आफूलाई महान् देख्ने नांगा

आफूलाई महान् देख्ने नांगा

राजनीतिक इतिहासको लामो शृंखलामा ‘लोकतन्त्रको विकास' धेरै लामो बांगोटिंगो बाटोबाट यात्रा गर्दै यहाँसम्म आइपुगेको छ । पूर्वीय सभ्यतामा राजनीतिशास्त्रका अगुवा दार्शनिकहरू कौटिल्य, लाओजी र कन्फुसियसले शासकहरूको नैतिकतामा अत्यधिक जोड दिएका छन् । ‘आम सर्वसाधारणको रक्षा, सेवा र कल्याणमै राजनीतिको ध्येय हो ।' त्यसैले पूर्वीय सभ्यतामा ‘एकाधिकारवाद' को विरोध मात्रै गरिएको छैन, बेइमान शासकलाई सत्ताच्युत गर्नुपर्छ भन्ने जोडदार आवाज पनि सँगसँगै उठाइएको छ ।

बेइमान शासकको परिभाषाका बारेमा कौटिल्यको अर्थशास्त्र र लाओजीका शिक्षामा प्रचुर मात्रामा चर्चा उठाइएको छ । बेइमान शासक त्यो हो, जसले ‘माछाले पानी पिएको थाहा नपाएजस्तै जनताको करबाट उठेको राजस्व खाइरहेको हुन्छ ।' बेइमान शासक त्यो हो, जो ‘जनतालाई लुट्छ र जनताको पीडामा गोहीको आँसु बगाउँछ' । बेइमान शासक त्यो हो, जो आफ्नो पद र स्वार्थको लागि राष्ट्रको स्वार्थ र राष्ट्रिय सुरक्षालाई दाउमा हाल्छ । के यी कुरा अहिले नेपालमा नभइरहेको पक्ष हुन् ? प्रत्येक प्रधानमन्त्रीले राज्यको कोषलाई माछाले पानी पिएको नदेखिएजस्तै आफ्ना कार्यकर्तालाई बाँडेका छन् । उनीहरूले आफ्नै सुविधाको लागि पनि त्यो कोषबाट करोडौँ रकम खर्च गरेका छन् । विगतको भूकम्पको त्रासदी र अहिले भर्खरैको पहिरो र बाढीको चपेटामा परेका जनताको आर्तनादमा यी नेताहरूले गोहीको आँसु बगाएका छन् ।

चिनियाँ प्रधानमन्त्री चाओ बोयान भन्ने ठाउँमा गए । उनको लागि जनताले कुखुराको मासु पकाएका रहेछन् । उनले भने, ‘देश आपत्मा छ । माओले पनि धेरै दिनदेखि मासु खाएका छैनन् । तपाईंहरूले आफ्नो रासन खर्च गरेर मासु किन्नुभयो । म जनताले जे खान्छन् त्यही खान्छु । प्रधानमन्त्री चाओले टाँकीका मुन्टा र मकैको पीठोको खोले खाए ।' के हाम्रा नेताले त्यसो गर्लान् ?

नेपालको राजनीतिक इतिहासमा तीनवटा अपवित्र, अनैतिक एवं जनविरोधी मान्यतालाई नेताहरूले आफ्नो राजनीतिक मान्यताका रूपमा विकास गरेका छन् । पहिलो हो, ‘जात र क्षेत्रीयता पहिलो पहिचान हो, त्यसपछि मात्र राष्ट्रियता ।' यो मन्दविषको रूपमा नेपाली जनताका दिमागमा स्थापित गरिएको छ । यस मन्द विषले नेपाली राष्ट्रको राष्ट्रियतालाई खण्डित गर्ने खतरनाक हतियारको रचना गरेको छ । अर्को अनैतिक मान्यता हो, ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु' हुँदैन ।

२०५२ सालपछाडि प्रयोगमा ल्याइएको यस गैरलोकतान्त्रिक एवं राजनीतिक मान्यताले अनुशासनका सबै विधाहरूलाई नष्ट गरिदिएको छ । त्यसैले हो, अघिल्लो दिनसम्म सत्तामा रहेको एउटा दल सत्तामा रहँदारहँदै आफ्नै सरकारविरुद्धमा अविश्वासको प्रस्ताव राख्न सक्तछ तर उसको राजनीतिक नैतिकताप्रति कुनै प्रश्न उठ्दैन । त्यसरी नै अर्को एउटा अराजक तथा गैरजिम्मेवारपूर्ण मान्यता विकास भएको छ । त्यो हो ‘राजनीति सम्भावनाहरूको खेल हो ।' यस पछिल्लो मान्यताले चरम अराजकतालाई संस्थागत गरेको छ ।

यसले राजनीतिक व्यवस्था, संविधान, शासन प्रणालीलाई अराजकता र अवसरवादका संयन्त्रमा परिणत गरिदएको छ । यस परिदृश्यमा ‘नेपालको वर्तमान राजनीति भनेको जातीयता एवं क्षेत्रीयताको वकालत गर्दै सत्ताको लागि जुनसुकै सम्झौता गर्न तत्पर रहने खेलाडीहरूले प्रधानमन्त्रीको पद कायम राख्न वा त्यसलाई आफ्नो कब्जामा ल्याउन खेल्ने खेल हो ।'

सोह्रौँ शताब्दीमा फ्रान्सका राजा लुई चौधौँले ‘नोबेल्टी' (कुलिनता जनाउने पद) को लिलाम गरे । अर्थात् राष्ट्र भद्र नागरिक वा राज्यका माथिल्लो पदहरू बिक्री गरे । जसले बढी रकम दिन्छ उसले त्यो पद प्राप्त गर्न सक्थ्यो । उनैले भनेका हुन्, ‘म नै राज्य हुँ' । राज्यको सम्पत्ति, राज्यको धर्म र राज्यको शासन एउटै व्यक्तिमा रहनुपर्छ र त्यो ‘म' हुँ । बेलायती राजाहरूले भने ‘शासन गर्नु राजाको जन्मजात अधिकार हो । त्यसैले राजाले जनताप्रति उत्तरदायी हुनु पर्दैन' । के फरक छ अहिले नेपालमा ? के राजनीतिक दलका नेताले जनताप्रति उत्तरदायी हुनुपर्छ ? पर्दैन ।

के संसारका अन्य देशका नेता पनि हाम्रै नेता जस्ता छन् ? हो कतिपय देशमा त्यहाँका नेता पनि हाम्रै नेताजस्तै छन् । तर जुनजुन देशहरूले विकासको बाटो समाते ती देशका नेताले आफूलाई होइन देश र जनतालाई माया गरेका उदारहण छन् ।नेपोलियन ‘डिक्टेक्टर' थिए । तर उनी जनतालाई माया गर्थे । उनी फ्रान्सको राष्ट्रिय सुरक्षा र फ्रान्सेली राष्ट्रवादप्रति प्रतिबद्ध थिए । उनमा उग्रराष्ट्रवादको प्रवृत्तिहरू थिए । त्यसैले उनले फ्रान्सको अस्तित्वको अगाडि अरूको अस्तित्व अनुभूति गर्न सकेनन्, त्यसैले उनको पतन भयो । तर उनले फ्रान्समा आधुनिक शिक्षाको प्रारम्भ गरे । सार्वजनिक अस्पतालको स्थापना गरे । ठूलाठूला लोकमार्गहरू निर्माण गरेर फ्रान्सको प्रत्येक भाग जोडे । जमिन कुलिनहरूबाट खोसेर जनतालाई दिए । उद्योगहरूको स्थापना गरे । फ्रान्सलाई आधुनिक राष्ट्र बनाए ।

