को राम्री ? कसरी राम्री ?
छमछम बज्ने हरियो चुरा, हातमा अनेक बुट्टाले कोरिएको मेहन्दी, ओठमा गाढा रातो लिपिस्टिक, स्लिम शरीर । जब क्याम्पसे केटी वा बैंक, वित्तीय संस्था, एनजीओलगायत कर्पोरेट हाउसमा काम गर्ने युवती देख्छु मनमा प्रश्नका अनेक तरंग सल्बलाउँछन् । उनीहरू जुन सौन्दर्यको लागि तँछाडमछाड गरिरहेका छन् त्यसको ऐतिहासिकता, अर्थ-राजनीतिक कारणहरूबारे के उनीहरू जानकार होलान् ? शंकै लाग्छ ।
साउन महिनामा हरियो चुराको 'फेसन' ह्वात्तै बढ्नुको कारण यस्तै सौन्दर्य खोजी हो । धर्मसँग गाँसेर प्रचार गरिए पनि यो सौन्दर्यको खोजी नै हो । साँच्चै किन सौन्दर्यको खोजी गरिन्छ । सरल जवाफ छ— राम्रो देखिन । मान्छे सधैं राम्रो देखिन खोज्छ । सुन्दरता उसको प्राकृतिक गुण हो । तर, राम्रो हुनु भनेको के हो ? राम्रोपनको मापन कसरी हुन्छ ? के सौन्दर्यात्मक मूल्य प्राकृतिक हो ? प्राकृतिक हो भने त निरपेक्ष र अपरिवर्तनीय हुनुपर्ने तर सौन्दर्यात्मक मूल्य परिवर्तनशील र सापेक्षिक रहेको देखिन्छ । त्यसो भए के हो सौन्दर्य ? सुन्दर हुने चाहना पछाडि कस्तो ऐतिहासिकता रहेको छ ?
सौन्दर्यको वर्ग
क्रोचे, जाँ पाल सात्रलगायतका केही प्रत्ययवादी विचारकका विचारमा सौन्दर्यको स्रोत मान्छेको आत्मा हो र मान्छे आफैंले सौन्दर्यको सिर्जना गर्दछ । तर, ऐतिहासिक दृष्टिले हेर्दा यो विचार बढी आत्मगत देखिन्छ । मान्छेलाई मन परेको कारणले कुनै वस्तु सुन्दर देखिने होइन बरु वस्तुको आनन्ददायक गुणको कारणले मानिसलाई सुन्दर लाग्ने हो । आनन्ददायक गुण वस्तुमा आफैं निर्माण हुने होइन ।
त्यो सामाजिक प्रक्रियाले निर्माण हुन्छ । अर्थात्, सामाजिक अन्तरक्रियाले सौन्दर्यको निर्माण गरेको हुन्छ । श्रमसँग गाँसिएको सामाजिक अन्तरक्रियाले नै सौन्दर्यको अनुभूति गर्ने चेतनाको निर्माण गर्दछ ।
आदिमकालमा मानिसको सौन्दर्यचेत सुषुप्त अवस्थामा थियो । नवपाषाण युगमा आइपुगेपछि औजारहरूले मानिसको उत्पादन उद्देश्य पूरा गर्न थाल्यो । औजार र श्रमको संयोजनले उत्पादनको उद्देश्य पूर्ति हुन थालेपछि तिनै औजार र आफ्नो सिर्जनशक्तिमा नै मानिसले आनन्द अनुभुत गर्न थाल्यो । मान्छेको सौन्दर्य चेतनाको प्रारम्भिक चरण यहीँ थियो । निकै सरल, औजार र श्रमले विकास गरेको सिर्जनशक्ति ।
मानिसको आरम्भिक सौन्दर्य चेतना श्रममा आधारित निकै सरल थियो । समयको गतिसँगै यसमा जटिलता थपिँदै गयो । अनेकन् अर्थ राजनैतिक परिवेशमा घोलिएर आजको युगसम्म आउँदा सौन्दर्य चेत पनि फुकाउनै अप्ठ्यारो पर्ने गाँठो परेको धागोजस्तो जटिल बनेको छ । तथापि मिहिन ढंगले हेर्ने हो भने यसको ऐतिहासिकता प्रष्ट देखिन्छ । यस्तै ऐतिहासिकता शृंगारको पनि छ ।
