भारतपरस्त होइनन् त बीपी ?
'अन्नपूर्ण पोस्ट्'को साउन ७ को शनिवारीय परिशिष्टांक 'फुर्सद'मा प्रकाशित राप्रउ पोख्रेलको 'बीपीका तीन राजनीतिक घुम्ती' शीर्षकको लेखमा गरिएका तर्कहरूको खण्डन गर्दै साउन १५ को 'फुर्सद'मा राम लोहोनीको 'बीपी भारतपरस्त नै हुन् ? ' शीर्षकको लेख प्रकाशित भयो । माथि उल्लिखित दुई लेखमा उठान गरिएका नेपालको राष्ट्रियता र विदेश नीतिबारे बीपी मान्यतामाथिको विमर्श हो यो लेख ।
१.
पोख्रेलले लेखमा '२००७ सालभन्दा अघिसम्म विप्र कोइरालाको नेपालसम्बन्धी ज्ञान त्यतिसारो देखिँदैन' भनेकोप्रति विमति जनाउँदै लोहनीले 'नेपाली राष्ट्रिय कांग्रेसको स्थापना स्वयंमा नेपालबारे अनभिज्ञताको परिणाम होइन' लेखेर बीपीलाई नेपालबारे एउटा नेतामा हुनुपर्नेजति ज्ञान थियो भन्न खोजेका छन् ।
बीपीमा नेपालबारे ज्ञान रहेको निश्चय पनि देखिन्छ । तर, एउटा राजनेतामा आफ्नो देशबारे हुनुपर्नेजति ज्ञानचाहिँ देखिँदैन । नेपालको इतिहास, भूगोल, संस्कृति, यहाँका मानिसको मनोविज्ञान, यहाँको राजनीति र अर्थतन्त्र आदिबारे आवश्यक ज्ञान हुन्थ्यो त उनले जेल बसाइको फुर्सदिलो क्षणमा कथा, उपन्याससँगै नेपालबारे पनि किताब लेखेका हुने थिए । बीपीमा नेपालबारे जेजति ज्ञान थियो, त्यो भारतीय नेताहरूको नेपालसम्बन्धी दृष्टिकोणबाट धेरै हदसम्म प्रभावित थियो ।
२.
बीपी कोइरालाको 'नेपाल भारतकै अभिन्न भाग हो' भन्ने अभिव्यक्तिको बचाउ गर्दै लोहनीले लेखेका छन्, ''अभिन्न भाग'को अर्थनिष्पत्ति गर्दा भूगोललाई बुझ्नु किमार्थ सही होइन । यो अभिन्नता प्रभाव क्षेत्रको अर्थमा हो ।'
'अभिन्न भाग' मार्काका अभिव्यक्ति बीपीबाट आएको यो एकमात्र सन्दर्भ होइन । नेपाली राष्ट्रिय कांग्रेसको प्रथम महाधिवेशनमा सभापतिको हैसियतमा बीपीले भनेका थिए, 'वास्तवमा नेपाल र भारत दुई देश होइनन् । नेपाल जातीय, धार्मिक र आर्थिक दृष्टिबाट हरेक प्रकारले भारतवर्षकै एउटा प्रमुख अंग देखिन्छ । आज राजनीतिक दृष्टिले जुन भिन्नता देखिन्छ, त्यसको मूलमा कूटनीतिज्ञ र स्वार्थी राजनीतिज्ञहरूको चालबाजीमात्र छ (प्रदीप गिरी, विश्वेश्वरप्रसाद कोइराला राजनीतिक अभिलेख) ।'
