'यदि मैले गितार नसमाएको भए ...'
'आफूलाई एउटा कुरा भनौं ? ' साउनको झरिलो साँझ प्रश्न गर्ने निहुँमा पुगेको मलाई सुरुमै सोधे उनले । अनि हाम्रो सो कल्ड अन्तर्वार्ता गफगाफमा फेरियो । लज्जालु स्वभावका उनी गफगाफमा बढी खुले । 'अफ द रेकर्ड' भन्दै उनले जीवनका धेरै तीतामीठा अनुभव बाँडे । कुराकानीमा यी 'जिनियस'को जिब्रोबाट फुत्तफुत्त निस्केका शब्दले मेरो मस्तिष्कलाई अझै पनि हम्मरले झैं हानिरहेछन् ।
जीवन अनुभवको सार खिच्दै भनेका थिए उनले- 'कलाकारको लाइफ स्पार्क (झिल्को) हो । मसँग हजारौं कम्पोजिसन होला । तर मसँग त्यस्तो स्पार्क हुनुपर्छ जसलाई मेरो जेनेरेसनले माया गरोस् । नेक्स्ट जेनेरेसनले सम्झोस् । जस्तो पायो त्यस्तो गाएर हुँदैन ।'
अहिले उनी त्यहीँ स्पार्क खोजिरहेछन् । राति सुतेको बेलामा पनि मनमा धुन आएपछि उठेर गितार बजाउन थाल्छन् । तर उनकी श्रीमती भन्दिन्छिन्- त्यो स्पार्क होइन ।
'म गीतमा आर्किमिडिजले जस्तो 'युरेका' भन्न चाहन्छु' उनी भन्छन्, 'म दुइटा जेनेरेसन जोड्ने गीत खोजिरहेको छु ।' त्यसैले त दुई वर्षदेखि कुनै गीत कम्पोज गरेका छैनन् । इलेक्ट्रिक गितारमा इन्स्ट्रुमेन्टल गरिरहेछन् । स्पार्क खोजिरहेछन् । तर उनी केवल गितारमात्र बजाई बस्दैनन् । भन्छन्, 'म दिनभर घरमा बस्छु । तर, घरै बसेकी मेरी बूढीले टाइम नै पाउँदिन । कि त गीत प्राक्टिस गरिरहेको हुन्छु । नभए क्वान्टम फिजिक्स पढिरहेको हुन्छु ।'
हो, गितारमा स्पार्क खोजिरहेका उनको अर्को रुचि भौतिक विज्ञान हो । त्यसमा पनि क्वान्टम फिजिक्स अर्थात् बीसौं शताब्दीको पहिलो दशकमा जन्मिएको आधुनिक विज्ञान जसको जगमा अहिलेको सम्पूर्ण विज्ञान प्रविधि उभिएको छ । जसको आँखाले अहिले संसार ब्रह्माण्डको रौंचिरा छामिरहेछ । स्पार्कको खोजीमा यो अध्ययनले पनि उत्तिकै भूमिका खेलेको छ । सत्यबोधलाई संगीतको तरंगमा उतार्न सिकाएको छ ।
असलमा उनले गजबै कुरा गरेका हुन् । लाग्यो- यिनलाई जिनियस भनेर मैले गल्ती गरिनँ ।
यी जिनियसको नाम हो- नवीन के भट्टराई अर्थात् नेपाली पपसंगीतका एक हस्ती । तर यी अचेल चर्चामा छैनन् । समयको मौन गल्लीमा गितार बोकेर आफ्नै दुनियाँमा हराइरहेछन् अर्थात् स्पार्कको खोजीमा । बजारमा नयाँनयाँ अनुहारहरू आइरहेछन् । भट्टराईकै शब्दमा भन्दा, 'नयाँ टिसर्ट लगाएर गीत गाउनेहरू' ।
000
झमझम पानी परिरहेको झम्के साँझमा हामी गफिइरहेछौं । घडीमा दौडिरहेका सुईलाई वास्ता नगरी । मिनेट र घन्टाको कुनै ख्याल नै नगरी ।
एक युवती र नाकमुनि जुंगाको रेखी बस्दै गरेको युवक अघिदेखि नवीनलाई हेरिरहेका छन् । भर्खरसम्म बजिरहेको कुनै अंग्रेजी गीत बन्द भई स्वर नभएको इन्स्ट्रुमेन्टल धुन अलि परबाट गुञ्जिरहेको छ ।
बाहिर दर्किरहेको झरीले वातावरण बिस्तारै अँध्यारो देखिँदै छ । त्यसैले पुतलीसडकको दोस्रो तलामा अवस्थित यो कुमारी क्याफेमा बत्ती बल्न थालेको छ । कुमारी क्याफेको यो साँझमा यी गैर कुमारका केही नोस्टाल्जिक र सुमधुर गीत सुन्ने मुडमा छु । अँ, गैर कुमार । उनले खण्डन गर्दै सम्झाए मलाई, जब मैले भनेँ- नवीन कुमार । खण्डन गरे- 'नवीन के. ब्रो, नवीन के. । कुमार त उहिल्यै सक्किगो' । यति खुलेर बोल्ने त होइनन् उनी । तर आज मुडले बोल्ने बनायो । यो मुडमा म सुन्न चाहन्छु उनकै गीत । सायद साँझको गीत ।
'साँझपख एकान्तमा आफैंलाई बिर्संदा
मग्न हुन्छु म तिम्रो गीत सम्झेर'
गीतसँगै सम्झिन्छन् उनी इन्साइड स्टोरी । भन्छन्- 'साथी मनोज आचार्यसँग सौराहा पुगेर प्रकृति हेरेपछि दिमागमा गीतले बास गर्यो । एक्कासि गितार बजाउँदा मनोजले यो गीत लेख्यो । अहिले दस वर्षपछि म मेरो त्यो गीतको जन्मस्थान पुग्दा त त्यहाँ कुनै होटेलको एकजना वेटर उभिएको थियो- हातमा मेनु लिएर । अब त त्यहाँ बस्न पनि पैसा तिर्नुपर्ने भएछ । प्रकृति पुज्न पनि पैसा तिर्नुपर्ने भएछ । सरकार सबथोक बेच्न चाहन्छ ।'
म सोध्न चाहन्छु गीतको शब्दमा कसको तस्बिर छ ? तर, सोध्दिनँ । नवीनको अर्को इपिसोड सुरु भइसकेको हुन्छ । खासमा हामी र्यान्डम गफ गरिरहेछौं । मैले सोकल्ड अन्तर्वार्ताको मुडअघि नै ढोकाबाहिर हुत्याइसकेको छु । जसरी जीवन चल्छ र्यान्डम मुडमा, त्यसरी नै कुराकानी वा लेखन पनि र्यान्डम किन नहोस् ? तर नवीनलाई भने यो सहर नै एउटा तालमा चलिरहेको लाग्छ ।
०००
जीवनका विरोधाभाषी रङमा खेल्ने यो आम सहरमा नवीनले जीवनका चार दशक बिताएका छन् । यो सहरसँग उनका केही खुसी, केही दुःख, केही हाँसो र केही सपनाका रङ मिसिएका छन् । यो सहर आफैंमा केही खास छ । उनलाई काठमान्डु सहर यस्तो लाग्छ- यहाँका आदिम गल्लीहरू र मन्दिरहरूमा घन्टाको ध्वनि उच्चारित हुन्छ, शंख आवाजले देवता घरहरूमा प्रवेश गर्छन् । यहाँ त बच्चाहरू पनि सुरमा रुन्छन्, वर्षात् पनि तालमा वर्षन्छ ।
यहाँका मन्दिरहरू भजनले भरिएका छन् । पुराना नेवारी बस्तीहरूमा रात-साँझ तबला र हार्मोनियमको सुरमा देवता परिभ्रमण गर्छन् । सहरका पुराना बस्ती जुनैबेला संगीतको तालमा मस्त हुन्छ, गाँजामा झुलिरहेको जोगीजस्तो । केही जादु छ, नत्र यत्तिको संगीत कसले ल्याएर भरिदियो यो सहरको नशामा ?
यो एक साधारण मान्छेको साधारण कथा हो । तर, पाठक यी गायकलाई असाधारण भनिदिन सक्छन् । आफैंलाई चाहिँ 'अति साधारण' भन्दारैछन् उनी । उनैलाई लाग्छ- यो कथा नलेखे पनि हुने हो । तर, नलेखी नहुने केही छन् उनका (कम्तीमा मलाई यस्तो लाग्छ ।)
०००
'शब्दलाई आत्माको गहिर्याइबाट शुद्धसँग उच्चारण गर्न सके त्यो मन्त्र हुन्छ, मेरो कवि ! स्वरलाई ठीक ताप र लय र समयमा बोल्न सके त्यो गीत बन्छ मेरो गायक ! यस्तो धुन र यस्तो गीत जसले आफ्नो युगको निर्माण गर्छ र अर्काको युग निर्देशन ।'
(मृत्युको गीत वाल्जको धुनमा/शंकर लामिछाने)
लामिछानेले लेखेझैं के नवीन के भट्टराईले आफ्नो धुन र गीतबाट आफ्नै युगको निर्माण गरेनन् ?
उनी जीवन खोतल्न थाल्छन् मेरो सामु । म मुक साक्षी बनिदिन्छु । भन्छन्, उनी बिटल्सबाट प्रभावित छन् ।
०००
'द बिटल्स' । ब्रिटेनको लिभरपुलबाट सुरु भएको बिटल्स ब्यान्डलाई पपुलर म्युजिकमा व्यावसायिक दृष्टिमा सबैभन्दा सफल मानियो । यस ग्रुपमा जोन लेनन, पल मेक्कार्टनी, जर्ज हेरिसन, रिंगो स्टार गरी चारजना सामेल थिए । ५ अक्टुबर, १९६२ मा बिटल्सको पहिलो एल्बम 'लभ मि डु' रिलिज भयो र बिटल्स रातारात स्टार बनेर दुनियाँमा छायो ।
बिटल्सका यी र यस्ता कथा सुनेरै, पढेरै नवीनका दिन बिते । रक, पप, ब्लुज, काउन्ट्री, रक एन्ड रोल, काउन्ट्री ब्लुज कति सुने, के हिसाब ? अमेरिकन गायक स्टिव रे, बब डिलन, लन्डनका जोज लेननका आवाज उनको संगीत कक्षमा जुनैबेला गुञ्जिन्थ्यो ।
बिटल्सबाट नवीनले सिकेको कुरा- एक दिन सत्य हुन्छ मिलेर देखेको सपना । नवीनको समूहले ब्यान्ड सुरुवात गरे- द स्टिल ह्विल । बिटल्समा चारजना थिए, 'द स्टिल ह्विल'को पाँच सदस्य भए- कुन्दन पाण्डे, ऋतु पाण्डे, राजेश खड्गी, काजुन पिया र नवीन । नवीन भोकलिस्ट, अरू कोही गिटारिस्ट, कोही किबोरिस्ट...। यसरी नवीनहरूको ब्यान्ड संगीतमा आउँदा यो संगीतको सहरमा सञ्जय श्रेष्ठ सुपर हिट थिए । 'माया मेरी माया' गाउँदै थिए । बहुदलपछिको समय, पपगीतका कन्सर्टले काठमान्डुका डबलीहरू तात्दै थिए । नवीनहरूले पनि व्यापक तताए । तर, अहिले ब्यान्डका सदस्यहरू तितरबितर छन्, नवीन नेपालमा, अरू कोही अमेरिका, कोही बैंककतिर ।
०००
