सेनाको तालिममा विद्यार्थी

सेनाको तालिममा विद्यार्थी

धनकुटा सदरमुकामस्थित त्रिवेणी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा ममता मगर हिजोआज बिहान सबैरे उठ्छिन् । नियमित सरसफाइपश्चात् उनलाई चुनिवनको फुटबल चौरमा कति बेला पुग्ने भन्ने हतारो हुन्छ । त्यस्तै सोही विद्यालयको कक्षा ८ मा अध्ययरत रोशन रसाइलीको बिहानी दिनचर्या पनि ममताको भन्दा कम छैन ।

उनी सैनिकको जस्तै पोसाकमा सजिएर चुनिवनको चौरमा पुग्छन् । रोशन र ममताजस्तै अन्य विद्यार्थी भाइबहिनीहरू हरेक बिहान ६:३० बजे चुनिवनमा भेला भइसकेका हुन्छन् । त्यसपछि उनीहरूको शारीरिक तालिमअन्तर्गत व्यायाम, मास पिटी, तेक्वान्दो, पिटी, बक्सिङलगायत अभ्यास सुरु हुन्छ ।

देशमा विपद् र राष्ट्रिय संकट परेको बेला युवाहरूलाई परिचालन गर्ने उद्देश्य अनुरूप नेपाल सेनामार्फत नेपाल सरकारले धनकुटाको त्रिवेणी माध्यमिक विद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत ३६ जना विद्यार्थी भाइबहिनीहरूलाई राष्ट्रिय सेवा दलले तालिम दिइरहेको छ । गत साउन २ गतेदेखि सुरु तालिमको उद्घाटन श्रीमेहर गणका गणपति तथा प्रमुख सेनानी वसन्त गौतमले गरेका हुन् ।

राष्ट्रिय सेवा दल (एनसीसी) तालिममा उनीहरू हरेक दिन बिहान डेढ घन्टा अभ्यस्त रहन्छन् । उनीहरू अहिले मास पिटी, खाली हात ड्रिल, खुकुरी ड्रिललगायतका तालिम लिइरहेका छन् । राष्ट्रिय सेवा दल (एनसीसी) तालिम लिने जुनियर डिभिजनअन्तर्गत यो ४३ औं ब्याच हो । तालिम हाल नेपालको ६८ ओटा जिल्लामा भइरहेको छ । करिब एक सय दिन अवधि रहेको एनसीसी तालिममा ७९ दिन जिल्लामा र २१ दिन जिल्ला बाहिर हुन्छ । यो पटकको वार्षिक सामूहिक क्याम्प मोरङको याङ्शिलामा हुने लागेको छ ।

उक्त तालिम सकिएपछि वार्षिक सामूहिक क्याम्पमा तेक्वान्दो, मासपिटी, खुकुरी ड्रिल, फिल्ड क्राफ्ट, नक्सा हेर्ने, घोडचडी, पौडी, रक क्लाइम्बिङ, एरोविक्सजस्ता आधारभूत सैन्य तालिम पाउनेछन् । त्यस्तै नेतृत्व विकास, ट्राफिक सचेतना, खानेपानी तथा सरसफाइ, प्राथमिक स्वास्थ्य उपचार, विपद् व्यवस्थापन, दीक्षान्त कवाजलगायत सिकाइने एनसीसी समन्वय अधिकृत तथा सहसेनानी सफल थापाले बताए । राष्ट्रमा ठूलो विपत्ति परेका बेला वा राष्ट्र संकटमा परेको अवस्थामा युवाहरूलाई अनुशासित एवं मर्यादित ढंगले परिचालन गर्नु तालिमको मूल उद्देश्य भएको थापाको भनाइ छ ।

तालिममा सहभागी छात्रा ममता मगर तालिमले नेतृत्व क्षमताको विकास भइरहेको कुरा व्यक्त गर्छिन् । उनी भन्छिन्, 'पहिले ठूला मान्छेको अगाडि बोल्न डराउथे । तर अहिले आफ्नो कुरा सबैसामु खुलस्त राख्न सक्छु ।' भविष्यमा देशका लागि केही गर्छु भन्ने आँट आएको कुरा उनी बताउँछिन् । त्यस्तै रोशन रसाइली तालिम लिन थालेपछि आफूमा केही परिवर्तन आएको बताउँछन् । 'पहिले अरूको अगाडि बोल्न सक्दिनथेँ' उनले भने, 'अहिले निर्धक्क बोल्न सक्छु ।' तालिमको सुरुवाती दिनमा असहज भए पनि अहिले अझै राम्ररी गर्न पाए हुन्थ्यो भन्ने आफूमा लाग्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.