डढेलोले ८२ हजार अमेरिकी विस्थापित

डढेलोले ८२ हजार अमेरिकी विस्थापित

लस एन्जल्सः जंगलमा लागेको डढेलोका कारण क्यालिफोर्नियाको सान बर्नार्डिनो जिल्लामा ८२ हजार अमेरिकी घर छोडी सुरक्षित स्थलतर्फ भाग्न बाध्य भएका छन् । जंगलमा लागेको आगोको मुस्लो करिब ८० फिट माथिसम्म दन्किन थालेपछि त्यस क्षेत्रमा बसोवास गर्ने मानिस जीवन रक्षाका लागि घर छाडी सुरक्षित स्थलतर्फ भागेका हुन् ।

समाचार संस्था सिन्ह्वाका अनुसार मंगलबार जंगलमा आगो लाग्न सुरु भएको थियो । गर्मी मौसम, सुखा हावा र घना जंगलका कारण तीव्र गतिमा डढेलो लागेको हो । यस डढेलोलाई ‘ब्लुकट’ नाम दिइएको छ । सुरुमा पाँच एकडमा लागेको उक्त डढेलो नौ हजार एकडमा फैलिएको छ ।

डढेलो लागेका भिडियो सार्वजनिक सञ्जालमा सेयर गरिएका छन् । क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले सान बर्नार्डिनोमा संकटकाल घोषणा गरेका छन् । डढेलो नियन्त्रण गर्न सात सयभन्दा बढी अग्निनियन्त्रक खटिएका छन् । डढेलोबाट पाँचजना जलेको अग्निनियन्त्रकले बताएका छन् ।

उनीहरूलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । आगलागीबाट कति घर जलेर ध्वस्त भए भन्ने तथ्यांक नआइसके पनि दर्जनौ घर खरानीमा परिणत भएका स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दा ५१ वर्षीय डारेन डाल्टनले भने, ‘यति छिटो आगो लाग्यो, कल्पना गर्न पनि कठिन हुन्छ । अहिले पूरै सहर ध्वस्त छ ।’

सान बर्नार्डिनो ग्रामीण आगलागी नियन्त्रण विभागका प्रमुख एरिक सेर्बिनले ३४ हजारभन्दा बढी घरलाई खाली गर्न आग्रह गरिएको बताएका छन् । आगलागी नियन्त्रण प्रयास भइरहे पनि शुक्रबारभन्दा पहिले डढेलोको अवस्था सहज हुने स्थिति नदेखिएको सेर्बिनले जानकारी दिएका छन् । राष्ट्रिय मौसम विज्ञानले बिहीबार रातिसम्म ठूलो हावाहुरी आउने बताएको छ । यसले डढेलो अझै बढ्ने भन्दै सतर्क रहन चेतावनी दिएको छ ।

यो वर्ष गर्मी मौसममा दक्षिण क्यालिफोर्नियामा कयौंपटक भीषण आगलागी भएको छ । डढेलोले कयौं घर नष्ट भएका छन् भने विद्युत् आपूर्ति रोकिएको छ । यहाँका बासिन्दालाई पटक पटक घर खाली गर्न लगाइएको छ ।

वार्षिक लाखौं हेक्टर जंगलक्षेत्र नष्ट

 पेरुमा हरेक वर्ष एक लाख ५५ हजार हेक्टर जंगल नष्ट हुने गरेको खुलासा भएको छ ।

अनियन्त्रित जंगल फँडानीबाट यो अवस्था आइपरेको राष्ट्रिय वन तथा वन्यजन्तु सेवा (सेर्फोर)का प्रमुखले हालै सम्पन्न एक कार्यशाला बैठकमा बताएका छन् । पेरुभियन आमाजोन जंगल क्षेत्रमा लुकिछिपी गरिने खेतीपाती, वन फँडानी, जथाभावी खनिज उत्खनन इत्यादि अवैध तरिकाबाट गरिने कारबाहीका कारण यो विनाश निम्तिएको हो ।

दसौं एसिया प्यासिफिक इकोनोमिक कोपरेसन (एपेक) एक्स्पर्ट ग्रुप अन इल्लिगल लग्गिङ एन्ड एसोसिएटेड ट्रेडको कार्यशाला गोष्ठीमा सेर्फोरका निर्देशक फबियोला मुनोजले बताएका हुन् ।

गैरकानुनी व्यापार र विशुद्ध नाफाको दृष्टिबाट गरिएको जंगल फँडानीले पेरुका जंगलक्षेत्र संकटमा परेका छन् । मुनोजका अनुसार यो आम दृष्टिकोणलाई परिवर्तन गर्न सकेमा र जंगल नमासी वन पैदावारको उत्पादन र प्रयोग गरेमा यसले कति आर्थिक लाभ पुग्छ भन्ने विषयको महत्व पेरुका जनताले बुझेमा पेरुको वन विनाश र त्यसबाट उत्पन्न हुने संकट टर्नेछ ।

आगामी नोभेम्बर महिनामा एपेक आर्थिक राष्ट्रहरूको २४औँ बैठक लिमामा बस्दै छ । सो बृहत् बैठकअघि पेरुको राजधानी लिमामा आयोजित एपेक आर्थिक विशेषज्ञहरूको दुईदिने १०औं कार्यशाला गोष्ठी गत सोमबार सुरु भएको थियो ।

हाल एपेकमा अस्ट्रेलिया, बु्रनाई, क्यानाडा, चिली, चीन, चीनकै हङकङ, चिनियाँ ताइपेई, इन्डोनेसिया, जापान, मलेसिया, मेक्सिको, न्युजिल्यान्ड, पपुवा न्युगिनी, फिलिपिन्स, रूस, पेरु, सिंगापुर, दक्षिण कोरिया, थाइल्यान्ड, संयुक्त राज्य अमेरिका र भियतनामसमेत २१ वटा सदस्य राष्ट्रको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.