खुला राजनीति खुला कूटनीति

खुला राजनीति खुला कूटनीति

नेपालको राजनीतिमा धेरै कमजोरी छन्, जसको परिणामस्वरूप नेपालीले दुःख पाइरहेका छन् । तर नेपाली राजनीतिको एउटा पक्ष राम्रो छ र उदाहरणीय छ । त्यो हो, राजनीतिको खुलापन । आजको खुला राजनीतिको महत्त्व सायद आजको पुस्ताले सराहना गर्न सक्दैनन् किनभने उनीहरूले छद्म राजनीतिको उति अनुभव नै गर्नुपरेको छैन, जति गएको पुस्ताले गर्नुपरेको थियो ।

त्यसको मुख्य कारण नेपालको राजनीति राजा र दरबारकेन्द्रित थियो र सबै कुरा खुला हुने गर्दैनथ्यो । अखबार र सञ्चारका अरू माध्यम थिए तर बलिया माध्यम सरकारकै मातहत थिए । प्रेस स्वतन्त्रता नाउँको लागि मात्र थियो । औपचारिक घटनाहरू औपचारिक तरिकाले प्रसारित गर्ने चलन थियो । ती घटना कसरी भए र कसले गराए र कसको के भूमिका थियो भन्ने पक्ष थाहा लाग्दैनथ्यो । कम से कम आमसञ्चारमा देखिँदैनथ्यो । थाहा पाउनेहरूले कानेखुसीबाट मात्र थाहा पाउँथे ।

सो प्रचलन नेपालको कूटनीतिमा झन् बलियो रूपले देखा पर्दथ्यो । भारत र चीनसँगको सम्बन्धमा पनि धेरै कुरा गोप्य नै रहने गर्दथ्यो । अमेरिका र रूसबीचको शीतयुद्धको दौरान पनि नेपालमा अनेक गतिविधि हुने गर्दथे, तर खुलारूपमा चर्चापरिचर्चा हुँदैनथ्यो । उदाहरणको लागि नेपालमा पूर्व–पश्चिम राजमार्ग बन्ने भयो र अन्तर्राष्ट्रिय स्तरमा टेन्डर आह्वान गरियो । पश्चिमको एउटा भाग बनाउने जिम्मा चीनले पायो ।

त्यो बेला सन् १९६२ को युद्धमा चीनसित हारेको भारतमा चीनप्रति ठूलो कटुता थियो । नेपालको राजमार्ग बनाउने बहानामा चिनियाँहरू भारतको उत्तरी सीमासम्म आउन पाउने भए । यस कुरामा भारतले नेपाललाई ठूलो दबाब दिएर चीनलाई त्यस ठेक्काबाट हटाउन लगायो । त्यसको बदलामा आफैँ बनाइदिने जिम्मेवारीसमेत भारतले लियो । यो कूटनीतिको दौरान भारतीय प्रधानमन्त्रीको विशेष दूत नेपालमा पठाइएको थियो । तर यस विषयमा नेपालमा धेरै चर्चा गरिएन किनभने सार्वजनिक रूपमा केही भनिएन र केही लेखिएन । कालान्तरमा विस्तारै एक कान दुई कान हुँदै कुरा फैलियो ।

तर त्यसको तुलनामा आजभोलि सबै कुरा बाहिर आउने गर्छ । नेपालको नयाँ संविधान बन्ने बेलामा भारतीय प्रधानमन्त्रीको विशेष दूत भएर जे. शंकरण नेपाल आए । उनले हाम्रा नेताहरूसित भेटेर संविधान तुरुन्त घोषणा नगर्न दबाब दिए जसरी माथि उल्लिखित घट्नामा दिइएको थियो । तर शंकरणको भ्रमणबारे उनी आउनुअगाडि, उनको बसाइमा र उनी गएपछि चर्चा–परिचर्चा हुँदै गर्‌यो । यसबारे सञ्चारमाध्यममा खुलारूपले सबै विवरण आयो र आआफ्नो किसिमको प्रतिक्रिया दिए ।

 

यस सम्बन्धमा को रिसाए, को खुसाए, कसले के भने, कसले कसलाई गाली गरे भन्ने यावत् विवरण खुलारूपले बाहिर आयो । नेपालमा खुला राजनीति र कूटनीति भएकाले यो सब सम्भव भयो । यसबारे कसैले कसैसित कानेखुसी गर्नुपरेन । सार्वजनिक रूपमा थाहा हुनु पनि एउटा ठूलो उपलब्धि हो । थाहा नहुने जमानाका मानिसहरूले यसको महत्त्व धेरै बुझेका छन् र यसको सराहना गर्छन् ।

किनभने थाहा नहुने दिनहरूमा यस्तो सूचना केही वर्गमा मात्र सीमित हुने गर्दथ्यो । चित्त बुझे पनि नबुझे पनि आजभोलि राजनीति र कूटनीति विषयमा धेरैजसो भित्री कुरा बाहिर आउने गर्दछन् । हुन त प्रेस स्वतन्त्रताको कारण केही कुरा बढाइचढाइ प्रचार–प्र्रसार हुने पनि गर्दछ । आजभोलिका अनलाइन खबरहरू कति पत्याउने कति नपत्याउने भनेर छुट्ट्याउन पनि गाह्रो पर्दछ ।