मानिसले आदिमकालमा पनि शरीरमा रङ पोत्दथ्यो र अनेक बुट्टा भर्दथ्यो । तर त्यसको कारण सौन्दर्य नै जीवनयापनको सिलसिला थियो । मानवशास्त्रीहरूका अनुसार, मानिसले आदिमकालमा चिसो र कीराको टोकाइबाट बच्न शरीरमा गेरु दल्थ्यो । आज पनि केही रेड इन्डियन जातिमा यसको प्रभाव बाँकी नै छ ।
सायद मानव जातिको पहिलो लुगा नै गेरु रङ थियो । त्यस्तै आफ्नो जातीय समूहको चिनारीको लागि टाटु खोपिन्थ्यो । आदिमजीवन र श्रमसम्बन्धी आवश्यकताहरूको कारण यस्तो चलन जन्मिएको थियो । त्यतिबेला आफ्नो नाता सम्बन्ध, लिंग तथा उमेरजन्य फरकका आधारमा प्रत्येक व्यक्तिले त्यस्तो चिह्न लगाउँथे । कतिपय मानव समूहमा यस्तो चिह्न गहना, औंठी, चुरा हुन्थ्यो भने कतिपय समूहमा चोटपटकका दाग, रंगीन चिह्न वा टाटु हुन्थ्यो ।
सम्पत्तिमाथि निजी स्वामित्वको सुरुवातसँगै समाज वर्गमा विभाजित हुन थाल्यो । विवाहप्रथाको उदयसँगै महिला र पुरुषको विभेद बढ्न थाल्यो । त्यसपछि आदिमकालमा प्रयोग हुने हरेक चिह्न, संकेतहरूले वर्गीय अर्थ राख्न थाले । मानवशास्त्री एभलिन रिडका अनुसार, 'आदिम समाजमा सामाजिक समानताको द्योतक भएका चिन्हहरू ठीक विपरीत अर्थमा प्रयोग गरिन थालिए । यस्ता चिह्नहरू फेसन तथा सजावट सावित भए र तिनले सामाजिक असमानतालाई इंगित गर्न थाले, समाज धनी र गरीब, शासक र शासितबीच विभाजित भएको अभिव्यक्त गर्न थाले । सौन्दर्यप्रसाधन तथा फेसन कुलिनवर्गको विशेषाधिकारको रूपमा सुरु भए ।'
राजा महेन्द्रले लेखेको गजल 'गाजलु ती ठूला—ठूला आँखा÷तीर बनी बसे यो दिलैमा....' मा उल्लेख गरेजस्तो ठूला-ठूला आँखा भएकी ठकुरी, क्षेत्री जातकी महिला राम्री हो । स-साना चिम्सा आँखा भएका जनजातिहरूको यहाँ कुनै गणना नै हुन्न ।
एभलिन रिडको विचारलाई पुष्टि गर्ने निकै आधारहरू छन् । यलियान ब्रोमलेय र रोमान पोदोल्नीले 'मानव र संस्कृति' पुस्तकमा युरोपमा लामो समयसम्म पुरुषहरूले स्कर्ट लगाउने गरेको तर ११ औं शताब्दीसम्म किसानलाई पाइन्ट लगाउन निषेध गरिएको उल्लेख गरेका छन् । त्यस्तै फ्रान्सेली क्रान्तिभन्दा अगाडिसम्म युरोपमा सामन्त वर्गका पुरुष र महिला दुवै सौन्दर्य प्रसाधनको चरम प्रयोग गर्दथे ।
अनेक लुगाहरूको प्रयोग, अनुहारमा लाली पोत्नेजस्ता काम महिला र पुरुष दुवैले गर्दथे र त्यसैलाई सुन्दर ठानिन्थ्यो । तर त्यस्तो शृंगार तल्लो शासित वर्ग अर्थात् किसानलाई निषेध थियो । अर्थात्, सामन्ती समाजमा आइपुग्दा आदिम समाजमा जीवनयापनका लागि निर्माण भएका चिह्नहरू वर्गीय भेदका लागि प्रयोग गरिए ।
पुँजीवादी समाजमा प्रवेश भएपछि शृंगारको लैंगिक विभेद झनै प्रस्टिन थाल्यो । त्यसले वर्गको परम्परागत मान्यता गुमायो । एभलिन रिडले 'सौन्दर्य प्रसाधन, फेसन र नारीजातिको शोषण' निबन्धमा पुँजीवादी समाजमा भएको फेसनबारे यस्तो लेखेकी छन्, 'उच्च व्यापारी वर्गले आफ्नो वर्गीय स्तरको निर्धारण आफ्ना स्वास्नीहरूको फेसनको आधारमा हुने गर्न रुचायो । स्वास्नीमानिसहरूको बीचमा भने सामान्य महिला र अभिजात्य महिलाबीचको भिन्नता कोर्ने रूपमा फेसनको अस्तित्व कायम नै रह्यो ।'
