बामदेवले भने, संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्छ
काठमाडौँ : एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकमा सरकारको स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
अखिल नेपाल किसान महासङ्घको प्रशिक्षण विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय कार्यशालाको शुभारम्भ गर्दै उनले देशमा राजनीतिक स्थिरता कायम राख्नका लागि कार्यकारी प्रमुखका रुपमा राष्ट्रपतिलाई स्थापित गर्नुपर्ने बताए।
पछिल्ला दिनमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नभएसम्म राजनीतिक स्थिरता र समृद्धि नहुने अभिव्यक्ति दिदै आएका छन् । विगतमा धेरै पटक सरकार ढलेको स्मरण गर्दै उनले सरकारले ल्याएका योजना तथा बजेटलाई कार्यान्वयन गर्न नसकिएकाले राजनीतिक अस्तव्यस्तता बढेकोमा चिन्ता व्यक्त गरे।
अखिल नेपाल किसान महासङ्घका अध्यक्षसमेत रहेका गौतमले विभिन्न जातजातिका नाममा देशमा विभाजन ल्याउने खतरा बढेको बताउँदै आफ्नो पार्टीले त्यस्तो षडयन्त्रका विरुद्ध दृढताका साथ प्रतिवाद गर्ने प्रष्ट पारे ।
महासङ्घका सहअध्यक्ष केशवलाल श्रेष्ठले देश विकासका लागि जमिनको महत्व रहेको विचार राख्दै खेतीयोग्य जमिनमाथि व्यक्तिगत स्वामित्व हटाउनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !