चिकित्सकीय लापरबाही भ्रम र यथार्थ
नेपालमा आयुर्वेदिक चिकित्सा प्रणाली अनादिकालदेखि नै प्रचलित रहेको भएता पनि आधुनिक चिकित्सा प्रणालीको इतिहास भने धेरै पुरानो छैन । इतिहासमा उल्लेख भएअनुसार मल्लकालमा तिब्बतको क्रिश्चियन मिसनमा कार्यरत पादरीहरूमार्फत नेपालमा आधुनिक चिकित्सा प्रणाली भित्रिएको पाइन्छ ।
यद्यपि सन् १८८९ मा वीर अस्पतालको स्थापनापछि मात्र संस्थागत रूपमा आधुनिक चिकित्सा प्रणालीको सुरुवात भएको हो । यो छोटो समयमा पनि चिकित्सा प्रणालीको देन भने उल्लेखनीय देखिन्छ ।
सन् १९५० को आसपासमा करिब २७ वर्ष अनुमान गरिएको नेपालीको औसत आयु सन् २००० सम्म आइपुग्दा ६६ वर्ष र युनिसेफले २०१३ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार ६८ वर्ष पुगेको छ । २५ प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि हुँदा पनि पछिल्लो १५ वर्षमा नेपालले स्वास्थ्य क्षेत्रमा गरेको उन्नति संसारमै उदाहरणीय छ ।
सन् १९९१ को राष्ट्रिय जनगणनाअनुसार शिशु मृत्युदर प्रतिहजार ९७ थियो भने पाँच वर्षमुनिका बच्चाहरूको मृत्युदर १४ प्रतिशत थियो । सन् २०११ मा भएको 'नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भे'को तथ्यांकअनुसार माथि शिशु मृत्युदर ९७ बाट ४६ र पाँच वर्षमुनिका बच्चाहरूको मृत्युदर १४ प्रतिशतबाट ५४ मा झरेको पाइएको छ ।
युनिसेफको २०१३ को प्रतिवेदनअनुसार शिशु मृत्युदर प्रतिहजार ३२ मा झरेको छ । ६ वर्षमुनिका बच्चाको मृत्युदर ४० प्रतिशतमा झरेको छ । त्यसैगरी नवजात शिशुको मृत्युदर सन् १९९७ मा प्रतिहजार ५० रहेकोमा २०११ मा ३३ र २०१३ सम्म आइपुग्दा २३ मा झरेको छ ।
मातृ मृत्युदरतर्फ ध्यान दिने हो भने सन् १९९१ मा बच्चा जन्माउने एक लाख महिलामध्ये पाँच सय १५ ले ज्यान गुमाउँथे भने २०१३ सम्म आइपुग्दा सो संख्या एक सय ९० मा झरेको छ । यसैगरी चिकित्सकको उत्पादन संख्या पनि विगत १० वर्षमा झन्डै तेब्बर भएको छ । संख्यामा मात्रै उन्नति भएको होइन, नेपालका कतिपय मेडिकल कलेजको गुणस्तर दक्षिण एसियामा नै नमुनालायक छ ।
नेपालमा उत्पादित चिकित्सक संसारभर नै सक्षम देखिएका छन् । यी र यस्ता धेरै तथ्यांकहरूले नेपालले स्वास्थ्य क्षेत्रमा छलांग मारेको प्रस्ट पार्छन् । यद्यपि अझै पनि दूरदराजका गाउँहरूमा रुघाखोकी र झाडापखालाजस्ता सामान्य रोगले समेत धेरैको ज्यान लिने गरेको उत्तिकै साँचो हो ।
०००
