देउवा-कोइराला गोल्डन ग्लोभ
![देउवा-कोइराला गोल्डन ग्लोभ](https://annapurnapost.prixacdn.net/media/albums/Girija-Kisunji-and-Deuba-57d4d15e8d1851.27641961_b1nFDfKyC8.jpg)
मूलतः राजनीतिमा सत्ता तथा इतर पक्ष हुन्छन् दलभित्र या दलहरूका बीचमा । नत्र अक्सफोर्ड डिक्सनरीले डिसिडेन्ट भन्ने शब्दलाई मान्यता दिँदैन थियो । तर नेपाली कांग्रेसमा संस्थापन पक्षीय भन्ने विशेषण प्रयोग गरियो, सायद नेपाली धेरै ज्ञान भएर होला । कुनै एक संस्थामा आवद्ध भएपछि सबै त्यसका सदस्य संस्थापन पक्षीय नै हुन्छन्, तर नेतृत्वमा रहेका समूहभन्दा नीतिगत या कार्यगत भिन्नता राख्नेलाई इतर पक्षीय भनिन्छ ।
हिजो देउवा समूह इतर देखिएका थिए भने आज पौडेल । यस्ता सत्तापक्षीय या इतरपक्षीय समीकरणहरू बदलिने भएकाले हिजो नेवि संघमा भएको निर्वाचन परिणामले कांग्रेसमा सकारात्मक कदम खोजिएको त हैन भन्ने आभास केही कार्यकर्तामा छाएको छ ।
खासगरी, नेवि संघको निर्वाचनमा कोइराला परिवारको मौनता एक कूटनीतिक सालिनता देखिएको छ । विधिवत् निर्वाचित देउवाको नेतृत्वलाई अहिले चुनौती नदिने रणनीतिक सौह्राद्रता त कतै होइन भन्ने सोच्न सकिन्छ । अझ अध्यक्ष उम्मेदवारमा स्वतन्त्र उम्मेदवारी परेकालाई कोइरालाले उठाए भनेर भन्दा कतै कोइरालाको देउवा सहयोग नीति अवलम्बन भएको प्रमाणित गर्न खोजिएको त छैन ?
यदि यसो भएको हो भने देउवाले पक्कै बुझेका होलान् कोइराला परिवारको यस गोल्डन ह्यान्डशेकको कदम जसलाई उनले सहज रूपले स्विकार्नुपर्छ । कोइराला परिवारले पनि आफूलाई निर्वाचित गराउन सहयोग गरेकाहरूलाई उनले समायोजन गराउन खोज्दा सहयोग गर्नैपर्छ । किनभने यही जमात भोलि कोइराला परिवारलाई स्थापित गराउन सहायक हुन सक्छन् । यो नै कांग्रेसको सही अर्थमा मिलन मानिन सक्छ । यसले गोल्डन ह्यान्डशेकको सिद्धान्त प्रतिपादन भएर मेलमिलापको नीति बन्न सक्छ ।
गोल्डन ह्यान्डशेक
देउवा बीपी कोइराला, गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराई (किसुनजी)ले मात्र नभएर गिरिजाप्रसाद कोइरालाले पनि रुचाएका मानिस हुन् । अझ उनी गिरिजाबाट नै दीक्षित हुन्। बहुदलपछिको पहिलो आम निर्वाचनमा किसुनजीलाई अन्तरघात गरियो भन्ने सबालमा देउवा अनभिज्ञ नै थिए । उनले गिरिजाप्रसादको प्रधानमन्त्रीत्वमा सफल गृहमन्त्री भएर सघाएका थिए ।
मदन भण्डारीको निधनपछि भएको संसद् सदस्य निर्वाचनमा किसुनजीको उम्मेदवारीलाई असफल बनाउन गिरिजाले गृहको बागडोर केही आफैंले खोस्दा पनि देउवाले विद्रोह गरेका थिएनन् । असहमति रहँदा पनि उनले यसो गरेका थिए, एक अनुशासित कार्यकर्ताका नाताले । तर मध्यावधि गराउने कुरामा उनी सहमत थिएनन् । तापनि प्रधानमन्त्रीको नैसर्गिक अधिकार प्रयोग गदै संसद् विघटन भइसकेको अवस्थामा निर्वाचनमा जानुको विकल्प देउवालाई थिएन ।
मध्यावधि निर्वाचनमा कांग्रेसको पराजयले नैतिक रूपमा गिरिजाप्रसाद संसदीय दलका नेता बन्न नसक्ने अवस्थामा शैलजा आचार्यको चर्चा चलेको थियो । गिरिजाप्रसादको अघिल्लो सरकारमा रासायनिक मलमा माफिया हावी भएको भन्ने अभिव्यक्तिका कारण कृषिमन्त्रीबाट राजीनामा दिएकी शैलजाप्रति कार्यकर्ताको सम्मान थियो ।
तर उनको संसदीय दलमा निर्वाचन भएमा गिरिजामण्डली बनेर कांग्रेस नै गिरिजा र गिरिजा नै भन्ने जमातको हालीमुहाली नहुने देखेर यी मण्डली उनको विकल्प चाहन्थे । किनभने शैलजाले भनेकी थिइन्,'जितेका कृष्णप्रसादभन्दा हारेका कृष्णप्रसाद घातक हुन्छ' भनेर । मध्यावधि निर्वाचनले त्यो निर्णय दिएको थियो जसले गर्दा यस मण्डली तर्सिएका थिए ।
रणनीति ल्याए नैतिक रूपमा संसदीय दलको नेतृत्व छोड्दा शैलजा ल्याउँदा भान्जी ल्यायो भन्ने छन् जुन प्रत्युत्पादक हुन सक्छ भन्ने । यसै क्रमको आरोहण थियो देउवाको संसदीय दलको नेतृत्वमा । यो चयनलाई सघाएका थिए कृष्णप्रसादले पनि ।
मनमोहन अधिकारीको संसद् विघटन गर्ने प्रस्तावमा केही राजनीतिक महत्त्व राख्ने खालको सर्वोच्चको निर्णयले राजनीतिक डिस्कोर्स नै बदलिदिएको अवस्थामा देउवा प्रथम पटक प्रधनमन्त्री बन्न पुगे । जम्बो क्याबिनेट तथा पजेरो संस्कृतिको न्वारन भनेर गरिएको यस कार्यकालपछिको आम निर्वाचनमा कांग्रेसको अवस्था नाजुक देखेर गिरिजाले गोल्डन ह्यान्डशेकअन्तर्गत कृष्णप्रसाद भावी प्रधानमन्त्रीका उम्मेदवार भनी निर्वाचनमा गए ।
माथि उल्लेखित भजन मण्डलीले यस गोल्डन ह्यान्डशेकलाई स्थापित हुन दिएनन् । दुर्भाग्य गिरिजा पनि सत्तामा टिकिरहन सकेनन् र देउवाको पुनः पदोन्नती भयो ।
देशमा बिकराल बन्दै गएको माओवादी समस्या समाधानतर्फ देउवा लाग्न खोज्दा यही मण्डली र पालो कुरेर बसेका सुशील कोइरालाले देउवालाई काम गर्न दिएनन् । ब्यारेकबाट निकालिएको सेनालाई सजिलै ब्यारेक फर्काउन कठिन हुने हुँदा पनि यस्तो संवेदनशील निकायलाई हचुवाको भरमा चलाउन खोज्दा प्रजातन्त्र नै खतरामा पर्न जाने भयो । समस्या देउवाले समाधान गरेमा उनको नेतृत्वलाई चुनौती दिन नसक्ने भन्ने यथार्थ यी अनुदारवादीले बुझेका थिए ।