बीपीकालीन कांग्रेसका आधिकारिक दस्तावेजहरूमा पनि यस्तो 'अभिन्नता'को स्तुति गाइएका छन् । नेपाली राष्ट्रिय कांग्रेसको प्रथम महाधिवेशमा संगठनको औचित्य पुष्टि गर्न लेखिएको औपचारिक लेखोटमा पनि 'नेपाल वास्तवमा भारतसित भिन्न छैन' उल्लेख छ । भारतसँगको नेपालको 'सांस्कृतिक, आर्थिक, धार्मिक, सामाजिक र राजनीतिक सम्बन्ध सदासर्वदा अक्षुण्ण रहँदै आएको' उल्लेख गर्दै त्यसमा नेपाललाई 'नक्कली ढंगले शेष भारतदेखि स्वतन्त्र र भिन्न घोषित गर्नमा अंग्रेजहरूको र हाम्रो वर्तमान स्वार्थी शासक वर्गको स्वार्थ' रहेको जनाइएको छ ।
अझ अघि बढेर त्यसमा नेपालको स्थानीयता, यहाँको जातीय तथा भाषिक नवीनतालाई आधार बनाएर कांग्रेसअघि नेपालभित्र र बाहिर स्थापना भएका राजनीतिक संघसंस्थालाई 'वर्गवादी अथवा साम्प्रदायिक' संज्ञा दिँदै त्यस्ता संस्था मोहम्मद अली जिन्नाको मुस्लिम लिगले रोपेको 'विषवृक्ष'मुनि ओत लाग्न पुगेको मानिएको छ (हेर्नुस् 'नेपाली कांग्रेसका ऐतिहासिक दस्तावेजहरू') ।
बीपीका यस्ता अभिव्यक्ति र उनको बोलाबोल रहेका बेला पार्टीले गरेका निर्णयहरू हेर्दा उनले नेपाललाई पोख्रेलले भनेझैं '५ वा ६ सय भारतीय राज्यहरूसरह' मानेको जस्तो निश्चय पनि देखिँदैन । तर, नेपाललाई बीपीले भारतीय राज्यभन्दा धेरै भिन्न मानेजस्तो पनि देखिँदैन ।
चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले बीपीसँग अनाक्रामक सन्धि, शान्ति तथा मैत्री सन्धि र कोदारी राजमार्ग निर्माणसम्बन्धी सम्झौता गर्ने प्रस्ताव राखे । बीपीलाई नेहरूले चीनसँग सीमा र परियोजनामुखी सहयोगसम्बन्धी सम्झौतामात्रै गर्न सुझाव दिएका थिए ।
पृष्ठभूमिसहित अध्ययन गर्दा पनि बीपीले प्रयोग गरेको 'अभिन्न भाग'को अर्थ 'प्रभाव क्षेत्र' मान्ने ठाउँ छैन । आरम्भमा बीपीको विचार नेपालको प्रतिरक्षा र विदेश नीति भारतलाई सुम्पिएर भारतको 'प्रोटेक्टोरेट स्टेट' बन्न नेपालले स्वीकार्नुपर्छ भन्ने थियो । राणाशाही ढल्नुअघि मोहनशमशेर भारत भ्रमणमा रहेका बेला बीपीबाट 'नेपालको वैदेशिक र सुरक्षा नीति भारतसँग एकीकृत गरिनुपर्छ' भन्ने वक्तव्य आएको पनि थियो (लियो इ रोज, स्ट्राटेजी फर सर्भाइभल) ।
३.
