राजनीतिज्ञ मात्र जिम्मेवार हुन् ?
![राजनीतिज्ञ मात्र जिम्मेवार हुन् ?](https://annapurnapost.prixacdn.net/media/albums/Political-Leader-57da1341e0c643.48839630_JltnOjDsYE.jpg)
सञ्चारमाध्यमका अनुसार विगतका साता नेपालको प्रशासन संयन्त्रमा दुईवटा सांकेतिक घटना भएका छन् । पहिलो, स्वास्थ्यमन्त्रीको वीर अस्पतालको निरीक्षणका क्रममा शौचालय सफा गर्न दिएको परोक्ष निर्देशन र दोस्रो, प्रधानमन्त्रीको कार्यालयमा दिउँसो तास खेल्ने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्रीले दिएको भनिएको निर्देशन । यी घटनाले निजामती दिवस पनि छायामा परे ।
यी दुवै घटनाले आर्थिक विकास र समृद्ध नेपालको चाहना बोकेको नेपाली समाजलाई लज्जित बनाएको छ नै, यसबाट हाम्रो निजामती प्रशासकहरूको क्षमता र नियतमाथि गम्भीर प्रश्न उब्जाएको छ, हाम्रो लागि दुर्भाग्य नै हो र हामीलाई लज्जित तुल्याएको छ । यी घटनाले नेपालको प्रशासन सेवाको धज्जी उडाएका छन् ।
प्रणालीले काम नगरेपछिको परिणाम हो कि सानाभन्दा साना काममा पनि नीतिनिर्माता भनिनेहरू नै लाग्नुपर्ने । कुशासनको योभन्दा पराकाष्ठा के पो हुन सक्ला र ? जिम्मेवारी बहन नगरी सरकारी तलब खानु पनि अख्तियारको दुरुपयोग हो भन्ने भावना विकसित गर्न नसक्नु र अधिकृत स्तरका जिम्मेवार कर्मचारीको न्यून व्यवस्थापकीय कौशलताको परिणाम पनि हुन् यी घटना ।
हामी एकातर्फ देशको सम्पूर्ण बेथितिको जिम्मेवार राजनीतिज्ञलाई ठान्छौँ र अर्कोतर्फ ठूलो प्रतिस्पर्धा र संघर्षबाट सेवा प्रवेश गर्नेहरू नै आफ्नो कर्तव्यबाट भाग्ने मात्र होइन, गैरजिम्मेवार समेत बन्दै गइरहेको देखेका छौँ । सबै कर्मचारीको नियतमा शंका गर्ने कुरै होइन तर हाम्रो निजामती सेवाका हाकिमहरू किन व्यवस्थापकीय कौशलतातर्फ ध्यान दिँदैनन् वा चाहेर पनि गर्न सकेका छैनन् भन्ने कुरा एउटा गम्भीर विषय हो । घटनाका प्रकृति हेर्दा उनीहरूको लापरबाही र व्यवस्थापकीय कौशलताको अभाव हो भन्ने लाग्छ ।
यी दुई घटनामध्ये बढी सरोकारको विषय शौचालयको व्यवस्थापनका सन्दर्भमा देखिन्छ, जसले हाम्रो स्वास्थ मात्र होइन हामीप्रतिको हाम्रा मित्र, छिमेकी, सेवाग्राही, पर्यटक सबैको धारणा खराब बनाएका छन् । कम्तीमा केही गर्छु भन्ने भावना भएको व्यक्ति स्वास्थ्यमन्त्री भएको बेला सरकारी अस्पतालका शौचालयको सफाइको स्तरलाई एउटा मापदण्ड बनाए अरू सरकारी कार्यालयमा पनि लागू गर्न सकिन्थ्यो कि ? हामीले धेरै ठूला कुरा धेरै लामो समयदेखि गरेका छौँ, कामचाहिँ सानो भनिएको यस्तै कामबाट गर्ने हो कि ?
