स्ट्यान्डर्ड चार्टर्ड बैंकको कार्यशाला गोष्ठी
काठमाडौंःस्ट्यान्डर्ड चार्टर्ड बैंकले बिहीबार काठमाडौंमा करेस्पोन्डेट बैंकिङ कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा नेपालमा रहेका २८ वाणिज्य बैंकका ८२ जना उच्चपदस्थ अधिकारीको सहभागिता रहेको बैंकले जनाएको छ ।
गोष्ठीको मुख्य उद्देश्य नेपालमा रहेका बैंकलाई उपयोग गरी हुन सक्ने वित्तीय अपराधबाट मुक्त रहने, जल्दाबल्दा जोखिमका बारेमा जानकारी गराउने तथा अनुपालना जोखिम न्यूनीकरणसम्बन्धी असल उदाहरणबारेमा जानकारी प्रदान गर्नु रहेको थियो । गोष्ठीको उद््घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा सिंगापुरमा कार्यरत करेस्पोन्डेन्ट बैंकिङका विज्ञ गुरप्रीत धालिवालले अपराध अनुपालनासम्बन्धी विषयमा बोल्दै आतंकवादी क्रियाकलापमा वित्तीय लगानी तथा अन्तर्राष्ट्रिय आर्थिक नाकाबन्दी विषयमा जानकारी दिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार करेस्पोन्डेन्ट बैंकिङको क्षेत्रमा रहेका क्रियाकलापका बारेमा ट्रान्ज्याक्सन बैंकिङ सेवाका कार्यकारी निर्देशक तथा दक्षिण एसिया क्षेत्र प्रमुख शिवरामन सुव्रमन्यमले जानकारी दिएका छन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठले बैंकलाई अन्तर्राष्ट्रिय विज्ञबाट सिकेका असल कुराबाट वित्तीय अपराधविरुद्ध लाग्न मद्दत मिल्ने आशा व्यक्त गर्दै कार्यक्रम आयोजना गरेकोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई धन्यवाद दिएका थिए ।