एक साताभित्र विमानस्थल सुधार गर्न पर्यटन मन्त्रीको निर्देशन
काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले एक हप्ताभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थामा सुधार कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
मुलुकको प्रतिष्ठासँग जोडिएको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा गुणस्तर खस्किएको जनगुनासो बढेका बेला पर्यटन मन्त्री शाहीले सम्बन्धित पदाधिकारीलाई विमानस्थलमा सुधार ल्याउन निर्देशन दिएका हुन्।
सिंहदरबारमा मन्त्रालयको कार्यभार सम्हालेपछि कर्मचारीहरुलार्इ निर्देशन दिँदै उनले भने,‘विमानस्थलको शौचालयको दुरावस्था र ‘लगेज’ व्यवस्थापनलाई सुधार गर्नुस्, विमानस्थललाई सफा राख्नुस् एक हप्ताभित्र सुधार देखिनुपर्छ।'
मन्त्री शाहीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्समा जहाज थपेर गुणस्तरीय व्यवस्थापन गरी आन्तरिक विमानस्थल थप तथा सुधारका लागि योजनावद्ध काम गर्न पनि सम्बन्धित पदाधिकारीलाई निर्देशन दिए।रासस