मेरो भालेपन
शुक्रबार साँझ बत्तीसपुतलीको शिल्पी थिएटरबाट निस्कँदै गर्दा आकाश रुन-रुन आँटेको हुन्छ । मन खोलेर रुन नसकेको आकाश मलाई ‘माधवी'को मुहारजस्तो लाग्छ । त्यही माधवीको, जसको कथा अहिले नाटक रूपमा मञ्चन भइरहेछ ।
लाग्छ, महाभारतका पानाहरूबाट ‘माधवी' फुत्त झरेकी छन् । लाग्छ, आफ्नो दुर्दान्त कथा सुनाएर प्रश्न गरिरहिछन् मेरो पुरुषत्वमाथि । अनि म सायद त्यही गालव हुँ योग्य शिष्य हुनुको महत्वाकांक्षाले वशिभूत । अनि म सायद त्यही राजा ययाति हुँ आफ्नो प्रतिष्ठा जोगाउन छोरीलाई दानमा दिने तथाकथित दानवीर । अनि म सायद त्यही ऋषि विश्वामित्र हुँ गुरु हुनुको अभिमानले उन्मत्त । अनि म सायद तिनै माधवीलाई भोग्ने राजाहरू हुँ, जसको निम्ति स्वास्नीमान्छे केवल एक भोग, एक सन्तान जन्माउने साधन र रसरंगको पात्र हो । र, मेरो पुरुषत्व ? यस्तै माधवीहरूको त्याग, समर्पण वा उनीहरूको शोषणमा टेकेर खडा हुन्छ मेरो भालेपन ।
यति सोच्न बाध्य पार्ने नाटकको नाम हो, ‘माधवी' । मदनमणि दीक्षितले लेखेको उपन्यास होइन भारतीय लेखक भीष्म साहनीकृत जसको नेपाली अनुवाद र निर्देशन गरेका छन्- टंक चौलागाईंले । भीष्म साहनी आफैंमा बोल्ड नाम हो । उनको एउटै उपन्यास ‘तमस' पढे थाहा हुन्छ, उनी कति शक्तिशाली लेखक हुन् !
‘हिन्दु' धर्ममा पुज्यग्रन्थ ‘महाभारत' गाथाहरूको संग्रह हो । यसमा अनेकन कथा र उपकथा छन् । वर्षौंदेखि यिनै उपाख्यानहरूले निर्माण गरिदिएको छ हाम्रो मानसिकता । ‘गीता'को उपदेशदेखि ऋषि परासरका मिथकहरूसम्मले हाम्रो सामाजिक चिन्तन निर्माणमा ठूलो भूमिका खेलेका छन् । महाभारतका हरेक कथाहरू जनसमाजमा श्रुति परम्परादेखि लेख्य परम्परासम्म उत्तिकै जीवित छ ।
स्वास्नीमान्छे केवल एक भोग, एक सन्तान जन्माउने साधन र रसरंगको पात्र हो । मेरो पुरुषत्व ? यस्तै माधवीहरूको त्याग, समर्पण वा उनीहरूको शोषणमा टेकेर खडा हुन्छ मेरो भालेपन ।
त्यसैले सामाजिक चिन्तनको पछौटेपनलाई परिवर्तन गर्न चाहनेहरूका निम्ति यी शास्त्रका पोथ्राहरू छिचोलेर सही र गलत, ठीक र बेठीक, न्याय र अन्याय छुट्ट्याउनुपर्ने दायित्व परिआउँछ ।
‘माधवी' त्यस्तै एक प्रश्न हो । यो प्रश्नले हाम्रो समाजमा नारीलाई हेरिने, बुझिने र व्यवहार गरिने संस्कारगत स्वभावलाई कोट्याउँछ, उजिल्याउँछ र अन्ततः छरपस्ट पारिदिन्छ । छरपस्ट टुक्राहरूमा समाजको पाखण्डी अनुहार देखिन्छ ।
