बाबुरामसँग भिड्ने अर्का भट्टराईको घोषणा

बाबुरामसँग भिड्ने अर्का भट्टराईको घोषणा

भक्तपुर: नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले पार्टीको केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टीको विधान लागू भएको भोलिपल्ट बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गरी परिषद् सदस्य भट्टराईले नयाँ शक्तिको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

मंगलबारदेखि लागू भएको पार्टीको विधानअनुसार अबको एकवर्षभित्र नयाँ शक्तिको महाधिवेशन हुनेछ । सोही महाधिवेशनलाई केन्द्रित गरेर आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको भट्टराईले जानकारी दिए ।

‘नयाँ शक्ति निर्माणको सुरुवातदेखि अहोरात्र खटेको अभियन्ता हुनुको नाताले नयाँ शक्ति नेपालको विचार र संगठन निर्माणमा कोही कसैभन्दा मेरो भूमिका कम छैन’, उनले भने, ‘त्यसकारण पार्टीले सुरु गरेको प्रत्यक्ष लोकतन्त्रको महान अभ्यासलाई थप समृद्ध बनाउने पुनित उद्देश्य राखी अन्तरिम विज्ञानको धारा ६ को उपधारा (ख) मा व्यवस्था भएबमोजिम नयाँ शक्ति नेपालको अध्यक्षको उम्मेदवारी घोषणा गर्दछु ।’

एक्लै उपस्थित भएर पत्रकार सम्मेलन गरेका उनलाई सञ्चारकर्मीहरुले अध्यक्षमा उम्मेदवारी पार्टी संयोजक बाबुराम भट्टराईलाई चुनौती दिनुभएको हो भनी प्रश्न गरेका थिए ।

उक्त प्रश्नको जवाफमा उनले आफ्नो उम्मेदवारी नयाँ शक्तिका संयोजक भट्टराईविरुद्ध नभएकोतर्फ जोड गरे ।

विधानले सबैलाई अध्यक्षलगायत पदाधिकारी हुन पाउने अधिकार दिएको र सोही अधिकार आफूले पनि प्रयोगमात्रै गरेको उनको भनाइ थियो ।

‘उहाँ (बाबुराम भट्टराई) नयाँ शक्तिको अध्यक्ष उठ्नु हुन्छ हुँदैन मलाई थाहा भएन’, उनले थपे, ‘मैले अध्यक्षको उम्मेदवारी घोषणा गरेँ । यसको अर्थ मेरो उम्मेदवारी उहाँविरुद्ध होइन ।’

उनले नयाँ शक्तिमा कोही ठूलो र कोही सानो नभई सबै बराबर भएकाले जोसुकैले अध्यक्षमा उम्मेदवारी दिन सक्ने स्पष्ट पारे ।

 

आफू आफ्नो उम्मेदवारीप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै नेता भट्टराईले भने, ‘अरु कसैले अध्यक्षमा उम्मेदवारी दिए पनि नदिए पनि मेरो उम्मेदवारी फिर्ता हुँदैन । मेरो उम्मेदवारी कुनै पदाधिकारीको वार्गेनिंग पनि होइन ।’

उनले आफ्नो उम्मेदवारी पार्टी वा नेतृत्वसँगको असन्तुष्टिसमेत नभएको जिकिर गरे । उनले विधानअनुसार पार्टीका सदस्यसामु आफ्नो उम्मेदवारी घोषणा गरेको र पार्टीको महाधिवेशनसम्म आफ्नो एजेन्डा सबैसामु ल्याउने जानकारी दिए ।

तत्कालीन माले र एमालेको राजनीतिबाट एमाओवादी हुँदै डा. भट्टराईसँगै नयाँ शक्ति अभियानमा लागेका नेता भट्टराईले पार्टीको आन्तरिक प्रतिस्पर्धामा गालीगलौज र आलोचनामा नउत्रने बताए ।

२७ वर्षअघि देखि शिक्षण पेसा गर्दै आएका नेता भट्टराई मानविकी, शिक्षा र व्यवस्थापन गरी तीन विषयमा स्नातकोत्तर छन् । उनी अहिले पनि भक्तपुरको नयाँ ठिमीस्थित एसएस कलेजमा अंग्रेजी विषयको अध्यापन गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.