इतिहास जोगाउने अभिभारा
![इतिहास जोगाउने अभिभारा](https://annapurnapost.prixacdn.net/media/albums/Nebisang-flag-57a2b27d9e9c02.69004224_BNaGEKDcrx.jpg)
नेपालको राजनीतिमा लामो क्रान्तिकारी इतिहास भएको, त्याग बलिदान र क्रान्तिको संवाहक नेपाली कांग्रेसजस्तो विशिष्ट राजनीतिक दलको युवा शक्ति परिचालन गर्ने नेपाल विद्यार्थी संघ हो । नेपाली कांग्रेसका अहिलेका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले स्थापनाकालमा हाँकेको संस्था हो नेविसंघ ।
२०२७ सालअघि विभिन्न विद्यार्थी संगठनहरू परिचालन गर्दै आएका शेरबहादुर देउवा, बीपी कोइरालाको प्रत्यक्ष निर्देशनमा संघको स्थापना गर्दा राजनीतिक स्वतन्त्रता र आर्थिक समानताका साथै देशको युवा शक्तिलाई विशेष प्रकारको गुणस्तर युक्त शिक्षा दिलाउने लक्ष्यका साथ अघि बढेका थिए ।
देशमा तत्कालीन तानाशाही सामन्ती हुकुमी शासन व्यवस्था चलेको थियो । खासगरी कांग्रेसको नेतृत्वमा २००७ सालमा स्थापना भएको प्रजातान्त्रिक व्यवस्थालाई २०१७ सालको फौजी कुदेताद्वारा ध्वस्त पारिएको थियो । त्यस प्रतिक्रान्तिविरुद्ध कांग्रेसले सशस्त्र विद्रोहको झन्डा उचालेको थियो । दलका युवाले तानाशाही सत्ताविरुद्ध देशव्यापी विद्रोह मच्चाइरहेका थिए ।
सामान्य विद्रोहले केही नहुने देखेर पार्टीले नेविसंघ स्थापनाको केही समयपछि मुक्ति सेना गठन गरेर ओखलढुंगालगायतका रणनीतिक क्षेत्रहरू कब्जा गर्दै लगेको थियो । देशभर युवाहरू ३६ नं. ग्रिनेड बोकेर ब्यारेक र प्रहरी चौकीहरू ध्वस्त गरिरहेका थिए । तानाशाही सरकार देशव्यापी धरपकड र युवाहरूको कत्लेआम गर्न तल्लीन थियो ।
क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठ जस्ता कारागारमा बन्दी बनाइएका व्यक्तिहरूको लास बेपत्ता पारिएको थियो । त्यतिमात्र नभएर राम लक्ष्मणलगायतका युवालाई नख्खु कारागार बाहिर भाग्न लगाएर पछाडिबाट गोली हानि मारिएको थियो । आफूसँगै हुर्केका उस्तै राजनीतिक लक्ष्य लिएका र खाइखेलेका दौँतरीहरू भटाभट क्रूरताका साथ मारिँदा पनि शेरबहादुर देउवालगायत संघको नेतृत्वमा रहेका नेताहरूले पनि आफ्नो विचार र संगठन त्यागेनन् ।
पार्टीको चारतारे झन्डा मात्र होइन, क्रान्तिको विशिष्ट मसाल जलेको नेविसंघको झन्डालाई पनि कहिल्यै झुक्न दिएनन् । संघ विगतको इतिहास अत्यन्तै उज्यालो, क्रान्तिकारी र कुनै गुट र पक्षपात नभएको प्रजातन्त्र र समाजवादप्रति समर्पित भएको युवाको लडाकु दस्ता थियो ।
नेविसंघको इतिहास जति उज्यालो छ र विगतको यसको नेतृत्व जति क्रान्तिकारी आत्मबलिदानी एकीकृत देखिन्छ, अहिले विगत केही कालदेखि यसमा धमिरा लाग्न सुरु भयो र एक दसकयता संघको नेतृत्वले आफ्नो इतिहासलाई नै तहसनहस पार्ने काम गरेको देखिन्छ । विगतमा कांग्रेसमा अनेक वैचारिक धारहरू देखा परे पनि सधैँ एकीकृत रहेको संघ आफ्नो वैचारिक शत्रुहरूको बदला लिन भन्दै आपसमा विग्रहका अति तुच्छ खेलमा फस्यो ।