सञ्चार क्षेत्रमा पनि उत्तिकै छलांग मारेको परिवेशमा चिकित्सकीय लापरबाहीबारे चर्चा–परिचर्चा हुनु स्वाभाविक हो । उचित परामर्शको अभावमा चिकित्सकले गरेका कतिपय अथक प्रयास पनि आम जनमानसमा लापरबाही देखिने गरेको पाइन्छ । यसर्थ चिकित्सक तथा स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा समग्र जनमानसमा वास्तवमै मेडिकल लापरबाही भनेको के हो भन्नेबारे जानकारी हुनु जरुरी छ ।
सामान्य भाषामा लापरबाही भनेको गर्न नहुने काम गर्नु र गर्नुपर्ने नगर्नु हो । चिकित्सकबाट बिरामीको व्यावहारिक हेरविचार अथवा कौशलका प्रयोग हुन नसकी बिरामीमा शारीरिक, मानसिक तथा आर्थिक अशक्तता उत्पन्न हुने अवस्थालाई चिकित्सकीय लापरबाही भनिन्छ । चिकित्सकीय लापरबाही मामिला अदालतमा जान्छन् र सम्मानित अदालतमा चिकित्सकीय लापरबाही प्रमाणित हुन देहायको अवस्था हुनुपर्दछः
(क) आरोपित चिकित्सक बिरामीको हेरविचारमा ड्युटीमा खटिएको हुनुपर्ने ।
(ख) चिकित्सकले कामकर्तव्य उल्लंघन गरेको देखिनुपर्ने ।
(ग) परिणामस्वरूप पीडितमा शारीरिक तथा मानसिक क्षति पुगेको हुनुपर्ने ।
उक्त क्षति चिकित्सकले हेरविचार नपुर्याएकाले भएको हुनुपर्ने ।
०००
सामान्यतया व्यावसायिक लापरबाही भएको पुस्टि अर्को निपुण व्यावसायिक चिकित्सकको विशेषज्ञ प्रमाणबाट हुनुपर्छ । तर तथ्य आफैंले लापरबाही प्रष्ट्याउने अवस्थाजस्तै अप्रेसन गर्दा औजार शरीरभित्र छोड्नु, एउटा दाँत निकाल्नुपर्नेमा अर्को निकाल्नुजस्ता अवस्थामा स्वतः लापरबाही मानिनेछ ।
यदि चिकित्सकको लापरबाही भएर पनि पीडितमा कुनै क्षति पुगेको छैन भने उक्त अवस्थामा पीडितले कुनै पनि क्षति पुगेको दाबी गर्न पाउँदैन । साथै निहित जोखिमको अवस्थामा जस्तै सुई भाँच्चिएको अवस्थामा चिकित्सकको लापरबाही त्यतिबेला मानिन्छ जतिबेला उसले सुई भाँचिएको थाहा नै पाउँदैन अथवा थाहा पाएर पनि बिरामीलाई खबर गर्दैन अथवा थप असर कम गर्नको लागि आवश्यक व्यवस्था गर्दैन ।
सुई भाँच्चिएको जानकारी बिरामीलाई दिएर निकाल्न सक्दो प्रयास गर्दासमेत हुने क्षति निहित जोखिम भए पनि लापरबाही ठहर्दैन । सुई एउटा उदाहरणमात्र हो चिकित्साशास्त्रमा निहित जोखिमहरू धेरै हुन्छन् । तीबारे यथोचित परामर्श नपुग्दा जनमानसले त्यस्ता जोखिमलाई लापरबाहीको रूपमा बुझ्छन् ।
अर्को उदाहरण पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको मित्रराष्ट्र भारतमा उपचारको क्रममा भएको निधनलाई हेरौं । उनी अप्रेसन थिएटर जानु अगाडि सामान्य मानिसले देख्दा सद्दे देखिन्थे । अप्रेसनपछि उनलाई अथक प्रयासका बाबजुद पनि होसमा ल्याउन सकिएन । यो दुर्भाग्य थियो, लापरबाही थिएन ।
सोही प्रकृतिको घटना नेपालका कुनै अस्पतालमा कसैलाई हुँदा अघिसम्म ठमठम हिँडेर अस्पताल पुगेको मानिस अस्पतालको लापरबाहीले मृत्युशड्ढयामा पुर्यायो भन्ने अतिरञ्जित आरोप लाग्न सक्थ्यो । कुनै पनि अप्रेसनपश्चात् जटिलता हुन सक्नु अस्वाभाविक होइन र यसलाई लापरबाही भन्न मिल्दैन । चिकित्साशास्त्र आफैंमा जटिल छ ।
यसमा सही स्वास्थ इतिहास, परीक्षण र अनुसन्धानलाई विश्लेषण गरी सम्भावित रोगहरूको सूची (जसलाई चिकित्सकीय भाषामा प्रोभिजनल डाइग्नोसिस भनिन्छ) बनाएर उपचार अगाडि बढाउनुपर्छ । व्यक्तिपिच्छे प्रवृत्ति र पद्धति पनि फरक पर्छ । त्यसैले चिकित्साशास्त्रमा सामान्य अंकगणितमा जस्तो दुई र दुई जोड्दा ठ्याक्कै चार हुन्छ भने जस्तो हँदैन । यस्तो अवस्थामा फलानो चिकित्सकले यसो भन्यो फेरि अर्कोले अर्कै भन्यो भनी जनमानसमा गुनासो हुनु स्वाभाविकै हो ।
स्वाभाविक रूपले सबै बिरामी तथा आफन्तको चाहना यथाशीघ्र निको हुनु हो । यसको लागि चिकित्सकबाट भरपुर प्रयास हुन्छ र हुनुपर्छ । तर चिकित्सकीय पद्धतिका पनि सीमा हुन्छन् । चाहे जति सबै सम्भव हुँदैन । बिरामी र आफन्तको चाहनाअनुसार सबै पूरा हुने भए सायद कसैले पनि संसार छाड्नु पर्दैनथियो होला ।
कतिपय अवस्थामा फरक–फरक चिकित्सकको फरक राय लापरबाही होइन सम्भावनाको खोजी हो । यसर्थ चिकित्सकहरूले पनि एकअर्कामा द्वेषभाव नराखी अर्को चिकित्सकको राय र भावनाको कदर गर्न सक्नुपर्छ । अप्रेसन गरेपछि शरीरभित्र पाइप राख्नुपर्ने अवस्था कतिपय समस्याको उपचार पद्धति हो, लापरबाही होइन ।
यस्तो अवस्थामा समेत 'चिकित्सकद्वारा बिरामीको पेटमा पाइप छोडियो' भन्ने जस्ता कपोकल्पित समाचार बन्दा चिकित्सकले सही काम गरेको अवस्थामा पनि जनमानसमा नकारात्मक भ्रम पर्न जान्छ । सस्तो लोकप्रियताका लागि विषयको गम्भीरता नबुझी मिडियाबाट अतिरञ्जित गरिँदा समस्या झनै बढ्न जान्छ । अदालतले पुष्टि नगर्दै सञ्चारमाध्यममा चिकित्सकको लापरबाही भनी समाचार आउनु अर्को लापरबाही हो ।
चिकित्साशास्त्रमा हजारौं लाखौंमा एकलाई हुने जटिलताले पनि बिरामीमा अपूरणीय क्षति तथा निधन नै पनि हुन सक्छ । आजकल चिकित्सकको लापरबाहीले गर्दा यस्तो भयो उस्तो भयो भन्ने समाचारहरू प्रशस्तै सुन्न÷पढ्न÷हेर्न पाइन्छ तर अदालतबाट त्यस्ता घटनाको पुष्टयाइँ भएको विवरण नगन्य पाइन्छ ।
