पशुझै दाम्लोमा बाँधिन बाध्य अपाङ्ग किशोर

 पशुझै दाम्लोमा बाँधिन बाध्य अपाङ्ग किशोर

रत्ननगर: टिनको छानोको थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेपनि जताततै भ्वाङ छ। भित्र दुई छेउमा पुराना खाट। सँगै एउटा बेन्च। चिसो भुइँमा राखिएको थोत्रो सुकुल। त्यसमाथि लडिरहेका एक युवा।

उनको बायाँ खुट्टाको गोलीगाँठोनजिक दाम्लो लगाइएको छ। पल्लो खाटको खुट्टा नजिकै बाँधिएको छ। नजिकैको चिसो सुकुलमाथि कुपोषित र अपाङ्ग युवा लडिरहेका छन्। निरिहलाई जताबाट पनि ठक्कर भने जस्तै उनी सुस्तःमनस्थितिका पनि छन्। हिँड्डुल गर्न सक्दैनन्। सुतेकै स्थानमा दिशा र पिसाब हुन्छ।

गएको एक वर्षदेखि यस्तै कष्टकर दैनिकीमा रहेका छन्- चितवनको रत्ननगर-१५ माधवपुरका १७ वर्षीय अनोज वाइवा। आमाबुबाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि भन्ने पुरानो उखानको विपरीत एक वर्षदेखि उनलाई बुबाआमाले चटक्कै छाडेर गएपछि बेसहारा जस्तै भएका छन्। उनकै स्याहार गर्न नसकेर बुबाआमाले छाडेको अनुमान स्थानीयबासीको छ।

घस्रन सक्ने र घर खुला भएकाले बाहिर निस्कन सक्ने चिन्तामा भाइ विशालले उनलाई आमाबुबाले छाडेदेखि बाँधेर राखेका छन्। सात कक्षामा पढ्ने अल्लारे भाइ विशालले उनको रेखदेख गर्दै आएका छन्। तर अल्लारेलाई के खुवाउने, कसरी राख्ने मेसो छैन। त्यसैले उनको स्वास्थ्य कमजोर हुँदै गएको छ।

 

बुबाआमा कहाँ गए कसैलाई पत्तो छैन। काठमाडौँमा बुबाले गाडी चलाउने र आमाले तरकारी बेच्ने गरेको थाहा भएको विशाल बताउँछन्। तर कहाँ छन् भनेर उनलाई पनि थाहा छैन।

'बेलाबेलामा बुबाआमाले पठाएको पैसा भनेर आउँछ', विशालले भने, 'अनि अरू थाहा छैन।' 'पहिले चार कट्ठा जग्गा रु तीन लाखमा दृष्टिबन्दकी थियो, अहिले त्यो अर्कैले खाइसक्यो रे, उनको उद्धारमा प्रयासरत रहेका स्थानीयवासी आशिष तामाङ भन्नुहुन्छ, 'सुकम्वासी बनेका र बुबाआमाले पनि छाडेर गएपछि दाजुभाइको बिजोग भो।'

आफूले कहीँ दाता पाइन्छ कि अथवा कुनै आश्रमले लान्छ कि भनेर विभिन्न क्षेत्रमा प्रयास गरे पनि सफल नभएको उनको भनाइ छ। कुनै आश्रमले उद्धार गरे पुण्य मिल्ने आशिष बताउँछन्।

उनकै प्रयासमा अहिले रत्ननगरको लियो क्लब र लायन्स क्लबले केही दिनदेखि खाद्यान्न सहयोग गर्न थालेका छन्। रत्ननगर लियोका अध्यक्ष ज्योति भट्ट अवस्था नाजुक देखेपछि खाद्यान्नलगायत सामग्री सहयोग गर्न थालिएको बताउँछन्।

यस्तो सहयोगबाट उनीहरुको दैनिकी चल्न मुस्किल छ। आफैँलाई सहारा दिनुपर्ने बेलाका भाइ विशालले दाइको ख्याल गर्न मुस्किल छ। दिनभर स्कुल जाँदा दाइ अनोजको ख्याल गर्ने कोही छैन। समयमा खानपिन पनि हुँदैन उनको।

भरतपुरका समाजसेवी केशव अधिकारी बुबाआमाले यसरी छाडेर जानु सामाजिक अपराध र पारिवारिक हिंसा नै भएको बताउँछन्। बुबाआमा झिकाएर उनको उद्धार गर्नुपर्ने भनाइ उनको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.