टर्कीमा असफल ‘कु’ पछिका असफल प्रयास

टर्कीमा असफल ‘कु’ पछिका असफल प्रयास

काठमाडौँ: टर्कीमा गत जुलाई १५ मा भएको असफल सैनिक ‘कु’ पछि पनि सरकारले कैयौँ असफल प्रयास जारी राखेको पश्चिमाहरूले टिप्पणी गरेका छन्। उनीहरूले भनेका छन्— त्यसताकाको केही सैनिक जर्नेलको असफलतालाई अहिले सरकारले पछ्याइरहेको छ र यो पनि सफलताको बाटोमा छैन । आफूविरुद्धका मानिसले जेल भर्ने राष्ट्रपति रेसेप तैयप एर्दोगानको पछिल्लो प्रयास यसअघिको कु जस्तै अर्काे असफल प्रयास भएको उनीहरूको भनाइ छ।

पश्चिमाहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले हाल जारी राखेको प्रतिशोधको कार्यलाई पनि यसअघिकै कुको असफलतासँग जोडेर हेरेका छन् । यतिखेर टर्कीको जेलमा त्यो कु प्रयास गर्ने सैनिक जर्नेलमात्र होइन, विश्वविद्यालयका प्राध्यापक, उपकुलपतिहरू, सरकारी कर्मचारी, लेखक, वकिल, राष्ट्रिय फुटबल खेलाडीदेखि टर्कीका राष्ट्रिय राजनीतिक दलका नेताहरूसमेत रहेका छन् ।

यतिखेर राष्ट्रपति एर्दाेगानले आफूविरुद्धका सबैलाई कारबाहीका लागि निहुँ पाएको टिप्पणी विदेशी विश्लेषकहरूको छ । स्वदेशमा त उनका विरुद्धमा लेख, समाचार वा कुनै पनि किसिमको टीका टिप्पणी गर्न पाइने अवस्था छैन ।

फ्रान्सेली विदेशमन्त्रीले गत महिना भनेका थिए, ‘सैनिक कुको असफल प्रयासलाई दबाउने काम टर्कीका राष्ट्रपतिको लागि खाली चेक होइन । अर्थात् उनले यसै निहुँमा आफ्ना विरोधी सक्ने प्रयोजनमा यो कारबाही अभियानलाई सञ्चालन गर्ने होइन र एउटा खाली चेकमा आफूलाई जति पैसा चाहिन्छ त्यति नै आफैंले लेखेर रकम झिक्ने जस्तोगरी यो प्रयोजनको चेक साट्ने काममा प्रयोग गर्न पाइँदैन ।’ हुन पनि हो, उनले गत महिना दिनभन्दा केही बढी समयलाई त्यसैगरी प्रयोग गरेका छन् । त्यसैगरी आफूखुसी कारबाहीका लागि नागरिकमाथि धरपकड गरिएको छ ।

राष्ट्रपति एर्दाेगानलाई सत्ताच्युत गर्ने उद्देश्यका साथ उनी बिदामा रहेको बेला कु प्रयास भएको थियो । जुन प्रयास असफल भयो । ‘कु’ को प्रयास घण्टौं लामो लडाइँपछि एर्दोगान समर्थित सेनाले यसलाई नियन्त्रणमा लियो र त्यस प्रयासलाई विफल सावित गरिदियो ।

यस कुको प्रयास गरेको आरोपमा सैन्य क्षेत्रका वरिष्ठ अधिकारीहरू, पत्रकार, न्याय क्षेत्रका वरिष्ठ अधिकारीहरू, उच्चस्तरीय व्यापारीलयागात हजारौंको संख्यामा टर्कीका नागरिक पक्राउ परेका छन् । एर्दोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल ‘कु’ प्रयासपछि सरकारले प्रहरी, सेना, शिक्षक, टर्की एयरलाइन्सका कर्मचारीसमेतलाई गरी करिब ५० हजारलाई जागिरबाट बर्खास्त गरेको छ । उनीहरू आफ्नो जागिर थमौतीका लागि अदालत जाने ठाउँ पनि छैन ।

