मंगलबार बिहानै उत्तर कोरियामा तीन क्षेप्यास्त्र परीक्षण
![मंगलबार बिहानै उत्तर कोरियामा तीन क्षेप्यास्त्र परीक्षण](https://annapurnapost.prixacdn.net/media/albums/578dd21eaea2d2.60309087_6Uzdyku97C.jpg)
सोलः उत्तर कोरियाले मङ्गलबार बिहानै तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ।
उत्तर कोरियाले पछिल्लो समयमा गरेको क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिनेगरी मङ्गलबार पुनः यो परीक्षण गरेको हो ।
उसले मङ्गलबार बिहान तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ। ती मध्ये दुई वटा कम्तीमा पनि ५०० देखि ६०० किलोमीटरसम्म मारहान्ने शक्तिका रहेका थिए ।
त्यस्तै, अर्को एउटा क्षेप्यास्त्रका बारेमा भने केही पनि बताइएको छैन। त्यस विषयमा अनुसन्धान जारी रहेको दक्षिण कोरियाले जनाएको छ ।
दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले सोमबार मात्र सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको जानकारी दिएका थिए ।
दक्षिणले पाएको सूचना बमोजिम नै उसले मङ्गलबार एकै पटक तीनवटा क्षेप्यास्त्र हानेको हो। छोटो दुरीका ती क्षेप्यास्त्र परीक्षणका बारेमा उत्तरले भने केही बताएको छैन ।
दक्षिण कोरियाली एकीकरण मन्त्रालयद्वारा सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता जियोन जुङ हीले उत्तरले अर्को क्षेप्यास्त्र परीक्षण गर्न लागेको थाहा भएको जानकारी दिए ।
त्यसैगरी, गएको आइतबार मात्र पनि जापानी सरकारी समाचार समिति, क्योडोले उत्तर कोरियाका केही सङ्कास्पद क्रियाकलापहरु सूचनामा आएकोले उसले अर्को परीक्षणको तयारी गरेको बुझिएको समाचारमा जनाएको थियो ।
उक्त परीक्षणपछि दक्षिण कोरियाले मङ्गलबार गरेको पत्रकार सम्मेलनका क्रममा रक्षा मन्त्रालयका एकजना अधिकारीले सो घटनाको विरोध र निन्दा पनि गरे ।
उनले उत्तर कोरियाले जारी राखेका यी क्षेप्यास्त्र परीक्षणका अभियानहरु अरु केही नभएर दक्षिण कोरियाको राष्ट्रिय सुरक्षालाई धम्की दिनका लागि गरिएको उनको भनाइ छ ।
तर यस्ता उत्तेजक क्रियाकलापबाट दक्षिण कोरिया कहिल्यै पनि नतर्सिने उनले बताए ।
उत्तर कोरियाको उत्तरी हावागेई प्रान्तमा ती परीक्षण गरिएको बताइएको छ। मङ्गलबार बिहान ५ः४५ र ६ः४० बजे ती क्षेप्यास्त्र उत्तर कोरियाको रक्षामन्त्रालयका विज्ञहरुले हानेका जनाइएको छ ।
यस अघि पनि उत्तर कोरियाले गत महिनामात्र क्षेप्यास्त्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर छोडेको थियो ।
हालैका दिनमा उत्तरका क्रियाकलापहरु निकै बढ्दो रुपमा देखिएकोले परीक्षणको तयारी भएको पाइएको समाचारमा जनाइएको छ ।
दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ। उत्तर कोरियाको यो परीक्षणका विरुद्धमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले प्रतिरक्षात्मक प्रणाली जडान गर्ने बताउदै आएका छन् ।
उत्तर कोरियाले त्यस कार्यको निकै कडा शब्दमा विरोध गरेको छ। उत्तरले यदि त्यस्तो प्रणाली दक्षिण कोरिया र अमेरिका मिलेर जडान गरेमा आपूले त्यस प्रणालीलाई भौतिक कारबाही गर्ने जनाएको छ ।
उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन। यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ ।
दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको उत्तर कोरियाले रोकेको छैन। यसलाई विश्व समुदायले उत्तरको हठी स्वाभाव भईसकेको बताउने गरेका छन् ।
मङ्गलबारको यस परीक्षणपछि भने अमेरिका र संयुक्त राष्ट्रसंघको कुनै प्रतिक्रिया आएको छैन। साथै उत्तरले पनि यस विषयमा कुनै टिप्पणी गरेको छैन। एजेन्सी
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)