विषाक्त बन्दैछन् सामाजिक सञ्जाल ?
![विषाक्त बन्दैछन् सामाजिक सञ्जाल ?](https://annapurnapost.prixacdn.net/media/albums/Social-Site-57a405d255ff46.15926375_6bawQnTExR.jpg)
आजभोलि सामाजिक सञ्जालमा बौद्धिक र सभ्य अन्तरक्रियाभन्दा बोक्रे टिप्पणी हाबी भएको छ । बोक्रे टिप्पणी गर्नेहरूले अश्लील शब्द प्रयोग गरेर सञ्जालका भित्ताहरुमा विकृति भित्र्याएका छन् । कतिपय शब्द त पढ्न र सुन्न पनि सकिँदैन । सामाजिक सञ्जालमा व्याप्त यस्ता गतिविधिले वातावरण नै विषाक्त बनाइदिएको छ ।
हामी आफूसँग नमिल्ने विचार छ भने कि अनफलो, म्युट गर्छौं, कि विभिन्न विवाद गर्छौं र रिस, द्वेषयुक्त अपाच्य प्रतिक्रिया दिन्छौँ । सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, इन्स्ट्राग्राममा राखिने फोटो र विचारमा यस्ता क्रियाकलाप देख्न पाइन्छ । यस्ता टिप्पणी सेलिब्रिटी र कलाकारका सामाजिक सञ्जालमा तुलनात्मक रूपमा अझ बढी देख्न पाइन्छ ।
'एनोनिमस' भनिने बेनामका पात्रले थप ऊर्जा दिएको छ । त्यस्ता कमेन्ट गर्दा हामी बिर्सन्छौं कि स्क्रिनपछाडि अवतार होइन, वास्तविक मान्छे हुन्छन् ।
पियु रिसर्च सेन्टरले सन् २०११ मा निकालेको एक प्रतिवेदनअनुसार ६९ प्रतिशत वयस्क प्रयोगकर्ताहरू सामाजिक सञ्जालमा रुखो व्यवहार गर्छन् र अरूसँग क्रूर बन्छन् । यसको प्रहार सेलिब्रिटीहरूमा बढी भएको छ । उनीहरूले राखेका फोटा र व्यक्त विचारमा अश्लील र भद्दा गालीको सामना गर्नुपर्छ । कहिलेकाहीँ त यस्ता प्रतिक्रियाले उनीहरूको व्यक्तिगत चरित्रमाथि अनगिन्ती निर्मम प्रहार गरिन्छ । त्यस्ता टिप्पणी आफ्नै परिवार र साथीभाइसँग बसेर हेर्न सकिन्न ।
केही समयअघि अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत अश्लील गाली नगर्न अनुरोध गरिन् । 'मेरो मन रुवाउनेहरू' को लागि शीर्षकमा उनले आफ्नो आधिकारिक फेसबुकमार्फत भावुक पोस्ट गरेकी हुन् ।
उनी गुनासो गर्छिन्, 'जब–जब म नयाँ फोटो हाल्छु, कुनै नयाँ फिल्मको गीत या म्युजिक भिडियो सेयर गर्छु, यसपछि धेरै गाली गलौज गरिन्छ, किन ? गर्नुहुन्छ ? के मैले चोट पुर्याएँ ? आमाले ती कमेन्ट पढेर त्यसलाई हटाउन छोरीलाई सुझाइन् । यस्तौ समस्या अरू कलाकारहरूले पनि सामना गर्नुपरेको छ ।
सन् २०१४ मा जेल्दा विलियम्स, रविन विलियम्सकी छोरीले आफ्नो बुबाका बारेमा ट्रोलले गरेको क्रुद्ध ट्विटका कारण ट्विटरको अकाउन्ट नै बन्द गर्नुपर्यो । त्यस्तै पप स्टार इजी आजलियाले पनि यस्तै खालका कमेन्टले गर्दा आफ्नो ट्विटर नै बन्द गरिन् । उनले सामाजिक सञ्जाल र इन्टरनेटलाई 'नराम्रो' भनेर परिभाषित गरिन् ।
त्यस्तै गायिका अडिलले पनि सन् २०१२ मा आफ्नो बच्चाको हत्या गर्ने थ्रेट सामाजिक सञ्जालको ट्रोलमार्फत थाहा पाएपछि उनले ट्विटर बन्द गरिन् । अर्की नायिका हेविटले पनि सामाजिक सञ्जालमार्फत यस्तै थे्रटको सामना गर्नुपरेपछि उनले पनि ट्विटर बन्द गरिन् ।
कहिलेकाहीँ सेलिब्रिटीका कारण पनि सामाजिक सञ्जाल गालीगलौजको राणाभूमिमा परिणत हुने गर्छ । फोटोमा मात्र होइन, उनीहरूले सामाजिक सञ्जालमा अनेक विषय र व्यक्तिका बारेमा गलत र भ्रामक विचार व्यक्त गर्दा पनि त्यसले अनगिन्ती खराब कमेन्ट निम्त्याउँछ ।
