यो ज्वाला निभ्ने छैन !
निबन्ध
एक दिन निभेर जान्छ, उडेर जान्छ नभए बिलाएर जान्छ । तर, माया चिताको ज्वालालाई समेत मायागरी बस्दो रहेछ । प्रियताको यो अपारतामा पहिलोपल्ट चित खाएर सुनिरहेँ उनको रोदन । उनी मेरी साथीदिदी थिइन् । भेटेको थिएँ आजभन्दा २० वर्षअघि विराटनगरको माटोमा उनको पतिसँग ।
जोडी ढुकुर जसरी बाँचे तिनीहरू । तर मृत्युले चँडेर लग्यो उनको पतिलाई । २० महिनादेखि अपराजेय रोगको कालो छायामा भिनाजु जीवनको ग्रहण तापेर बसे । तर एकदिन पनि ‘यता दुख्यो' भनेनन् । अन्तिम दिन पनि भिनाजुले भनिरहेथे अब ५० प्रतिशत होप छ । ती त ढाँटिरहेका शब्द थिए । आफ्नी पत्नीलाई पीर नपरोस् भनेर । तिनै पतिको चिताको ज्वाला अगाडि बसेर दिदी भनिरहेकी थिइन् ‘कल्पना ! हेर्नु न ज्वाला पनि सकिन लाग्यो ।'
मसँग सम्झाउने शब्दहरू थिएनन् । फ्रिजमा चिसो पारेको पानीले तिनका हल्केला चिस्याइदिएर भुइतिर हेरिबसेँ म । ज्वालाको माया गर्नुअघि ती शवमा लुगा फेराउँदा कराएकी थिइन् । मानिस सकिएपछि खोला लानलाई सफा लुुगा फेराइदिने हाम्रो संस्कार । त्यो बेला मानिसहरूले शव उठाएका थिए । दिदी हत्तपत्त उठिन् र घाँटी थामिन् । ‘यहाँ धेरै दुख्छ उहाँलाई' भन्दै रोएकी थिइन् । भिनाजुको घाँटीको हड्डी मकाएको थियो । करिब चार महिनादेखि टाउको लुलिएको थियो । त्यही घाँटी थामेर उनले स्याहारेका भिनाजु अररा भइसकेको उनलाई कति होस थियो, होस थिएन पनि ।
फेरि एकछिन पछि फुलमाला लगाइदिइन् । उनलाई घरिघरि मात्र थाहा हुन्थ्यो-अब उनी यो अचेत शरीरको संगत पनि धेरै समय पाउने छैनन् । अलिक अगाडि शंख खोज्दा ‘किन चाहियो शंख' भन्दै थिइन् । भरे पतिको शव बाँधिएको बाँसको एकछेऊ काँधमा राखेर ती खोलासम्म धर्मरिँदै गइन् ।
वैशाखको पहिलो हप्ता । तातो घाम आफ्नो प्रचण्ड शक्ति देखाइरहेथ्यो । हावाले त्यसदिन बिहानैदेखि वेग प्रदर्शन गरिरहेथ्यो । ग्राभल गरेको कच्ची सडकको बीचैबीच खाली खुट्टा तिनी लर्बराएर हिँडिरहिन् । घाटमा शव बिसाएपछि ब्रम्हनालमा खुट्टा चोबेर राखेको शवको छेउनिर ती पतिको साथ लिएर बसिरहिन् । कति गाह्रो थियो बिदा गर्नु? दाउरामा चढाइसक्दा पनि ती पछि हटेकी थिइनन् । पछि छोड्नै पर्ने भो त्यहाँ । मलामीहरूले शरीरका लुुगा च्यातिदिन थालिसकेका थिए । अब अन्तिम वस्त्र उधार्ने बेलामा तिनीहरूले दिदीलाई तपाईं हट्नु भनेर तल झारे । अन्तिमपटक खुुट्टा चुुमिन र तल ओर्लिइन् । ती आगोसम्म पुुगिन् भरे र कामना गर्दैरहिन यो ज्वाला ननिभोस् । यो सम्भव कहाँ थियो र ?