पुँजीवादले हरेक वस्तुलाई बिक्रीको वस्तुमा परिणत गरिदिन्छ । सामन्ती समाजमा सामन्त र किसानबीचको विभेद देखाउने शृंगारलाई पुँजीवादमा नाफाको लागि बिक्रीको वस्तु बनाइयो । महिलाको जनसंख्या धेरै देखिएको र पाँच हजारको लामो विभेदकारी इतिहासले दमित र पराधीन मानसिकता हुर्काइएको महिलामा सौन्दर्यको व्यापार चाँडो फस्टाउने हुनाले महिलालाई शृंगारको बजारको रूपमा परिणत गरियो । 'सबै महिलाहरू राम्रो हुन चाहन्छन्, त्यसैले शृंगारको सामानमा सबैको स्वार्थ एउटै छ' भन्ने प्रचार गर्न थालियो ।
छनोटको मनोविज्ञान
कुखुरामा भालेको रातो कल्कीको अर्थ के होला ? डाँफेमा भाले नौ रङ्गी हुनु र पोथीमा नहुनुमा कुनै सुन्दरताको कारण होला वा जैविक कारणमात्र होला ? प्राणीशास्त्रीका अनुसार, सबै जनावरहरूले प्राकृतिक समागम र वंश विकासका लागि आफ्नो जोडीको छनोट गर्दछन् । तर मानिसबाहेक सबै जनावरमा छनोटको अधिकार स्त्री जातिमा हुन्छ । जस्तैः मयूरमा पोथी मयूरले भाले मयूरको नाचको आधारमा छनोट गर्दछ ।
मानिसमा मात्र छनोटको अधिकार पुरुषमा हुन्छ । मानिसमा पुरुषको छनोटको अधिकार प्राकृतिक नभई सामाजिक हो । विवाहप्रथाको विकासपछि र सम्पत्तिमा पुरुषको आधिपत्यपछि महिला छान्ने अधिकार पुरुषमा केन्द्रित भएको हो । लामो समयको यो अभ्यासले महिलामा आफू छानिनुपर्ने मानसिकताको निर्माण गरेको छ भने पुरुषमा छनोटकर्ताको मानसिकता निर्माण गरेको छ ।
त्यसैले महिलाले आफूलाई 'राम्री' देखाउन खोज्छन् । यो 'राम्री' देखिने चाहना वास्तवमा पुरुषबाट आफू छनोट भइदिनुपर्ने परिस्थितिको उपज हो । त्यसैले सौन्दर्यचेता प्राकृतिक नभई सामाजिक तवरले निर्माण भएको छ । अनि शृंगारले महिलामै पनि फरकपना इंगित गर्दछ । विवाहित र अविवाहित महिलाको फरक-फरक शृंगारको पछाडि पनि यहीं छनोटको मनोविज्ञान जोडिएको छ ।
सौन्दर्यात्मक मूल्यको निर्माण
कसलाई 'राम्रो' ठान्ने ? सुन्दरता केले निर्धारण गर्दछ ? छनोटकर्ताले जहिले पनि स्वस्थ जोडीको छनोट गर्दछ । गालामा रातोपन राता रक्तकोषको मात्राले देखाउने हो । राता रक्तकोष प्रचुर भएकाहरूको रगतमा प्रशस्त आइरन हुन्छ । आइरनले अक्सिजनको सञ्चार गर्ने हुनाले राता रक्तकोष बढी भएका मानिसहरू स्वस्थ हुन्छन् ।
पुरुषले राता गाला भएका महिलालाई बढी प्राथमिकता दिनुको पछाडि स्वस्थ जोडीको चाहना हो । यहीँ कारणले नै सौन्दर्य प्रसाधनको साधनमा रातो रङलाई बढी प्राथमिकता दिइएको हो । कृत्रिम रूपमा नै भए पनि रातो गाला, रातो ओठ देखाएर आफ्नो छनोट मूल्य बढाउने मनोविज्ञान लुकिरहेको हुन्छ ।
