बाह्र कलाकारलाई नाचघरको सम्मान

 बाह्र कलाकारलाई   नाचघरको सम्मान

काठमाडौं (अन्नपूर्ण): सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले स्थापनाको ४४ औं वार्षिकोत्सवमा आइतबार २५ वर्ष सेवा पूरा गरेका १२ जना कलाकारलाई दीर्घसेवा सम्मान प्रदान गरेको छ।

सम्मानित हुने कलाकारमा नाटक निर्देशक वीरेन्द्र हमाल, नृत्य निर्देशक केशवराज राई, नृत्यकलाकार मदन थापा, नरेन्द्रकुमार आले, अञ्जु रञ्जितकार, मनोज जोशी, गायक वाद्यवादक खर्कबहादुर बुढा, कृष्णबहादुर गुरुङ, नरसिंहलाल श्रेष्ठ, लोकराज राई र कर्मचारी विधा राना तथा हरिहर खड्का रहेका छन्।

कार्यक्रममा कलाकार विजय मानन्धर, शारदादेवी सिलवाल, रमेश केसी मट्टारे, सुशीला थापा एवं कर्मचारी दीपक पौडेल र चन्द्रा पौडेललाई जनही पाँच हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।

वार्षिकोत्सवको अवसरमा संस्थानका कर्मचारीबीच भएको विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई पनि पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशी र संस्कृति मन्त्रालय संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदीले संस्थानबाट प्रकाशन सुरु गरिएको चौमासिक बुलेटिन 'हाम्रो संस्कृति'को संयुक्त रूपमा विमोचन गरेका थिए।

 

कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले २०१६ सालमा आफूलाई पुरातत्व एवं संस्कृति विभाग निर्देशकमा नियुक्त गरिएपछि जमलको काठ गोदामलाई लिलाममा लिएर अहिलेको राष्ट्रिय नाचघर बनाएको स्मरण गरे। 'विभिन्न व्यक्तिको योगदानबाट अहिलेको सुविधासम्पन्न नाचघर बनेको हो', जोशीले भने।

संस्थानका महाप्रबन्धक राजेश थापाले सांस्कृतिक संस्थानमा आफू नियुक्त भए यता १० महिनामा गरेका काममाथि प्रकाश पारेका थिए। नेपाली कला संस्कृतिको संरक्षण, प्रदर्शन, प्रवद्र्धनमा आगामी दिनमा अझै धेरै काम गर्ने प्रतिबद्धता पनि उनले जनाए।

संस्थानका पूर्वमहाप्रबन्धक हरिहर शर्माले नयाँ नाचघर बनाउँदा आफुले खेप्नु परेको मुद्दा मामला र तनावका कारण मुटुरोगी भएको बताए। 'तर अहिले सांस्कृतिक संस्थानले गरेको प्रगति देख्दा पुराना पीडा सबै भुल्छु', शर्माले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.