टाईमा झल्किएको महराको चिन्तन

टाईमा झल्किएको महराको चिन्तन

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई भेटेको तस्बिर छापाहरूमा तपाईंले देख्नुभयो ? गत बुधबार बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङभन्दा कम्ता भव्य नदेखिने गरी उपप्रधानमन्त्री महराले सेतो स्ट्रिप भएको कालो सुट लगाएका थिए । अनुहार क्रिम दलेर चम्किलो पारेका थिए । ओठ पनि आकर्षक र गुलाबी देखिएको थियो ।

उनले हलुका नीलो रङमा रातो फूलको प्रिन्ट भएको टाई पनि लगाएका थिए । हो, टाई । त्यसको अघिल्लो दिन मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा पनि उपप्रधानमन्त्री महरा आकर्षक पोसाकमै सजिएका थिए । उनले खैरो रङको सुट लगाएका थिए । सेतो स्ट्रिप भएको रातो टाईमा चिनियाँ विदेशमन्त्री वाङ यीभन्दा कम देखिएका थिएनन् उनी ।

एकपटक पहिले पनि उपप्रधानमन्त्री भइसकेका महरा दुई साताअघि पुष्पकमल दाहाल सरकारमा उपप्रधानमन्त्री र अर्थमन्त्री नियुक्त भएका हुन् । उपप्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ खाने क्रममा उनले सेतो सर्ट र खरानी रङको सुट लगाएका थिए । त्यो दिन उनले टाई लगाएका थिएनन् ।

टाई लगाउन मलाई पनि मन पर्दैन । बाख्राको घाँटीमा पगाहा लगाएजस्तो । हाप्पेन्ट र टिसर्ट लगाउन मलाई सबैभन्दा सजिलो लाग्छ । अझ कुर्ता-पाइजामा । योग गर्ने क्रममा लगाउने गाउन मेरो लागि सबैभन्दा सजिलो पोसाक हो । सुट-प्यान्ट लगाउनै परे पनि म हत्पत्ति टाई लगाउँदिनँ । म एकजना आम नागरिक र औपचारिक कार्यक्रममा उपप्रधानमन्त्रीबीचको पहिरन अनि त्यसको अर्थबारे तुलना हुन सक्दैन ।

सार्वजनिक जीवनमा मैले गर्ने हरेक गतिविधिले कूटनीतिक अर्थ राख्दैन । एउटा पत्रकारले के लगायो भन्ने विषयले ठूलो अर्थ राख्दैन पनि । यद्यपि औपचारिक कार्यक्रममा औपचारिक सदस्यका रूपमा सहभागी हुनुपर्दा म पनि औपचारिक पोसाक नै लगाउँछु । त्यस्तो कुनै विशेष कार्यक्रम छ भने टाई लगाउन पनि पछि पर्दिनँ ।

उपप्रधानमन्त्रीका रूपमा शपथ ग्रहण समारोहमा महराले किन टाई लगाएनन् र चीनको भेटघाटमा किन टाई लगाए ? शपथ लिने क्रममा राष्ट्रपतिको अपमान हुने गरी टाईबिनै देखिएका महराले दुई सातापछि बेइजिङमा प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री वाङ यीलाई भेट्दा किन टाई लगाउनुपर्‌यो ?

मामुलीजस्तो लाग्ने यो प्रश्नले नेपाली नेताहरूको चिन्तन शैली, हीनताबोध र सोचको स्तर कस्तो छ भन्ने महत्त्वपूर्ण जवाफ बोकेको छ ।पोसाक आफ्नो शारीरिक सहजता, सुविधासँगै अरूको सम्मानका लागि लगाइने आवरण हो । आफ्नो लागिमात्र लगाइने वस्तु हुन्थ्यो भने गर्मीको यो याममा सबैजना लामो कट्टु र टिसर्टमात्र लगाएर कुदिरहेका भेटिन्थे होलान् ।