यिनले असहयोग गरी बहालवाला प्रधानमन्त्रीलाई सामान्य सदस्य समेत नरहने गरी निष्कासन गरे । देउवाले विकल्प नरहेको अवस्थामा नयाँ दल नै खडा गर्नुपर्ने बाध्यतामा पार्टी खोले । यी अनुदारवादी तथा निषेधको राजनीति गराउने जमातले कोइरालालाई जीवनको उत्तरार्धमा एक्लो बनाए ।
कालान्तरमा प्रजातन्त्र नै खतरामा पर्न गयो र राजाले अनुदारवादी नीति ल्याए । सैन्यताकतमा राज्यसत्ता नपाउने निष्कर्षमा पुगेको माओवादी तथा राजनीतिबाट पृथक पारिएका दलहरू अन्ततः एक ठाउँमा आउन बाध्य भए । यसमा गिरिजालाई धेरै विकल्प दिइए पनि उनले गोल्डन ह्यान्डशेकको सिद्धान्तमा माओवादीलाई अवतरण गराउने नीति अवलम्बन गरे । यसैमा आन्दोलनले गति लिने सम्भाव्यता बोकेको अवस्थामा गिरिजाले अर्को गोल्डन ह्यान्डशेकको पहल गरे ।
उनले देउवातर्फका बालकृष्ण खाँडलाई युवाको नेतृत्वको जिम्मेवारी दिए । यसमा मूलतः देउवातर्फका कांग्रेसीमा तरंग ल्याउनु थियो र साख गिरेको कांग्रेसलाई कालान्तरमा एकीकरण गरी पुनः बलियो पार्टी बनाउनु थियो । गोल्डन ह्यान्डशेककै अवधारणामा ६० एवं ४० को आधारमा पार्टी एकीकरण भयो ।
पार्टी एकीकरण भएता पनि सुशील कोइरालाले यसलाई मूर्तरूप दिन सकेनन् । देउवाका कित्ता त्याग गरेर आएका तथा अन्य आसेपासेलाई च्याप्दा पार्टीमा राजनीतिक भविष्य जोगाउन गुटगत राजनीति गर्न बाध्य भए । कोइरालाले हुर्काएका देउवामा किसुनजी दीक्षितको जमात बढ्न गयो र यिनका सांगठनिक कुशलताले देउवालाई पार्टी नेतृत्वमा स्थापित गरायो ।
यस अर्थमा अब कांग्रेसको नेतृत्वमा रहेका कोइराला परिवारका सदस्यले गोल्डन ह्यान्डशेकको अवधारणा विकास गर्न आवश्यक छ । जसमा देउवालाई नेतृत्वमा पुर्याउन सहयोग गरेकाहरूको राजनीतिक भविष्य संरक्षित गर्दै निर्वाचित सभापतिलाई सहयोग गर्दै पार्टी चलायमान भएको सन्देश दिन आवश्यक छ, कोइराला परिवारको योगदानलाई संरक्षण गर्न ।
आगामी कदम
नेवि संघ निर्वाचनमा प्रत्यक्ष ह्यान्डशेक गरिएको हो या होइन त्यो खोजको विषय होला । तर मन्त्रिमण्डलमा नजाने शेखर कोइरालाको निर्णय सकारात्मक गोल्डन ग्लोभ कदम देखिएको छ । छापामा आएको जस्तो परराष्ट्र पाए मात्र जाने नभए नजाने भनेको भन्ने यथार्थ होइन । किनभने, उनले सिधै भनेका छन् म गुटगत प्रतिनिधित्व गरेर कतै पनि जान्न ।
यसको अर्थ हो देउवाइतर समूहको नेतृत्व मेरो नेता हैन भन्ने । यसले प्रत्यक्ष रूपमा इंगित गरेका छन् विधिवत् निर्वाचित सभापति मेरा नेता हुन् भनेर । क्याबिनेटमा नगएर उनले देउवालाई सघाएका छन् सभापतिमा निर्वाचित गराएकोमा आभार व्यक्त गर्ने एक अवसर प्रदान गरिदिएका छन् उनका निकटस्थलाई अवसर प्रदान गर्न स्थान रिक्त गरेर ।
