महाराजजीको समाधि-२
नयाँबजारबाट बालाजु जाने बाटोमा विष्णुमती पुलवारिबाटै दायाँतिर मोडिएपछि सय मिटर जति कच्ची बाटो हिँडेर करिब पचास सिँढी उक्लिँदा रूखैरूखले घेरिएको मनमोहक ठाउँमा पुगिन्छ। सहरको धूलोधुँवा र कोलाहलभन्दा दुई सय मिटरमात्रै टाढा यति स्वच्छ ठाउँ होला भनेर कल्पनासम्म गर्न सकिँदैन।
काठमान्डु नभएर अर्कै ठाउँ होला कि भनेर भान दिने ससाना परम्परागत घरमध्ये एउटामा हामी जुत्ता खोलेर पस्यौँ।सानो खुला हल र बाहिरको चोकमा करिब ७० जना साधक बेग्लाबेग्लै भावभंगीमा र मुद्रामा मग्न थिए। कसैलाई कसैको पर्वाह थिएन। को आयो, को गयो भन्ने शुद्धिसमेत कसैलाई थिएन।
एकजना अधबैंसे अट्टहास गरिरहेका थिए, एउटी किशोरी मोहक नृत्यको तालमा थिइन्, अर्की युवती आँखा बन्द गरेर मुखबाट नानाभाँती आवाज निकालिइरहेकी थिइन्। बलिष्ठ युवक घोडाजस्तो मुद्रामा जमिनमा मुड्की ठोकिरहेका थिए, सँगैका अर्का युवक कुनै तालमा हल्लिरहेका थिए। कोही हाँसिरहेका, कोही रोइरहेका, कोही गाइरहेका, कोही नाचिरहेका, कोही मन्त्रोच्चारण गरिरहेका।
मलाई थाहा थियो- म कुनै पागलहरूको बस्तीमा पुगेको थिइनँ। यहाँ सिद्ध महायोगको साधना चलिरहेको थियो।नजिकै सेतो बर्को र सेतै लुंगीले बेरिएका महात्मा खराउ लगाएर उभिएका थिए। उनको बाक्लो लामो दाह्री कालै थियो। जुडो बाँधेको कालो कपाल पनि टलक्क टल्किएको थियो। हृष्टपुष्ट र जवान थिए।
उनी थिए, कृष्णदासजी महाराज जसले करिब अढाइ महिनाअघि पोखरामा अक्सिजनबिना नौ दिनसम्म काठको बाकसमा समाधि बसेर वाहवाही कमाइसकेका थिए। कतिपयले उनी समाधि बसेको विषयलाई हावादारी र फाइँफुट्टी भनेका थिए। म भने कृष्णदासजी महाराजको 'समाधि'लाई हो वा होइन, दुवै भन्न सक्ने स्थितिमा थिइनँ।
रामप्रीत बाबाले योगीहरू सुषुम्नामा प्रवेश गरेर नादब्रम्हमा एकाकार हुँदै समाधिमा जान सक्ने त बताएका थिए तर कृष्णदासजी महाराजको विषयमा उनलाई पनि थाहा थिएन। (यसबारे मैले महाराजजीको समाधि शीर्षकमा यसअघि नै लेखिसकेको छु।)
म एकपटक कृष्णदासजी महाराजलाई नै भेटेर समाधिबारे जान्न चाहन्थेँ। हरेक विषयमा 'ब्ल्याक एन्ड ह्वाइट' धारणा बनाउनुभन्दा त्यसका हजारौं आयामहरूलाई बुझ्नुपर्छ भन्नेमा म स्पष्ट थिएँ।
मैले परिचय दिएपछि महाराजजी मुसुक्क हाँसे र भने, 'मैले तपाईंले लेखेको पढेको थिएँ, लेखकै आधारमा तपाईंको आध्यात्मिक जिज्ञासा महसुस गरेको थिएँ।'
एकैछिनको भलाकुसारीपछि उनले मलाई साधनास्थलबाट पूर्वतिर रहेको ठूलो घर हुँदै चोकमा पुर्याए जहाँ केही भक्तहरू रोटी बेलिरहेका थिए, कोही तरकारी पकाइरहेका थिए। हरेक शनिबार यहाँ भण्डारा हुने गरेको थियो।
त्यहाँबाट फेरि अर्को घर हुँदै हामी बगैँचातिर पुग्यौँ। सिमेन्ट छापेको साँघुरो बाटो हुँदै हामी एउटा मन्दिरजस्तो सानो घरमा पुग्यौँ। उनले मन्दिरको काठको ढोकाको पुरानो खालको सांग्लो उघारे र बिस्तारै भने, 'बाबु, म त जम्मा नौ दिनमात्र समाधि बसेको हुँ, यहाँ तीनजना सिद्ध योगीहरू विगत चार सय १० वर्षदेखि समाधिमा लीन हुनुहुन्छ।'
'कति वर्ष ? ' मेरो मुखबाट अचानक निस्कियो।चार सय १० वर्षदेखि कोही समाधिमा बसिरहेको मेरो लागि ठट्टाबाहेक अरू के हुन सक्छ? चार सय १० सेकेन्ड पनि कोही समाधि बस्न सक्दैन भनेर ठोकुवा गर्ने समाजमा यो जानकारी एकदमै अपत्यारिलो र अविश्वसनीय थियो।महाराजजीले मलाई रोचक ढंगले समाधिका केही प्रसंगहरू सुनाए जसको आधारमा मैले यसपटकको काठमान्डु कथा तयार गरेँ।
...