कि त कानुनी कारबाही हुन नसकेको अवस्था हुनुपर्यो अथवा प्रकाशमा आएका घटनामा लापरबाही नभएको हुनुपर्यो । चिकित्सकहरूबाट कमी, कमजोरी तथा लापरबाही हुँदै हुँदैन भन्न खोजिएको होइन, हुनसक्छ । त्यस्ता लापरबाही दण्डनीय नै हुन्छन् ।
नेपालमा व्यावसायिक आचारसंहिता उल्लंघनको मामिला नेपाल मेडिकल काउन्सिलले हेर्छ भने चिकित्सकीय लापरबाहीको मामिला विज्ञको रायमा अदालतले हेर्छ । यो विषय कुनै स्थानीय चुल्ठेमुन्द्रेले हेर्ने होइन । कुनै लापरबाही भएको आरोपमा चिकित्सक माथि हातपात गर्नु, स्वास्थ्य संस्था तोडफोड गर्नु, नियम कानुन र कानुनी राज्यको उपहास हो ।
मानव स्वास्थ्यजस्तो संवेदनशील विषयमा हेलचेक्र्याइँ गर्नेलाई कानुनी कारबाही गर्न नेपाल मेडिकल काउन्सिल तथा अदालत कसैले पनि अलिकति पनि कञ्जुस्याइँ गर्नु हुँदैन । तर यथार्थ कुरो नबुझी वैधानिक बाटो छोडेर अवैधानिक तवरबाट चिकित्सक तथा स्वास्थ्यकर्मी एवं अस्पताल माथि आक्रमक हुनु न्यायोचित होइनमात्र भन्न खोजिएको हो ।
०००
चिकित्सकीय लापरबाहीका प्रकारः
(क) देवानी प्रकारका लापरबाहीः
अदालतबाट पुष्टि हुन जरुरी भएका बिरामी तथा आफन्त र चिकित्सकबीच देखिने लापरबाहीका मामिलालाई देवानी प्रकारका लापरबाही भनिन्छ । यस प्रकारका मामिलामा बादी प्रतिवादी बिरामी र चिकित्सक हुन्छन् । क्षतिपूर्ति पूरणीय हुन्छ र देवानी अदालतबाट फैसला हुन्छ ।
(ख) फौजदारी लापरबाहीः
राज्य र चिकित्सकबीचको लापरबाहीलाई फौजदारी लापरबाही भनिन्छ । यसमा अपूरणीय क्षति हुन्छ । सजाय क्षतिपूर्तिमा मात्र सीमित नभई जरिवाना वा जेल सजाय वा दुवै हुन सक्छ । यस्ता लापरबाहीमा वादी नेपाल सरकार हुन्छ भने प्रतिवादी चिकित्सक हुन्छ ।
(ग) नैतिक लापरबाहीः
यसअन्तर्गत मेडिकल आचारसंहिताको उल्लंघन भएका मामिलाहरू पर्छन् जसमा सिभिल नेग्लिजेन्स प्रस्ट नहुँदासम्म चिकित्सकले कुनै पनि क्षतिपूर्ति दिन आवश्यक हुन्न । यस्ता मामिला नेपालमा नेपाल मेडिकल काउन्सिले हेर्छ ।
ड्युटीमा हुने लापरबाही, पदीय मानमर्यादाको दुरुपयोग, अवैध मेडिकल प्रमाणपत्र बनाउने काम, भ्रूणको लिंग पहिचान तथा गैरकानुनी गर्भपतन आदि मामिला नैतिक लापरबाहीअन्तर्गत पर्दछन् । यस्तो अवस्थामा चिकित्सक दोषी पाइएमा नेपाल मेडिकल काउन्सिलले 'नेपाल मेडिकल काउन्सिल ऐन २०२०' अनुसार चिकित्सकको दर्ता निलम्बन तथा दुई वर्षको लागि खारेजीसमेत गर्न सक्नेछ ।
(घ) संस्थागत लापरबाहीः
अस्पतालको भौतिक कमजोरी, खराब औषधि तथा औजार, अदक्ष एवं अर्धदक्ष कामदार तथा अन्य कारणले न्यूनतम आवश्यक आधारभूत आवश्यकता पुर्याउन नसकेर हुने लापरबाही यसअन्तर्गत पर्दछन् । यसमा चिकित्सकलगायत अन्य सबैलाई जिम्मेवार मानिन्छ ।
