वैदिक शिक्षा पद्धति
![वैदिक शिक्षा पद्धति](https://annapurnapost.prixacdn.net/media/albums/Gurukul-57ae993fd9ce36.92213666_DYUwvrJuhE.jpg)
वेद अनादि, अपौरुषेय (कुनै पुरुषबाट नरचिएको) र गुरुशिष्य–परम्पराले आएको शाश्वत ज्ञानराशि तथा शब्दराशि हो । वेदको अध्ययन र अध्यापनको छुट्टै विशिष्ट नियम र प्रकार छ । वेदाध्ययनले आदर्श समाज निर्माणमा सहयोग पुर्याउने हुनाले यसका निम्ति विशेष प्रकारको शिक्षापद्धति अपनाउन आवश्यक हुन्छ । वैदिक शिक्षापद्धति भनेको वैदिक परम्पराअनुरूपको वेदवेदांगको शास्त्रीय पठनपाठनको पद्धति हो । यसमा गुरुशिष्यको शास्त्रीय सम्बन्ध हुन्छ र तदनुरूपका अरू व्यवस्था पनि हुन्छन् ।
यस पठनपाठनमा अरू कुनै पनि प्रकारका नियन्त्रणको र व्यवस्थाको प्रभाव मान्य हुँदैन । यस विषयमा राजनीतिज्ञ विष्णुगुप्त चाणक्यको विश्वप्रसिद्ध ग्रन्थ कौटलीय अर्थशास्त्रमा पनि उल्लेख छ- 'विद्यानां तु यथास्वम् आचार्यप्रामाण्याद् विनयो नियमश्च' ‑१।५) अर्थात् वेदवेदांगादि विद्याहरूको त्यसत्यस विद्याका आचार्यले नै गरेका व्यवस्थाअनुसार शिक्षण, तालिम र नियम हुन्छ । यही सिद्धान्त नै मूल वैदिक शिक्षापद्धतिमा लागू हुन्छ ।
यसप्रकारको शिक्षापद्धति मात्रै वैदिक धार्मिक परम्पराको सुरक्षा गर्ने पद्धति हो । वेदवेदांगको शास्त्रीय गुरुकुलपद्धतिले अध्ययनअध्यापन नगरीकन वैदिक धार्मिक क्रियाकलाप चल्न नसक्ने हुँदा यस पद्धतिको पूर्ण शास्त्रीय मान्यताअनुरूपको व्यवस्था गर्न अत्यावश्यक देखिन्छ ।
वेदवेदांगको वैदिक शास्त्रमर्यादाअनुसार पठनपाठन हुने गुरुकुललाई अरू गुरुकुलबाट छुट्याउन वैदिक गुरुकुल भन्नुपर्छ । यस विषयमा तिनका सञ्चालक र व्यवस्थापक पक्षको ध्यान नगएकाले ध्यान जानुपर्ने देखिन्छ । गुरुकुल भनेको गुरुको व्यक्तिगत घर नै हो । नाम गुरुकुल राख्तैमा शास्त्रीय परम्परागत गुरुकुल हुने हैन भन्ने कुरा सम्बद्ध सबैले बुझ्नुपर्छ । वास्तविक शास्त्रीय गुरुकुलको स्थापना गर्नुपर्छ । यस कामका लागि आस्तिक सज्जनहरू अभिमुख हुन आवश्यक छ ।
वेदको रक्षा गर्ने वैदिक शिक्षाको स्वरूप
वेदको शास्त्रीय शिक्षामा विधिपूर्वक गुरुमुख गरी वेद राम्ररी पढेका गृह्य अग्नि पनि भएका सदाचारी उपाध्याय ब्राह्मण गुरु हुन्छन् । गृह्य अग्नि नभए सुस्थापित लौकिक अग्निमा नै श्रावण महिनाका पूर्णिमामा अध्यायोपाकर्म (उपाकर्म) गरेर पनि विधिपूर्वक वेद पढाउन हुन्छ । आपत्कालमा अध्यायोपाकर्म नगरीकन पनि वेद पढाउने प्रचलन पछिल्ला समयमा चलेको छ । लागेपुगेसम्म अध्यायोपाकर्म गरेरै वेद पढाउनु उचित हो । वेद पढ्ने वटुक पनि सदाचारी उपाध्याय ब्राह्मण हुनुपर्छ ।
वेद पढ्ने वटुकलाई मिलेसम्म वेद पढाउने गुरुले नै उपनयन गर्नुपर्छ । नभए अरूले उपनयन गरेका योग्य वटुकलाई पनि वेद पढाउन हुन्छ । वेद पढ्दा समुचित ब्रह्मचर्यव्रतको पालन गरेर गुरुका अधीनमा रहेर पढिन्छ ।