राजनेता र विद्वान्ले गर्ने विश्लेषणमा मसिनो रेखा बराबरको मात्र फरक हुँदैन । सन् १९५९ मा जवाहरलाल नेहरूलाई चीनसँगको भारतको विवादबारे सोधिँदा उनले इतिहासमै पहिलोपटक साँधसीमा जोडिन पुगेका यी दुई मुलुकबीचको सीमा स्थिर बन्न उनीहरूबीच एक हदसम्मको द्वन्द्व आवश्यक रहेको बताएका थिए (रामचन्द्र गुहा, इन्डिया अफ्टर गान्धी) ।
यसमाथि व्यंग्य गर्दै गुहाले नेहरूको भनाइलाई 'भारतीय नेताको नभई विश्व इतिहासको विद्यार्थीको जवाफ' भनी टिप्पणी गरेका छन् । बीपीले नेपाल र भारतबीच भूगोल, धर्म, संस्कृति, अर्थतन्त्र सबै कुरामा समानता छ भनिरहँदा उसो भए राजनीतिक रूपमा मात्रै दुई मुलुकलाई भिन्न किन राख्नु पर्यो र ? भन्ने प्रश्न भोलिका दिनमा उठ्न सक्ला भन्ने सामान्य हेक्का पनि राखेको देखिँदैन ।
नेपाल-भारत 'अभिन्नता'लाई बरु नेहरूले शालीन भाषामा 'एसर्ट' गरेका थिए । सन् १९५९ मा उनले भनेका थिए, 'हिमालय एउटा बलियो शक्ति हो, जसमा कसैले दखल पुर्याउन सक्दैन । हिमालयहरू नेपाल र भारतका पुराना मित्र हुन् र यिनीहरूले हामी दुवैको सुरक्षा गरिरहेका छन् । हाम्रा राष्ट्रका कविता, साहित्य, कला र धर्ममा उनीहरूले साझा बिन्दु सिर्जना गरिदिएका छन् (ए.एस. भासिन, डकुमेन्ट्स अन नेपाल्स रिलेसन्स विथ इन्डिया एन्ड चाइना १९४९-६६)' । आमनेपाली मनोविज्ञानप्रति बीपीले नेहरूले जति पनि सचेतना नराख्नु दुर्भाग्यपूर्ण हो ।
४.
नेपाल र भारतको अलग अस्तित्वलाई निरंकुश शासक र साम्राज्यवादीले भजाइराखेकोतर्फ सतर्क हुनुपर्ने तर्क बीपीले गरेको लोहनीको लेखमा उल्लेख छ । नेपाली राष्ट्रिय कांग्रेसको प्रथम महाधिवेशनमा बीपीले सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोह दबाउन नेपाली र सिख फौज उपयोगी सिद्ध भएपछि ब्रिटेनले यस क्षेत्रका ससाना राज्यलाई आफूमा मिलाउने नीति त्यागेका कारण नेपाल स्वतन्त्र रहन पुगेको र यसैले गर्दा नेपालीले ब्रिटेनको पक्ष लिएर भारतीयलाई गोली दाग्ने दुर्भाग्यपूर्ण अवस्था सिर्जना हुन पुगेको उल्लेख गरेका छन् ।
'नेपाललाई भारतभन्दा भिन्न देश घोषित गर्दा केवल ब्रिटिस साम्राज्यवादलाई मात्र लाभ छैन, बरु यसबाट हाम्रा देशका स्वेच्छाचारी शासकहरूको पनि ठूलो स्वार्थसिद्ध हुन्छ' भन्ने बीपीको भनाइ इतिहासका विद्यार्थीका निम्ति तर्कवितर्कको विषय बन्न सक्ला । तर, राजनेताका रूपमा उनको यो भनाइ अल्पदृष्टियुक्त, त्रुटिपूर्ण र अपरिपक्व थियो ।
५.
बीपीको स्कुलिङलाई ध्यान दिँदा, उनीबाट यस्तो भनाइ आउनु अनपेक्षित देखिँदैन । भारतका समाजवादी नेताहरू र त्यसमा पनि खासगरी राममनोहर लोहियाको नैतिक सहयोगमा पार्टी स्थापना गर्ने बीपी कुनै बेला भारतको कांग्रेस सोसलिस्ट पार्टीको बिहार युनिट सदस्य थिए (त्रिभुवन नाथ, द नेपलिज डिलेमा) । सन् १८५७ को सिपाही विद्रोहपछि नेपाली सैन्य क्षमताको उपादेयता राम्रोसँग बुझेको ब्रिटेनले भारतमा शान्तिपूर्ण स्वतन्त्रता आन्दोलन आरम्भ भएपछि गोर्खाली फौजलाई नयाँ ढंगले प्रयोग गरेको थियो ।