रामानन्दचार्य उत्तर भारतका महान् सन्त हुन्। सयौं वर्षअघि उनले नेपालको सुनसरी जिल्लास्थित विश्वामित्र आ श्रममा तपस्या गरेका थिए। आ श्रमनजिकैको रामधुनीमा उनै रामानन्दचार्यको शीष्यत्वमा गोश्वामी तुलसीदासजीले सम्पूर्ण रामायणको अध्ययन गरेका थिए। पछि तुलसीदासजी काशी गए र श्रीरामचरितमानस'जस्तो दुर्लभ ग्रन्थको रचना गरे।
आम व्यक्तिलाई समाधि दुर्लभ छ। तर, समाधिमा नपुगे पनि साधनाले स्वास्थ्य र बुद्धिमा ठूलो फरक पर्छ। भित्री दिमागमा रहेको दुर्भल ज्ञान कर्म र बाहिरी ज्ञानमा आउँछ। व्यक्तिमा रहेको अपार विद्यालाई अन्कन्सियसबाट सबकन्सियसमा ल्याउँछ।
रामानन्द परम्पराका यी योगीहरूको आहारा नै 'रामनाम' थियो। 'रामचरितमानस'का रचयिता गोश्वामी तुलसीदासका गुरुभाइ ब्रम्हहरिदास नेपाली थिए।
खोटाङको दूधकौशिकी आसपासमा विक्रम संवत् १४२९ मा प्रकट भए ब्रम्हहरिदास। उनी सिद्धनाथ योगी थिए, आकाशमा उड्नेलगायत सिद्धि प्राप्त गरेका थिए।
एकपटक जानकीदास भन्ने महात्मासँगको शास्त्रार्थमा उनको सिद्धि केही काम लागेन। शास्त्रार्थमा पराजित भएपछि उनले जानकीदासलाई सोधे, 'कहाँबाट प्राप्त गर्यौं तिमीले यस्तो शक्ति? यस्तो शक्तिपात गर्ने गुरुको मलाई पनि दर्शन गराऊ।'
जानकीदासले ब्रम्हहरिदासलाई सुनसरी स्वर्णवती नदी किनारमा रहेको रामधुनीस्थित विश्वामित्र आ श्रम पुर्याए। त्यहाँ स्वामी नरहरियानन्दचार्यको दर्शन गरेपछि भगवान्को भक्ति प्राप्त गर्न उनैसँग रामानन्द परम्परामा दीक्षित भए ब्रम्हहरिदास।
ऐतिहासिक तथ्यअनुसार उनले १५२९ मा दीक्षा लिएका थिए।नरहरियानन्दचार्य स्वामीसँगको दीक्षापछि ब्रम्हहरिदास सुरत शब्दयोग (जसलाई महायोग पनि भनिन्छ) को सिद्धस्थ अभ्यासी भए। र, समाधिमा सहजै सिद्ध हुन थाले।
गुरुआज्ञाले नन्दीकेशरको तपस्थली विष्णुमती तटमा तपस्या गर्न थाले। यही स्थानमा वेदव्यास पुत्र शुकदेवले पनि तपस्या गरेका थिए।कृष्णदासजी महाराजको लगातारको व्याख्यानले मैले बुझेँ- जुन नानक मठमा म आज उभिएको छु, त्यो नरहरियानन्दचार्य स्वामीको आज्ञाले ब्रम्हहरिदासजीले लामो समयसम्म तपस्या गरेको र पछि समाधि लिएको स्थान रहेछ।
कृष्णदासजी महाराजको व्याख्यान जारी थियो।विक्रम संवत् १६६४ मा शिवरात्रिका दिन दुई सय ३५ वर्षको उमेरमा ब्रम्हहरिदासजीले यही नन्दीकेशरको तपस्थलीमा दसौं हजार सिद्ध तपस्वीलाई निमन्त्रणा गरेर उनीहरूकै सामुन्नेमा समाधि लिए।