असलमा उनी फुटबल खेलाडी थिए । भन्छन्- तर भाग्यले संगीततिर डोर्यायो । अझै पनि मस्तिष्कको कुनामा लागिरहेकै छ- मैले पढ्नुपर्ने एस्ट्रोलोजी र क्वान्टम फिजिक्स नै हो । कतिसम्म भने गीत रियाज गरिरहेको बेला मुड चल्यो भने र्याकबाट फिजिक्सको किताब निकाल्छन् त्यही किताबमा घोरिन्छन् । नभए यु ट्युबबाट पढ्छन् ।
उनलाई मिस्टक र म्युजिक दुवै मनपर्छ । मिस्टकलाई समातिरहन सकेनन्, म्युजिकमा भने चुर्लुम्मै डुबे । नेपाल साइन्स कलेजमा फिजिक्सको विद्यार्थी हुँदाहुँदै संगीतमा हेलिएपछि केयूमा म्युजिक पढ्न थाले ।
०००
नवीनले पहिलो गीत गोपाल योञ्जनको स्टुडियो 'गोपालय'मा गरेका थिए, धापासीमा- २०४८/०४९ सालतिर । गोपाल ठूला कला मर्मज्ञ थिए । उनले सोचे- उहाँ कला चिन्न सक्नुहुन्थ्यो । 'गोपालय'मा रेकर्ड भएको गीत थियो- 'जिन्दगी बगेको खोला ।' शब्द थियो- वीरेन्द्रराज तण्डुकारको । गीत सुनेपछि योञ्जनले भने- ओहो भाइ, तिम्रो स्वर त गज्जबको छ ! हौसिएर एल्बम 'जिन्दगी'का सबै गीत त्यहीँ रेकर्ड गरे । रेकर्डिङमै योञ्जनले फेरि भने- 'ओहो भाइ, तिम्रो यो एल्बम सुपर हिट हुन्छ ।'
एल्बम निस्कियो । सुपर हिट त भएन, बरु मेगा-फ्लप भयो । पाँच सयप्रति पनि बिकेन । नवीनलाई लाग्यो- गोपाल दाइले जे पायो त्यही गफ दिएछ ।
उनलाई लागिरहने कुरा छ- केहीमा राम्रो गर्नु छ भने त्यसमा एकेडेमिक नलेज चाहिन्छ । अनि क्लासिकल पनि पढ्नुपर्छ । जस्तो, साहित्यमा राम्रो गर्न पनि क्लासिकल साहित्य पढ्नुपर्छ ।
त्यसैले उनी क्लासिकल म्युजिकको प्रेमी हुन् । भन्छन्- 'मेरा गीतहरू राग र रकको फ्युजन हो ।' उनको विचारमा, गीतमा यस्तो फ्युजन गर्न फिजिक्सले सहयोग गर्यो । उनका लागि ग्रिकका म्याथमेटिक्सको पिता पाइथागोरसको थ्यौरी र म्युजिकको नोट उस्तै हो । भन्छन्, 'दुवै एकअर्काका पूरक हुन् ।'
काठमाडौं युनिभर्सिटीमा म्युजिक पढ्दा उनलाई प्रभुराज ढकालले राग सिकाए । ढकाल भूपाली गाउँदै भन्थे- यो भूपाली राग हो भाइ, राति ८ बजेपछि गाउने । भूपाली रागमै उनले 'रात बित्यो हेर तिम्लाई सम्झेर' भन्ने गीत गाए । ढकालले जोग राग सिकाए । उनले त्यही रागमा 'बदनाम भएछु' गाए । र, उनको निष्कर्ष छ- अचेल नयाँ आर्टिस्ट केही नयाँ सिक्ने जाँगर गर्दैनन् ।
अहिलेको पुस्ता र ट्रेन्ड देखेर चिन्तित छन् उनी । पहिले गीत गाउन गाह्रो थियो । अहिले उनको एउटै चिन्ता थपिएको छ- अचेल अरूको गीत रिमिक्स गरेर गाउने सजिलो तरिका आएको छ ।