म भने एक हातले उनको पाखुरा समाएर हिँडिरहेँ बाटैबाटो । अर्को हातमा काँचका चुरा र पोते भरिएको झोला बोकेकी थिएँ । ती चुरा बटुल्न कसैले आँट गरेनन् । भन्न सकेनन् कसैले ती चुरा अब शवसँगै जलाउनुपर्छ । चुरा पोते शवसँगै डढाउने हाम्रो संस्कार सबैले सम्झिए । तर भन्न पनि गाह्रो । उनी आफैंले बुझिन् । मलाई आग्रहको आसयले हेरिन् । मैले मौका पारेँ । म जान्न तपाईं धेरै रुनुहन्छ भनेर मैले टाउको हल्लाएँ । उनले मलाई ‘पोते लिएर आउनु म रुन्न कसम रुन्नँ, जानु' भनेर आग्रह गरिन् । अनि म चुरा, पोते बटुल्न गएकी थिएँ ।
घिस्रिँदै जस्तो तिनी गाडीमा चढिन् । कम हुदै गएको ज्वालातिर हेरिन् । लामो सास फेरिन् र कतै नहेरी आँखाभरि ज्वालाको नक्सा बोकेर झ्याप्प आँखा चिम्लिइन् ।
ती पोतेहरू बली हान्न राखिएका बोका जसरी नियास्रा देखिएका थिए । के के डढाएर सक्नु ? त्यससँग गाँसिएको प्रेम र यात्राका सम्झना पनि डढ्छन् र ? म यस्तै सम्झिँदै चुरा झोलामा लिएर तल झरेँ । तीन किलो जतिको झोला थियो । त्यही झोला हातमा बोकेर म उनीसँग मलामी हिँडेकी थिएँ । बाटाभरि मानिसहरू कुदिरहेका थिए । हाटको हजारपटक हिँडेको बाटो मलाई बिरानो लागिरहेको थियो । जीवनको शाश्वत रूपमा मानवीय मनको तरंग ठोकिएको थियो र हृदयमा झन्कार उठिरहेको थियो । उनी लोलाइन् त्यसपछि । शिर लुलो हुँदै गयो । टाउको झुक्यो । आँखा चिम्लिइन् तिनले ।
वरिपरि बसेका आफन्त महिलाहरू डराए । उनी अब बेहोस हुन सक्लिन्, रोए हुने भनेर तिनले छोरालाई नजिकै बोलाइदिए । पतिको चिनो अब त्यही छोरो थियो । उनीहरूले आदेश दिए अब रोऊ तिमीहरू दुवै । जति सक्दो रोओ । अँगालो हालेर रोओ । आवाज निकालेर रोओ । मनुुष्यता यसरी रोदनको आह्वान गरिरहेको थियो । रोदनले जीवनलाई नुहाइदिने आशा गरिरहेथे मानिसहरू । मैले अगाडितिर हेरेँ । खोलाकिनार पारिपट्टि बाँसझ्याङमा बसेर कोइलीले त्यसबेला पनि आवाज निकालिरहेको थियो ।
कोइली ‘को हो' भनिरहेको थिएन सायद । कता गयो ? भनिरहेको थियो । चराका शब्द त समय परिस्थितिले जस्तोजस्तो चाह्यो त्यस्तै बनाइदिँदो रहेछ । बाँसहरू हावाको लयमा हल्लिरहेका थिएनन् वेदनाले शिर निहुर्याइरहेका थिए । खडेरीले पानी सुकेको खोलामा धमिलो मुस्किलले बगिरहेथ्यो । वैशाखले मूल सुकाएको सिंघिया खोलाको कालो पानी र अगाडिका शव डढाएका मूढाहरू असरल्ल जताततै छरिएका थिए ।
माथिदेखि झुम्मिएका थिए मलामीहरू । सबैको गति उस्तै थियो । झुरुम्मझुरुम्म थिए हाटमा जस्तो । कसैलाई लागेको थिएन एकदिन म पनि मरौंला । शोक परेको घरका मानिसहरू धमाधम मलामीको नाम लेख्ने कापी, खाजा, पानी र जुस व्यवस्थापनमा लागेका देखिन्थे । छोरो सानै थियो किशोरवयको । उसका आँखा पाकेका गोलभेँडाजस्ता राता भएका थिए ।
आमाछोरा भेला भएपछि एकछिन् रुवाइको आवाज कडा भयो । एकछिनमा सँक्कसँक्क आवाज आयो । अनि आँसुुमात्र खस्न थाल्यो । एकछिनमा उनीहरू लोलाए फेरि ।
