एमालेबाट प्रधानमन्त्रीको उम्मेदवार नेम्बाङ
काठमाडौंः प्रधानमन्त्री निर्वाचनमा एमालेले उम्मेदवारी दिने तयारी गरेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका पक्षमा संसद्मा करिब दुई तिहाइ निकट मत देखिए पनि सो पार्टीले उम्मेदवारी दिन लागेको हो । एमालेसहितको गठबन्धनले दिने उम्मेदवारीले दाहाललाई प्रधानमन्त्री बन्नबाट रोक्ने स्थिति छैन । प्रधानमन्त्री निर्वाचनमा आफ्ना धारणा देशभरि पुर्याउने अवसर सदुपयोग गर्न उम्मेदवारी दिने नेताहरूले बताएका छन् ।
बुधबार हुने निर्वाचनमा अहिलेसम्म पार्टीका संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्बाङको नाम अगाडि छ । उम्मेदवारका चर्चामा उपाध्यक्ष वामदेव गौतम र माले महासचिव सीपी मैनालीको नामसमेत चर्चामा आइरहेको छ । मैनाली ओली सरकारका उपप्रधानमन्त्री हुन् । स्रोतका अनुसार गौतमलाई उम्मेदवार बन्नका लागि अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए । ओलीको सो प्रस्ताव स्वीकार्दै गौतमले त्यसका लागि आफूलाई संसदीय दलको नेता दिनुपर्ने सर्त राखेका थिए । ओली र गौतमबीच विगतको सहमति कार्यान्वयन हुनुपर्ने दाबी गर्दै गौतमले पार्टी सञ्चालनका लागि ‘गुटका नेता’ नभएर पार्टीकै नेता ल्याउन चुनौतीसमेत दिएको स्रोतको दाबी छ ।
केही समयपहिले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नामसमेत चर्चामा आएको थियो । मसालले केसीको नाम चर्चाबाट हटाउँदै आफूहरू माओवादी केन्द्रका अध्यक्ष दाहालसँग चुनावी प्रतिस्पर्धा नगर्ने जानकारी ओलीलाई दिएको बालुवाटार स्रोतले बतायो ।
एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले प्रधानमन्त्रीका लागि नेम्बाङले उम्मेदवारी दिने सार्वजनिक रूपमै स्वीकारेका छन् । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले भने, ‘अहिलेका प्रधानमन्त्री पार्टी संसदीय दलको नेता हुन् भने बुधबार हुने प्रधानमन्त्री निर्वाचनका उम्मेदवार संसदीय दलका नेताएवं पूर्व सभामुख सुवास नेम्बाङ हुन् ।'
एमालेले प्रधानमन्त्रीको उम्मेदवारमा कसलाई प्रस्ताव गर्ने भन्नेबारेमा आधिकारिक रूपमा कुनै निर्णय गरेको छैन । यद्यपि प्रधानमन्त्री ओली, संसदीय दलका उपनेता नेम्बाङ, कानुनमन्त्री अग्नि खरेलबीच नेम्बाङ, गौतम र मैनालीमध्ये कसैलाई उमेदवार बनाउनेबारे छलफल भइरहेको एमाले केन्द्रीय सदस्य सूर्य थापाले बताए । उनले भने, ‘गौतम र सुवास नेम्बाङ तथा नेकपा मालेका महासचिव मैनालीमध्ये एक प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का छ ।
' संसदमा १७२ जना सांसद रहेको पार्टीले पाँच सिट रहेको मालेका महासचिव मैनालीलाई उम्मेदवार उठाउनुपर्ने कारण स्पष्ट गर्न माग गर्दा एक नेताले भने, ‘केपी ओली सरकारलाई अन्तिमसम्म साथ दिनु, मैनाली एमालेको संस्थापक नेता हुनु, साना दललाई महत्व दिएको सन्देश आमजनताबीच पुर्याउनु, कम्युनिस्ट एकताका लागि एमाले प्रतिबद्ध रहेको अनुभूति कार्यकर्तामा पुर्याउनु हो ।'
एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्रीमा पार्टीबाट कसलाई उम्मेदवारी दिने भने निर्णय हुन बाँकी रहेको बताए । संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले पार्टी स्थायी समितिको बैठक बसेर वा शीर्ष नेताहरू छलफल गरेर प्रधानमन्त्रीको उम्मेदवारको टुंगो लगाउने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !