वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडाैं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने गरी कार्ययोजना तय गर्न सम्वन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।
मंगलबार सिंहदरवारमा परराष्ट्र र श्रम मन्त्रालयवाट बैदेशिक रोजगारीमा गएका नेपालीहरुका समस्याका साथै यसलाई व्यवस्थित बनाउनेवारे बिफ्रिङ सुनेपछि प्रधानमन्त्रीले बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको समस्या समाधानका लागि परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई मिलेर काम गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले भने,'खाडी क्षेत्रमा कामदारका रुपमा गएका नेपालीको समस्या समाधानको पहल गर्न यसअघि नै मैले मन्त्रालयलाई भनेको हुँ। अव बैदेशिक रोजगारीलाई कसरी मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सकिन्छ यसमा परराष्ट्र र श्रम मन्त्रालय मिलेर योजना र कार्यक्रम बनाउनुस्। सरकारले यस सम्वन्धमा सही नीति, कानून बनाउने, त्यसलाई कार्यान्वयन गर्ने र व्यवस्थित नियमन गर्नु पर्दछ। कुनै पनि कारणले विदेशमा नेपाली समस्यामा छन् भने त्यहाँ आवश्यक सहयोग पुर्याउनु सरकारको दायित्व हो।'
उनले नेपाली नागरिकलाई देशभित्रै सम्मानजनक श्रम गर्ने र उचित पारिश्रमिक पाउने अवस्था सिर्जना गराउन सरकारको ध्यान केन्द्रित भएको बताए।
सरकारका उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, परराष्ट्र, श्रम र संचार मन्त्री तथा मुख्य सचिवसमेतको उपस्थिति रहेको बैठकमा बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका समस्या, कारण, उद्धार संयन्त्र, प्रकृया र नीतिगत समस्याहरुका बारेमा बिस्तृत छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस !