दुई पुस्ताको मिलन इदमित्थम

दुई पुस्ताको मिलन इदमित्थम

विनीता मरहट्टा

काठमाडौं: कलाकार सुनील पोखरेल लामो समयपछि रंगमञ्चमा देखा परेका छन् । सोमनाथ खनालद्वारा निर्देशित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘इदमित्थम, एट यो ओन रिस्क'मार्फत सुनील थिएटरमा कमब्याक गरेका हुन् ।

नेपाली रंगमञ्चलाई अहिलेको अवस्थासम्म पुर्‍याउन सुनीलको ठूलो योगदान रहेको छ । रंगमञ्चमा भर्खरै स्थान बनाउँदै गएका सोमनाथको निर्देशनमा सुनीलको अभिनयले दुई पुस्ताको मेल गराएको छ । पुरानै पुस्ताका लेखक सरुभक्त, पुराना कलाकार र नयाँ निर्देशकलाई जोड्ने पुल इदमित्थम बनेको छ ।

प्राय नयाँ र पुराना पुस्ताबीच सोच विचार र कार्यशैलीमै बिमेल हुने गर्छ तर यो नाटकमा दुई पुस्ताको गजबको संयोग देखिन्छ । असार २ गते सुनीलको जन्मदिनको अवसर पारेर मञ्चन सुरु गरिएको नाटकप्रति दर्शकको चासो बढी देखिएको छ ।

आफ्नै गुरुलाई निर्देशन गर्नु सोमनाथका लागि सजिलो काम होइन तर यही कामबाट उनले जीवनको ठूलो इच्छा पूरा गरेका छन् । युवा पुस्तासँग काम गर्न रुचाउने सुनीललाई पनि यो नाटकप्रतिको उत्साह उस्तै थियो ।

पछिल्लो समय निर्देशकका रूपमा मात्र देख्न पाइएको सुनीललाई अभिनेताको रूपमा मञ्चमा देख्न पाउँदा रंगकर्मीहरूमै पनि बढी उत्साह देखिएको छ ।

सुनीलको एकल प्रस्तुति नाटकप्रतिको रुचि बढाउने अर्को कारण हो । सुनील कस्तो र कुन रूपमा देखा पर्छन् होला भन्ने उत्साह धेरैको थियो । तर जब सुनील मञ्चमा देखिए, उनी बाहिर भेटिने सुनीलभन्दा फरक देखिएनन् । उही साधारण शैलीमा उनको आगमन भयो ।

सुनीलको साधारण शैलीमा सेट भने अनावश्यक ठूलो देखियो । राजनीतिक विषयवस्तु र एक साधारण व्यक्तिको धारणा नाटकको मुख्य विषयवस्तु हो । मनभित्र प्रेमको गहिरो चोट अनि घाइते शरीर लिएर बाँचेको एक व्यक्तिको जीवनप्रतिको बुझाइ नाटकले देखाएको छ । अनुभवी कलाकार भए पनि त्यति धेरै सक्रिय नभइरहेको अवस्थामा उनको प्रस्तुति राम्रो मान्नेहरूले प्रशंसा गरे ।

सुनील आफैंले आफ्ना कमजोरीलाई स्वीकार गरेका छन् । उनले बीचबीचमा संवाद बिर्सिए, लाइटमा फोकस आउट भए । ‘मेरो प्रेम तपाईंले चुनावमा टिकट नपाएजस्तै भयो', ‘घाइतेलाई जिन्दगी कविताजस्तो होइन अकविता जस्तो लाग्छ' जस्ता मार्मिक संवादहरूले नाटकलाई रमाइलोसँगै मार्मिक बनाएको छ ।

सेटको कुनाकुनाबाट रक्सीका बोतल निकाल्दै पिएको दृश्यहरू दर्शकलाई सबैभन्दा रोचक लाग्छ । सुनीलको आनीबानी थाहा पाएकालाई यो दृश्य उनको जीवनसँग ठ्याक्कै मेल खाएजस्तो लाग्छ । ५५ मिनेट लामो नाटकमा दर्शकलाई एकैछिन पनि सुनीलबाट दृष्टि हटाउने इच्छा हुँदैन । नाटक असार ११ गतेसम्म मञ्चन हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.