आफूले उपनयन गरेका वा अरूले उपनयन गरेका वटुकलाई पनि व्रतहरू गराउँदै वेद पढाउन त्यस वटुकलाई बाबु, जिबाबु, दाजु, सानाबाबु, ठुलाबाबु, अन्य बन्धु वा वटुक आफैंले नै गुरुलाई सुम्पेको हुनुपर्छ । अनि गुरुले उसलाई आफ्नै छोरो मानी विधिपूर्वक वेद पढाउनुपर्छ ।
शिष्यको अन्नवस्त्रको र बासको व्यवस्था पनि गृह्यसूत्र, धर्मसूत्र, स्मृति, पुराण इत्यादिले देखाएका मार्गले न्यायपूर्ण वृत्तिबाटै हुनुपर्छ । यस्तो व्यवस्था योग्य सदाचारी गृहस्थ उपाध्याय ब्राह्मण व्यक्तिका प्रमुखतामा हुन्छ । सन्न्यासी भनिएका व्यक्तिका नाममा आएका धनले यस्तो व्यवस्था गर्न हुँदैन । सन्न्यासीलाई धन लिने र प्रपञ्च गर्ने अधिकार शास्त्रले दिएको छैन । भिक्षाचर्य, समिदाधान इत्यादि ब्रह्मचर्यका अनिवार्य अंगहरूको पालन हुने व्यवस्था पनि गर्नुपर्छ ।
शास्त्रीय व्यवस्थाको उल्लंघन गरेर गरिएका अध्ययन–अध्यापनले धर्मको रक्षा हुँदैन । वैदिक गृहस्थधर्मको र सन्न्यासधर्मको विस्तृत परिचय वैदिक धर्म मूल रूपमा (२०६२) भन्ने ग्रन्थमा हेर्न सकिन्छ । गुरुशिष्यको सम्बन्ध पितापुत्रको सम्बन्ध जस्तै हो । त्यसरी आवश्यक व्रतहरू गराएर नियममा राखी वेद पढाएर गुरुले शिष्यलाई वेदवेदांगको र मनुष्यजीवनको ज्ञान दिने, सदाचारको बानी बसालिदिने तथा ठीक प्रकारले विचार गर्ने बोल्ने र काम गर्ने प्रवृत्ति विकसित गर्ने समेत गरेर शिष्यलाई आदर्श जीवनयात्रा चलाउन योग्य बनाउनुपर्ने निर्देश शास्त्रमा छ ।
गुरुले घर फर्कन अनुमति नदिइन्जेल शिष्य पूर्णतया गुरुका अधीनमा बसी वेदाध्ययनादिमा समर्पित भएर लाग्नुपर्छ । यो धर्म–मोक्षविद्यारूप वेद पढ्ने पढाउने मुख्य वैदिक शिक्षाप्रणालीको संक्षिप्त परिचय हो । यी र अरू थप कुराहरू गृह्यसूत्र, धर्मसूत्र, स्मृति, पुराण र इतिहासमा पनि बताइएका छन् । यो शिक्षा मुख्य रूपमा मान्छेका धार्मिक–आध्यात्मिक आस्थासित सम्बद्ध छ । बिनाव्रत ज्ञानमात्र दिनाले शिष्यमा सत्प्रवृत्ति विकसित नभएर शिक्षा विफल हुनसक्ने हुँदा ऋषिमुनिहरूले व्रतमा जोड दिएका छन् । केवल विद्यास्नातक वा व्रतस्नातक नभई विद्या-व्रत-स्नातक हुन निर्देश गरेका छन् ।
वेदको रक्षा गर्नु ब्राह्मणको कर्तव्य
सामान्य अन्न वस्त्र र वासस्थानको व्यवस्था भएका र हुनसक्ने कुलीन उपाध्याय ब्राह्मणहरूले अनादि कालदेखि गुरुशिष्य परम्पराले तपस्याबाट, विवेक विचारबाट र सन्तोषबाट बल प्राप्त गरी पालना गरिँदै आएको वेदको अध्ययनअध्यापनको परम्परा सुरक्षित राखेर वेदप्रति, ऋषिमुनिप्रति, पितापुर्खाप्रति तथा आफूप्रति पनि न्याय गर्नुपर्छ । आफ्ना छोरानातिलाई ऋषिपरम्पराले अतिमहत्त्व दिएका कल्याणकारी शिखासूत्रधारण, स्नान, शुद्धवस्त्रपरिधान, सन्ध्योपासन र गायत्रीजप जस्ता नित्यकर्म र अन्य सदाचारको पालना गर्न लगाउँदै वेदाध्ययनमा संलग्न गराउनुपर्ने कुरामा कुलीन ब्राह्मणहरूले विशेष ध्यान दिनुपर्छ ।
वैदिक शिक्षा पाएका स्नातकमा विकसित हुनुपर्ने वैदिक शिक्षाको सारभूत प्रवृत्तिका विषयमा तैत्तिरीयोपनिषद्को आचार्यानुशासनमा- वेदमनूच्या–ऽऽचार्यो–ऽन्तेवासिनमनुशास्ति “सत्यं वद, धर्मं चर, स्वाध्यायान् मा प्रमदः, 'मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव..' इत्यादि भनिएको छ ।