हामी सोच्छौँ, सामाजिक सञ्जालमा धेरै फ्यान वा अडियन्स हुने सेलिब्रिटीले विचार सयर गर्दा बडो ध्यान पुर्याउँछन्, तर सधैँ त्यस्तो हुँदैन । डुनिङ केगर एफेक्टलाई लिन सकिन्छ, जसअनुसार अहिलेको आधुनिक युगमा सेलिब्रिटी वा उच्च ओहोदामा पुग्नु मात्र बौद्धिकताको सूचक हुँदैन । उनीहरू आफ्ना विचार बडो आत्मविश्वासका साथ प्रस्तुत गर्छन् ।
कहिलेकाहीँ त उनीहरू जानीजानी आफ्नो लोकप्रियता बढाउन विभिन्न विषय र व्यक्तिका बारेमा अनावश्यक विचार पोख्छन्, जसले गर्दा सामाजिक सञ्जाल गाली गलौजयुक्त रणभूमि बनिदिन्छ । कुनै कलाकार कलाकारितामा पोख्त छन् भन्दैमा उनीहरूले वातावरण, डिप्लोमेसी, राजनीति, स्वास्थ्यका विषयमा व्यक्त गर्ने धारणा सही हुन्छ भन्ने जरुरी छैन ।
तर केही त हरेक विषयमा एक्सपर्ट झैँ विचार व्यक्त गर्छन् । गायिका लिली एलेनले पाइथागोरस थेरमका प्रश्नहरूलाई चुनौती दिँदै अनेक प्रश्न गरिन् भने केन्या वेस्टले व्यक्तिका बारेमा विचार पोखिन र भनिन्, 'बिली कोर्बसिन इज इनोसेन्ट ।'
सामाजिक सञ्जालको पहुँच कति सरल भएको छ भने यसमा सकारात्मक पक्षभन्दा बढी विकृति पनि सोहीअनुरूप मौलाउँदै गएको छ ।
नायिका पेमेला एन्डर्सनले जनावरको अधिकारको बारेमा एक्स्पर्ट झैँ आफ्ना विचार सामाजिक सञ्जालमा राखिन् भने यसले अवश्य नै अनगिन्ती राम्रा –नराम्रा टिप्पणी निम्त्याउँछ । त्यस्तै सिमोन कोवेलले भनेका छन्, उनले कार्टुनबाहेक अरू केही हेर्दैनन्, उनले राजनीतिका बारेमा आफ्नो विचार राखे भने त्यो सधैँ सही हुन्छ भन्ने छैन, जसले गर्दा पनि सामाजिक सञ्जालमा अनगिन्ती प्रतिक्रिया आउँछन् ।
पछिल्लो समय नेपाली मोडेल साहना बज्राचार्यले युरो कपको फाइनलको बेला रोनाल्डोको बारेमा टिप्पणी गरिन् र भनिन्, उनले आफ्नो क्यारियर परिवर्तन गरेर अब एक्टर बन्नुपर्छ । उक्त खेलमा विपक्षी टिमले उनलाई घाइते बनाएका थिए र उनी मैदान छोड्न बाध्य थिए । वास्तवमा उनले फेसबुकमार्फत आफ्नो विचार पोखेकी थिइन्, तर यसले गर्दा उनको पोस्टमा कमेन्टहरूको बाढी नै आयो ।
त्यो वेगसँगै त्यो घृणा र युद्धको रणभूमि बन्यो । कत्तिले त उनको चरित्रमाथि नै प्रहार गरेर प्रतिक्रिया दिए । कत्तिले त उनका अतीतका प्रसंग निकाल्दै तुच्छ शब्द प्रयोग गरे । त्यो एउटा विचारले गर्दा उनले अनगिन्ती गाली सामना गर्नुपर्यो । कुनै व्यक्ति वा विषयको बारेमा टिप्पणी गर्नुअगाडि गम्भीर रुपमा सोचविचार गर्नुपर्छ ।
सामाजिक सञ्जालको पहुँच कति सरल भएको छ भने यसमा सकारात्मक पक्षभन्दा बढी विकृति पनि सोहीअनुरूप मौलाउँदै गएको छ । घृणा, गालीगलौज, कसैको चरित्र हत्या गर्न सञ्जालको बढी प्रयोग गरिन्छ । अब सामाजिक सञ्जालमा अन्तरक्रिया गर्दा नयाँ कलाको आवश्यकता छ ।
त्यो कलामा अत्यन्त आवश्यक नियम के हो भने हामीले सामाजिक सञ्जालमा अन्तरक्रिया गर्ने व्यक्ति या कसैको फोटो या विचारमा प्रतिक्रिया दिन्छौँ भने हामीले बिर्सनु हुन्न कि ती कुनै अवतार होइनन्, मानिस हुन् । के हामी त्यस्ता प्रतिक्रिया कुनै मानिसलाई भेटेर उसकै अगाडि दिन सक्छौँ ? कसैले त्यस्तै प्रतिक्रिया दियो भने सुन्न सक्छौँ ? अब सामाजिक सञ्जालमार्फत कसैलाई हौसला, माया, सद्भाव प्रदान गरौँ । अरूलाई गालीगलौज गरेर सामाजिक सञ्जालको वातावरण विषाक्त र तिक्ततापूर्ण नबनाऔँ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)