विद्यार्थी नेताहरू त्याग बलिदान र क्षमताभन्दा नेताहरूका पाउ मोल्दै टीके प्रथाद्वारा नेतृत्वमा लादिएर निजी स्वार्थ पूरा गर्न तल्लीन देखिए । उनीहरूले नेपाली जनता, नेपाल राष्ट्र र प्रजातान्त्रिक समाजवादको आदर्शलाई तिलाञ्जली दिएर संस्थालाई युवा विद्यार्थीबीच हिजोका मण्डले संगठनको हैसियतमा पुर्याए ।
तिनीहरूका मतियारहरू अहिले पनि बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरूको छाती चिर्ने दाउमा गुट राजनीति गर्नमै तल्लीन पाइन्छन् तर कोटी–कोटी प्रजातन्त्र सेनानीहरूको पार्टी कांग्रेसलाई सही मार्गमा ल्याउने नेतृत्व चयन गर्न कांग्रेसको ऐतिहासिक बाह्रौँ महाधिवेशन पूर्णरूपमा सफल भएको छ ।
यस्तो सफलता प्राप्त गर्नमा नेतृत्वदायी भूमिका खेल्ने व्यक्तित्वहरूको जति बढी भूमिका छ, देशव्यापी रूपमा युवाहरूले पनि कम योगदान दिएका छैनन् र त्यसमा पनि नेविसंघमा आबद्ध हजारौँ युवाले गाउँगाउँमा सच्चा योग्य र सबल नेतृत्व कायम गराउन ज्यादै परि श्रम गरेको हामी सबैले बुझेका छौँ ।
यस्तो अतुल्य त्याग बलिदान र दायित्व निर्वाह गर्ने युवा योद्धाहरूले संघमा फेरि क्रान्तिकारी उत्साह र कुनै प्रकारको गुटगत पूर्वाग्रह नभएको स्वच्छ, स्वस्थ र त्यागप्रति उत्प्रेरित नेतृत्वसहित तत्काल संगठनलाई नयाँ धरातलमा स्थापित गरेर नेपालका समग्र युवा विद्यार्थीलाई प्रजातान्त्रिक समाजवादको उज्ज्वल मार्गमा अग्रसर गराउन कम्मर कसेर लाग्न सक्यौँ भने देशलाई बाह्रौँ शताब्दीको नवीन प्रगतिपथमा तत्काल पुर्याउने राजनीतिक नेतृत्वको अभीष्टमाथि आवश्यक योगदान पुर्याउन सक्नेछौँ ।
प्रजातन्त्र, समाजवाद र खुला अर्थतन्त्र एवं उदार राजनीतिको एकमात्र संवाहक कांग्रेसको युवा दस्ता संघको काँधमाथि असाधारण जिम्मेवारी आएको छ र त्यसलाई खुला दिलले संस्थाको महाधिवेशन सम्पन्न गर्न मौलिक नीति र कार्यक्रम चयन गर्न एवं नेपाली युवालाई स्वतन्त्रता र आत्मगौरवको उज्यालो क्षितिजतर्फ डोर्याउने अग्रसरताको खाँचो छ ।
नेपाल अहिले विश्वका प्रजातान्त्रिक शक्तिहरूको लागि गम्भीर चुनौतीको क्षेत्र बनेको छ । विगत डेढ दसकयता देश असाधारण रूपमा आतंकवादबाट क्षत्विक्षत् पारिएको थियो र अन्तर्राष्ट्रिय षड्यन्त्रबाट नेपाललाई अफगानिस्तान र कम्बोडियाजस्तै विभिन्न शक्तिहरूको रक्तपातपूर्ण खेल मैदान बनाउने काम गर्न खोजिएको पाइन्छ ।
नेपालमा कांग्रेसको नेतृत्वमा संसदीय प्रजातान्त्रिक व्यवस्थाद्वारा राजनीतिक स्वतन्त्रता र आर्थिक विकासको अग्रगामी क्रियाकलाप चल्न थालेपछि विगतका सामन्ती विघटनकारी शक्तिहरू मात्र होइन, अन्तर्राष्ट्रिय षड्यन्त्रका वाहक थरीथरी आतंकारीहरूले खुला राजनीतिको फाइदा उठाएर देशलाई रगतको आहलमा डुबाउन पुगे ।