बीपीले नेपाल र भारतबीच भूगोल, धर्म, संस्कृति, अर्थतन्त्र सबै कुरामा समानता छ भनिरहँदा उसो भए राजनीतिक रूपमा मात्रै दुई मुलुकलाई भिन्न किन राख्नु पर्यो र ? भन्ने प्रश्न भोलिका दिनमा उठ्न सक्ला भन्ने सामान्य हेक्का पनि राखेको देखिँदैन ।
सन् १९४२ मा चर्किएको स्वतन्त्रता आन्दोलन नियन्त्रण गर्न ब्रिटेनले गोर्खाली फौज परिचालन गरेकोबारे नेहरूले लेखेका छन्, 'सन् १९४२ को आरम्भमा स्पेसल आम्र्ड कन्स्टाबुलरी (एसएसी) नामको नयाँ (सशस्त्र) बल गठन गरियो । यसलाई मूलतः आन्दोलन र उपद्रव नियन्त्रण गर्ने तालिम दिइयो । आन्दोलन नियन्त्रण गर्न र आन्दोलनकारीमाथि दमन गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्यो... यस्तो काममा भारतीय सैनिकलाई प्रायः परिचालन गरिँदैन थियो ।
प्रायः बेलायती सैनिकलाई परिचालन गरिन्थ्यो, साथै गोर्खालीलाई पनि गरिन्थ्यो' (हेर्नुस् नेहरूको 'डिस्कभरी अफ इन्डिया') । नेपाली र भारतीयबीचको सीमा मेटिए गोर्खाली फौज भारतीयविरुद्ध परिचालित नहुने र यसबाट स्वतन्त्रता आन्दोलनमा टेवा पुग्ने भारतीय नेताहरूको बुझाइकै प्रकट रूप थियो, नेपाललाई शेष भारतदेखि भिन्न राख्दा ब्रिटिस र राणाहरूको मात्रै स्वार्थसिद्ध हुन्छ भन्ने बीपी अभिव्यक्ति ।
६.
लोहनी लेख्छन्, 'पार्टीको स्थापना सम्मेलनमा बीपीका मार्गनिर्देशक आचार्य जेबी कृपलानी, जयप्रकाश नारायणहरूले समेत नेपाल स्वतन्त्र भने पनि त्यो देश सदासर्वदा भारतकै अविञ्छेद अंग रहेको धारणा राखेका थिए भनेर गृष्मबहादुर देवकोटाको पुस्तकलाई सन्दर्भ दिइएको छ । पहिलो कुरा, गृष्मबहादुरले उद्धरण गरेको अंश पूर्ण नभएको मात्र होइन उनीहरूको भनाइ जस्ताको तस्तै पनि होइन । दोस्रो, उल्लिखित महानुभावहरू बीपीको कुन स्तरको 'मार्गदर्शक' हो भन्ने बहस हुन आवश्यक छ ।'
गृष्मबहादुरले उद्धरण गरेको अंश पूर्ण र जस्ताको तस्तै निश्चय पनि छैन । तर ती उद्धरणलाई त्रुटिपूर्ण पुष्टि गर्ने अन्य दस्तावेज उपलब्ध पनि छैनन् ।
आचार्य जेबी कृपलानीबारे थाहा भएन, तर जयप्रकाश बीपीका कुन स्तरका 'मार्गदर्शक' हुन् भन्ने धेरै हदसम्म प्रस्ट छ । राणाकालको अन्त्यतिर नेपालमा चलेको आन्दोलनको नेतृत्व लिन नेपाल आउँदा पक्राउ परेका बीपीलाई छुटाउन जयप्रकाशको आग्रहमा महात्मा गान्धी अग्रसर भएका थिए । राजनीतिक र वैचारिक हिसाबले पनि बीपीले आफूलाई लोहिया र जयप्रकाशका अब्बल अनुयायी ठहर्याएका थिए । समाजवादसम्बन्धी उनको विचार यी दुई भारतीयबाट प्रभावित थियो भनेर कांग्रेसीहरूले नै भनिरहेका छन् ।
जयप्रकाशलाई बीपी अभिभावक मान्थे । मातृकाप्रसाद कोइरालाले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोडेपछि विवाद मिलाइदिन उनले जयप्रकाशलाई गुहारेर नेपालको दलीय राजनीतिमा भारतीय हस्तक्षेप प्रवद्र्धन गर्ने काम गरेका थिए ।