उनले समाधि लिनुअगाडि दसौं हजार सिद्धहरूको भीडमा भने, 'भगवान्भक्ति नै सर्वोपरि हो, यो भक्ति गुरुकृपाको अधीनस्थ रहन्छ, यसले शरीरको कोषकोषमा भगवान् नाम जपाउँछ। यही भक्तिलाई सबैले प्राप्त गर्नु जीवनमा श्रेय हो।'
सबैलाई सम्बोधन गरिसकेपछि जमिनभित्र आठ गज खाल्टो खनी चीरकालसम्म यहाँ तपस्यामा बस्छु भनी उनी समाधिस्थ भएका थिए। उनीसँगै उनका दुई शिष्यहरू यतिरामदासजी र गोथलारामदासजी पनि समाधिमा बसे। विक्रम सम्बत् १६६४ देखि आजसम्म उनीहरू समाधि बसेको चार सय १० वर्ष भइसकेको छ।
महाराजजीका कुरा अपत्यारिला थिए। यद्यपि मेरो सीमित दिमागले भने के महसुस गर्यो भने कोही तपस्वी दस दिन समाधि बस्न सक्छ भने त्यही प्रक्रियामा आधारित भएर ऊ दस वर्र्ष पनि समाधि बस्न सक्छ।
महाराजजीले ब्रम्हहरिदासजीको समाधिस्थलतर्फ औँलो तेस्र्याउँदै भने, 'मेरो समाधिलाई मानिसले अपत्यार गरे, तर मैले जे गरेँ, त्यो त यी महान् गुरुहरूको अगाडि साह्रै तुच्छ हो, मलाई त्यसको उल्लेखमात्र गर्दा पनि लाज लाग्छ।'
कुनामा किशोरी साधिका नृत्यकै तालमा जीउ हल्लाइरहेकी थिइन्। घन्टौको साधनाबाट उनी बाहिर निस्किनै सकिरहेकी थिइनन्।
महाराजजीले थपे, 'यदि सरकारले आयोजना गर्छ भने म यहीँ ब्रम्हहरिदासजीको समाधिको आडैमा खाल्टो खनेर १२ वर्षको समाधिमा बस्न सक्छु।'
समाधि जीवनमा प्राप्त गर्न सक्ने अन्तिम सम्भावना हो भन्दै उनले मलाई समाधिका अन्य केही प्रसंग पनि सुनाए।
भारतको महाराष्ट्रमा अकबर बादशाहको समयमा कृष्णानदीमा नहर खनियो। नहर खन्दा एउटा ठूलो घैँटो भेटियो। घैँटोको बिर्को खोलेर हेर्दा एकजना महात्मा ध्यानमुद्रामा भेटिए। घैँटोबाट बाहिर निस्केको केही समयमै ती महात्मा तंग्रिए र हृष्टपुष्ट भए।
आफू वरिपरिका मानिसहरूतिर नजर लगाउँदै ती महात्माले सोधेछन्, 'महाभारतको युद्ध सकियो? 'यही प्रश्नका आधारमा उनी लामो समयदेखि समाधिमा बसेको अनुमान विद्वानहरूले लगाएका छन्। जानकारहरूका अनुसार ती महात्मा १७ सय वर्षसम्म समाधिमा बसेका थिए। उनको नाम चाङदेव थियो। उनका गुरु ज्ञानेश्वर थिए।
हाम्रा ऋषिमुनि हजारौं वर्ष समाधिमा बसेको प्रमाण शास्त्रमा छ। भगवान् शिवले ८७ हजार वर्षसम्म वरको रूखको टोड्कामा समाधि बसेको रामायणमा उल्लेख छ।
महाराजजीले मसँग रामायणलाई उद्धृत गर्दै सुनाए-
शंकर सहज सरूप सम्हारा
लागि समाधि अखण्ड अपारा
तहैँ पुनि संभु समुझिपन आपन
बैठे बट तर कर कमलासन
बीतै संवत सहस सतासी
तजी समाधि संभु अविनासी