बढ्दो निजीकरण र व्यावसायीकरणले चिकित्सा पेसा एवं समग्र स्वास्थ्य पेसा सेवामुखीबाट नाफाउन्मुख बन्दा निजी क्षेत्रबाट संस्थागत लापरबाहीको सम्भावना बढेको छ । त्यसैले यसलाई नियन्त्रण गर्न राज्यले प्रभावकारी कदम चाल्नु जरुरी छ । हरेक स्वास्थ्य संस्थामा न्यूनतम मापदण्डअनुसारको भौतिक पूर्वाधार तथा स्वास्थ्य जनशक्ति कुनै पनि अवस्थामा तोकिएभन्दा कम हुन दिनु हुँदैन ।
(ङ) अंशदायी लापरबाहीः
अन्य लापरबाहीका साथसाथै बिरामी तथा बिरामी पक्षबाट हुने लापरबाहीले हुने क्षति जस्तै समयमा औषधि सेवन नगरेर, परामर्शअनुसारको जाँच नगरेर, फ्लोअप नगरेर हुने लापरबाही यसअन्तर्गत पर्दछन् । यस्ता लापरबाहीमा बिरामी तथा बिरामी पक्षधरको ठूलो भूमिका हुन्छ ।
अरूबेला टाउको दुखेको, पखाला लागेको आदिको औषधि दिनु न भनेर औषधि पसलेसँग औषधि मागेर खाने अनि समस्या गम्भीर भएपछि मात्र चिकित्सकको ढोका ढकढकाउने बानी अधिकांश नेपालीको नियति नै भएको छ ।
०००
चिकित्सकीय लापरबाहीविरुद्ध नेपालमा प्रचलित कानुनः
मुलुकी ऐन इलाज गर्नेको महलअन्तर्गत धारा १, ३ र ३ मा दण्ड सजाय रु.पाँच सय जरिबाना वा दुई वर्ष जेल सजाय वा दुवै हुन सक्ने व्यवस्था गरिएको छ । साथै उपभोक्ता हित संरक्षण ऐन २०२४ को धारा १० को उपधारा (ग), (घ), (ङ), (च) मा रु.तीन लाखदेखि पाँच लाखसम्म जरिबाना वा १४ वर्षसम्म जेल सजाय वा दुवै हुन सक्ने व्यवस्था गरिएको छ ।
०००
राज्यका धेरै सरसुविधा सहरकेन्द्रित भएझै चिकित्सकहरू पनि सहर विशेषगरी राजधानी काठमाडौं केन्द्रित भएको तथ्य अकाट्य छ । तर सरकारी सेवामा नवप्रवेशी चिकित्सकहरू दुर्गममा जान तँछाडमछाड गर्छन् भन्ने यथार्थ जनमानसमा अपत्यारिलो हुन सक्छ । सरकारी सेवामा पदोन्नती तथा वृत्ति विकास दुर्गम सेवाको भूमिका महत्त्वपूर्र्ण पारिएको छ ।
थप अध्ययनका लागि हुने प्रवेश परीक्षामा अति दुर्गममा काम गर्नेले पाउने २० अंक र क्रमिक रूपमा घट्दै आउँदा सुगममा काम गर्दा पाइने १० अंकले गर्दा अब्बल चिकित्सकहरूको पहिलो रोजाइ दुर्गम सेवा हुन गएको छ । यसरी राज्यको नीतिगत व्यवस्थाले भौतिक पूर्वाधार नपुगेका दूरदराजमा समेत चिकित्सकहरू जान आतुर छन् र यस्ता दरबन्दीहरूमा समयानुकूल वृद्धि गरी आवश्यक पूर्वाधार तथा अन्य जनशक्तिसहित गाउँगाउँमा चिकित्सकको उपस्थिति बाक्लो बनाउन राज्यले कन्जुस्याइँ गर्नु हुँदैन ।
