मानव बेचबिखनको अभियोगमा एक महिला पक्राउ
चितवन: मानव बेचबिखनको अभियोगमा एक महिलालाई पक्राउ गरिएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयले मकवानपुरको हाँडीखोला–७ घर बताउने २४ वर्षीया उर्मिला तामाङलाई कालिका नगरपालिका पदमपुरका १८/१९ वर्षीया दुई युवती लिएर भारतको मजुनीमा राम्रो काम लगाइदिन्छु भन्दै फकाएर लैजाने क्रममा तामाङलाई नियन्त्रणमा लिएको हो।
यसभन्दा अघि तामाङमार्फत भारतको मजुनीमा बेचिएकी (नाम परिवर्तित) हरि कुमारीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बाबा आमा नभएकी ३ कक्षासम्म अध्ययन गरेकी कुमारी पहिलो पटक बेचिएको थाहा पाए पछि बिरामीको बहनामा अस्पताल पुगेर नेपालीको सहयोगमा स्वदेश फिर्ता भएकी थिइन्।
अभियुक्त तामाङले दिदी मायाँको साहारामा नेपालबाट नेपाली युवतीलाई भारत पुर्याउने गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको प्रहरी प्रवक्ता दीपककुमार श्रेष्ठले बताए।
उनले बढी मात्रामा अभिभावक नभएका युवतीलाई भारतको कोठीमा पुर्याउने गरेको उनले जानकारी दिए। चालु आर्थिक वर्षमा मनव बेचबिखनको यो पहिलो मुद्दा भएको तर आर्थिक वर्ष २०७२/०७३ मा भने ६ वटा मानव बेचबिखनका मुद्दामा १८ जनालाई मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा पठाइएको छ।
पछिल्लो समयमा चितवनको बाटो हुँदै मानव बेचबिखनका लागि युवती लगिने क्रम बढ्दो रहेको प्रवक्ता श्रेष्ठले बताए। रासस