हालै भएको राजनीतिक घटनाचक्रबारे हामीलाई जति थाहा भयो त्यो खुलापनको कारणले हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन भारतको चाहना र योजनाअनुसार भएको भन्ने समाचार भारत तथा नेपालका सञ्चारमाध्यममा पढ्न पाइयो । त्यसैअनुसार उनको राजीनामापछि भारतमा खुसी मनाइयो भन्ने पनि सुनियो ।

उनको बहिर्गमन र पुष्पकमल दाहालको प्रधानमन्त्रीको पदमा आगमनबाट नेपालमा पुनः भारतको बोलवाला चल्ने भयो भनेर भनिएको छ । यो समाचारमाथि शंका गर्नुपर्ने कुनै कारण देखिँदैन । किनभने जुन किसिमले घटनाक्रम अगाडि बढिरहेको छ, त्यसले यसको पुष्टि नै गर्दछ ।

नेपालको सरकारको परिवर्तनमा भारतको प्रमुख भूमिका रहेको समाचार र चर्चा नेपालको सञ्चारमा भन्दा धेरै भारतकै सञ्चारमाध्यममा भयो । यो कुराले सार्वजनिक रूपमा धेरै चर्चा पाएपछि माओवादी केन्द्रको केन्द्रीय समितिमा निकालियो । यसले नयाँ प्रधानमन्त्री बनेका पुष्पकमल दाहाललाई ठूलै अप्ठेरोमा पार्‌यो । जुन नेताले म भारतको 'एस म्यान' हुन सक्दैन भनेर हिँड्थे, उनै नेता उही भारतको योजनाअनुसार प्रधानमन्त्री बनेको सार्वजनिक भएकोमा आत्मग्लानी हुनु स्वाभाविक हो ।

उनले सो कुरा भारतीय राजदूतसित छलफल गरेर भारतको सञ्चारमाध्यममा यसतो कुरा ननिकाल्न सहयोग मागेको समाचार पनि पढ्न पाइयो । यस काममा भारतीय राजदूतले कतिको सहयोग गर्न सक्छ भनेर यकिन गर्नु गाह्रो छ किनभने भारतका सञ्चारमाध्यमहरू प्रायः स्वतन्त्र छन् । स्वतन्त्र भए पनि तिनीहरूमा संवेदनशीलता र परिपक्वताको कमी देखिन्छ । सो तथ्यको अनुभव हामीले नेपालमा भूकम्प गएको बेला र नेपालमाथि भारतीय नाकाबन्दी भएको बेलामा गर्‌यौँ । भारतीय सञ्चारमाध्यमको कमजोरीले नेपालको राजनीतिमा ठूलै प्रभाव पार्ने गरेको छ ।

यही कारणले हो, प्रधानमन्त्री पुष्पकमल दाहाल यसपालि सत्तामा आउँदा खुसी हुन सकेनन् । प्रधानमन्त्रीको पदमा बहाली भएको मौकामा निन्याउरो मुख लिएर बसे । संसद्मा बोल्दा पनि रुञ्चे मुख लाएर बोले । सारा सञ्चारमाध्यममा यति धेरै चर्चा भए पनि आफू भारतीय षड्यन्त्रअनुसार सत्तामा आएको होइन भनेर भन्न सकेनन् ।

म भारतको 'एस म्यान' भएर आएको होइन, आफ्नै बलबुतामा आएको भनेर भन्न पनि सकेनन् । नेपालको फास्ट ट्र्याक सडक नेपाल आफैँ बनाउने भनेर घुमाउरो किसिमले म भारतको पिछलग्गु होइन भन्ने सन्देशसम्म दिए । सो सडक पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्री भएपछि भारतलाई सुम्पिनेछन् र सुम्पिनुपर्छ भनेर नेपालमा भारतका पूर्व राजदूत राकेश सूदले धेरै कराइसकेका थिए ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यही कुरा थाहा पाएर होला, संसद्मा आफ्नो बिदाइ भाषणमा सो सडकबारे नयाँ प्रधानमन्त्रीले के गर्छौ भनेर खुलस्त सोधेका थिए । त्यही कारणले पुष्पकमल दाहाललाई प्रधानमन्त्री भएपछि खुलस्त उत्तर दिन पनि सजिलो भयो । सो प्रश्नोत्तर खुलारूपमा नभएको भए पुष्पकमल दाहालले भारतलाई सुम्पिनुपर्ने अवस्था आउने थियो । यही मुद्दा नौ महिनापछि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पनि निस्कनेछ ।

उनले यो सडक नेपालसित पैसा नभएकाले विदेशीलाई दिनुपर्ने विचार प्रकट गरिसकेका छन् । तर यो पृष्ठभूमिमा के उनले यो सडक भारतलाई सुम्पन सक्लान् ? उनी ठूलो धर्मसंकटमा पर्र्ने देखिन्छ । खुला राजनीति र खुला कूटनीतिको अवस्थामा भारतलाई सुम्पन गाह्रै पर्ला । सुम्पिहाले भने उनको के अवस्था होला भनेर हेर्नु रोचक हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.