उपाधिका लागि लुम्बिनी आज आर्मीसँग भिड्दै
काठमाडौं: ललित स्मृति यू- १८ फुटबल प्रतियोगिताको फाइनलमा बुधबार लुम्बिनी फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वर्गीय कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सम्झनामा युवा फुटबलको विकास गर्ने उद्देश्यले 'ए' डिभिजन क्लबको युवा टोलीबीच प्रतिस्पर्धा गराएको हो।
लुम्बिनीले सेमिफाइनलमा संकटा फुटबल क्लबलाई १-० गोलले हराएर फाइनलमा स्थान बनाएको हो। आर्मीले सेमिफाइनलमा झापा -११ लाई २-१ गोलले पन्छाउँदै फाइनलमा स्थान बनाएको हो।
पहिलोपटक आयोजित प्रतियोगितामा 'ए' डिभिजनका १२ टोलीले प्रतिस्पर्धा गरेका थिए। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो। समूहगत चरणका खेल लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको थियो।
समूह दुई उत्कृष्ट टोली क्वार्टरफाइनलमा प्रवेश गरेका थिए। प्रतियोगितामा समूह 'ए' बाट मनाङ मस्र्याङ्दी, एपीएफ र झापाले प्रतिस्पर्धा गरेका थिए। यसैगरी समूह 'बी' बाट जाउलाखेल, त्रिभुवन आर्मी र लुम्बिनी फुटबल क्लबले प्रतिस्पर्धा गरेका थिए।
समूह 'सी' बाट थ्रीस्टार, संकटा र सुदूरपश्चिम टोलीबीच भिडन्त भएको थियो। समूह 'डी' बाट नेपाल पुलिस क्लब, मोरङ र सरस्वतीले भाग लिएका थिए। 'ए' डिभिजन क्लब हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले भने प्रतियोगितामा भाग लिएका थिएनन्।
प्रतियोगिताको विजेता टोलीले तीन लाख र उपविजेता टोलीले एक लाख १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत विधाका विजेतालाई पनि आकर्षक पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !