भूकम्पपीडितलार्इ पीडा पोख्न सिकाउँदै
करिब पाँच इन्च जति उचाइ भएको एउटा चारकुने बाकस । बाकसमा राखिएको बालुवा । त्यसको वरिपरि विभिन्न खेलौना राखेर खेलिरहेका मानिसहरू । डेढ साता अगाडि नेपाल आएर यहाँका मानिसलाई 'स्यान्ड प्ले थेरापी' सिकाउँदै गरेका कोरियाका प्राध्यापकहरूको टोलीले सिकाएका सीपको अभ्यास गर्दै गर्दाको एक दृश्य हो यो ।
जुनसुकै मनोवैज्ञानिक समस्या गर्न उपयुक्त मानिने यो थेरापीलाई नेपालमा पनि परिचित गराउन कोरियाका नामसोउल विश्वविद्यालयकी प्रा. छाङ मी ग्योङ र त्यही विश्वविद्यालयमा कार्यरत नेपाली नागरिक सहायक प्राध्यापक सिर्जना थापा नेपाल आएका हुन् । विश्वविद्यालयअन्तर्गतको चाइल्ड वेयलफेयर डिपार्टमेन्टका यी दुई प्राध्यापकले अन्य १३ जना थेरापिस्टलाई पनि सँगै ल्याएका छन् ।
'कोरियन सोसाइटी अफ स्यान्ड प्ले थेरापी'का अध्यक्ष प्रा.ग्योङ र सोही संस्थामा आबद्ध यी १३ थेरापिस्ट नेपालमा भूकम्पको ठीक एक महिनापछि पहिलोपटक आएका थिए । भूकम्पको असरले मानिसमा परेको मनोवैज्ञानिक असर र त्यसको उपचार नपाइरहेका आफ्नै देशका नागरिक देखेर सहप्राध्यापक सिर्जनाको मन कुँडियो । दुःखेसो पोखिन् प्रा. ग्योङसँग । साथ दिए उनले पनि । र, आइपुग्यो यो टोली नेपालमा ।
पहिलोपटक आउँदा उनीहरूले राहत वितरणसँगै स्यान्ड प्ले पनि गरेका थिए । ६ महिना पहिले दोस्रो पटक फेरि आएको थियो यो टोली । भूकम्पबाट बढी प्रभावित भक्तपुरको विद्या आर्जन बोर्डिङ स्कुलमा त्यस भेगका पीडित बटुलेर स्यान्ड प्ले थेरापीमार्फत उनीहरूको मनोवैज्ञानिक उपचार गर्यो टोलीले ।
थेरापीपछि त्यहाँका बालबालिका, महिला र वृद्धवृद्धामा पनि भूकम्पको डर र त्रासलाई जित्न सक्ने क्षमता वृद्धि भएको प्रा. सिर्जनाले बताइन् । 'हामीले क्लाइन्टलाई आफ्नो समस्या आफैं पत्ता लगाउने वातावरणमात्रै सिर्जना गरिदिन्छौं' थेरापीको प्रक्रिया बताउँदै उनले भनिन्, 'बाकसमा राखिएको बालुवामा उनीहरूले आफ्नो पीडा पोख्छन्, त्यो पत्ता लगाउन हामीले सहयोग गर्छौं ।'
भूकम्पपछि धेरैमा मनोवैज्ञानिक असर देखिएकाले नेपालमै थेरापिस्ट उत्पादन गर्ने उद्देश्यले उनीहरूले दोस्रो भ्रमणमै इच्छुक केहीलाई तालिम पनि दिएका थिए । जम्मा सय घन्टाको वर्कसपपछि यो थेरापीमा दक्ष थेरापिस्ट बन्न सकिन्छ । तालिमपछि इन्टरनेसनल सोसाइटी अफ स्यान्ड प्ले थेरापीको प्रमाणपत्र समेत पाइने हुनाले जुनसुकै देशमा गएर पनि यो काम गर्न योग्य भइन्छ । हाल विभिन्न पेसामा आबद्ध १२ जनाले तालिमको दोस्रो चरणमा भाग लिइरहेका छन् । उनीहरूले यस अगाडि नै ५० घन्टाको तालिम लिइसकेका थिए ।