वेदवेदांगको शास्त्रीय गुरुकुलपद्धतिले अध्ययनअध्यापन नगरीकन वैदिक धार्मिक क्रियाकलाप चल्न नसक्ने हुँदा यस पद्धतिको पूर्ण शास्त्रीय मान्यताअनुरूपको व्यवस्था गर्न अत्यावश्यक देखिन्छ ।
यसको अनुवाद हुन्छ- 'वेद पढाइसकेर आचार्यले शिष्यलाई उपदेश दिन्छन्- सत्य बोल, धर्म गर, स्वाध्यायबाट (आफ्ना शाखाको वेदको अध्ययनबाट) विचलित नहोऊ, आचार्यलाई मन पर्ने धन टक्य्राएर आफ्नो सन्ततिरूप तन्तु नछिँदाऊ (विधिवत् विवाह गरेर शास्त्रधर्मको दियो बाल्ने सन्तान जन्माऊ), सत्यबाट विचलित हुन हुँदैन, धर्मबाट विचलित हुन हुँदैन, कुशलबाट (आफ्नो शरीरको रक्षा गर्ने कर्मबाट) विचलित हुन हुँदैन, ऐश्वर्यप्राप्तिका लागि गरिने न्यायपूर्ण चेष्टाबाट विचलित हुन हुँदैन ।
विधिवत् स्वशाखावेद पढ्ने र पढाउने कामबाट विचलित हुन हुँदैन, होम–यजनादि देवकार्यबाट र तर्पण– श्राद्धादि पितृकार्यबाट विचलित हुन हुँदैन, आमालाई देउतालाई जस्तै मान्ने होऊ, पितालाई देउतालाई जस्तै मान्ने होऊ, वेदवेदांग पढाउने गुरुलाई देउतालाई जस्तै मान्ने होऊ, अतिथिलाई देउतालाई जस्तै मान्ने होऊ, जुन दोषरहित काम छन् तिनको सेवन गर्नुपर्छ, अरू दोषयुक्त कर्मको सेवन गर्नु हुँदैन, हाम्रा जो लोक र शास्त्रबाट प्रशंसित आचरण छन्, तिनको तिमीले सेवन गर्नुपर्छ, हाम्रा लोक र शास्त्रबाट निन्दित आचरणको तिमीले सेवन गर्नु हुँदैन, जो हामीभन्दा उत्तम ब्राह्मण छन् तिनलाई आसन दिएर तिमीले तिनको श्रम हटाउनुपर्छ, श्रद्धाले दिनुपर्छ, अ श्रद्धाले दिनु हुँदैन, धेरै सम्पत्ति हुनाले दिनुपर्छ, लोकलज्जाले दिनुपर्छ, यमराजको दण्डका भयले दिनुपर्छ ।
मित्रादिका कार्यका ज्ञानले दिनुपर्छ, यदि कदाचित् तिमीलाई यो काम गर्न हुने वा नहुने वा कसरी गर्नुपर्ने हो भन्ने विषयमा अथवा चरित्रका विषयमा सन्देह भयो भने तिम्रा देशमा तिम्रा कालमा विवेचनशील, शास्त्रोक्त कर्ममा लागिपरेका, लौकिक पुरुषबाट प्रेरित नभएका स्वतन्त्र वा शास्त्रका वशमा रहने, शास्त्रअनुसार चल्ने, रूखो (क्रूर) हृदय नभएका, शास्त्रधर्मको रक्षा होस् भनेर चाहाने जो ब्राह्मण होलान्, तिनले त्यस विषयमा जस्तो वा जसरी आचरण गर्लान् त्यस्तै वा त्यसरी नै आचरण गर्नू ।
अब अभ्याख्यात (कसैबाट सन्दिग्ध ठूलो दोष दिइएका अभिशस्त) व्यक्तिका विषयमा भनिन्छ । त्यस्ता व्यक्रिका सम्बन्धमा पनि उक्त प्रकारका ब्राह्मणले त्यस्ता व्यक्तिप्रति जस्तो वा जसरी आचरण गर्लान् त्यस्तै वा त्यसरी नै आचरण गर्नू । यो वेदको विधान हो, यो वेदको रहस्य वा वेदार्थ हो, यो अनुशासन हो, यसरी (माथि भनेअनुसार) आचरण गर्नुपर्छ ।' यी निर्देशनको यथाशक्ति पालना गर्नु वैदिक स्नातकहरूको कर्तव्य हो । तैत्तिरीयोपनिषद्का यी निर्देशनको र आजभोलिको दीक्षान्तभाषणको तुलना पनि गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)