कांग्रेसको इच्छा-मृत्यु
‘भारतको झन्डामुनि हामी बस्ने ? यो कदापि हुनै सक्दैन । बरु नेपाली महिलाको पेटीकोट झुन्ड्याएर त्यसलाई सलाम गर्छौँ । यस्तो सम्मेलनमा बस्नु उपयुक्त छैन । हामी त बहिस्कार गर्छौँ', गणेशमान सिंह र सुन्दरराज चालिसे बम्किए । सो सम्मेलनमा भाग लिएका चालिसेले पुराना कुरा सम्झिँदै कलकत्तामा त्यसबेला निकै तनाव भएको बताएका थिए ।
‘अखिल भारतीय नेपाली कांग्रेस' नाम राखेर कलकत्तामा गरिएको प्रथम सम्मेलनमा नेपालको राष्ट्रिय झन्डा नराखेर भर्खर स्वतन्त्र भएको भारतको झन्डामुनि नेपालीहरूको (प्रवासीसमेत) संगठनलाई वैधानिकता दिन खोजेपछि युवकहरू तात्तिए । (यसबारे डा. राजेश गौतमको ‘नेपालको प्रजातान्त्रिक इतिहास' पुस्तकमा सविस्तार व्याख्या गरिएको छ ।)
कांग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सराहनीय भूमिका खेलेकोमा सन्देह छैन, तर पार्टीको रणनीति, कार्यनीति, व्यवहार, सिद्धान्त र बाटो आज पनि दिल्लीले नै निर्धारण गर्छ भन्ने आरोप मिथ्या लाग्दैन । मोहन शमशेरदेखि एमाले, माले, मण्डले, मसाले र माओवादीलगायत जोसँग पनि सत्ता साझेदार हुन सक्ने जादुगर र सौदागर दल भनेर नेपाली कांग्रेसको कठोर आलोचना गर्नेहरू धेरै भेटिन्छन् । यसो गर्दागर्दै कांग्रेस एक दिन कोमिन्ताङ बन्न सक्छ । सिद्धान्तहीन स्वार्थले वशीभूत हुँदा आधारभूत चरित्र बाँकी रहँदैन र पश्चात्ताप मात्र हात लाग्छ । नेपालीमा उखानै छ, ‘बैंस छँदा हजार पोई, मर्ने बेलामा कोही न कोही ।'
नेपाली राजनीति यति विकृत, अविश्वसनीय र मक्किएको अवस्थामा पुग्नुमा सबैभन्दा बढी कांग्रेस नै जिम्मेवार छ, हुनुपर्छ । जेठो, सभ्य, सुसंस्कृत, प्रजातान्त्रिक, संस्कारित, व्यापक र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनिएको दल सत्ताको रेलगाडी देख्नासाथ गन्तव्यको हेक्का नराखी झ्यालबाटै चढ्छ भने त्यस पार्टीलाई सत्तालोलुप नभनेर के भन्ने ? सत्ताबाहेक अरू विषयमा गम्भीर हुन नसक्ने कांग्रेस आज पैसा (दाम) पछिपछि कुद्ने ‘दामरेस' भएको छ ।
कमजोर राष्ट्रका सूचकांक (फ्रजाइल स्टेट इन्डेक्स) अनुसार नेपाल झन्डै रुवान्डाकै हाराहारीमा पुगेको छ । राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा उल्लेख्य प्रगति देखिँदैन, बरु राजनीतिक अस्थिरताले देश रसातलमा जाँदैछ । राष्ट्रको दुर्दशा हुनुमा सबैभन्दा पुरानो जीवित (? ) दल कांग्रेसले कति दायित्व लिन्छ ? प्रस्तुत लेखमा यस्तै प्रश्नको उत्तर खोज्ने प्रयास गरिएको छ ।
आज कांग्रेस, एमाले र माओवादी सिद्धान्तबारे जनमानसमा ठूलो भ्रम छ । तीनवटै दल गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका वकिल बनेका छन् । आफ्ना हजारौँ कार्यकर्ताको घाँटी रेट्ने दुरात्माहरूलाई महात्मा ठानेर कांग्रेस कुर्सी पाउन भीख माग्छ भने यो उसको इच्छा मृत्यु (युथेनेसिया) नभए के हो त ? के यसले कांग्रेसको गरिमा बढाउँछ ?
ट्रान्सपरेन्सी इन्टरनेसनले सन् २०१५ मा नेपाल अधिक भ्रष्टाचार हुने देशहरूमध्येमै पर्छ भन्दा कसैलाई लज्जाबोध भएन । प्रमुख ठूला दलसमेत भ्रष्टाचार र भ्रष्टाचारीका भाग्यविधाता, दयाअवतार र संरक्षक भएकाले भ्रष्टाचारको निरोध र विरोध गर्न स्थापना गरिएका निकायहरूले नै दुर्गन्ध फैलाइरहेको देखिन्छ ।
प्रत्येक वर्ष करोडौँ डलर दान दिनेहरू पनि भ्रष्टाचारीलाई राष्ट्रका हर्ताकर्ता बनाउन इच्छुक देखिएका छन् । पूर्व लडाकुका नाममा सरकारले छुट्ट्याइएको अबौँ रुपैयाँ रहस्यमय ढंगले हराएको छ, तर टंगालतिरका अनुसन्धानकर्ताहरू सुब्बा, असई वा शिक्षकका खल्ती छामेर भ्रष्टाचार रोक्ने गल्ती गरिरहेका छन् ।सत्तामा पुग्न र टिक्नको लागि मात्र राजनीतिक अभिनय गरिरहेका (असफल) दलहरूले नीति, आदर्श, सिद्धान्त र निष्ठा त्यागिरहेको सत्य जगजाहेर छ ।
संविधान कार्यान्वयको निर्णायक घडीमा छौँ भन्नेहरूले राष्ट्र र जनताप्रतिको प्रमुख दायित्व मात्र बिर्सिइरहेका छैनन्, आफूलाई किन जनताले मत दिएका थिए भन्ने मूल मर्मसमेत भुलेका छन् । हिजो परिवर्तनका निम्ति होमिएका व्यक्तिहरूसमेत राजनीतिक दलहरूले राष्ट्रिय यथार्थ नबुझेको टिप्पणी गरिरहेका छन् । नयाँ संविधान घोषणा भएको दुई वर्ष नपुग्दै तीन-तीन जना प्रधानमन्त्री फेरिएको अवस्था आफैँमा सस्तो प्रहसन मात्र हो ।
नौ महिना पुगेपछि अर्को सरकार जन्माउन प्रसूतिगृह जाने पालो कांग्रेसको भनिएको छ, तर प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँग कुनै सहमति नभएको बताएर सत्ता नछोड्ने संकेत गरेका छन् । यसले गर्दा माओवादी र कांग्रेसको प्रेम चाँडै टुट्ने प्रबल सम्भावना देखिएको छ ।
हुम्ला, डोल्पा, मुस्ताङ जस्ता कतिपय जिल्लामा घरमा धेरै दाजुभाइ भए पनि एउटी महिलासँग मात्र विवाह गर्ने प्रचलन छ । बहुपति प्रथा (पोलियान्ड्री) अब त्यहाँ मात्र सीमित छैन, सिंहदरबारमै सरेको छ । कतिपय दलले एउटै विदेशी शक्तिलाई सामूहिक रूपमा पति (मालिक) मानेका छन् । त्यसैले नौ महिनापछि प्रधानमन्त्री पुष्पकमल (छविलाल) दाहालले नयाँ मालिक बनाएर भए पनि सत्तामै रहने रणनीति बनाउन सक्छन् । उनले सत्ता नछोड्ने संकेत गर्दा कांग्रेसभित्र एक किसिमको तुफान आइसकेको छ । कालक्रममा यसले उग्ररूप लिन सक्छ ।
गिरिजा-भट्टराई गुट र त्यसकै क्रमागत देउवा-कोइराला कलह अचेल देउवा-पौडेल ध्रुवीकरणका रूपमा देखिएको छ । तेह्रौँ महाअधिवेशनमा नक्कली एकता देखिए पनि केही हप्तामै कांग्रेसी नेतागणले पुरानै चरित्र प्रदर्शन गर्न थालेका छन् । अभिवादनमा ‘जय नेपाल' भनेपनि विदेशीसँग मोटो रकम लिएर ‘गए नेपाल' चिताउनेहरू धेरै छन् । बीपी कोइरालाको ‘डक्ट्रिन' त्यागेपछि कांग्रेस ययातिको नियति भोग्ने अवस्थामा पुगेको छ ।
पुरानो विरासत र लाखौँ कार्यकर्ता भएको परम्परावादी दल परावलम्बी, विषाक्त, दिग्भ्रमित, पराधीन र प्रवञ्चनाको मार्गमा हिँडिरहेकाले कांग्रेस आर्यघाटमा पनि ‘डिस्को' नाच्ने गर्छ । पछिल्लो सत्तारोहण त्यसकै विम्ब र उदाहरण हो ।
भोक लाग्यो भने सुँगुरले अभक्ष खान्छ । तर मानिस विवेकशील भएकाले सोचविचार गरेर मात्र भोजन गर्छ । सत्तामा जाने कुरा पनि त्यस्तै हो । आफ्ना धेरै कार्यकर्ता मार्ने, हजारौँ निर्दोष जनताको हत्या गर्ने, सम्पत्ति लुट्ने र राष्ट्रका अमूल्य संरचना आगो लगाउने र लाखौँलाई घरवारविहीन बनाउनेहरूसँग अंकमाल गरेर शक्तिको रसास्वादन गर्दा कांग्रेसका केही ठूला नेतालाई पक्कै पनि आनन्द आउला, तर हजारौँ टुहुरा केटाकेटी र विधवाहरूले आफूलाई इन्साफ दिन नसक्ने नेतागणलाई के भनेर नमस्कार गर्ने ?
