सेयर बजारमा थप वृद्धि
![सेयर बजारमा थप वृद्धि](https://annapurnapost.prixacdn.net/media/albums/5771ff0d520ee2.80314373_NggzwWsH3O.png)
नवराज ढकाल
काठमाडौँ: सेयर बजारमा सोमबार पनि वृद्धि जारी छ । सेयर खरिदबिक्रीमा चाप बढ्दा सोमबार नेप्से परिसूचक २७.६७ अंकले बढेर १७१२.८४ विन्दुमा आइपुगेको छ । यो बजारको अहिलेसम्मकै उच्च विन्दु हो । केही सातायता नेप्सेले १७ सय अंक छुन्छ कि तलैबाट फर्किन्छ भन्ने व्यापक चासो थियो ।
विशेषगरी बैंकको सेयर कारोबारमा तेजी आउँदा समग्र नेप्से परिसूचक उचालिन सहयोग पुगेको हो । पुँजी बजारमा सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्त समूहको हिस्सा बिमासमेत गर्दा करिब ८३ प्रतिशत हाराहारीमा छ । यो समूहमा तेजी आउनेबित्तिकै त्यसको समग्र प्रभाव पूरै बजारमा देखिन्छ ।
लामो समयदेखि बैंकिङ समूह लगानीकर्ताको अपेक्षाअनुसार माथि जान सकेको थिएन । यो सातादेखि बैंकिङ समूहको सेयर भाउ पनि माथि जान थालेको छ।
केही दिनयता सुरुमा स्टान्डर्ड चार्टर्ड र एभरेस्ट बैंकले लिड गरेका थिए । यसलाई निरन्तरता दिंदै सोमबार अधिकांश वाणिज्य बैंकको सेयर भाउ बढेको छ । बैंकको चुक्ता पुँजी बढी भएकाले यो समूह माथि जाँदा समग्र नेप्सेमा भारी वृद्धि देखिएको हो । वाणिज्य बैंक समूह सोमबार ४५.५२ अंकले बढेको छ ।
एक वर्षयता लगातारजसो नेप्से परिसूचक बढिरहेको भए पनि बैंकिङ समूहका कतिपय कम्पनीको सेयर भाउ अहिले तुलनात्मक रूपमा कम छ । केही समूह र कम्पनीको भाउ ह्वात्तै माथि जाने अनि कतिपयको बढ्दै नबढ्ने प्रवृत्ति पनि देखिएको छ ।
सोमबार नेप्से ३६ अंकभन्दा बढीले माथि जाँदा एक अर्ब ६३ करोड ९० लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । एकै दिनमा भएको यो कारोबार भोलुम उच्च हो ।१७२१
ठूला कम्पनीको चुक्ता पुँजी र बजार पुँजीकरण धेरै हुँदा थोरै भाउ बढ्दा पनि नेप्सेलाई ठूलो अंकले माथि लैजान सहयोग गर्छ । तुलनात्मक रूपमा कम चुक्ता पुँजी भएका कम्पनीको सेयर भाउ माथि गएको छ तर चुक्ता पुँजी धेरै हुने राम्रै कम्पनी भए पनि मूल्य कम भएको देख्न सकिन्छ ।
विश्लेषकहरूले सूचीकृत कम्पनीको संख्या र चुक्ता पुँजी थपिँदा बजारको ब्यारोमिटर नेप्से परिसूचक माथिल्लो विन्दुमा पुगेकाले परिसूचकभन्दा पनि कम्पनीको अवस्था र भाउ हेरेर सेयर किन्न सुझाव दिएका छन् । बजार नयाँ उचाइमा पुग्दै गर्दा नयाँ लगानीकर्ताको आगमन थप बढेको छ । नयाँ लगानीकर्ताले सेयर किन्दा मूल्य आम्दानी अनुपातमा ख्याल गर्नुपर्छ ।
सेयर बजार विश्लेषक रवीन्द्र भट्टराई बजारमा जति बेला पनि जोखिम हुने भएकाले लगानीकर्ता सचेत हुन आवश्यक रहेको बताउँछन् । ‘बजार माथि जाँदा मात्र जोखिम बढ्ने होइन, घट्दा पनि उत्तिकै जोखिम हुन्छ,’ उनले भने । सेयर बजार भनेकै जोखिम मोल्ने क्षेत्र भएकाले बजार बढ्दा वा घट्दा लगानीकर्ता विशेष चनाखो हुन जरुरी रहेको उनको भनाइ छ ।