स्टालिनले दुई शताब्दीमा रसियालाई संसारको आधुनिक औद्योगिक देश बनाए । सन् १९४१-४४ मा हिटलरले फ्रान्स, बेलायत र युरोपका अन्य देशलाई दुई दिनमा हराए । स्टालिनग्राड, लेनिनग्राड र मस्कोसम्म पुगेको हिटलरको ३० लाख सेना, आठ हजार ट्यांक र २५०० विमानहरूलाई हराउँदै स्टालिनले हिटलरलाई पराजित गरे । पोल्यान्ड, चेकोस्लोभाकिया, हंगेरी, बुल्गेरिया र युगोस्लाभियालाई स्वतन्त्र पार्दै बर्लिनमा आक्रमण गरे । करिब ६० लाख सैनिकहरू मरे । एक करोड रूसी जनताको हत्या जर्मनीले गर्‍यो । स्टालिनको राष्ट्रवाद, राष्ट्रिय सुरक्षा जनताको समृद्धिप्रतिको प्रतिबद्धता नभएको भए आज संसार हिटलरको साम्राज्यवादको अधिनमा हुने थियो । पश्चिमी देशहरूले जतिसुकै राग आलापे पनि पोल्यान्डका चारवटा ‘च्याँस च्याम्बर' क्याम्पबाट यहुदीहरूलाई उद्धार गर्ने स्टालिनका सेनाहरू नै थिए । जब जर्मनी सेनालाई रेड आर्मीले लखेट्यो स्टालिन गाउँगाउँमा गए । उनी जनतासँगै रोए ।

सन् १९४१-४४ मा हिटलरले लन्डनमा बमवार्ड गर्‍यो । एकै रातमा ४० हजार मानिसको हत्या भयो । हिटलरका हवाईजहाज र मिसाइलहरू लन्डनमा आक्रमण गरिरहेका थिए । प्रधानमन्त्री चर्चिल ती मरेका मानिसहरूको लास निकाल्ने ठाउँमा पुगेर जनतालाई हौसला दिइरहेका हुन्थे र राष्ट्रिय सुरक्षाको लागि आफ्ना कमान्डरहरूसँग छलफल गरिरहेका हुन्थे । मुसोलिनीको फौजले इजिप्टमा आक्रमण गरिरहँदा चर्चिल त्यहाँ पुगेर गोर्खाली जवानसँग हात मिलाइरहेका थिए । नेता जनताको संरक्षक र अभिभावक बन्न सक्यो भने राष्ट्रको विकास हुन्छ ।

सन् १९५३ देखि चीनमा अनिकाल लाग्यो । औद्योगीकरणको अभियानमा सबै जनतालाई लगाउँदा एवं कृषिको सामूहिकीकरणको नीति असफल हुँदा चीनमा अनिकालको प्रकोप आयो । त्यस समस्या कसरी समाधान गर्ने भनी माओ संघाईको एउटा गाउँमा गएर अनुसन्धान गर्न थाले । देङ सिचुवान पुगे । सबै नेता कुनाकुनामा गए । उनीहरूले किन सार्वजनिक भन्साघर र सामूहिक खेतीका कार्यक्रम असफल भए भनी अनुसन्धान गरे । उनीहरू जनताकै घरमा बसे । चिनियाँ प्रधानमन्त्री बोयान भन्ने ठाउँमा गए । उनको लागि जनताले कुखुराको मासु पकाएका रहेछन् । उनले भने, ‘देश आपत्मा छ । माओले पनि धेरै दिनदेखि मासु खाएका छैनन् । तपाईंहरूले आफ्नो रासन खर्च गरेर मासु किन्नुभयो । म जनताले जे खान्छन् त्यही खान्छु । प्रधानमन्त्री चाओले टाँकीका मुन्टा र मकैको पीठोको खोले खाए ।' के हाम्रा नेताले त्यसो गर्लान् ?

