माओवादी गल्तीको पुनरावृत्ति
![माओवादी गल्तीको पुनरावृत्ति](https://annapurnapost.prixacdn.net/media/albums/dayal-57ad3eddec9b36.56036213_eBJrcXoP2R.jpg)
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बारम्बार दोहोर्याउने एउटै प्रण हो, ‘अब हामी विगतका गल्ती दोहर्याउने छैनौँ ।' जति कसम खाए पनि व्यवहारमा गल्ती दोहोरिने क्रम रोकिएको छैन ।
किनकि माओवादी केन्द्रले उकालो लाग्नु छैन । टिनको खानीमा चाँदीको आशा गर्न सकिँदैन । क्षणिक लाभ हेर्ने नेतासँग गल्ती कुन-कुन थिए भनेर पहिचान गर्ने निर्णय क्षमता हुँदैन । गल्ती पत्ता लगाउन सक्ने विवेक, ल्याकत, तत्परता र फुर्सद नभएको नेताले गल्ती गर्दिनँ र दोहोर्याउन्न भन्नुको अर्थ रहँदैन ।
असफलतामा पनि सानो घेरामा रहेका नायक र केही थान फौजी सहायकहरूको भाग्य चम्केकै छ भने गल्ती सच्याएर किन कष्ट उठाउनु भन्ने जोडघटाउले काम गरेको छ । पोल्टामा धनवर्षा र पदलाभको ओइरो नरोकिएपछि बेकारमा कार्यकर्ता र जनताको लागि किन बोसो घटाउनु भन्ने मनोविज्ञानले काम गरेको छ ।
माओवादी केन्द्र मात्र एक यस्तो पार्टी हो, जसका नेताहरू आफ्नो भागको भात हेरेर युवा पुस्ताको भविष्य बर्बाद गर्न दत्तचित्त छन् । पार्टीमा कार्यकर्ताको अदालतको सर्वोच्चता स्थापित नभएर चरम महत्वाकांक्षी नेता सर्वेसर्वा रहने अधिनायकवादी पार्टीको विनाशलीलाको स्वरूप यस्तै हुन्छ । त्यसैले निम्नलिखित गल्ती र तिनको पुनरावृत्तिको पिङ खेलेरै केन्द्र आफ्नो पूर्ण पतन कुरिरहेको छ ।
एमालेसँगको दुराग्रह
माओवादी केन्द्रको बालरोग नै एमालेसँगको दुराग्रह हो । शान्ति प्रक्रियामा आएपछि गिरिजाप्रसाद कोइरालाको माओवादी नेतृत्वले खुबै ताबेदारी गरेको थियो । परिणामस्वरूप अन्तरिम व्यवस्थापिका-संसद् एमालेकै जति ८३ जना अनिर्वाचित सांसद पनि पाएको थियो ।
चुनावमा एमालेलाई हराउन कांग्रेस र माओवादीबीच प्रत्यक्ष वा परोक्ष साँठगाँठ पनि भयो । जोडघटाउ कति फरक पर्यो भने निर्वाचनमा नेपाली कांग्रेससमेत एमालेलाई खनेको खाडलमा पर्न गयो । चुनावमा धोकाघडीपूर्ण ढंगले युद्धको फ्युजन गरे पनि एमालेले माओवादीलाई काँध थापेर सरकार बनाउन साथ दियो । यति हुँदा पनि माओवादीको एमालेप्रतिको दुराग्रह रोकिएन । मैदानबाट धुलो टक्टकाउँदै एमाले उठेको माओवादीलाई रुचेन ।
एमालेसँग मिलेर देशभक्तिको रसायनको बलमा शानले जीवन बाँच्नुको सट्टा टाँङमुनि छिरेर नौमहिने जागिर खाने लोभले प्रचण्डले माओवादी केन्द्रको भविष्य समाप्त पारेकोमा शंका गर्ने ठाउँ छैन ।