अख्तियारको दुरुपयोग हो
जिम्मेवारी बहन नगरी सरकारी तलब खानु पनि अख्तियारको दुरुपयोग हो । जो व्यक्ति जुन कामको लागि नियुक्त भएको छ, त्यो व्यक्ति र त्यसका अनुगमनकर्ताले त्यो काम फत्ते गर्नु उसको सामाजिक र कानुनी दायित्व हो । यसर्थमा सरकारी तलब खाएर सरकारी कार्यालयहरू फोहोर राख्नु पनि अख्तियारको दुरुपयोग नै हो ।
हाल जनमानसमा सरकारी बजेटको रकमलाई हिनामिना गर्ने वा सेवाग्राहीबाट अवैध रकम असुल गर्ने कामलाई मात्र अख्तियारको दुरुपयोग हो भन्ने मानसिकता छ । हामीले अख्तियारको दुरुपयोग के हो भन्ने कुराको पूर्ण परिभाषा जनमानसमा लैजान सक्नुपर्छ । यो कामको अगुवाइ पनि स्वाभाविक छ, निजामती सेवाका कर्णधारहरूले गरून्, हाम्रो कामना छ ।
अरूले त ढिलोचाँडो गर्नेछन् नै । काम नगरीकन सरकारी कोषबाट तलब खाने वा काम नगराईकन सरकारी कोषबाट तलब भुक्तान गर्ने काम अख्तियारी दुरुपयोग हो । मात्रा सानो वा ठूलो होला, तर यो आर्थिक अपराध नै हो । अझ भन्नुपर्दा, यो त्यस्तै अपराध हो, जुन अपराध कतिपय सांसदहरूले स्वकीय सचिव नराखी उनीहरूको तलब आफैं थापेका छन् ।
पस्ने जस्ता छैनन् शौचालय
भनिन्छ– मानिसको घरपरिवार कत्तिको खानदानवाला हो भन्ने कुरा उसको घरको शौचालयमा सरसफाइको स्तर हेरे पुग्छ । लामो समयसम्म निजामती प्रशासनमा संलग्न मानिसहरूको जीवनको झन्डै आधा समय कार्यालयमै बित्छ । त्यसैले कर्मचारीहरूलाई कार्यालयमा सफाइको महत्त्व घरमा जत्तिकै छ । अथवा भनौं घर मात्र सफा र राम्रो भएर कर्मचारीहरू निरोगी र रचनात्मक हुन सक्दैनन् ।
एकपटक शौचालय पसेपछि १५ मिनेटदेखि आधा घन्टासम्म उकउकी लाग्ने खालका शौचालय भएको कार्यालयमा बसेर कर्मचारीहरूको रचनात्मक क्षमता कसरी वृद्धि होला ? अझ बिरामीलाई निको पार्ने पवित्र उद्देश्यले बसेका हाम्रा सरकारी अस्पतालका शौचालयको अवस्थाले बिरामी निको हुनेभन्दा पनि थप बिमार बोकेर घर फर्किने अवस्था छ ।
हामीले प्रत्येक वर्षजसो नेपालमा पर्यटक भित्र्याउने ठूला कुरा गरेका छौं र ठूलै धनराशि खर्च गरेका छौँ । तर जब पर्यटकहरू नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिन्छन्, उनीहरू नाक थुन्न विवश हुन्छन् । हामीलाई के थाहा छ भने पर्यटक भित्र्याउने नाममा गरेको जम्मा खर्चको एक प्रतिशतभन्दा कम मात्र बजेट पनि प्रभावकारी ढंगले खर्च गर्न सक्ने हो भने विमानस्थलपरिसर नै सफा र सुन्दर बन्ने थियो । त्यसले पर्यटक भित्र्याउन प्रभावकारी भूमिका खेल्ने थियो ।
धेरै ठूलो परिमाणमा राजस्व संकलन गर्ने सरकारी केन्द्रहरू जस्तै– मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, भन्सार कार्यालय, अध्यागमन कार्यालय आदि मात्र होइन, हाम्रा विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरूका शौचालयहरू पनि यो समस्याबाट ग्रसित छन् ।
त्यसो त, नेपालका केही निजी व्यवसाय र अस्पताललाई अपवाद ठान्ने हो भने शौचालयको व्यवस्थापन फितलो छ । पानीको अभाव, सेवाग्राहीको खराब व्यवहार जस्ता कारण पनि जिम्मेवार छन्, तर त्योभन्दा बढी फितलो व्यवस्थापन नै जिम्मेवार छ ।
व्यवस्थापकीय क्षमता सुधार्नैपर्छ
व्यवस्थापकीय क्षमता, प्रशासनिक क्षमता र विषयगत दक्षता फरक कुरा हुन् । सबै मानिस डा. भगवान् कोइराला, डा. उपेन्द्र देवकोटा वा डा. भोला रिजाल हुँदैनन्, जोसँग विषयगत दक्षतासँगै व्यवस्थापकीय कौशलता पनि छ । अधिकृत स्तर वा सोभन्दा माथिको जिम्मेवारी लिने प्रत्येक निजामती कर्मचारीसँग निश्चित व्यवस्थापनको योग्यता अनिवार्य हुन आवश्यक छ ।
यो कुरालाई निजामती सेवामा कसरी लागू गर्ने भन्ने कुरा सबैभन्दा चासोको विषय सरोकारवाला वा भनौं नीतिनिर्मातालाई बनोस् । मानव संसाधनको व्यवस्थापन, विवाद व्यवस्थापन, संकट र अभावको व्यवस्थापन कसरी गर्ने भन्ने कुराको ज्ञान भएकालाई मात्र नेतृत्वको जिम्मेवारी दिने परिपाटीको थालनी गर्नु अत्यावश्यक छ ।
जनअपेक्षा सेवाभावले उत्साही हसमुखी प्रशासन
यो कुनै आक्षेप होइन, समग्रमा निजामती प्रशासन सेवाग्राहीमुखी छँदै छैन । नागरिकले सकेसम्म सरकारी कार्यालयमा जानै नपरे पनि हुने थियो भन्ने ठान्छन् । त्यति मात्र होइन, एउटा निजामती कर्मचारी आफ्नो कार्यालयभन्दा अर्को कार्यालयमा गएर सेवा लिन नपरोस् भन्ने नै ठान्ने स्थिति छ । ऊ पनि अर्को कार्यालयमा गएर सरकारी कर्मचारी भएको परिचय नदिएसम्म त्यो सास्ती बेहोर्न बाध्य छ ।
स्वास्थ्यमन्त्रीज्यू, तपाईंको कार्यकालमा कम्तीमा स्वास्थ्य मन्त्रालयका निकाय र अस्पतालहरूको सरसफाइको विस्तृत प्रोटोकल बनाई लागू गर्ने र कडा अनुगमनको व्यवस्था गर्ने प्रमुखता पाओस् । शौचालयको स्तर सुधार गर्न सकिए पनि यो ठूलो योगदान ठहरिनेछ र अन्य मन्त्रालय, निकायले पनि अनुशरण गर्ने थिए कि ?
सेवानिवृत्त कर्मचारीहरू ६ महिना वा वर्ष दिनपछि आफूले काम गरेको कार्यालयबाटै लिनुपर्ने सेवा लिने अवस्था आएपछि बल्ल उसले थाहा पाउँछ कि आफूहरूले विगतमा कसरी काम गरिएको रहेछ भनेर । यो तीतो तर सत्य यथार्थ हो ।
कार्यालयको कर्मचारी सेवाग्राही नबोलेसम्म गम्किएर बस्छ, सेवाग्राहीले नमस्ते गरेपछि बल्लतल्ल टाउको हल्लाउँछ । सेवाग्राहीले समस्या राखेपछि सकेसम्म त्यो काम अरू कसैलाई सार्छ, नसकेपछि अन्त्यमा अनेक कष्टका साथ कामको सुरुआत गर्छ । सेवाग्राहीले चाहिनेभन्दा बढी समय, कष्ट र कतिपय सन्दर्भमा खर्च समेत गरेर सेवा लिन्छन् ।
हाम्रा हाकिम साबहरू वर्षैपिच्छे विदेश सयर गर्छन्, त्यहाँको प्रशासनबाट के सिकेर आउनुहुन्छ ? केही नसिक्ने हो भने राज्यकोषबाट यत्रो लगानीमा किन सयर गर्नु ? ज्ञात रहोस्, यो सयरमा हाल चर्चामा रहेको नेताहरूको औषधोपचारमा भन्दा धेरै गुणा रकम राज्यको खर्च भएको छ ।
यसो गर्ने कि स्वास्थ्यमन्त्रीज्यू
हामीलाई थाहा छ, मन्त्रालयमा कामहरूको प्रेसर छ नै । यस्ता थुप्रै काम छन्, म त्यता जान चाहन्न । मात्र यी दुई घटनालाई प्रतिनिधि घटना मान्दै छोटो समयमै गर्न सकिने कामलाई यहाँ चर्चा गर्न चाहन्छु ।
तपाईंको कार्यकालमा कम्तीमा स्वास्थ्य मन्त्रालयका निकाय र अस्पतालहरूको सरसफाइको विस्तृत प्रोटोकल बनाई लागू गर्ने र कडा अनुगमनको व्यवस्था गर्ने प्रमुखता पाओस् । शौचालयको स्तर सुधार गर्न सकिए पनि यो ठूलो योगदान ठहरिनेछ र अन्य मन्त्रालय, निकायले पनि अनुशरण गर्ने थिए कि ?
स्वास्थ्य मन्त्रालय नै सही, कर्मचारीहरूले कम्तीमा आफूभन्दा पाको उमेरको सेवाग्राहीलाई देख्नासाथ अभिवादन गरेर स्वागत गर्ने र कुराको सुरुआत गर्ने गरे मात्र पनि ठूलो सुधारको थालनी हुने थियो । अरू मन्त्रालयभन्दा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित कर्मचारी, समग्र व्यवस्थापन र सरसफाइमा फरक र नमुना बनाउनेतर्फ लाग्ने हो कि ? आफूभन्दा ठूलो र राजनीतिज्ञ मात्र जिम्मेवार र दोषी छैनन्, त्यत्तिकै वा त्योभन्दा बढी जिम्मेवारी हाम्रो पनि छ भन्ने कुराको महसुस गर्न सके मात्र पनि राम्रो कामको सुरुआत हुने थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)