बलेको ज्वाला निभिनसक्दै हिँड्नु थियो घरतिर । भाइले एउटा गाडी तयार पारिदिए । घिस्रिँदै जस्तो तिनी गाडीमा चढिन् । कम हुँदै गएको ज्वालातिर हेरिन् । लामो सास फेरिन् र कतै नहेरी आँखाभरि ज्वालाको नक्सा बोकेर झ्याप्प आँखा चिम्लिइन् । आँखाभरि तिनले पतिको प्रियताको अन्तिम ज्वाला अटाएर फर्किइन् ।
घर पस्नेबेला फेरि भक्कानोका चक्करहरू सुरु भए । दुवै मिलेर बनाएको घर । दुवै मिलेर बसेको घर । अब एक्लै कसरी बस्नु? यस्ता कयौं प्रश्नहरू थिए भक्कानुभित्र । घरमा महिलाको मेला थियो । सबै लोग्नेमानिसहरू मलाम गएका थिए । त्यसपछि नुहाउने कुरा चल्यो । म नुहाइदिने तरखरमा थिएँ ।
एकजना गाउँकी पाकी महिलाले भनिन् “बहिनी तिमीले त नुहाइदिनु हुदैन । विधवा चाहिन्छ नुहाइदिनलाई ।” म छक्क परेँ । हाम्रो संस्कारले बोकेको नराम्रो किंवदन्ती जस्को कहीँ लिखित अभिलेख छैन । त्यो किन बोकी हिँड्छ सभ्यता ? मलाई दिदीलाई छुन दिएनन् । मैले अब विधवा खोज्नुु थियो । अर्की एक्ली आइमाईको खाटो लागेको घाऊ कोट्याउनु थियो । उनको आत्मसम्मानमा पुनः हिर्काउनु थियो । अर्को टोलमा गएर एकजना दिदीलाई भनेँ, दिदी मलाई त नुहाइदिन दिएनन् कसैले । तिनले बुझिन् मेरो विवशता र माग । उनले स्वीकृति जनाइन् । छिमेकी विधुवा दिदीको हातबाट तिलजौं थापेर दिदीले शरीरमा पानी खन्याइन् । दिदीको रुवाइ अब अर्को मोडतिर फर्कियो । ‘म विधुुवा भएँ कल्पना !' म अवाक बसिरहेँ । आँसुले आँखा भरेर चुपचाप हेरिरहेँ दिदी अगाडि उभिएका सधवाहरूलाई ।
मेरा दुुवै आँखामा आगोहरू भरिए । दिदीको जीवन र चितामा बेस्सरी दन्दनाएको आगो जसलाई म मौन सम्बोधनमात्र गर्न सक्छु । त्यो भिनाजुको शरीर त आगोले खायो । त्यो भौतिकता परिवर्तनशील थियो, जल्यो खरानी भयो । अब तिमीले यो समाजको आगोको ज्वालामा कतिकति पटक जल्नुपर्नेछ । यसले जिउँदै जलाउँछ पाइलापाइला । यसको ज्वाला कहिल्यै निभ्ने छैन । जस-अपजसको यो ज्वाला भिनाजुसँगै जोडिएको छ ।
भिनाजु जो आज यो दुनियाँमा छैनन् । भलै यात्रामा एक्लै देखिन्छ तिम्रो बाटो तर भिनाजु तिमीबाट कहाँ छुट्न सक्नु ? अबका प्रत्येक समय, जीवनपर्यन्त उहाँकी विधुुवी तिमी । आङ सिरिङ हुनेगरी घोच्ने काँडासँग, मन प्रफुल्ल हुँदा खोजिने प्यारासँग तिमी सँगसँगै हुनेछ भिनाजुको उपस्थिति । समाज ज्वालासँग सँगसँगै रहनेगरी बचाइराख्छ भिनाजुलाई र झोसिरहन्छ आगो । यो आगो कहिल्यै निभ्ने छैन दिदी । न भिनाजुको अवशान पछि न त तिम्रो जीवनपछि पर्यन्त न आफ्नु जीवनपर्यन्त । हेर्दै गर्नु ! यो ज्वाला कहिल्यै निभ्ने छैन । नलेखेको विधानको धारा प्रयोग हुुनेछ । संस्कारको अगुल्टोमा बाँचेको आगोको झिल्का हर पर्व झोसिन्छ मुखाग्र । तिम्रै खुसीलाई दाउरा बनाएर निरन्तर दन्किरहनेछ ज्वाला ।