मनीग्रामको सेवा विस्तार
काठमाडौंः मनीग्रामले सिटी एक्सप्रेससँगको सहकार्यमा नेपालका विभिन्न स्थानबाट रकम भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । यो सहकार्यबाट विदेशमा बसेका नेपालीलाई वर्षैभरि र समायानुकूल तबरले रकम प्राप्त गर्न सजिलो हुने कम्पनीले जनाएको छ ।
मनीग्रामले नेपालमा आफ्नो पहुँच बढाउँदै सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिसँग सहकार्य गरेको हो । दक्षिण एसियाका मनीग्रामका क्षेत्रीय निर्देशक शेशागिरी मालियाका अनुसार नेपालमा रहेका ग्राहकलाई सहज र पायक पर्ने सेवा दिन संसारभरि रहेका नेपालीलाई सेवा पुर्याउन मनीग्राम तत्पर रहेको छ ।
उनका अनुसार सिटी एक्सप्रेससँगको सहकार्यले अब सो सेवा अझै विस्तारित भएको र विशेष गरी मध्यपूर्वमा काम गर्ने नेपालीका लागि यो सहकार्य उपयोगी साबित हुनेछ ।
सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संसारको सबैभन्दा अग्रणी रेमिट्यान्स सेवा प्रदान गर्ने कम्पनी मनीग्रामसँग सहकार्य गरी सेवा पुर्याउन पाउँदा अत्यन्तै हर्षित र उत्साहित भएको जनाएका छन् । यसका साथै मनीग्रामको सेवा सिटी एक्सप्रेसबाट प्राप्त गर्ने ग्राहकले कारोबार गर्ने बित्तिकै ५० रुपैयाँको टपअप आफ्नो मोबाइलमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।