अर्का योगी रामानन्द स्वामी एक सय ७५ वर्षसम्म समाधिकै अवस्थामा रहे। योगी कमलनयनाचार्य नामका अर्का समाधिसिद्ध पुरुषलाई चोरहरूले कुटीमा लुटपाट पार्दा उनी मरेको भान भयो। चोरहरूले मरे भन्ठानेर उनलाई खाल्टो खनेर गाढे। आफूसँगै रहेको कुकुरले भुइँ खोस्रेपछि एउटा बाख्रागोठालोको समूहले जमिनखन्दा स्वामीजी जीवितै भेटिए। पानी छर्किएपछि केही समयमै उनी ब्युँझिए। पछि उनी माइतटमा समाधि बसेका थिए।
महाराजजीका प्रसंगहरू घतलाग्दा थिए। उनले भने, 'साधुहरू गोपनीय बस्छन्, सकेसम्म बाहिर आउन चाहँदैनन्।'
अस्तित्वको परमसत्य जानिसकेको र अस्तित्वसँग एकाकार भइसकेको साधुले केका लागि पो बाहिर निस्कनुपर्थ्यो र ?
महाराजजीले आफूले सिकाउने महायोगको साधना समाजलाई आत्ममुखी बनाउन बाहिर ल्याएको बताए। 'समाज बहिर्मुख अवस्थामा रहँदा विनाश हुन्छ, त्यस्तो अवस्थामा आध्यात्मिक व्यक्तिले समाजलाई आत्ममुखी बनाउन सिकाउँछन्,' उनले भने।
नयाँबजार विष्णुमती तटको त्यही नानक मठमा अहिले ब्रम्हहरिदासजीपछि ३१ औं पुस्ताका महन्थले तीन दिव्यपुरुषको समाधि जोगाएर राखेका छन्। सिद्ध महापुरुष ब्रम्हहरिदासजी महाराजबाट योग सिक्न नानक कुनै समयमा काठमाडौं आएका थिए।
महाराजजीका अनुसार ब्रम्हहरिदासजीको समाधिस्थल गुरु परम्परागद्दी हो। नानकसँग जोडिएका कारण सिखहरूले यो स्थानलाई आफ्नो भएको दाबी गरे पनि त्यो असत्य भएको उनले प्रस्ट्याए।
...
मलाई कृष्णदासजी महाराज र उनको साधना पद्धतिबारे केही जान्नु थियो।
उनी भन्दै गए-
उनी सोलुखुम्बुको दूधकौशिकी किनारमा जन्मेका रहेछन्। भोजपुर पुख्र्यौली थलो भए पनि उनका बुबाहरू सोलुखुम्बुमा बसाइँ सरेका थिए। त्यहीँ उनी जन्मिए। अध्ययनका क्रममा महाराष्ट्रमा छँदा उनलाई वैराग्य प्राप्त भयो।
महाराष्ट्र नासिककै सप्तसृंगी देवीको तपस्याका क्रममा उनलाई पहिलोपटक १२÷१३ दिनको समाधि लागेको थियो। त्यहाँबाट उनी हिमालयको भ्रमणमा निस्के।
हिमालय भ्रमणमा क्रममा उनी गंगोत्री हुँदै गोमुखसम्म पुगे।
बाह्रैमहिना हिउँले भरिने गंगाको शिर गोमुखमा उनले एक वर्ष तपस्या गरे। त्यसबाहेक उत्तरकाशी, बद्रीनाथ, चित्रकुट, अयोध्या, बनारस, दामोदरकुण्ड, कैलाश, मुक्तिनाथलगायतका दिव्य स्थानमा उनले तपस्या गरेका रहेछन्।
गत वर्षको नवरात्रिमा उनले मुक्तिनाथमा साधना गरेका थिए। चैते दसैंमा उनले पोखरामा समाधि लिएको त बल्ल केही महिना बित्दै छ।उनले जोड दिए, 'हामी बहिर्मुखी भयौँ, अन्तर्मुखी हुनु जरुरी छ। मनमुखीले विनाश गर्छ, आफ्नो पनि र अरूको पनि। गुरुमुखी भयौँ भने आफ्नो पनि कल्याण हुन्छ, अरुको पनि कल्याण हुन्छ।'
हो पनि, बाहिरबाट को सम्पन्न भएको छ र ? आत्मज्ञानबाहेक अरू केबाट सम्पन्नता प्राप्त हुन्छ र?