उहिल्यैको कुरा सम्झिँदा उनी नोस्टाल्जियामा हराउँछन् (अहिले उस्तो सम्झने कुरै हुन छोड्यो उनको जीवनमा । त्यसैले 'उहिल्यै'मा बाँच्नुको आफ्नै विशिष्ट स्वाद होला) । अमेरिकामा थुप्रै लाइभ ब्यान्डमा कन्सर्ट गरे । प्लेनबाट होइन, भ्यानमा सिंगो ब्यान्ड, ड्रम, गितार राखेर- एक वर्षमा २३ वटा स्टेटमा । जाडो मौसममा नेपालबाट हिँडेको, फर्कंदा उखरमाउलो गर्मी सुरु भइसकेको थियो । दूर कन्सर्टबाट फर्किंदा त रिमिक्सको फेसन आएको थियो । टिप्पणी उनको-'भिडियोमा तिघ्रीहरू राखेर चर्चामा आउने चलन आइसकेको रहेछ ।'
भन्छन्- अहिलेका सबै कमर्सियल भइसकेका छन् । कमेन्ट गर्छन्- ट्र्याकमा गाउने चलनले आर्टिस्टहरूमा प्रतिभा हराइरहेछ । उनलाई भयंकर चित्त नबुझ्ने कुरो छ- महोत्सवहरूमा करोडौं कमाइ हुन्छ तर आर्टिस्टलाई ट्र्याकमा गाउन लगाइन्छ ।
उनले गाउन सुरु गर्दा खतरा सिंगरहरू थिए- कर्णदास, विवेक श्रेष्ठ, दीपक वज्राचार्य, मोहन भुसाल, निमा रुम्बा...। नवीनको दाबी छ- उनीहरूले कहिल्यै गीतमा कम्प्रोमाइज गरेनन् । बजारमा बिक्न छोडियो भन्न स्वीकारोक्ति पनि छ नवीनको- 'मेरो जेनेरेसनको सबैभन्दा ठूलो कमजोरी, हामीले कहिल्यै पनि कम्प्रमाइज गरेनौं । कहिल्यै ट्र्याकमा गाएनौं । शब्द छनोट गरेरमात्र पनि गाएनौं । त्यसैले बजारमा बिकेनौं । तर अहिलेका गायकले त कम्प्रोमाइज गरेरै संगीत ध्वस्त पारे ।'
उनी गाउँमा गएर, गरिब मान्छेको गीत सहरमा ल्याएर त्यसबाट करोड कमाउन चाहदिनँ भन्छन् । उनको दाबी छ- 'म पलंगबाट गीत सिर्जना गर्छु ।'
०००
तर उनका कुनै पनि गीत पलंगबाट फुत्त खसेका वा जन्मेका होइनन् । हरेक गीतका आफ्नै कथा छन् । जस्तै केही गीतका इन्साइड स्टोरी सुनाए यसरी-
'खाँदै नखाएको विषले जिउँदै मार्यो ...'
-यो लेख्ने गीतकार अमेरिकामा केमेस्ट्री टिचर हुनुहुन्थ्यो । सायद अहिले पनि हुनुहुन्छ । एकदिन मेरो घरमा कसैले घन्टी बजायो । उहाँको नाम राजीवमणि नेपाल । उहाँले भन्नुभयो- नवीन मैले जीवनको फिलिंगको गीत लेखेको छु गाइदिनुपर्यो । त्यति भनेर उहाँ गीत छोडेर जानुभयो । दुई मिनेट पनि बस्नुभएन । पछि मैले त्यो गीत गाएँ । हिट पनि भयो । मलाई यो पनि थाहा छैन, उहाँले यो गीत सुन्नुभयो कि भएन !