तसर्थ, कांग्रेसको रथारोहण राष्ट्र बनाउने होइन, व्यक्तिगत स्वार्थ पूरा गर्ने संकीर्ण मनसायबाट मात्र पे्रेरित रहेको देखिन्छ । हिजो राजन्त्रलाई तानाशाह देख्ने नेतागणले आज माओवादीलाई प्रजातान्त्रिक मान्दै सहर्ष शिरोधार्य गरेर के सन्देश दिन खोजेका हुन् ? मतदाता, कार्यकर्ता र शुभेच्छुकहरूले प्रश्न गर्नुपर्ने बेला आएको छ ।
राजनीतिका मर्मज्ञ गणेशराज शर्माले भनेका थिए, ‘प्रजातन्त्रवादीहरूले बीपी कोइरालालाई सम्झिनुपर्ने धेरै कारण छन्, तर आजका नेतालाई बीस–पच्चीस वर्षपछि के भनेर सम्झिने ? किन सम्झिने ? केको निम्ति सम्झिने ? '
भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू तथा त्यहाँका प्रधानसेनापति के.एस. करिअप्पाले राजा त्रिभुवनको भव्य स्वागत गर्दा युवराज महेन्द्र २००७ सालमा बुबासँगै दिल्लीमा थिए । भारतका ५६५ जना राजारजौटालाई जस्तै नेपाललाई पनि भारतले आफ्नो झन्डामुनि राख्न चाहेको महेन्द्रले छनक पाइसकेका थिए । त्यसैले उनी भारतसँग त्यतिबेलादेखि नै निकै सतर्क रहेको पाइन्छ ।
भारतले नेपालका कुनै पनि राजनीतिक व्यक्ति वा शक्तिलाई आफूअनुकुल बनाएर कालान्तरमा अस्तित्वसँग नै खेलबाड गर्न सक्छ भन्ने बुझेपछि राजा महेन्द्रले नेपालमा भारतीय प्रभाव बढ्न नदिन कठोर निर्णय गरेको बुझिन्छ । त्यसैले उनका कदमहरू राष्ट्रलाई उच्च प्राथमिकतामा राखेरै चालिएका हुन् भन्ने यदुनाथ खनाललगायत धेरै विद्वान्हरूको तर्क छ ।
संविधानसभाबाट दिल्लीअनुकुलको संविधान बनाउने योजना खतरनाक छ भन्ने बुझेका महेन्द्रले २०११ साल चैतमा राष्ट्रको बागडोर सम्हालेपछि ब्रिटिस संविधानविद् सर आइभर जेनिङ्सलाई बोलाएर संसदीय पद्धतिमा आधारित ‘किङ इन पार्लियामेन्ट' मोडेलमा संविधान तयार गर्न लगाए । बीपीले यसलाई स्वीकार गरेर २०१५ सालको प्रथम आमनिर्वाचनमा नेपाली कांग्रेसलाई सहभागी गराए । १०९ मध्ये ७४ सिटमा कांग्रेसले जित्यो । कम्युनिस्टले चार सिट मात्र ल्याए । गोर्खा परिषद् नौ सिट ल्याएर प्रमुख प्रतिपक्षी दल बन्न पुग्यो ।
आज कांग्रेस, एमाले र माओवादी सिद्धान्तबारे जनमानसमा ठूलो भ्रम छ । तीनवटै दल गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका वकिल बनेका छन् । सैद्धान्तिक मतभिन्नता कहाँ छ ? ‘लोकतन्त्र' सबैको थेगो छ, कान्छी मट्याङट्याङ जस्तो । जनताले के बुझ्ने ? आफ्ना हजारौँ कार्यकर्ताको घाँटी रेट्ने दुरात्माहरूलाई महात्मा ठानेर कांग्रेस कुर्सी पाउन भीख माग्छ भने यो उसको इच्छा मृत्यु (युथेनेसिया) नभए के हो त ? के यसले कांग्रेसको गरिमा बढाउँछ ?
के सत्ता मात्रै उसको लक्ष्य हो ? होइन भने संसद्को सबैभन्दा ठूलो पार्टी भईकन पनि माओवादीसँग आत्मसमर्पण गरेर जागिर खान कांग्रेसलाई यति हतारो किन ? के प्रतिपक्षमा बस्दा कांग्रेस समाप्त हुन्थ्यो ? सत्ता नै उसको अक्सिजन हो ? जुन दल प्रजातन्त्रलाई सधैँ उपहास गर्दै एकदलीय अधिनायकवादलाई अन्तिम लक्ष ठान्छ, त्यो कांग्रेसको परम् मित्र बन्छ भने माओवादीलाई भाइकांग्रेस भन्ने कि कांग्रेसलाई माओवादीको पुच्छर ?