सौन्दर्यात्मक मूल्य सामाजिक-राजनैतिक परिवेशले निर्माण गरेको हुन्छ । माथि उल्लेख गरेजस्तो सामन्ती समाजमा माथिल्लो वर्गले मात्र शृंगार गर्ने परिपाटीले सुन्दरता माथिल्लो वर्गमा कैद भएको जनाउँछ । को राम्रो ? सामन्ती समाजमा महारानी राम्रो । रातो, चिल्लो गाला भएकी, गहनाले झपक्क ढाकिएकी जमिन्दारकी स्वास्नी राम्री ।
आधुनिक मेहन्दीको प्रचार हुनुभन्दा पहिले गाउँका युवतीहरू तिउरीको पातले हात रंग्याउँथे । अहिले बजारले यसलाई प्रयोग गरिसकेको छ । हरियो चुरा केही वर्षअघिबाट विस्तार भएको फेसन हो । बजारले यसलाई आफ्नो हतियार बनाएको छ ।
त्यस्तै एउटा जातिको राजनीतिक वर्चस्व भएको समाजमा उक्त जातिलाई नै सुन्दर ठानिएको हुन्छ । राजा महेन्द्रले लेखेको गजल 'गाजलु ती ठूला ठूला आँखा÷तीर बनि बसे यो दिलैमा....' मा उल्लेख गरेजस्तो ठूला-ठूला आँखा भएकी ठकुरी, क्षेत्री जातकी महिला राम्री हो । स-साना चिम्सा आँखा भएका जनजातिहरूको यहाँ कुनै गणना नै हुन्न ।
नेपाली समाजमा कुनै दलित महिला राम्री भए 'कस्ती क्षेत्रीनीजस्ती राम्री' र माथिल्लो जातकी महिला नराम्री भए 'कस्ती कमिनीजस्ती' भनिनुले पनि सौन्दर्यात्मक मूल्य माथिल्लो जाति र वर्गले निर्माण गर्ने गरेको प्रस्ट पार्दछ । यसैले सौन्दर्य कुनै ठोस परिभाषा होइन त्यो अर्थ-राजनीतिक प्रक्रियाले निर्माण हुने गर्दछ भन्ने पुस्टि हुन्छ ।
सौन्दर्यात्मक मूल्य स्थीर नभई बदँलिँदै जान्छ । र, त्यो हरेक समाजको ऐतिहासिकता अनुसार फरकफरक हुन्छ । क्याथेराइन फ्रिथ, स्वो र चेङले 'द कन्ट्रक्सन अफ ब्युटी'मा उल्लेख गरेका छन्, 'अमेरिकामा सन् १९५० को दशकमा गठिलो ज्यानकी मार्लिन मुनरो सुन्दरताको प्रतीक थिइन् भने १९६० को दशकमा आइपुग्दा दुब्लो ज्यानकी ट्विगी प्रतीक भइन् । त्यस्तै चीनमा सेरामिक जस्तो गोरो छालालाई सुन्दर मानिन्छ भने अफ्रिकाका विभिन्न भागमा चोट लागेको छालालाई ।'
तर, विभिन्न समाजले सिर्जना गरेको आफ्नो सौन्दर्यात्मक मूल्य अहिले बहुराष्ट्रिय कम्पनीको फैलावट भएको 'विश्वव्यापीकरण' सम्म आइपुग्दा ध्वस्त भएको छ । अहिलेको नवउदारवादी समाजमा आइपुग्दा सुन्दरताको परिभाषा जनजातीय समूह, परम्परागत परिभाषाबाट उम्केर बजारमा आइपुगेको छ । को राम्री ? सुन्दरी प्रतियोगिताकी विजेता राम्री ।
उसका जस्ता आँखा, आँखीभौ, स्लिम शरीर, मुलायम छाला, कोमल हात, छिनेको कम्मर, सर्लक्क परेको कपाल नै सुन्दर । यी सौन्दर्यात्मक मूल्यको निर्माण अहिले बहुराष्ट्रिय कम्पनीले गरिरहेका छन् । बहुराष्ट्रिय कम्पनीले फेसन बजार र सौन्दर्य प्रतियोगितामा लगानी गरिरहेका छन् । बजारमा भनिने 'कोकाकोला' शरीरको अवधारणा यस्तै बहुराष्ट्रिय कम्पनीले निर्माण गरेको हो ।