एमालेको पुनरोदयमा आफ्नो अधिनायकवादी सपना ध्वस्त हुने देखेपछि केही महत्वपूर्ण एमाले हस्तीलाई प्रभावमा पारी गोर्वाचोभ अवतारमा उतार्यो । ४० वर्ष सत्तामा एक्लौटी ढलीमली गर्ने तानाशाही सपना बुन्दै एमाले र सेनाभित्रका कमजोर तन्तुको सहयोगमा सेनापति हटाउने हर्कतमा उत्रियो । अन्ततः हर्कत प्रत्युत्पादक भयो । आधुनिक कोतपर्व मच्चाउने दुस्वप्नले हावा खायो । माओवादी सरकार रुक्मांगद कटवालको अदम्य साहसको सिकार भयो ।
यो सब माओवादीको एमालेप्रतिको दुराग्रहको उपज थियो । एमालेको लोकप्रियतादेखि अत्तालिएर माओवादीले एमाले नेतृत्वको सरकार ढालेको छ र कांग्रेससँग लहसिएर नयाँ गठबन्धनको नेतृत्व गरी शिखण्डीको भूमिकामा उत्रिएको छ । माओवादीको लागि यो बबन्डर गल्तीको पुनरावृत्ति हो ।
अपरिवर्तनीय नेतृत्व
माओवादीले विगतमा झन्डा फेर्नेसम्मको हर्कत गर्यो । संसारलाई परिवर्तनशील ठान्ने यो पार्टी आफ्नो पार्टी प्रमुखलाई भने अपरिवर्तनीय मान्छ । मनमा कुटिलता, मगजमा पराधीनता, रगतमा राजनीतिक अस्थिरता, विचारमा विशृंखलता र व्यवहारमा संकीर्णता माओवादी केन्द्र प्रमुखको पहिचान हो । उपयोगितावाद, अवसरवाद र अस्थिरताको स्रोतका रूपमा माओवादी केन्द्र उभिएपछि उक्त पार्टीले विगत संविधानसभा चुनावमा पाएको १४ लाख मत तरल भएर एमालेको पोल्टामा जाँदैछ ।
गृहयुद्धका क्रममा गरेको मानवअधिकार तथा अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघनका कारण संसारको जुनसुकै सभ्य देशको निगरानीमा पर्नबाट जोगिन सम्भव छैन । एमालेसँग मिलेर देशभक्तिको रसायनको बलमा शानले जीवन बाँच्नुको सट्टा टाँङमुनि छिरेर नौमहिने जागिर खाने लोभले प्रचण्डले माओवादी केन्द्रको भविष्य समाप्त पारेकोमा शंका गर्ने ठाउँ छैन ।
यसरी निजी सुविधालाई केन्द्र भागमा राख्ने अपरिवर्तनीय नेतृत्वको निरन्तरता माओवादी गल्तीको अर्को पुनरावृत्ति हो ।
फौजी सहायक
माओवादी केन्द्रको अध्यक्षका फौजी सहायक नै पतनलाई तीव्र पार्ने पाटपुर्जाहरू थिए, छन् र हुनेछन् । गृहयुद्धमा हजारौँले आफ्नो अमूल्य जीवन आहुती दिए । अंगभंग हुने, दाम्पत्य जीवन खण्डरमा पारिने र सरकारले दिएको रकमका चेकहरू खोसिनेको संख्या लाखौँ छ । यी सबैको पौरखमा तर मार्ने केही फौजी कमान्डरहरू छन्, जसलाई नेतृत्वले काखी च्यापेको छ । परपीडक जत्थाको आ श्रयस्थल रहँदासम्म पीडितहरूको मन केन्द्रबाट पग्लने छैन ।
युद्ध सरदारकाप्रतिको एकपाखे नीतिकै कारण माओवादीबाट आफ्ना बारेमा खासै चिन्ता नगर्ने उक्त धारका भीष्मपितामह मानिने मोहन वैद्य बाहिरिए । विप्लव समूह माओवादी घटकका ऊर्जावान् युवापुस्ताको वैकल्पिक शिविरका रूपमा खडा हुँदैछ ।
