यती बैंकले हकप्रद सेयर दिने
काठमाडौं: यती डेभलपमेन्ट बैंकले दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
२०७४ असार मसान्तसम्म चुक्ता पुँजी दुई अर्ब ५० करोड पुर्याउन नेपाल राष्ट्र बैंकमा प्रस्तुत गरेको पुँजी वृद्धि योजनालाई कार्यरूप दिन बैंकले यस्तो तयारी गरेको हो।
बुधबार बसेको बैंक सञ्चालक समितिको तीन सय ३२औं बैठकले दुई बराबर एकको अनुपातमा हकप्रद सेयर बाँडी पुँजी वृद्धि गर्ने निर्णय गरेको हो । हकप्रद सेयर निष्कासनपश्चात् बैंकको पुँजी दुई अर्ब सात करोड पुग्ने बैंकले जनाएको छ।
बाँकी नपुग पुँजी आगामी वर्षको बोनस सेयरबाट पूरा गर्ने योजना बैंकको छ। चुक्ता पुँजी वृद्धिका साथसाथै उपयुक्त मर्जरका लागि पनि बैंकले ढोका खुला राखेको छ।
बैंकले हाल देशभर २५ वटा शाखामार्फत १० अर्ब निक्षेप परिचालन र आठ अर्ब ७५ करोड कर्जा लगानी गरेको जनाएको छ।