएका छन्।
राईले दैनिक पाँच बोरा सिमेन्ट र बालुवा प्रयोग गरी चार सय ५० वटा ब्लक बनाएर आफ्नो आम्दानी मात्र बढाएका छैनन्, अरूलाई घर बनाउन सहज बनाइदिएका छन्। दुईजनालाई रोजगारी पनि दिएका छन्। उनकी श्रीमतीका लागि पनि बारीमा तरकारी बाली लगाएर आम्दानी गर्ने बाटो पुनः खुलेको छ। मोबाइल र टीभी मर्मत गर्ने सीप भएका राईले आफ्नो विद्युतीय पसललाई पनि पुनस्र्थापित गरेका छन्।
नुवाकोटको रातमाटे गाविसस्थित रातमाटेटारका राईसहित एक सय ३० परिवार त्रिशूली नदीको पानी बिजुलीको मद्दतबाट माथि तानेर टारलाई हरियाली बनाउन सफल भएका छन्। गत वर्ष वैशाख १२ र २९ गते आएको भूकम्पले रातमाटेटारमा बस्ने घर मात्रै भत्काएको थिएन, त्रिशूलीको पानी तानेर जम्मा गर्ने जलाशयलाई पनि चर्काइदिएपछि तरकारी बेचेर हुने आम्दानी रोकिएको थियो।
शीघ्र उद्यम पुनरोत्थान परियोजना (आरईएलआरपी) को दुई लाख ७१ हजार रुपैयाँ सहयोगले जलाशय मर्मत गरेपछि रातमाटेटारको तीन सय रोपनी जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइएको लघु उद्यमी संघ नुवाकोटकी कार्यक्रम संयोजक मेखामाया तामाङले बताइन्। परियोजनाले किसानले उत्पादन गरेका तरकारी बिक्री गर्न रातमाटेटार फूलबारी तरकारी संकलन तथा बिक्री साझा केन्द्रको पक्की भवन निर्माण गरिदिएको छ।
भूकम्पपछि निराश भइसकेका विदुर नगरपालिका ७ ढाका कपडा बुन्ने महिला उद्यमीले पनि व्यवसाय अगाडि बढाउन थालेका छन्।२०६२ देखि ढाकाका कपडा बुनेर आयआर्जन गर्दै आएका १० जना महिला भूकम्पले उनीहरूका तान क्षतविक्षत बनाएपछि निराश थिए।
आरईएलआरपीले सहयोग गरेपछि थप १३ जना भूकम्पबाट प्रभावित महिला पनि उद्यमी भएर निस्किएका छन्। अहिले २३ जना महिलालाई व्यवसाय विस्तार गर्न मार्गप्रशस्त भएको छ। भवनमा ढाकाको कपडा बुन्ने तान राख्ने, बिक्री कक्ष र बच्चा राख्ने कोठा छुट्टाछुट्टै बनाइएको छ।
'उद्यमी महिलाले मन लगाएर काम गरिरहनु एको छ। अरू महिला साथी पनि थपिनुभएको छ', अगुवा महिला उद्यमी विन्दा गजुरेलले भनिन्। उनका अनुसार भूकम्पपीडित महिला मासिक पाँच हजारदेखि १३ हजार रुपैयाँसम्म ढाकाको कपडा बुनेर आम्दानी गर्न सक्ने भएका छन्।
लघु उद्यमशीलतको अवस्था अवलोकन गर्न आएका नेपालका लागि अस्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले विदेशीलाई बढी मूल्यमा ढाकाका कपडा बेच्न सल्लाह दिए।
'अस्ट्रेलियाको सहयोगमा नेपालमा सञ्चालित लघु उद्यम पुनरोत्थान कार्यक्रमका यी परिणाम हेर्न उत्सुक थिए। कार्यक्रमको तीव्रता र प्रभावकारिता महत्वपूर्ण रहेको पाए।
आफ्नो घर र व्यवसाय गुमाएका लघु उद्यमी आफ्नो खुट्टामा उभिन, जीविकोपार्जनका लागि आम्दानी गर्नसक्ने भएका छन्', राजदूत ह्वाइटले भने।
राजदूत ह्वाइटसँगै स्थानीय उद्यमशीलताको अवलोकन गर्न आएका संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा निर्देशक रेनो मेयरले साझा भवनको निर्माणले उद्यमीलाई आफ्नो उत्पादनको मूल्य बढाउन सक्ने हैसियत कायम भएको बताए।