'मेरो साथ बिताएका याद सबै मेटियो होला नि...'
- यो गीत भूपेन्द्र नीराजनले लेखेको हो । गीत गाएर हिट भइसकेपछि उसँग पनि मेरो भेट भएको छैन । ऊ आयो, गीत दियो, गयो बस ।
'डर लाग्छ, डर लाग्छ...'
-यो गीत लेख्ने भाइ मेरो घरमा धेरैपटक आइरहन्थ्यो र भन्थ्यो- दाइको लागि एउटा गाना लेख्देको, प्लिज गाइदिनुपर्यो । मैले वास्तै गरेको थिएन । मम्मीले एकदिन भन्नुभो- 'ए नवीन, यो बाबु यस्तरी आउँछ यसको एउटा गीत गाइदे न' । त्यसपछि गीत छोडेर गएको ऊ १५ वर्षपछि अर्को गीत लिएर आयो । मैले फेरि वास्ता गरिनँ ।
'तिमी हौ मेरो लाखको धड्कन...'
-भर्खरै मेरो बुवा खस्नुभएको थियो । जापानमा बस्ने दाइ रानु श्रेष्ले 'यो गीत लेखेको छु, मन लागे गाउनु' भनेर दिनुभयो । र, गीत 'द ब्लु' एल्बममा राखेँ ।
'ए झरी...'
-डा. अरुण सायमीले 'ल बाबु तिमीले गाइदेउ न' भनेर यो गीत थमाइदिनुभयो । झरीको यो गीत रेकर्ड गर्दा पनि बाहिर झमझम झरी नै परिरहेको थियो । गीतको मास्टरपिस डा. अरुण सायमीको गाडीमा शम्भुजित बाँस्कोटाले ल्याउनुभएको बंगुरको सेकुवा खाँदै सुनेका थियौं, मध्यराति ।
(वास्तवमा साँझपख क्याफेमा बसेका हामी रात गाढा हुँदा पनि निस्किन सकेनौं । बाहिर एकनासको झरीले पुतलीसडक जलमग्न थियो । यो झरीमा नवीनले हामीलाई 'ए झरी' दुई लाइन सुनाए । सुनाउँदा सुनाउँदै 'लाज लाग्यो' भनेर रोकिए । उनी साँच्चि नै अति लज्जालु छन् ।)
०००
लज्जालु नवीन मेहनती पनि छन् । अहिले पनि हरेक दिन आठ घन्टा रियाज गर्छन् । भन्छन्, 'ग्रहदशाहरूलाई आफ्नो मेहनतले झुकाउनुपर्छ ।' मेहनेती हुनु र पैसा कमाउनु फरक कुरा हो भन्छन् उनी । उनको विचारमा- उनी र उनको पुस्ता पैसा कमाउने उद्देश्यले भन्दा पनि नाम कमाउने उद्देश्यले संगीतमा आएको हो । उनलाई अचम्म लाग्ने एउटा कुरो यस्तो छ- अहिले गायक/गायिका र श्रोता दुवैले 'पप नै खत्तम हो' भन्नथाले ।
उनी भन्छन्, 'कला भनेको अभाव हो । पैसा वा इमोसनको अभाव नभई सिर्जना हुँदैन । तर, ममा इमोसनको अभाव छ ।'
उनलाई नेपाली संगीतका हीरानारायण गोपाल, गोपाल योञ्जन, दीप श्रेष्ठहरू लाग्छ । उनको गुनासो छ- मिडियाले राम्रो/नराम्रो छुट्ट्याउन सकेको छैन । गञ्जागोल भइरहेछ ।
उनलाई मनपर्ने एकजना गायक सुरेशकुमार क्षेत्री हो । भन्छन्, 'ऊ दार्जिलिङको नारायणगोपाल हो । उसको 'धेरै धेरै पीरहरूले' भन्ने गीतले धेरै छोएको छ ।'
