न्युयोर्कमा भानुभक्त
कविता
बाजे,
तिम्रै जन्मोत्सव पारी
आज तिमीलाई यहा“ बोलाको
स्टारबक्सको कफी कस्तो लाग्यो ?
खल्लो, तीतो, मीठो
नढाँटी भन त
स्वादमा स्वदेश खोज्यौ कि नाइ“ ?
हिँड जाउँ
ऊ... त्यहीँ त छ म्याकडोनाल्ड
निसास्सिँदो सपनाको स्यान्डविच च्यापेर
घन्टाघन्टामा आफूलाई
लिलाम बढाबढ गर्नैपर्नेहरूको भीड
कस्तरी हतारिएका ? देख्यौ ?
तिमीले चाहिँ
मृत्युलाई छक्याउने भोक मेट्यौ कि नाइ“ ?
योचाहिँ टाइम स्क्वायर हो है
समयले चार कुनाबाटै च्याप्प पारेर
ठूलाठूला भ्रमहरूको मायाजालमा
हरेक उमेरलाई आधुनिक दास बन्न लालायित गर्ने थलो
थाहा पाऊ बाजे,
संसारभरको वर्षलाई
नयाँ काँचुली फेर्न
यहीँको घडीले फरमान ठोक्छ
कहिल्यै नसुत्ने यो सहरका आ“खाहरूमा
संसारभरबाट थुप्रेका माटोका यादहरू
यो झिलिमिली उजेलीमा
आँसुको बाफ बन्छ
त्यही बाफ
गगनचुम्बी भवनहरूमा ठोक्किएको देख्यौ कि नाइँ ?
बाजे,
यी आमै हातमा मशाल बोकेर
यो टापुमा उभिएको युगौं भो
न रोएको देख्छु
न हाँसेको
मन भतभती पोल्छ र अशान्त बन्छ
भावनाहरू पनि मूर्तिझैं जड हुन्छन् ।
उडेका चरा गुँड फर्की आउला कि भनी
बाटोभरि आशा फिँजाई बसेकी
तिम्रै वृद्धा आमैजस्तै
यिनलाई पनि देख्यौ कि नाइँ ?
बाजे,
न्युयोर्कलाई विश्वकै ठूलो स्याउ भन्छन्
यसको स्वाद निल्न आउनेहरूलाई
युगौंदेखि यसैले निल्दै आको छ
न यसको भोक सेलाउँछ
न यहाँ आहार हुन आउनेहरू सकिन्छन्
बाजे,
तिमीलाई नि यसले सितन बनाउनुअघि
नाम बोकीकन नि बेनाम हुनुअघि
न्युयोर्कपुरी छाडी
तिमी अब अलकापुरी फर्कन्छौ कि नाइँ ?