'लघु उद्यमीहरूले उनीहरूको व्यवसाय गुमाएका थिए तर सीप गुमाएका थिएनन्। शीघ्र उद्यम पुनरोत्थान परियोजनामार्फत मनोसामाजिक परामर्श, प्रविधि, तालिम, बजार र वित्तीय सम्बन्धलाई जोड्न सफल भयौं। हामीले समयमै पुर्याएको सहयोगका कारण हजारौं उद्यमीले व्यवसाय पुनः सञ्चालन गर्न सकेका छन्', मायरले भने।
अस्ट्रेलियाको व्यापार तथा अन्तर्राष्ट्रिय विभागको आर्थिक सहयोगमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले सन् १९९८ देखि २०१५ को अवधिमा सातवटा जिल्लामा सञ्चालन गर्दै आएको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत १३ हजार सात सय गरिब तथा सीमान्तकृत महिला र पुरुषलाई उद्यमी बनाइएको थियो।
त्यसमध्ये १२ हजार ५९ वटा लघु उद्यमीले व्यवसाय र घर दुवै गुमाएका थिए। नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, काभ्रे, रामेछाप, दोलखा र सिन्धुलीमा निर्माण भएका एक सय १४ वटा साझा सुविधा केन्द्रलाई पनि भूकम्पले भत्काइदिएको थियो।
अस्ट्रेलियाले ६४ करोड रुपैयाँ सहयोगमा ती जिल्लामा १४ हजार जनालाई लघु उद्यमी बनाइएको र एक सय ३९ वटा साझा सुविधा केन्द्र निर्माण गरिएको जानकारी परियोजनाका इन्जिनियर प्रकाश बीसीले दिए।
भूकम्प प्रभावित उद्यमीलाई आफ्नो व्यवसाय पुनः सञ्चालन गरी जीविकोपार्जनलाई पुनस्र्थापना गर्नका लागि तत्काल सहयोग गर्ने र भूकम्प प्रभावित मानिसलाई नयाँ लघु उद्यम स्थापना गर्न सहयोग गरेर सामाजिक सद्भाव र स्थानीय आर्थिक समृद्धिलाई प्रवद्र्धन गर्नु कार्यक्रमको उद्देश्य रहेको प्रबन्धक शैलेन्द्र थकालीले बताए।
उनका अनुसार एउटा क्लस्टरमा चार सय ५० देखि पाँच सय लघु उद्यम पर्ने गरी २२ वटा क्लस्टर बनाएर कार्यक्रम सञ्चालन गरिएको थियो। नुवाकोटमा सञ्चालन गरिएको दुई हजार एक सय १९ वटा लघु उद्यम कार्यक्रममा करिब एक हजार आठ सय ५० भूकम्पपीडित महिला सहभागी थिए।
एनजीओलाई १९ हजार निर्माण जिम्मा
राष्ट्रिय पुननिर्माण प्राधिकरणले हालसम्म १९ हजार चार सय ५२ वटा निजी आवास पुनर्निर्माणमा सहयोग पुर्याउन गैरसरकारी संस्थालाई जिम्मा दिएको छ। ती गैरसरकारी संस्थाले निजी आवास निर्माणमा सहयोग गर्ने इच्छासहित पेस गरेको प्रस्तावलाई प्राधिकरणले स्वीकृति दिएको हो।
नेपाल रेडक्रस सोसाइटीले ६ हजार, कारितास नेपालले चार हजार चार सय ४०, लुथरन नेपाल फाउन्डेसनले दुई हजार एक सय २४, सेभ द चिल्ड्रेनले एक हजार ६ सय, हेलवेटास नेपालले एक हजार, लुमन्तीले आठ सय ५०, टियर फन्डले ६ सय निजी आवास निर्माणमा सहयोग गर्ने जिम्मा लिएका हुन्।
प्राधिकरणका सहप्रवक्ता भीष्मकुमार भुसालका अनुसार निजी आवाससहित अन्य कार्यक्रम सञ्चालन गर्न १७ वटा संस्थाले २२ अर्ब ३६ करोड ५९ लाख सात हजार दुई सय ४४ रुपैयाँ खर्च गर्ने प्रस्ताव गरेका छन्।