त्यस्तो बेला पनि नेपाली कांग्रेसको नेतृत्वले संयमित भएर अन्तर्राष्ट्रिय शक्तिका गोटी चाललाई परास्त गर्दै गयो । आतंककारीलाई पनि शान्तिपूर्ण तरिकाले राजनीतिक मूल प्रवाहमा ल्याएर संसदीय प्रजातान्त्रिक व्यवस्थाको समकालीन विश्वमा कुनै विकल्प छैन र साम्यवाद विश्वबाटै इतिहासको विषय बन्दैछ भन्ने प्रमाणित गर्न सफल भयो ।
राजनीतिमा विशेष भूमिका खेलेकाले नै अन्तर्राष्ट्रिय षड्यन्त्र र स्थानीय स्तरको संगठित आतंकविरुद्ध जुधेर कांग्रेस देशको सबभन्दा ठूलो जननिर्वाचित दलका रूपमा सावित भयो । यस दलका अतिरिक्त सबै पार्टीहरू कुनै न कुनै रूपमा तानाशाही तत्त्वका मतियार देखिन्छन् ।
त्यसैले प्रजातन्त्र, समाजवाद र खुला अर्थतन्त्र एवं उदार राजनीतिको एकमात्र संवाहक कांग्रेसको युवा दस्ता संघको काँधमाथि असाधारण जिम्मेवारी आएको छ र त्यसलाई खुला दिलले संस्थाको महाधिवेशन सम्पन्न गर्न मौलिक नीति र कार्यक्रम चयन गर्न एवं नेपाली युवालाई स्वतन्त्रता र आत्मगौरवको उज्यालो क्षितिजतर्फ डोर्याउने अग्रसरताको खाँचो छ ।
यस्तो विशिष्ट भूमिका खेलेर राष्ट्र र समाज अनि देशको राजनीतिक तरलतालाई ठेगान लगाउने दायित्वप्रति नेविसंघ किन उदासीन छ ? यो प्रश्न आम नेपाली जनताका मनमा उठेको छ । अहिले संघको नेतृत्व के गर्दै छ भनी धेरै पक्षबाट सूक्ष्म रूपमा केलाउने काम भइरहेको छ ।
देशलाई समाजवादी प्रजातन्त्रको उज्यालोमा राजनीतिक स्थिरताको प्रत्याभूति गर्न अग्रसर रहून् भन्ने सपना देख्ने नेपाली जनमानस अहिले हाम्रा क्रियाकलापबाट वाक्कदिक्क भइसकेको पाइन्छ । हाम्रा विद्यार्थी नेताहरू विधि र विधानको सवाल उठाएर अधिवेशन नहोस् भन्ने बहानामा आठौँपटक सरेको महाधिवेशन फेरि सार्ने दाउमा लागेका छन् । पार्टी नेतृत्व वर्ग पनि सक्षम र कुशल नेतृत्वलाई ल्याउनुको बदला आफ्ना हरुवाचरुवालाई स्थापित गर्ने दाउमा रहेको दुर्भाग्यपूर्ण अवस्था छ ।
यसले संघजस्तो संघर्षशील एवं लडाकु चरित्र भएको संगठन फेरि पनि गतिहीन अवस्थामा पुग्ने त होइन भन्ने चिन्ताको विषय बनेको छ । देशका प्रजातान्त्रिक एवं परिवर्तनकारी युवालाई ऊर्जावान् बनाउने यो क्रान्तिको बलिवेदीबाट निर्मित संस्था यस राष्ट्रकै भविष्य र अस्तित्वसँग जोडिएको छ र यस्तो संस्थामा कमजोर, गुटबाज र चाकरी–चाप्लुसी गर्ने अनि अनेकथरी षड्यन्त्र गरी आफूलाई मात्र स्थापित गर्न खोज्ने गलत नेतृत्व यस महान् संस्थामा हावी भयो भने त्यो नेपाली युवा वर्गको भविष्य र राष्ट्रकै स्थिरतामाथि कुठाराघात हुन जानेछ ।
त्यसैले संघबारे सबैले छातीमा हात राखी मन, वचन र कर्मले यसको गौरवमय उज्यालो इतिहासलाई पुनस्र्थापित गर्दै नेपाली युवा वर्गलाई एक्काईसौँ शताब्दीमा एक ऊर्जावान् र गतिशील भविष्य प्रदान गर्न सकोस्, यसको लागि अविलम्ब महाधिवेशन सम्पन्न हुनैपर्छ, नयाँ मौलिक र समकालीन विश्व स्थितिको सही आकलन गर्ने नीति र कार्यक्रम निर्माण गरिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)