केहीलाई आफन्त तथा सरकारको नजिकका नागरिकलाई पनि कारागारमा राखिएको थियो । तर उनीहरूलाई देखाउनका लागि मात्र लिइएको थियो र केही दिनपछि नै मुक्त गरिएको छ । तर हजारौंको संख्यामा अझै पनि कारावासमा नागरिक थुनिएको छ । केही अघिमात्र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशनमा ल्याएको एक समाचारअनुसार टर्कीमा गत जुलाई १ अघि अपराध स्वीकार गरेका ३८ हजार जति कैदीलाई टर्कीले शीघ्र जेलमुक्त गर्न लागेको खुलासा गरिएको छ ।

गत जुलाई १५ मा टर्कीमा भएको असफल कु प्रयासपछि टर्कीका कारागारमा कैदी, बन्दीहरूको संख्यामा अस्वाभाविक वृद्धि भई खचाखच भएका कारण जेलको अभावमा उचित व्यवस्थापन गर्नु परेकाले ती कैदीलाई मुक्त गर्न लागिएको न्यायमन्त्री बेकिर बोजागले बताएका थिए । यसरी मानिस थुन्ने जेलको अभाव हुँदासम्म पनि सरकारले नागरिक पक्राउ गर्न छोडेको छैन । उसले आफूविरुद्धका व्यक्तिले जेल भर्ने कामलाई निरन्तरता दिएको छ ।

यद्यपि यसरी जेल मुक्त गर्न लागिएका ती कैदीहरूमा ज्यान मारेको अभियोग लागेका र यसअघिको सरकारको परिभाषामा राज्य विप्लवको अभियोग लागेका समेत छन् । अपराधीलाई जेलमुक्त गरेर यसरी सैनिक कुको प्रयासमा सघाएको आरोपमा आफ्ना विरोधीहरूलाई थुन्न राष्ट्रपतिले जेल खाली गर्न लागेको समाचारको विश्वव्यापी रूपमा विरोध भएको छ । तर यत्रो ठूलो संख्यामा मुक्त गर्न लागिएका ती सबै कैदी साधारण अपराधमा कारागारमा परेका होइनन् भन्ने यथार्थ सरकारलाई पनि थाहा छ ।

३८ हजार कैदीलाई यसरी मुक्त गर्दा देशमा अर्को खतरा आउन पनि नसक्ला भन्न नसकिने बताउँछन्, टर्कीका अधिकारवादीहरू । अर्कोतर्फ राष्ट्रपति एर्दोगानले जुन प्रकारले समाजका हरेक क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारीहरू पक्राउ गर्न लगाएका छन् यदि यो साँचो हो भने त ती व्यक्तिहरूको प्रयास नै सही हो वा राष्ट्रपति एर्दोगान भन्ने प्रश्न पनि कतिपयले उठाउन थालेका छन् ।

टर्कीमा सुरुमा लागू गरिएको मृत्युदण्डको सजाय सन् २००४ मा खारेज गरिसकिएको थियो । तर अहिले आएर सो कानुनको प्रावधान पुनःस्थापना गर्ने सम्भावनाको पनि राष्ट्रपतिले संकेत गरेका छन् । १३ वर्षसम्म शासनको स्वाद लिएका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले जुलाई १५ मा भएको असफल विद्रोहपछि टर्कीले पुनः मृत्युदण्डको प्रावधानलाई ब्यूँताउन सक्ने चेतावनी दिएका थिए ।

यद्यपि टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले जुलाई १५ मा टर्कीमा भएको असफल राज्य विद्रोहमा संलग्न व्यक्तिलाई न्यायिक सुनुवाइ गरी कडा सजाय दिइने बताएका छन् । उनले सञ्चारमाध्यममार्फत मृत्युदण्ड कानुन फेरि नल्याउने प्रष्ट पारेका छन् । तर राष्ट्रपतिको स्पष्ट धारणा भने आएको छैन । किनभने उनले यसअघि नै जुलाई १५ को प्रयास सबैभन्दा ठूलो अपराध भएकाले त्यसमा संलग्नलाई जस्तोसुकै कारबाही पनि गर्न सकिने बताएका छन् ।

मृत्युदण्डको कानुन ब्यूँताउन सक्ने राष्ट्रपतिको चेतावनीले युरोपेली युनियन (इयु) समेत स्तब्ध बनेको प्रतिक्रिया दिएको छ । टर्कीले यदि मृत्युदण्डको सजाय पुनः लागू गरेमा इयु सदस्यता प्रदान गर्न नसकिने चेतावनी इयुले दिएको थियो । इयु सदस्यता प्राप्त गर्नका लागि लामो प्रयास गरेपछि इयुले टर्कीलाई आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सदस्यता प्रदान गर्न सकिने सम्भावना रहेको बताइँदै आएको छ । असफल सैनिक विद्रोहपछि राष्ट्रपतिले जारी राखेका कारबाहीपछि पश्चिमा मुलुकले असन्तोष व्यक्त गर्दै आएका छन् । पश्चिमा मुलुकको यो असन्तोषका कारण टर्कीका राष्ट्रपति एर्दोगानले रूस भ्रमण गरेका थिए । अकस्मात् तय भएको यो रूस भ्रमणका क्रममा उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आइएस विरुद्धको कारबाहीका लागि संयुक्त रूपमा लाग्ने बताएका छन् ।

टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतंककारी संगठन (एफइटिओ) को संलग्नता रहेका आरोप लगाएको छ । अमेरिकामा स्वघोषित निर्वासनमा रहेका धार्मिक नेता फेतुल्ला गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो । टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले गुलेनलाई पक्राउ आदेश दिएको छ । सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा संलग्न रहेको बताइरहँदा गुलेन र उनी सम्बद्ध धार्मिक संगठनहरूले उक्त असफल ‘कू’ प्रयासमा आफूहरूको कुनै संलग्नता नरहेको जनाउँदै आएका छन् । गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दावी गर्दै आएका छन् ।

टर्कीमा जारी जथाभावी पक्राउ र कुको प्रयासको आरोपमा जागिरबाट बर्खास्त गर्ने सरकारी कारबाहीपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले टर्कीका सबै पक्षलाई विधिको शासनको पालना गर्न आग्रह समेत गरेका थिए । उनले प्रजातन्त्रको मूल्य मान्यतालाई टर्कीले पनि पालना गर्नुपर्छ भनेका थिए ।

टर्कीको नजिकका देशमा सिरिया, इराक, इरान, अमेर्निया, जर्जिया लगायतका देशहरू पर्दछन् । सिरियामा सन् २०११ मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै सुरु भएकोे जनआन्दोलन गृहयुद्धमा परिणत भएको छ । त्यस गृहयुद्धका कारण लाखौंको संख्यामा सिरियाली नागरिकले टर्कीमा शरणार्थी जीवनयापन गरिरेहका छन् । सीमा क्षेत्रमा पर्ने देश सिरियामा जारी द्वन्द्वको कारण टर्कीमा पनि प्रभाव परेको बारम्बार हिंसाको भइरहेको पाइन्छ । यस्तै इरान र इराकमा जारी हिंसाले पनि टर्कीलाई प्रभाव पारिरहेको हुन्छ ।

सिरिया र इराकमा हालसम्मकै बलियो पकड जमाएका इस्लामिक स्टेट्स (आइएस) आतंककारी समूहले टर्कीमा पनि बारम्बार गराउँदै आएको आतंककारी आक्रमणले टर्कीलाई अत्यन्त तनावपूर्ण बनाएको छ । यसमा पनि जुलाई १५ मा भएको असफल सैनिक कुले देशलाई अत्यन्त अप्ठ्यारो स्थितिमा पु¥याएको छ । यस समस्याको समाधान चाँडै निस्किन्छ भन्ने आशामा अन्तर्राष्ट्रिय जगत तथा टर्कीका नागरिक रहेको भए पनि एर्दाेगानको प्रयास भने आफूविरुद्धका सबैलाई तह लाउने मौका यही हो भन्नेमा केन्द्रित देखिन्छ । त्यसैले उनको यो प्रयासलाई पश्चिमा जगत्ले पनि एर्दाेगानको असफल कुपछिको अर्काे असफल प्रयास भनी टिप्पणी गर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.