त्यहीमाथि मन्त्रीजस्तो हरेक व्यवहार सर्वसाधारण जनताका लागि ऐना बन्ने पद धारण गरेको व्यक्तिले लगाउने हरेक पोसाकको ठूलो अर्थ हुन्छ । उनले गर्ने हरेक व्यवहारको ठूलो अर्थ हुन्छ । त्यसमा आम जनता र सञ्चारको चासो रहिरहन्छ ।

पोसाक शिष्टाचारको अभिन्न अंग हो । पोसाक अघिल्तिर बसेको व्यक्तिलाई आफूले दर्शाउने सम्मान पनि हो । पोसाक तपाईंको व्यक्तित्व र एचिच्युड पनि हो । र, यी कुनै ‘एक्सक्लुसिभ’ तथ्य होइनन् जो उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई थाहा नहोस् ।

तर, मुलुकभित्र महत्त्वपूर्ण औपचारिक समारोहमा राष्ट्रप्रमुखसँग शपथ लिने क्रममा पोसाकको मर्यादा निर्वाह गर्न नचाहेका महराले बेइजिङमा प्रधानमन्त्री र विदेशमन्त्रीलाई भेट्दा किन शिष्टाचार निर्वाह गर्नुपर्‌यो ? हाम्रा राष्ट्रपतिको अपमान गरेका महराले किन चिनियाँ अधिकारीहरूको सम्मान गर्नुपर्‌यो ?

एउटा नेताको जीवनमा उपप्रधानमन्त्रीजस्तो महत्त्वपूर्ण पदको शपथ खानु ठूलो फड्को हो । त्यस्तो महत्त्वपूर्ण क्षणमा किन महराले पोसाकको सामान्य मर्यादासम्म पालन गरेनन् ?

नेपाली नेताहरू मुख्यतः आफूभन्दा शक्तिशाली (चाहे त्यो विदेशी होस्, चाहे घरेलु) लाई रिझाउनमा केन्द्रित हुन्छन् । जतिसुकै प्रजातन्त्र र लोकतन्त्रको बखान गरे पनि उनीहरूले आम रूपमा दास मनोवृत्ति बोकेका हुन्छन् । विदेशी नेताको आशीर्वाद नपाई उनीहरूको पसल चल्दैन । आफ्ना जनता र समाज रिझाउनु उनीहरूको प्राथमिकता होइन । कमसेकम मूलधारमा रहेका अधिकांश नेताहरूको व्यक्तित्व सामान्य रूपमा यस्तै देखिन्छ ।

तर, नेता बन्नु आफ्नो लागि होइन, समाजका लागि हो । नेताले जनता र समाजको आवश्यकता र चाहनाको ख्याल राख्नुपर्छ । नेता भनेको अरूलाई बाटो देखाउने हो । आफू अगाडि रहेको हरेक व्यक्ति र सर्वसाधारणको सम्मान गर्न जान्नुपर्छ नेताले ।

तर, उपप्रधानमन्त्री महराजस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल पनि नेपाली जनता र नेपाली राष्ट्रपतिको सम्मान गर्दैनन् । कमसेकम शपथ खाँदा उनीहरूले पोसाकका सन्दर्भमा देखाएको व्यवहारले यसै भन्छ । चिनियाँहरूलाई रिझाउन चिरिच्याँट्ट परेर प्रस्तुत भएका महराले दुई साताअघि सामान्य शिष्टाचार निर्वाह गर्न नचाहेर नेपाली राष्ट्रपति र नेपाली जनताको अपमान गरे । केही समयपछि प्रधानमन्त्री दाहाल पनि नयाँदिल्ली, बेइजिङ र न्युयोर्क जानेछन् ।

राष्ट्रपति भण्डारीसमक्ष टाईबिनाको सुटमा पुग्ने गरेका दाहालले त्यहाँ टाई बाँध्लान् या शीतल निवास जसरी नै बिनाटाई प्रस्तुत होलान् ?

