बल्खु तरकारी बजारका जोख्ने यन्त्र सिलबन्दी
काठमाडौँ: बल्खुस्थित तरकारी पसलको अनुगमनपछि नियम विपरितका सबै यन्त्र सिलबन्दी गर्ने सहमती भएको छ।
आपूर्तिमन्त्री गणेशमान पुनसहितको सरकारी टोली र बल्खु तरकारी बजार व्यवस्थापन समितिबीच तीन दिनभित्र नियम विपरितका यन्त्र सिलबन्दी गरी नापतौल विभागमा लाने सहमति भएको हो ।
तरकारी पसल अनुगमन गर्ने क्रममा व्यवसायीले अनुगमनमा खटिएका सरकारी मन्त्री, कर्मचारी र पत्रकारलाई आक्रमण गरेपछि तरकारी व्यवसायी र प्रतिनिधि बीच वार्ता भएको हो ।
अकस्मात मन्त्रीसहितको अनुगमन टोली तरकारी बजारमा पुगेर बजारमा राखिएका तरकारी जोख्ने विद्युतीय यन्त्र लामो समयदेखि जाँच नगरिएको र उपभोक्ताको हित विपरीत रहेको जनाउँदै जफत गर्न थालेपछि व्यवसायीले आफूसँग जे सामान उपलब्ध छ उक्त सामग्रीले अनुगमनकर्तामाथि प्रहार गरेका थिए ।
तरकारी बजारमा रहेको झन्डै दुई सय यन्त्र अधिकांश उपभोक्ताको हित विपरीत रहेको अनुगमनका क्रममा पाइएको छ । घटनामा चोटपटक कसैलाई नलागे पनि समाधान प्रहरीले नै गरेको थियो ।
आक्रमणपछि बल्खु तरकारी बजार व्यवस्थापन समिति र अनुगमन समितिका संयोजक रामचन्द्र काफ्लेलगायत टोलीबीच वार्ता गरी मंगलबार नै नियम विपरीतका सबै यन्त्र सिलबन्दी गर्ने र तीन दिनभित्र नापतौल विभागमा लैजानुपर्ने सहमति भएको छ ।
आक्रमण गर्ने सबैले पछि मन्त्री, पत्रकार र सरकारी कर्मचारीसँग माफी मागेका छन् । रासस
प्रतिक्रिया दिनुहोस !