उनले भने, 'हरेक व्यक्तिभित्र शिवत्व, दुर्गाको सौर्य, बुद्धतत्व हुन्छ, यसलाई ध्यानमार्गबाट जागृत गर्नुपर्छ। र, कल्याण गर्नुपर्छ, आफ्नो पनि, लोकको पनि। दैनिक १५-२० मिनेट ध्यानको अभ्यासले ठूलो परिवर्तन हुन्छ।'
सिद्ध महायोग कृपाबाट चल्ने र यसका लागि समर्पणबाहेक अरू केही नचाहिने पनि महाराजजीले मलाई प्रस्ट पारे 'यसपछि गुरुकृपा आफैँ हुन्छ, गुरुकृपाबाट भक्तमा रहेको सुषुप्त शक्ति जागृत हुन्छ।'
गुरुकृपा प्राप्त भएपछि हठयोग, लययोग, मन्त्रयोग र राजयोगबाट साधक महायोगमा प्रवेश गर्छ। अनि कुण्डलिनी जागृत हुन्छ र सम्पूर्ण सत्यको बोध हुन्छ।
तीन सय÷साढे तीन सय वर्षयता यो साधना पद्धति विलुप्त भएको महाराजजीले बताए।
'पछिल्लो समय अन्तर्मुखी साधना कम छ। साधना बहिर्मुखतामा अगाडि बढ्यो। हामीभित्रको ईश्वरीय सत्ता भित्र कुनै अन्तरमा दबिएको छ। त्यसलाई जगाउनुपर्छ।'
सिद्ध महायोग अनादिकालको परम्परा हो। भगवान् रामबाट यो सुरु भएको हो। रामजीबाट यो विद्या जानकीले प्राप्त गरिन्, जानकीबाट हनुमान, हनुमानबाट ब्रम्हा, ब्रम्हाबाट वशिष्ठ ऋषिले यो विद्या प्राप्त गरे।
वशिष्ठबाट परासर, परासरबाट वेदव्यास, वेदव्यासलगायत ऋषिहरूबाट कहुल ऋषि, कहुल ऋषिबाट अष्टावक्र, अष्टावक्रबाट जनक, जनकबाट शुकदेव, शुकदेवबाट बोधनयनाचार्य, बोधनयनाचार्यबाट राघवानन्दचार्यले यो विद्या प्राप्त गरे। यसै परम्परामा रामानन्दको रूपमा भगवान् रामले जन्म लिएको महाराजजीले बताए।
उनका अनुसार रामानन्द स्वयं राम हुन्। रामानन्दले भनेका थिए, 'प्राणीमात्र भक्तिको अधिकारी हो। मनुष्य जन्म नै भगवत्प्राप्तिका लागि हो। सबैलाई भगवान्को भक्ति गर्ने स्वतन्त्रता र अधिकार छ।' र, रामकै अवतारका रूपमा जन्मेका रामानन्दले सिद्ध महायोगलाई सरलीकृत गरे।
उनले १२ महासिद्ध र ७ सय सिद्धलाई यो ज्ञान बाँडे। अनन्दानन्द, हरियानन्द, योगानन्द, पिपानन्द, सेनानन्द, कविराचार्य, रहिदास, पद्मावती, गंगावती, चेतनदास, नानकलगायत उनका चेला थिए।
रामानन्दले ३६ पन्थको विस्तार गरे। र, जुन क्षेत्रका व्यक्ति भए पनि त्यही क्षेत्रबाट आफ्नै भाषामा भक्तिमार्गमा ल्याउने आदेश आफ्ना शिष्यहरूलाई दिए।
उनले लिएको बाटो भक्तिको अविचलित प्रामाणिक बाटो हो।
रामानन्दीय परम्पराहरूमा तपस्वीहरूको जमात पाइन्छ। प्राचीन उदासीन परम्परा हो यो, वैरागी परम्परा। यो विद्यामा शारीरिक र मानसिक रूपमा कठोर तपस्या आवश्यक छ।
महाराजजीका अनुसार यही नेपालको आदिकालको परम्परा हो। सम्पूर्ण मिथिला रामावत परम्परामा रहेको तथ नेपाल शक्तिक्षेत्र भएकाले यहाँको उपासना श्रीविद्या रहेको महाराजजीले बताए। 'जानकीबाट आरम्भ भएको हो यो।'