संगीतमा चुर्लुम्मै डुबेका यी क्यापवाल गायक अहिले फिलोसफिकल गीत गाउन चाहन्छन् । भने, 'मैले लभ सङ्स धेरै गाइसकेको छु । अब केही फिलोसफिकल गाउन चाहन्छु । ताकि आउँदो पुस्ताले युद्ध देख्नु नपरोस् । सबै सुखी, निरोगी होस् । अनावश्यक प्रतिस्पर्धा गर्न नपरोस् ।
त्यस्तै भावले उनले 'कामना'भन्ने गीत गाएँ ।' गाए- 'आजकल आभास हुन्छ मलाई यस्तो÷म निदाएको बेला घर बाढी आई बगाएजस्तो ।' विशाल पौडेलको शब्द, संगीतमा ६ महिना लगाएर बनाएको यो गीत चर्चामा भने छैन । यू ट्युबको कुनामा कतै थन्किएर बसेको छ । गुनासो छ उनको- कहिल्यै मेनस्ट्रिम मिडियाले बजाएन किनभने त्यसमा तिघ्रा देखाइएको भिडियो थिएन ।
०००
नवीनलाई म्युजिकले खुसीमात्रै होइन, डिप्रेसन पनि दिएको छ । जीवनको एउटा चरणमा पुगेपछि उनलाई गीत-संगीतबाट निकै दिक्क लाग्यो । भन्छन्, 'म मेरी बूढीको डिपेन्डेन्टमा अस्ट्रेलिया जान खोजेको थिएँ ।' तर गएनन् । म्युजिकले नै यसरी बाँधेको थियो निस्कनै सकेनन् । र बाँधेको थियो श्रीमतीको प्रेमले नै ।
छाता समाउँदै उनले भने- 'ब्रो, अब जान्छु । झरी पनि बन्द भो होला । घरमा श्रीमती (नवीना राजभण्डारी), नानी वेट गरिराछन् ।'
छुट्टिन हतार गरिरहेका यिनलाई यसपालि चाहिँ इन्टरभ्यु स्टाइलमै सोधेँ मैले- ब्रो गीत नगाएको भए, गितार नसमाएको भए के हुन्थ्यो ?
गम्भीर भए । सोचेँ । र जवाफ दिए- 'यदि मैले गितार नसमाएको भए नि ब्रो, कि म इन्जिनियर हुन्थेँ कि अहिले पनि क्वान्टम फिजिक्स पढिरहेको हुन्थेँ । वा अमेरिकाको कुनै युनिभर्सिटीको कोठामा थुनिएर हिसाब गरिरहेको हुन्थेँ होला ।'
अनि थपे- 'ब्रो मैले यही थिममा गीत पनि गाएको छु ।'
यो गीत उनको लेटेस्ट सङ्ग हो । जसमा उनकै बायोग्राफी समेटिएको छ । भने- 'गीत तयार गर्दा म अस्ट्रेलियामा थिएँ । मेरो रुममा साथी दिपेश श्रेष्ठ आयो । उसले गीत लेखौं भन्यो । मैले पहिलो लाइन भनेको थिएँ 'यदि भित्ता बोल्न सक्ने भए' । उसले तत्कालै क्वाइन गर्यो- 'यदि मैले गितार नसमाएको भए ।'
कर गरेपछि अन्तिममा उनले यही गीतको एक स्ट्यान्जा गाए र हामी हरायौं साँझको झरिलो साउने अन्धकारमाः
'प्रितको यो फूल फुल्थ्यो र ?
शब्द यो यस्तो बन्थ्यो र ?
संगीतले तिमीलाई नपछ्याएको भए
यदि मैले गीतार नसमाएको भए...'
०००