कम्युनिस्टप्रति अनुदार बीपीको राजनीतिक दृष्टिकोण पनि जयप्रकाशसँगकै संसर्गको उपज थियो । इन्दिरा गान्धीको सरकारविरुद्ध कुनै बेला भारतमा आन्दोलनको आँधीबेहरी सिर्जना गरेका जयप्रकाशले भारतीय कम्युनिस्ट पार्टीबाहेक प्रतिपक्षमा रहेका सबै भारतीय पार्टीलाई सरकारविरुद्ध गोलबन्द गरेका थिए (इन्डिया आफ्टर गान्धी) । यही शैलीमा बीपीले पनि निर्दलीय व्यवस्थाविरुद्धको संघर्षमा कम्युनिस्टहरूसँगको सहकार्यलाई निषेध गरे ।
जयप्रकाशलाई बीपी अभिभावक मान्थे । मातृकाप्रसाद कोइरालाले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोडेपछि विवाद मिलाइदिन उनले जयप्रकाशलाई गुहारेर नेपालको दलीय राजनीतिमा भारतीय हस्तक्षेप प्रवद्धन गर्ने काम गरेका थिए (द नेपलिज डिलेमा) ।
कम्युनिस्टहरूप्रतिको आफ्नो दृष्टिकोण नेहरूको सँग समान रहेको कुरा बीपी स्वयंले स्वीकारेका छन् । प्रधानमन्त्रीको हैसियतमा भारत गएका उनले नेपालका कम्युनिस्टहरूप्रतिको आफ्नो सरकारको नीति नेहरू सरकारको जस्तै रहेको बताएका थिए (ए.एस. भासिन) ।
७.
लोहनी लेख्छन्, '२०११ सालसम्म विशेष सम्बन्धको दुहाई दिने बीपीको चिन्तनमा (प्रधानमन्त्री भएपछि) त्यस्तो कायाकल्प कसरी भयो, त्योचाहिँ (राप्रउको) लेखमा छुटेको छ ।' तर, प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बीपीको चिन्तनमा उल्लेख्य परिवर्तन आएको देखिँदैन । भारतसँग नेपालको सम्बन्ध विशेष छ र आवश्यक पर्दा चीनविरुद्ध नेपाल भारतका साथमा उभिनुपर्छ भन्ने मान्यतामा प्रधानमन्त्री बनेपछि पनि बीपी अडिग थिए ।
भारतीय संसद्लाई डिसेम्बर १९५० मा सम्बोधन गर्दै नेहरूले भनेका थिए, 'ब्रिटिस शासनताकाका थुप्रै राम्रा पक्षसँगै हामीले थुप्रै नराम्रा पक्ष पनि विरासतका रूपमा ग्रहण गरेका छौं ।' छिमेकीसँगको सम्बन्ध भारतले विरासतका रूपमा ग्रहण गरेको 'नराम्रा कुरा'मध्येमा पर्ने संकेत उनले गरेका छन् (ए.एस. भासिन) ।
नेहरूले संकेत गरेको यही 'खराब विरासत'को पक्षमा थिए, बीपी । नेहरूले सन् १९५४ मा 'नेपालको वैदेशिक मामिलामा भारतको विशेष हैसियत' रहेको बताएका थिए (ए.एस. भासिन) । नेहरूको यही मान्यतालाई सघाउ पुग्ने गरी बीपीले प्रधानमन्त्रीको हैसियतले भारत भमण गर्दा नेपालको विदेश नीतिलाई भारतसँग समन्वय गराउन स्वीकार गरेका थिए (डा. टी.आर. गोब्ले, चाइना-नेपाल रिलेसन्स एन्ड इन्डिया) ।
बीपी भारत जानुअघि नेहरू नेपाल आएका थिए । भ्रमणको अन्त्यमा जारी दुई प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा घरेलु तथा अन्तर्राष्ट्रिय दुवै विषयमा दुई सरकारबीच दृष्टिकोणमा समरूपता रहेको उल्लेख थियो । 'दृष्टिकोणमा रहेको समरूपता'को अर्थ 'तिब्बतलगायत अन्तर्राष्ट्रिय समस्याबारे नेपाल र भारत सरकारबीच कुनै भिन्नता छैन भन्ने नै हो' भनी स्वयं बीपीले स्विकारेका थिए (ए.एस. भासिन) ।
८.
राणाकालताका सत्ताबाहिर रहँदा बीपीले चीनसँगको नेपालको सम्बन्धमा दखल पुग्ने गरी राखेका अभिव्यक्ति उनी प्रधानमन्त्री बनेपछि अझ प्रखर हुन पुगेको देखिन्छ । १९५९ को अप्रिलमा भएको आमनिर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेपछि कांग्रेस नेताद्वय शैलेन्द्रप्रसाद उपाध्याय र गणेशमान सिंहले तिब्बतमाथि चीनले गरेको दखलको कडा विरोध गर्दै तिब्बतलाई 'लेनिनवादी सिद्धान्तअनुरूपको आत्मनिर्णयको अधिकार' उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।
उनीहरूको यस्तो भनाइ सुनियोजितजस्तो तब देखियो, जब नेपाली कांग्रेसले पारित गरेको तिब्बतसम्बन्धी प्रस्तावमा चीनको कदमलाई '१९औं शताब्दीकालीन साम्राज्यवादी परिपाटी'को संज्ञा दिइयो । त्यसको दुई दिनपछि 'चीनले तिब्बतलाई सुस्पष्ट ढंगले पूर्ण स्वायत्तता दिनुपर्ने' भनाइ स्वयं बीपीबाट आयो (डा. टी.आर. गोब्ले) ।
चीनले तिब्बतलाई विलय गराएको सन्दर्भमा नेपालमाथि पनि चीनबाट जोखिम उत्पन्न होला भन्नेमा सचेत हुनु आफ्नो ठाउँमा छ । तर, नेपालप्रति मित्रवत् सम्बन्ध राख्न आफू आतुर रहेको भरपर्दो संकेत चीनबाट आएपछि पनि भारतको आड लिएर चीनप्रति कडा रवैया अपनाउने काम बीपीबाट भयो ।
प्रधानमन्त्रीको हैसियतले बीपी भारत जाँदा नेहरूले उनलाई चीनसँगको सीमा विवाद सुल्झाउन सुझाव दिएका थिए । सोही वर्ष चीन जानुअघि बीपी भारतमा रोकिए र नेहरूसँग परामर्श गरे । चीन गएपछिको पहिलो भाषणमै उनले तिब्बतमाथि चीनको दखलले विश्वशान्ति खलबलाउने कडा भनाइ राखे । सीमासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुअघि बेइजिङस्थित भारतीय राजदूतसँग परामर्श गर्ने गैरकूटनीतिक कामसमेत उनले गरे । भारतीय राजदूतले बीपीलाई चीनसँगको सीमा सम्झौतापत्रमा 'विद्यमान प्रचलित सीमारेखाअनुरूप' शब्दावली राख्न सुझाव दिए ।
बीपीले त्यसै गरे (डा. टी.आर. गोब्ले) ।
चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले बीपीसँग अनाक्रामक सन्धि, शान्ति तथा मैत्री सन्धि र कोदारी राजमार्ग निर्माणसम्बन्धी सम्झौता गर्ने प्रस्ताव राखे । बीपीलाई नेहरूले चीनसँग सीमा र परियोजनामुखी सहयोगसम्बन्धी सम्झौतामात्रै गर्न सुझाव दिएका थिए । बीपीले नेहरूको सुझाव तामेली गर्दै चाउका तीनवटै प्रस्ताव अस्वीकार गरिदिए । कोदारी राजमार्ग नेपालको तत्कालको आवश्यकता नरहेको भन्दै उनी पन्छिए ।
सन् १९७१ मा पाकिस्तानबाट बंगलादेश छुट्टिएपछि भारतीय भूमिबाट बीपीले 'शान्तिपूर्ण तौरतरिकाबाट नेपालमा संसदीय व्यवस्थाको पुनरोदय गर्न नसके आफूले बंगलादेशकै शैलीमा आन्दोलन गर्ने' हुँकार गरेका थिए ।
अनाक्रामक सन्धिबारे टिप्पणी गर्दै उनले कथंकदाचित (चीनबाट ? ) नेपालमाथि हमला भएमा अनाक्रामक सन्धिले नभई 'एक्लो नभएको अवस्थाले' नेपाललाई जोगाउने चेतावनीमूलक भाषा बोले (डा. टी.आर. गोब्ले) ।
बीपीबाट यस्ता अभिव्यक्ति आए पनि चीनले बीपी सरकारसँग सीमा, आवासीय दूतावास स्थापनालगायत सम्झौता गर्यो किनकि भारतसँग युद्धको तयारी गरिरहेको चीन सबैभन्दा बलियो हिमाली राज्यलाई चिढ्याउने पक्षमा थिएन । यसै सन्दर्भमा राजा महेन्द्रले बीपी सरकार अपदस्थ गर्दा चीनले त्राण महसुस गरेको भनी डा. गोब्लेले आफ्नो किताबमा उल्लेख गरेका छन् ।
९.