सोमबार बजार १.६४ प्रतिशतले बढेको छ । नेप्सेसँगै कारोबार कम पनि अत्यधिक भएकाले किनबेचमा निकै होडबाजी चलेको र बजारमा वास्तवमै लगानीकर्ता ओइरिएका छन् भन्ने विश्लेषण गर्न सकिन्छ । यस दिन नेप्से ३६ अंकभन्दा बढीले माथि जाँदा एक अर्ब ६३ करोड ९० लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भयो । एकै दिनमा भएको यो कारोबार भोलुम उच्च हो ।
एक दिनमा भएको सेयर कारोबार संख्या पनि उच्च छ । सोमबार ४९ लाख २५ हजार दुई सय ७६ कित्ता सेयर किनबेच भयो । कारोबार रकम र कारोबार कित्ता उच्च हुँदा बजारमा खासै ‘म्यानुपुलेसन’ छैन भन्ने बुझ्न सकिन्छ ।
अर्थतन्त्रको आकारसँग तुलना गर्ने हो भने बजारमा जोखिम बढ्दै गएको विश्लेषण गर्नुपर्ने हुन्छ । करिब २२ खर्बको अर्थतन्त्र भएको मुुलुकको सेयर बजारको पुँजीकरण पनि साढे १८ खर्ब हाराहारीमा पुगिसकेको छ ।
पछिल्लो बजार पुँजीकरणलाई हेर्दा १८ खर्ब ४६ अर्ब ९२ करोड पुगेको छ । यो आकार अलि धेरै नै हो । हुन त सूचीकृत सबै कम्पनीको सबै कित्ता सेयर कारोबार हुँदैन । चुक्ता पुँजी बढी भएका कम्पनीले बजार पुँजीकरण माथि लैजान सहयोग गरिरहेका हुन्छन् । राष्ट्र बैंकले बैंकको चुक्ता पुँजी बढाउने निर्णय गर्दा त्यसको चाप सेयर बजारमा देखिएको हो । यसबाहेक बैंकमा अधिक तरलता हुँदा सेयर बजारमा पैसा गएको विश्लेषकको भनाइ छ ।
उता बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जले सेयर बजारको उचाइ बढ्दै जाँदा लगानीकर्तालाई सचेत गराएको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेप्सेले हल्लाको पछि लागेर लगानी नगर्न आग्रह गरेको हो ।
लगानीसम्बन्धी निर्णय लिँदा प्राविधिक र आधारभूत दुवै थरीका विश्लेषण गर्नसमेत नेप्सेले लगानीकर्तालाई सुझाव दिएको छ । विश्लेषणबिना लगानी गर्दा जोखिम हुने भएकाले मुलुकको आर्थिक गतिविधिलाई समेत ख्याल गर्न भनिएको हो ।
सूचीकृत कम्पनीमा रहेको जोखिम, नाफा, सुरक्षा, तरलताजस्ता आधारभूत पक्षको विश्लेषण गरी सेयर खरिदबिक्री गर्न, हल्लाको पछि नलागी सत्यतथ्य सूचनाका आधारमा कारोबार गर्न नेप्सेले लगानीकर्तालाई आग्रह गरेको हो । कुनै पनि कम्पनीका बारेमा बजारमा चलेको हल्लालाई प्रमाणित गरेरमात्र लगानी गर्न पनि नेप्सेले भनेको छ । सेयर बजारले सोमबार १७ सय अंक पार गरेपछि नेप्सेको विज्ञप्ति आएको हो ।
यसैबीच नेप्से गणनामा सोमबार गडबडी भएको छ । नेप्सेको वेबसाइटमा कारोबार सयम सकिँदा दिउँसो तीन बजे नेप्से ३६ अंकभन्दा बढीले बढेर १७ सय २१ अंकमा पुगेको देखाइएको थियो । तर साँझ नेपाल स्टक एक्सचेन्जले सूचना जारी गरी नेप्से १७१२.८४ अंकमा आएको जनाएको छ । नेप्से गणनामा भएको गडबडीप्रति स्टक एक्सचेन्जले दुःख व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)