समयसमयमा चिकित्सकहरूमाथि अशोभनीय आरोपसमेत लाग्ने गरेको पाइन्छ । जस्तै चिकित्सकले प्रलोभनमा परेर बलत्कारसम्बन्धी मामिलामा झुटो प्रतिवेदन दिए भनिन्छ । यस सम्बन्धमा स्पष्ट हुनुपर्ने विषय हो, बलात्कार भए नभएको भन्ने काम चिकित्सकको हुँदै होइन किनकि बलात्कार मेडिकल डायग्नोसिस नभई कानुनी परिभाषा हो, जसको व्याख्या र पुष्टि अदालतले गर्छ । पीडितको परीक्षण गरेपछि चिकित्सकले दिने रायमा तथ्यगत आधारमात्र हुने भएकाले चिकित्सकले चलखेल गर्ने ठाउँ नै हँदैन र उनीहरूमाथि लाग्ने आरोप केवल मित्थ्या हो ।
०००
स्वाभाविक रूपले सबै बिरामी तथा आफन्तको चाहना यथाशीघ्र निको हुनु हो । यसको लागि चिकित्सकबाट भरपुर प्रयास हुन्छ र हुनुपर्छ । तर चिकित्सकीय पद्धतिका पनि सीमा हुन्छन् । चाहे जति सबै सम्भव हुँदैन । बिरामी र आफन्तको चाहनाअनुसार सबै पूरा हुने भए सायद कसैले पनि संसार छाड्नु पर्दैनथियो होला ।
एउटा डाक्टरको जिन्दगीमा हजारौं सफल मामिलाहरू हुँदा केही असफल मामिला हुनु मानवीय रूपमा अस्वाभाविक होइन । विमानचालकको एउटा गल्ती पछि अर्को गल्तीको मौका नआएजस्तै चिकित्सकको एउटा गल्ती पछि पुनः अर्को मौका नमिल्न सक्छ । यसर्र्थ यस्ता गल्ती हुन नदिन चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल, बिरामी तथा आफन्त सबैको प्रयास जरुरी हुन्छ । तर नभुलौं, चिकित्सकहरू पनि अरूजस्तै मानिस हुन्, भगवान होइनन् ।
अरू मानिसको जस्तै थकान, तनाव र व्यक्तिगत जीवन चिकित्सकको पनि हुन्छ । स्थापित विशेषज्ञ चिकित्सकलाई साँझ–बिहान क्लिनिक तथा दिनभरि अस्पतालमा भ्याइनभ्याइँ हुनुका साथसाथै रातिसमेत कनिष्ठ चिकित्सकहरूबाट बिरामीबारे टेलिफोन कन्सल्टेसन कल आइरहने हुँदा चौबीसैघन्टा व्यस्त रहनुपर्ने हुन्छ ।
एउटा आवासीय चिकित्सकको (जस्को नाम नै आवासीय छ तर नेपालमा बीपीकेआईएचएस धरानबाहेक अन्यत्र सजिलै आवास दिन सकिएको छैन) ड्युटी प्रायः बिहान ७ बजेदेखि सुरु हुन्छ त्यो दिनभरि, आउने रातभरि र भोलिपल्टको दिनभरिदेखि बेलुका ५/६ बजेसम्म ऊ ड्युटीमै रहनुपर्छ । त्यसपछि पर्सिपल्ट ऊ ७ बजे अस्पताल पुगेर पुनः ड्युटीको दोहोर्याउनु पर्छ ।
चिकित्सकबाहेक अन्यलाई सुन्दा अनौठो लागे तापनि हाम्रो देशका अधिकांश आवासीय चिकित्सकको लागि २४ देखि ३६ घन्टे ड्युटी नियति नै हो । हरेक ३६ घन्टे ड्युटीपछिको १० घन्टे फुर्सदको समयमा उसले पढ्ने, आराम गर्ने, निद्रा पुर्याउने तथा सबै व्यक्तिगत काम भ्याउनुपर्ने हुन्छ । आवासीय चिकित्सक भनेको वीर, शिक्षण, पाटन आदि मुख्य अस्पतालका मेरुदण्ड नै हुन् ।