मेलमिलाप नीति अनुसरण गर्नुअघिसम्म पनि बीपीबाट नेपाली राष्ट्रियताबारे असंवेदनशील अभिव्यक्ति आउने क्रम जारी थियो । भारतमा विलय हुनुअघिको सिक्किममा भएको एउटा निर्वाचनपछि सिक्किम पुगेर बीपीले सिक्किममा देखा परेको प्रजातन्त्रको लहर छिमेकी राजतन्त्रात्मक मुलुक (नेपाल)मा समेत पर्ने बताएका थिए (मुरलीधर धरमदसानी, इन्डियन डिप्लोमेसी इन नेपाल) । तर सिक्किमको 'प्रजातान्त्रिक उभार' कति हदसम्म प्रायोजित थियो भन्ने अनुमान सुनन्द के. दत्त-रायको 'स्म्यास एन्ड ग्र्याब' पढेर लगाउन सकिन्छ ।
त्यस्तै सन् १९७१ मा पाकिस्तानबाट बंगलादेश छुट्टिएपछि भारतीय भूमिबाट बीपीले 'शान्तिपूर्ण तौरतरिकाबाट नेपालमा संसदीय व्यवस्थाको पुनरोदय गर्न नसके आफूले बंगलादेशकै शैलीमा आन्दोलन गर्ने' हुँकार गरेका थिए (मुरलीधर धरमदसानी) । करिब ९४ हजार पाकिस्तानी फौजलाई भारतीय फौजले बन्दी बनाएर बंगलादेश दिलाएको 'मुक्ति'कै मोडल नेपालमा लागू गर्ने धम्की दिनु नेपालको अस्तित्व बीपीमा रहेको असंवेदनशीलताको प्रमाण हो ।
१०.
जीवनको उत्तराद्र्धमा भने बीपी देशको स्वाधीनताप्रति बढी नै सचेत थिए । नेपालभित्र राष्ट्रवादको पक्षमा एकोहोरो पैरवी गर्दा तानाशाह जन्मिने र प्रजातन्त्रको पक्षमा एकोहोरो लाग्दा राष्ट्रियता धरापमा पर्ने भन्दै उनले यी दुई विषयलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने परिपक्व भनाइ राखेका थिए ।
राजनीतिक जीवनको पूवाद्र्ध र उत्तराद्र्धका बीपी एउटै थिएनन्, यो प्रसंग राप्रउको लेखमा संकेत गरिएको छ । राजनीतिक जीवनको पूवाद्र्धका बीपी देशको स्वाधीनताप्रति त्यति जिम्मेवार थिएनन् भन्ने लाञ्छनालाई लोहनीले जुन ढंगले अस्वीकार गरेका छन्, यसबाट उनी बीपीप्रति बढी नै भावुक छन् भन्ने देखिएको छ ।
यो पनि पढ्नुहोस्