परम्परागत पोसाक दौरासुरुवाल र कोटमा दाहाल–महराको अरुचि बुझ्न सकिन्छ । उनीहरू माओवादी हुन्, नेपाली परम्परा पछ्याउन चाहँदैनन् । नेपाली परम्परा पछ्याए विश्वमञ्चमा पछि परिन्छ भन्ने उनीहरूको मान्यता छ । यद्यपि कुनै दिन यस्तो पनि आउला, आफ्नो परम्परा, संस्कृति र इतिहास बिर्सेर हामी कहीँ पनि पुग्दैनौं भन्ने उनीहरूले बुझ्लान् । अग्रगमनका जतिसुकै ठूला गफ पनि इतिहास, संस्कृति र परम्परा निरपेक्ष रहेर कार्यान्वयन हुन सक्दैनन् ।

दौरासुरुवाल होइन, सुटटाई नै लगाउने क्रममा पनि किन सामान्य शिष्टाचार निर्वाह गर्न नचाहेका हुन् महराले ? किन नेपाली राष्ट्रपति र नेपाली जनताको अघिल्तिर टाई नलगाएका महराले चिनियाँ प्रधानमन्त्री र चिनियाँ जनतासामु टाई बाँधे ? किनभने उनी नेपाली राष्ट्रपति र नेपाली जनतालाई सम्मान गर्दैनन् ।

किनभने उनीहरूले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीलाई मर्यादा दिन जान्दैनन् । चाहँदैनन् । शपथग्रहणजस्तो महत्त्वपूर्ण समारोेहमा पोसाकको औपचारिकताको धज्जी उडाएका महराले दुई सातापछि ली खछ्याङ र वाङ यीलाई भेट्दा लगाएको टाई हाम्रा नेताहरूको चिन्तनको ऐना हो, खासगरी माओवादीको ।

उपप्रधानमन्त्री महराले शपथ ग्रहणजस्तो महत्त्वपूर्ण समारोहमा टाई नलगाउनुको पछि कुनै तर्क वा कारण थियो भने त्यही तर्क वा कारणका आधारमा उनले चिनियाँ प्रधानमन्त्री ली खछ्याङ वा विदेशमन्त्री वाङ यीलाई भेट्दा पनि टाई नलगाउनुपथ्र्यो । नेपालमा टाई नलगाउने र चीनमा टाई ढल्काउने महराको चिन्तनले विदेशीप्रतिको उनीहरूको दास मानसिकता झल्काएको छ ।

छिमेकी भारतका प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ ठाकुरको एउटा प्रसंग यहाँ सान्दर्भिक हुन्छ । उनी सधैं सफासुग्घर भएर हिँड्थे । जीवनको उत्तराद्र्धमा एक दिन उनी घरबाट साँझमा टहलिन बाहिर निस्के । बाहिर निस्कने बेला उनले सफा र चिटिक्क परेको लुगा लगाए । कपाल कोरे । ठाँटिए ।

उनीसँगै रहेका अर्का व्यक्तिले ठाकुरलाई भने, 'बुढेसकालमा पनि किन ठाँट्टिनुभएको ? अब त तपाईंको उमेर गइसक्यो ।' ठाकुरले जवाफ दिए, 'म मेरा लागि ठाँट्टिएको होइन । बाहिर निस्कँदा मानिसहरूले मलाई हेर्लान् । मलाई फोहोरी देखेर उनीहरूको मनमा नराम्रो भाव आउला । मेरो कारणले कसैको मनमा खराब भाव आओस् भन्ने म चाहन्नँ ।'

ठाकुरले आम व्यक्तिको मनोविज्ञान र शिष्टता बुझेका थिए । दासत्व या हीनभावनाबाट ग्रस्त थिएनन् उनी ।अब हेरौं, महराको शीतल निवास र बेइजिङको प्रस्तुतिपछि प्रधानमन्त्री दाहालले शीतल निवासकै शैली अपनाउलान् वा विदेशमा बढी शिष्ट र स्वाभाविक बन्लान् ।

शीतल निवास र आम नेपाली जनतालाई अवमूल्यन गरेमा ठूलो बनिन्छ भन्ने मानसिकता गल्तीमात्र होइन, त्याज्य पनि हो भन्ने सन्देश आउने दिनका आफ्ना आचरणमा नेताहरूले देखाउन सके भने ठूलै मूल्यमा भए पनि उनीहरूले ठूलो पाठ सिकेको मानिनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.