बेइजिङ विश्वविद्यालयका अध्यक्ष प्रा. वाङ त्यस गाउँमा गएर प्राथमिक स्कुल स्थापना गरी एक्लै विद्यार्थीलाई बढाएर बसेका रहेछन् । उनले जुत्ता नफाटून् भनी खोलेर राख्दा रहेछन् पढाउँदा । घुम्दाघुम्दै प्रधानमन्त्री चाओ स्कुलमा आइपुगे । उनले वाङलाई देखे । अनि वाङका पुराना जुत्ता उनका खुट्टामा लगाइदिए । भोलिपल्ट एकजोर जुत्ता किनेर वाङलाई दिए ।

क्युबाका राष्ट्रपति क्यास्ट्रो समय निकालेर श्रमिकहरूसँग काम गर्थे । महात्मा गान्धी धोती लगाएर गाउँ-गाउँ डुल्थे । जनताको चेतना निर्माण गर्थे । के यी सबै नेताले बुझेको राजनीति हाम्रै नेताले बुझेजस्तो हो ? के यी नेताहरूले पनि विचारधारालाई शून्यवादमा परिवर्तन गरेर ‘राजीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुँदैन भनेर बुझेको भए वा राजनीतिलाई अपवित्र गठबन्धनद्वारा सत्ता प्राप्तिको खेल' भनेर बुझिदिएको छ हिटलरलाई स्टालिन र चर्चिलले पराजित गर्न सक्थे ? के यी नेताहरूले पनि राष्ट्रलाई ‘जातीयता' का रूपमै बुझेका भए उनीहरूले राष्ट्रियता र राष्ट्रिय सुरक्षाको सुनिश्चित गर्न सक्थे ?

देशभित्रको मसिनो विविधता राष्ट्रियताविना बाँच्न सक्तैन । राष्ट्रियता मजबुत राष्ट्रिय सुरक्षाको अभावमा बाँच्न सक्तैन । राष्ट्रका राजनीतिक एवं सुरक्षा संस्थाको प्रभावकारिताविना राष्ट्रिय सुरक्षा बाँच्न सक्तैन । राजनीतिक एवं राष्ट्रिय सुरक्षा संस्थाहरू राजनीतिमा नैतिकताविना बाँच्न सक्तैनन् । राष्ट्रियताविरुद्ध जातीयता एवं क्षेत्रीयता, राजनीतिक विचारधारा र आस्थाविरुद्ध राजनीतिक ‘घोडा दलाली' र राजनीतिक आस्था र प्रतिबद्धताविरुद्ध राजनीतिलाई खेल बनाएपछि कसरी बाँच्छ, राष्ट्र र राष्ट्रिय सुरक्षा ? को हो नेपालमा जनताको माया गर्ने नेता ?

राजनीतिक नेतृत्वमा मौलाएको विलासिता, प्रधानमन्त्री र मन्त्री हुनको लागि गरिने सत्ता गठबन्धन, तिनै सत्ता गठबन्धनका लागि पार्टीभित्र निर्माण गरिएका गुटहरू र ती गुटभित्र सरकार चलाउन निर्माण गरिएका सीमित व्यक्तिहरूको ‘रिङ' ले देशलाई बर्बाद गरिरहेको देख्न कस्तो चस्मा लगाउनुपर्ने होला ? यस ‘रिङ' को विदेशीहरूसँगको साँठगाँठलाई कसरी देख्ने होला ? मानिस नांगो भइसक्दा पनि आफूलाई महान् देख्ने मानसिक रोगको दबाइ के होला ? आम मानिसले नेताहरूमाथि अपमानपूर्ण व्यवहार गर्न थाल्नुभन्दा पहिला कुनै एकजना नेता चाओ एनलाईले जस्तै जनताको सेवा गर्छु, विदेश डुल्दिनँ, गुट बनाउँदिनँ, ‘रिङ' भित्र बस्दिनँ र नेपाली जनताको भरोसा हुन्छु भनी विगतमा गरेको गल्ती सच्याउँदै सार्वजनिक रूपमा घोषणा गर्न सक्नु हुन्छ ? आउनुहोस् अगाडि । अन्यथा देशको राजनीतिले कोल्टे फेर्नेछ । तपार्इंहरूको खेल समाप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.