साथसाथै, २०४६ को आन्दोलन सफल गराउन भूमिका खेलेको पुस्तालाई नेतृत्व निर्माणमा ल्याउन सघाएर ।शेखर कोइरालाको यस कदमलाई महामन्त्री शशांकले पनि सहयोग गरेका छन् मौनता राखेर । यस कदमलाई बुझेर सिटौला समूहले पहिचान खोज्न तरुण दल तथा महिला संघमा स्वतन्त्र उम्मेदवारी दिने भनेका छन् ।
गिरिजाप्रसाद कोइरालाले हुर्काएका देउवामा किसुनजी दीक्षितको जमात बढ्न गयो र यिनको सांगठनिक कुशलताले देउवालाई पार्टी नेतृत्वमा स्थापित गरायो । यस अर्थमा अब कांग्रेसको नेतृत्वमा रहेका कोइराला परिवारका सदस्यले गोल्डन ह्यान्डशेकको अवधारणा विकास गर्न आवश्यक छ ।
माओवादी समस्या समाधानमा सहायक भूमिका खेलेका शेखरको कदमा सिटौला नअटाउने देखेर नै नयाँ गठबन्धन गरेका छन् उनले । गोल्डन ह्यान्डशेक सिद्धान्तमा अब कोइराला परिवारले यी दुवै महाधिवेशनमा देउवालाई सहयोग गर्न आवश्यक छ कोइराला परिवारको साख जोगाउन ।
अन्यथा, देउवालाई सिटौलाकै भर पर्नुपर्ने हुन्छ र यस स्थितिमा नेवि संघमा जस्तै यस समूहले यी दुवै महाधिवेशनमा राम्रो उपस्थिति देखाउन सक्नेछन् । जसको घाटा कोइराला परिवारमा पर्न सक्छ । यी महाधिवेशनमा सभापतिलाई सहयोग गरिएमा पार्टीभित्रको समीकरणमा कोइराला परिवारले समावेशी चरित्र देखाएर उनका अनुयायीलाई स्थापित गर्न सक्छन् ।
यसो नभएमा पौडेलले भन्ने गरेको जस्ता भागमा त्यही समूहभित्रका अन्य सहितको जमातमा केबल एक आधा भागमा चित्त बुझाउनुपर्ने हुन सक्छ । जसले कार्यकर्तामा सुरक्षा अभावले समूह परिवर्तन गर्ने लहर चल्न सक्छ, जुन केही हदसम्म कांग्रेस महाधिवेशनमा देखिएको थियो ।
साथसाथै, संविधान कार्यान्वयनमा चुनौती धेरै छन् र यसको सफलता लोकतन्त्रका लागि अपरिहार्य छ । सभापतिलाई हाल सहयोग गरेमा संविधान लागू गराउन सहज हुने थियो । कोइराला परिवारको नेपालको लोकतन्त्रमा अद्वितीय योगदान छ । यसै आस्थामा आज पनि कयौं कार्यकर्ता कोइराला परिवारलाई साथ दिन्छन् ।
यस स्थापित मान्यतालाई अझै परिस्कृत गर्न पनि गोल्डन ह्यान्डशेक आवश्यक छ । जसले स्थानीय, प्रान्तीय तथा केन्द्रीय निर्वाचनमा हाम्रा हैन राम्रा कार्यकर्तालाई टिकट दिन सहयोग हुन्छ र सभापति तथा कोइराला परिवार दुवैले न्याय गरेको देखिने छ । यो नै गोल्डन ग्लोभ आन्तरिक कूटनीति हुनेछ जसले अन्य दलसँग पनि वार्ता गर्न सहयोग गर्नेछ । अन्यथा अहिलेको गुटगत राजनीतिले प्रश्रय पाउने छ । यस अवस्थामा सारा कांग्रेसीले सम्मान गरेको परिवार एउटा झुन्डको मात्र नेतामा अवतरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)