त्यस्तै अधिकांश अस्पतालमा मेडिकल अधिकृत पनि उस्तैगरी व्यस्त हुन्छन् । व्यस्त हुन्छ र व्यस्तता, तनाव र थकानमा लापरबाही जाहेज हुन्छ भनेर जिकिर गरिएको होइन कि त्यस्तो परिस्थितिमा अपेक्षाकृत कार्य सम्पादनमा ह्रास आउन सक्ने मानवीय यथार्थलाई उजागरमात्र गरिएको हो । अतः हाम्रो देशमा नेपाल मेडिकल काउन्सिल तथा राज्यले नै एउटा चिकित्सकलाई दिन वा हप्तामा कति घन्टा काम लिन सकिन्छ भन्नेतर्फ व्यावहारिक रूपले सोच्न जरुरी छ ।
सबै चिकित्सकले हप्तामा कम्तीमा एक दिन अनिवार्य बिदा लिन जरुरी छ भनी नेपाल मेडिकल एसोसिएसनले गरेको पछिल्लो ठम्याइँ तथा अपिल सराहनीय भएकाले यथाशीघ्र सार्थकता पाउन जरुरी छ । व्यक्तिगत लाभलाई होस् या रोजीरोटी दिने संस्थाको बफादारीका लागि होस् कुनै पनि तर्कमा क्षमताभन्दा बढी बिरामी हेर्ने, ड्युटी गर्ने तथा खटिने काममा बन्देज आजको आवश्यकता भएको छ । विकसित मुलुकमा जस्तै चिकित्सक तथा कर्मचारीहरूलाई समयसमयमा अनिवार्य बिदा बस्नै पर्ने प्रावधान वाञ्छनीय देखिन्छ ।
०००
हाम्रो देशमा एउटा चिकित्सक बन्न लाग्ने समय, खर्च र उसले गर्ने आयआर्जनमा सन्तुलन देखिँदैन । प्लस टुसम्मको करिब १४/१५ वर्षको पढाइमा इन्टरनसिपसहित साढे पाँच देखि ६ वर्षसम्मको एमबीबीएस र छात्रवृत्तिमा अध्ययन गर्नेले दुई वर्ष सरकारी करार सेवा अनि अधिकांशलाई आकाशको फल बन्न लागेको तीनवर्षे पोस्ट ग्र्याजुएट त्यसपछि पाँच वर्ष करार अनि तत्पश्चात् सुपर स्पेसियालिटीको पढाइ सबैलाई जोड्दा यदि सबै सोचेकौ जस्तै हुँदा (जुन प्रायः असम्भव छ) र कुनै समय खेर नजाँदा ३४/३५ वर्षको अध्ययन चाहिने देखिन्छ ।
आर्थिक रूपमा एमबीबीएस अध्ययनमा आधा करोडभन्दा बढी खर्च हुन्छ । पोस्ट ग्र्याजुएटमामा त्यस्तै खर्च हुन्छ । सुपरस्पेसियलिटीको साँघुरो द्वार, ड्युटीको पेलान आदिका बाबजुद अधिकांशलाई जीविकोपार्जन गर्न मुस्किल पर्ने मासिक २०/३० हजार आयआर्जनले चिकित्सकहरूमा स्वाभाविक निराशा उत्पन्न हुन्छ । यही बाध्यताले गर्दा हाम्रो देशका धेरै अब्बल चिकित्सकहरू विदेश पलायन भएका छन् जसले राज्यलाई धेरै हानिनोक्सानी भएको छ ।
संसारका अधिकांश देशमा चिकित्सकको काम गर्ने समय निश्चित हुन्छ । आवासीय चिकित्सकले शैक्षिक शुल्क तिर्नुको सट्टा तलब तथा आवास सुविधा पाउँछन् । हाम्रो देशमा करिब ३५ वर्ष समय र करोडौंको लगानीमा चिकित्सक उत्पादन गरेर त्यस्ता चिकित्सकलाई सेवामुखीमात्र होऊन् भन्ने अपेक्षा कसरी गर्न सकिएला भन्ने प्रश्न उब्जिनु स्वाभाविक छ ।