युद्ध सरकारकै आडमा ३० वर्ष एउटै व्यक्तिमा शक्ति थुपारिएको प्रति प्रकट वा अप्रकट असन्तुष्टिका साथ डा. बाबुराम भट्टराईले नयाँ शक्ति नामको छुट्टै पार्टी खोलेर अलग अस्तित्वको लडाइँको उद्घोष गरिसकेका छन् । एमालेसँग मिलेर जनपक्षीय कार्यक्रम सञ्चालन गर्दा माओवादी केन्द्रले वैद्य विप्लव र बाबुरामको बहिर्गमनको सोधभर्ना गर्न सक्ने सुन्दर अवसर थियो । केही थान युद्ध सरदारलाई तत्काल मन्त्रीको खान्की नभर्ई भएन ।
मुठीभरको स्वार्थ हेरेर नयाँ समीकरणको आत्मघाती खेलोमेलो भयो । राजनीतिक अस्थिरताको कारकतत्व यसपटक पनि फौजी सहायकहरू नै देखिए । यसरी विगतका गल्ती नदोहोर्याउने प्रचण्डको उद्घोष फौजी सहायकको बिगबिगीमा आएर खण्डित बनेको छ ।
निर्देशित राजनीति
भारतमै भारतीय माओवादीहरू भारत सरकारको टाउको दुःखाइको विषय बनेका बेला नेपालका माओवादीहरू भने नोयडामा भारतीय संस्थापनकै छत्रछायामा रहेर रअले दिएको दानापानीमा बाँचे । विगतको यो सबै दोष डा. बाबुराम भट्टराईको थाप्लोमा खन्याएर साखुल्ले रहने र ओलीपछिको अर्को देशभक्त नायक भएर देशको मियो हुने अवसर दाहालसामु थियो ।
डा. भट्टराईको बहिर्गमनपछि पनि केन्द्रले निर्देशित नेतृत्वको कुलत छोड्न चाहेन । देशविरुद्धको षड्यन्त्रमा सामेल हुने हतारोका कारण कांग्रेस र माओवादी केन्द्र अमरेशकुमार र सीके राउत (एसी) गुटका पछाडि लतारिँदै छन् । कांग्रेसलाई जंगबहादुर र मातृकाको बाटो नहिँड्न चुनौती दिएको एक वर्ष नबित्दै प्रचण्डले लिएको यु टर्न रहस्यमय छ ।
संविधानसभाको दोस्रो निर्वाचनमा जनताबाट दण्डित भएपछि अब हुने पूर्ण पतनलाई रोक्न विगतका गल्ती नदोहोर्याउने भनिए पनि निर्देशित राजनीतिमा माओवादीले पुनरावृत्ति गरिनै रहेको छ ।
राष्ट्रिय मुद्दाको विषयान्तरण
माओवादी केन्द्रको अर्धपतनको अर्को कारण बारम्बार राष्ट्रिय मुद्दाहरू विषयान्तर गर्ने मोहरा बन्नु थियो । यो गल्तीको पुनरावृत्तिले केन्द्र पूर्ण पतनको सँघारमा उभिएको छ । राष्ट्रिय मुद्दाको विपक्षमा उभिनु माओवादी केन्द्रको नानीदेखि लागेको बानी हो । जनमत संग्रहको विपक्षमा उभिनु, २०४६ सालको जनआन्दोलनको विपक्षमा उभिनु र २०४६ पछिको भाँडभैलोको एक हिस्सा हुनु, २०६३ पछिको अस्थिरता र भाँडभैलोको मुहान बन्नुलगायतका हर्कतहरू केन्द्रको विनाश काले विपरीत बुद्धिका दृष्टान्तहरू हुन् ।
आज पनि म नरहे कोही पनि रहँदैन भन्ने प्रतिशोध माओवादीको नसानसामा रगत भएर बगिरहेको देखिन्छ । एमालेसँगको सहकार्यमा आफ्नो भविष्य नदेखेर राष्ट्रियता, देशभक्ति, स्वाभिमान र समृद्धिको ओली डक्ट्रिनका विपक्षमा केन्द्र उभिएको छ ।