ऋषि विश्वामित्रका चेला गालवले आफ्नो गुरुलाई गुरुदक्षिणा दिने हठ गर्छ । उसको हठसँग परिचित विश्वामित्रले दिने नै भने आठ सय अश्वमेधी घोडा देऊ भनी माग्छन् । सिंगो आर्यर्वतमा कसैसँग नभएको आठ सय अश्वमेधी घोडा नपाएर जीवनदेखि विरक्त भइसकेको गालव अन्त्यमा राजकाज छोडी आ श्रममा बसेका राजा ययातिसँग पुग्छन् । दानवीर कहलिएको राजा ययातिले घोडा दिन नसके पनि घोडाको साटो आफ्नी पुत्री माधवी जिम्मा लगाइदिन्छन् । माधवीको यौवनसँग विभिन्न राजासँग रहेको अश्वमेधी घोडा साट्ने यात्रामा माधवी र गालवको प्रेम सरु हुन्छ ।
तर, माधवीको प्रेममा समर्पण हुन्छ, गालवको प्रेममा वासना । एक योग्य शिष्य हुने महात्वाकांक्षाले गालव माधवीको यौवन घोडासँग साटिरहन्छ । चक्रवर्ती छोरा जन्माउने आशीर्वाद (वा अभिशाप ? ) पाएकी माधवी गालवको उद्देश्य पूरा गर्न आफूलाई समर्पण गरिरहन्छे । तर, गालवको आँखामा ऊ अस्वीकार्य हुन्छे । उसकै महत्वाकांक्षाका निम्ति आफ्नो कौमार्य सुम्पेकी माधवीको वास्तविकतासँग गालव प्रेम गर्न सक्दैन । अन्ततः परित्यक्त माधवी संसार परित्याग गर्न विवश हुन्छे ।
पुरुषको महत्वाकांक्षा पूर्तिको साधन बनाइन्छे महिला । यो कथा महाभारतदेखि आजसम्म जीवित छ । र, हरेक समयमा माधवीहरू यसरी नै परित्यक्त हुन्छन् । उनीहरूको प्रेम उपेक्षामा पर्छ । उनीहरूको त्याग बेवास्ता गरिन्छ । उल्टो गालवहरू नै उपदेश दिन्छन्— त्यागको, कर्मको, समर्पणको । दानवीर हुन्छ ययाति मानौं माधवीले गरेको त्याग दानभन्दा तुच्छ हो । समर्पित शिष्य बन्छ गालव मानौं माधवीको समर्पण उडिजाने सिमलको भुवा हो । के सधैंभरि माधवीहरू यही नियतिको बन्दी बनिरहने हुन् ? कहिले र कसरी तोडिने हो यो नियतिको परिबन्द ? र, कहिले उघ्रिने हो पाखण्डको पर्दा ? नाटकको पेटबोली प्रश्न गरिरहन्छ ।
भीष्म साहनीका शब्दहरूलाई दृश्य रूपमा न्याय दिन सफल देखिन्छन् नाटककर्मी । शिल्पीका शिल्पकार उर्फ निर्देशक घिमिरे युवराजले नाटकमा गालवको भूमिकामा गरेको अभिनय चित्ताकर्षक छ । ‘माधवी'को भूमिकामा देखिएकी अर्चना पन्थीको अभिनयमा खोट लगाउन माइक्रोस्कोप लगाउनुपर्ला, हाते लेन्सले देखिन्न । नाटकले टंक चौलागाईंलाई राम्रो निर्देशक साबित गर्छ ।
जीवन बराल, प्रदीप रेग्मी, राम केएसी, सरोज अर्याल, सबिन कट्टेललगायतका कालकारको अभिनय जीवन्त छ । कुमार आले र सबिन कट्टेलको मञ्च परिकल्पना भव्य छ । स्वस्तिक चिह्नको फ्रेममा सिंगो नाटकको दृश्य अटाउने कलालाई सराहना गर्नैपर्छ । रोबिन डंगोलको संगीत संयोजन र श्लोक पाठले महाभारतकालीन समयबोध त गराउँछ नै, हाम्रो सामाजिक चेतको मूलतर्फ पनि संकेत गर्छ । नाटकले लामो समयसम्म आफंैलाई चिमोटिरहन्छ । पुरुष भए आफैंमाथि प्रश्न गरिन्छ । महिला भए आफ्नो ‘माधवी' भोगाइ भेटिन्छ ।