उनका अनुसार जनक, जानकी, शुकदेव र वेदव्यास सबै नेपाली नै हुन्। संसारभरि चलेका वैष्णवी उपासना पद्धतिको उद्भव नेपालमा भएको प्रमाण पाइने जिकिरसमेत उनले गरे।
महाराजजीले भने, 'मानिसमा जिज्ञासा जगाउन मैले समाधि लिएको हुँ। मेरो समाधिका कारण मानिसहरूमा प्रश्न उठोस् र पाशुपत सिद्ध महायोगप्रति आकर्षण बढोस् भन्ने मेरो इच्छा हो।'
यो साधनाको वैज्ञानिकता रहेको उल्लेख गर्दै महाराजजीले जानेर÷नजानेर यस साधना पद्धतिमा डेढ घन्टा समय दिन सक्ने मानिसले आफूभित्र प्रचुरमात्रामा सकारात्मक परिवर्तन पाउने बताए।
'साधना गरेपछि साधकमा परिवर्तन आउनुपर्छ। स्वभावमा परिवर्तन आउँछ। स्वास्थ्यमा परिवर्तन आउँछ। थोरै समयमै हामीभित्रको मानवता जागृत हुन्छ,' उनले स्पष्ट पारे।
यसबाट स्वास्थ्य, शिक्षा, करुणा, दया, समता, प्र्रेम, निरालश्यताजस्ता गुण जागृत हुने उनले बताए। थपे, 'मन्दबुद्धि भएका विद्यार्थीमा यसको प्रयोग सिद्ध भएको छ। चञ्चल बुद्धि भएका, तीव्र बुद्धि भएकामा पनि यसको प्रयोग राम्रो देखिएको छ। बाहिरी क्रियाहरूसहित करिब डेढ घन्टाको दैनिक समय यो साधनामा दिनुपर्छ।'
'निरन्तर ध्यान र साधना गरिरहेपछि मानिसले जीवनको मूल्य बुझ्छ। त्यसपछि गीता पढ्दा गीता बुझिन्छ। अभ्यास नगर्ने वाचाल मानिसले केही गर्न सक्दैन।'
यो विद्याको माध्यमबाट अगाडि बढ्यो भने समाधिमा प्राप्त हुने र ब्रम्हावस्था प्राप्त हुने पनि महाराजजीले बताए।
मैले सोधेँ, 'महाराजजी, हरेकलाई समाधि सम्भव छ त ? 'उनले भने, 'आम व्यक्तिलाई समाधि दुर्लभ छ। तर, समाधिमा नपुगे पनि यो साधनाले स्वास्थ्य र बुद्धिमा ठूलो फरक पार्छ। भित्री दिमागमा रहेको दुर्लभ ज्ञान कर्म र बाहिरी ज्ञानमा आउँछ। हर व्यक्तिमा रहेकोे अपार विद्यालाई अन्कन्सियसबाट सबकन्सियसमा ल्याउँछ यसले।'
...
मध्यान्हको १२ बजिसकेको थियो। अब भण्डाराको बेला हुनै लागेको छ। साधनास्थलबाट साधकसाधिकाहरू उठिसकेका छन्। अघि साधना गरेकै स्थानमा कालो म्याट ओछ्याएर खाना खाने तयारी भइरहेको छ।
म पनि एउटा कुनामा बसेँ, प्रसाद ग्रहण गर्न। बिहानदेखि मैले केही खाएको थिइनँ। टपरामा सेवकहरूले खिर, पुरी, पर्वलको तरकारी, आलुमटरको अचार र राजमाको झोल राखिदिए। म सोप्र्याकसोप्र्याक पार्दै खिरतरकारी खान थालेँ।
अलि कुनामा किशोरी साधिका नृत्यकै तालमा जीउ हल्लाइरहेकी थिइन्। घन्टौंको साधनाबाट उनी बाहिर निस्किनै सकिरहेकी थिइनन्। मेरुदण्डका विभिन्न स्थानमा उनले असजिलो मानेको देखेर मैले महसुस गरेँ, ती किशोरीको ऊर्जा माथितिर प्रवाह भइरहेको थियो। गुरुकृपाले सुषुम्नाका अवरोधहरू खुल्दै गए भने उनको कुण्डलिनी जागृत हुन धेरै समय लाग्ने छैन।