बगलीमा छुरा राखे पनि मोदीलाई नेपालकोे संसद्मा राम राम भन्न कुनै भारतविरोधीले अवरोध गरेन । आज चीनदेखि तर्सिनु र आफ्नो भारतपरस्त अनुहार छोप्न कसैलाई भारतविरोधी करार गर्नुको कुनै अर्थ छैन । चीनसँगको सम्झौताको कार्यान्वयन र चिनियाँ राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमणबाट नेपालको पोल्टामा पर्ने लाभ र उपलब्धिहरू तुहाउन प्रचण्ड सरकार मोहरा बनेर उभिँदैछ । यसरी एक राजकीय पार्टी राष्ट्रिय मुद्दालाई विषयान्तर गर्न दत्तचित्त हुनु नेपालको लागि बाह्य आक्रमणजतिकै घातक हो ।
दक्षिण एसियाको सभ्यता नष्ट-भ्रष्ट पार्ने पश्चिमा स्वार्थपूर्तिको लागि माओवादी केन्द्रले विगतमा संवेदनशील जातीय र क्षेत्रीय मुद्दा अनावश्यक तन्काएकै हो । यतिले नपुगेर नेपाली जनता र असल छिमेकी चीनप्रतिको यो गद्दारी र क्षेत्रीय प्रभुत्ववाद र विश्व साम्राज्यवादप्रतिको यो गुलामी माओवादी केन्द्रको बबन्डर गल्तीको निरन्तरता वा पुनरावृत्ति हो ।
निष्कर्ष
वेदव्यासको भनाइ छ- अविवेकीको पतन अनेक प्रकारले हुन्छ । एमालेको पक्षमा देशभक्त जनमत उर्लिरहेको बेला माओवादी केन्द्रको पापको घैँटो भरिनु देशको सुन्दर भविप्यको कामना गर्नेजतिका लागि सुखद् पक्ष हो ।
गृहयुद्धको सुरुआतको बेला भिन्नाभिन्नै भूमिकामा उतारिएका दाहाल र देउवाको गुटलाई क्यारेमबोर्डका गोटी जसरी अन्तर्राष्ट्रिय खेलाडीले झेलपछिको मेलको प्रयोगमा उतारेका छन् । इतिहासको हरेक कालखण्डमा नेपालले खलनायकका पाता कस्न सक्ने सचेत जनमत र सशक्त महानायकको सौभाग्य पाउँदै आएको छ । यातायात र सञ्चार सुविधाको अभाव भएको युगमा जसरी आजको जमानामा सबै देशभक्तलाई एउटै कोतपर्वमा एकचिहान पार्न सम्भव छैन ।
नेपाली जनताको पहलकदमी निर्णायक भएकै बेला एमाले पनि निम्छरो नेतृत्वको कष्टसाध्य बोझबाट मुक्त भएको छ । मदन र मनमोहनको अवसानपछिको डेढ दसकमा एमालेले भोग्नुपरेको जनसर्मथनको मन्दी हटेको छ । ओलीको आगमनले जगाएको आशा र उत्साहबाट एमालेले न्याय पाएको छ । मदन र मनमोहन ठीक तर एमाले बेठीक करार गर्ने सुनियोजित षड्यन्त्रलाई धेरै वर्षपछि ओली नेतृत्वको नौमहिने सरकारले चिरेको छ । जुन एमालेले मदन र मनमोहन जन्मायो, त्यही एमालेले ओली जन्मायो र भविष्यमा देशको लागि चाहिने असल र योग्य राजनेता जन्माउन सक्ने राजनीतिक नर्सरी पनि एमाले नै हो भन्ने सन्देश प्रवाह ओली सरकारले गरेको छ ।
राम्रो कामको श्रेय लिन छोडी मैदान खाली गरेर माओवादी भागेपछि एमाले वामपन्थी आन्दोलनको मूल प्रवाह मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलनको नायक, राष्ट्रियताको पहरेदार शक्ति र देशभक्तको एकताको सेतु बनेको छ । यसरी माओवादी केन्द्रले गल्तीमाथि गल्ती थप्नुले संकट मात्र थपिएको होइन, सुन्दर अवसर पनि आएको छ ।
हाइलाइट
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)