तालिममा सहभागी नर्स शान्तिकला राईले यो विधिबाट मनमा रहेको समस्या बाहिर निस्कने भएकाले निकै हल्का हुने बताए । अर्का प्रशिक्षार्थी होलिभिजन स्कुल ताहाचलका प्रशासकीय अधिकृत लोक क्षेत्रीले बालबालिकाको मनोविज्ञान बुझ्नलाई यो थेरापी निकै सहयोगी हुने उल्लेख गरे । पढाइको विषयमा विद्यार्थीलाई हुने तनाव कम गराउन पनि यो विधि निकै लाभदायक हुने स्नातक तहको परीक्षा सकाएर बसेकी मीनु सुजखूले सुनाइन् ।
'यो थेरापीमा समय लाग्छ तर समस्या समाधान हुन्छ' उनले भनिन् । मनोविज्ञानमा स्नातकोत्तर सकाइसकेका परिवेश लामाले नेपालको परिप्रेक्ष्यमा समेत यो थेरापी निकै राम्रो हुने देखेर रमाइलो मान्दै तालिममा सहभागी भएको सुनाए । संस्थाले चीन र नेपालमा थेरापीसम्बन्धि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको अध्यक्ष प्रा.ग्योङले बताइन् ।
ग्योङ भन्छन्, यस विधिमा कुनै पनि मनोवैज्ञानिक समस्या भएका व्यक्तिलाई कुनै पनि प्रश्न सोधिँदैन । 'उसलाई एक्लै खेल भनेर सुरक्षित क्षेत्रमा छाडिइन्छ' खेल्दाखेल्दै ऊ आफ्नो समस्यासँग जोडिइसकेको हुने बताउँदै प्रा.ग्योङले भनिन्, 'अनि उनीहरूभित्रकै शक्तिले त्यसलाई समाधान गर्ने प्रयास गराउँछौं ।' नेपालमा यसको एउटा शाखा नै खोलेर नेपालीको समस्या समाधान गर्ने उनीहरूको सपना छ ।
त्यसैले यसै विषयमा मास्टर र पीएचडी गर्नका लागि तीनजना नेपाली विद्यार्थीलाई कोरियासमेत लैजाने उनले बताइन् । यो टोलीलाई नेपाल आउन कोरियन सोसाइटी अफ स्यान्ड प्ले थेरापी र कोरिया छोरोक उसान फाउन्डेसनले केही मात्रामा सहयोग गरेको छ । बाँकी उनीहरू आफैं खर्च जोहो गएर आएका हुन् । कोरियामा कमाएको पैसा नेपालमा खर्च गरेरै भए पनि यहाँ यो थेरापीलाई स्थापित गराउन पाए धेरैले राहत पाउने सिर्जनाको विश्वास छ । भैरहवा घर भएकी सिर्जना मास्टर्स पढ्ने सिलसिलामा कोरिया पुगेकी हुन् ।
के हो स्यान्ड प्ले थेरापी ?
बालबालिका र वयस्क मानिसका मनोवैज्ञानिक समस्याहरू समाधान गर्न सकिने एउटा विधि हो स्यान्ड प्ले थेरापी । यो विधि सन् १९८०मा स्विस साइकोथेरापिस्ट एवं शिक्षिका डोरा काफले पत्ता लगाएकी हुन् । मानिसभित्रको आन्तरिक द्वन्द्व र तनाव पत्ता लगाउन यो विधि लाभदायक मानिन्छ । यो पद्धतिमा एउटा सुरक्षित क्षेत्र निर्धारण गरिएको हुन्छ जहाँ उनीहरूले आफ्नो आन्तरिक संसारमा भएका जटिलतालाई पोख्ने गर्छन् ।
क्लाइन्टको अगाडि एउटा बालुवा भरिएको चारकुने बाकस राखिदिएको हुन्छ । त्यहाँ उनीहरूले विभिन्न खेलौनाहरूलाई राखेर आफूभित्रको दोधारपन र भित्री मनका बहलाई पोख्ने गर्छन् । यसले उनीहरूको अचेत मनका भावना र पीडालाई झल्काएर उपचार गर्न मद्दत पुर्याउँछ ।