ली, मीन, ब्लेकलगायतका क्यानडाली, जापानी र अमेरिकी विद्वानहरूको संयुक्त टोलीले एसियाका चार देशमा गरेको छालाको रङ र सुन्दरताबारे गरेको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ— 'विश्वव्यापीकरणसँगै गोरोपन र सुन्दरता पर्यायवाची बन्न पुगेका छन् । एसियाली देशहरूमा 'गोरोपन'को अवधारणा विगतको औपनिवेशिकताको परिणाम हो ।'
महिलामा आफू छानिनुपर्ने मानसिकताको निर्माण गरेको छ भने पुरुषमा छनोटकर्ताको मानसिकता निर्माण गरेको छ । त्यसैले महिलाहरू आफूलाई 'राम्री' देखाउन खोज्छन् ।
विज्ञापनमा गोरा छाला भएका ककेसियन युवतीहरूको प्रयोगले गोरोपनको मोह झनै तीव्र गराएको छ । समाजशास्त्रीद्वय सामन्था क्वान र मेरी ट्रउ्टनरले 'गोरोपन'लाई 'सांस्कृतिक पुँजी'को संज्ञा दिएका छन् । एसियाली देशहरूमा गोरोपन अब सांस्कृतिक पुँजी बनिसकेको छ । गोरो छाला सामाजिक सम्बन्ध विस्तार गर्न र जागिर खान महत्त्वपूर्ण माध्यम बन्न थालेको छ ।
यसरी अहिलेको सौन्दर्यात्मक मूल्य बहुराष्ट्रिय कम्पनीहरूको बजार र हिजोको औपनिवेशिकताको विरासतको रूपमा निर्माण भएको छ ।
हरियो चुरा किन ?
हरियो चुरा र मेहन्दी पनि माथि उल्लेख गरेको ऐतिहासिकता र सौन्दर्यात्मक मूल्यकै परिणाम हो । गाउँगाउँमा आधुनिक मेहन्दीको प्रचार हुनुभन्दा पहिले नै गाउँका युवतीहरूले तिउरीको पातले हात रग्यााउँथे । बर्खामा धान रोप्दा हिलोले खाएको हातलाई जोगाउन त्यसो गरिएको हुनुपर्दछ । तर अहिले बजारले यसलाई प्रयोग गरिसकेको छ ।
हरियो चुरा केही वर्षअघिबाट विस्तार भएको फेसन हो । यसको पछाडि कुनै धार्मिक कारण पनि छैन । बरु बजारले यसलाई आफ्नो हतियार बनाएको छ । अहिले एउटा चाउचाउ कम्पनीले ल्याएको 'एक पेटी चाउचाउ किन्दा एक दर्जन हरियो चुरा सित्तैमा'को अफर पनि एउटा उदाहरण हो ।
बर्खामा रोपाइँपछि किसानहरूलाई केही फुर्सद जुट्दछ । यहीँ फुर्सदमा नै उनीहरूको थाकेको शरीरलाई मनोरञ्जनद्वारा स्फुर्ति प्रदान गर्ने, थरीथरीका परिकारद्वारा पोषण लिने गर्छन् । धर्मभिरु समाजमा मनोरञ्जनात्मक गतिविधि पनि धर्मसँग गाँसिन्छ । हिन्दु समाजमा भाग्यलाई बढी प्राथमिकता दिने कारणले पनि यो फुर्सदको समयमा भाग्यको खोजी अलि तीव्र हुन्छ ।
साउनमा व्रत बसेर महिलाले राम्रो वरको खोजी वा श्रीमान्को दीर्घायुको कामना गर्छन् । भाग्यमा पुरुष पनि विश्वास गर्छन् । तर, छनोट हुनुपर्ने बाध्यताका कारण महिलामा भाग्यवादले बढी असर गरेको छ । त्यसैले उनीहरू राम्रो भाग्यको निर्माणमा लागेका छन् ।
इतिहासले बोकाएको पराधीन र छनोट हुनुपर्ने मानसिकता, सुन्दर भइदिनुपर्ने कारणले थोपरिएको शृंगारको भारी र बहुराष्ट्रिय कम्पनीले निर्माण गरिदिएको सौन्दर्यात्मक मूल्यको बोझले महिलाहरू थाहै नपाई अनेक फेसनमा लिप्त हुन विवश छन्, जस्तो साउनको हरियो चुरा ।