दुर्लभ क्यामेरा संग्रहालय

दुर्लभ क्यामेरा संग्रहालय

गत मंगलबार ९ कक्षामा पढ्ने हामी ४५ विद्यार्थीलाई नेपालकै पहिलो क्यामेरा संग्रहालयको भ्रमण गर्ने दुर्लभ र पहिलो अवसर मिल्यो । त्यतिमात्रै होइन, क्यामेरा संकलन गर्न ५३ वर्षको समय लगानी गर्नुभएका मध्यपुर ठिमी द्विगुटोलका मदनबाबु वज्राचार्यसँग भेटघाट गरी जिज्ञासा राख्न पायौं । त्यस्तो महत्त्वपूर्ण अवसर हामीलाई स्काउट गुरु बलराम प्यासीले मिलाउनुभएको थियो । हामीसँगै विद्यालयका शैक्षिक विभाग प्रमुख विनोद मगर सर पनि सहभागी हुनुहुन्थ्यो ।

गत २०७२ वैशाख १२ को भूकम्पपछि उहाँ द्विगुटोलबाट भक्तपुरकै गठठघरमा रहेको नयाँ घरमा सर्नुभएको रहेछ । त्यस घरको एउटा कोठामा व्यवस्थित रूपमा संकलन गरेर राखेका विभिन्न १६ कम्पनीका ७५ वटा क्यामेरा, त्यसमा प्रयोग हुने लेन्स, फोटो नेगेटिभ, फोटो धुलाउन प्रयोग गरिने डार्करुमका केमिकललगायत चलचित्र खिच्ने मुभी क्यामेरा, बोलीरेकर्ड गर्ने पुरानो साउन्ड रेकर्डरलगायत धेरै दुर्लभ सामग्री थियो ।

मदनबाबु अंकलले तत्कालीन राणाशासनकालका पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाले प्रयोग गरेको क्यामेरा २०२० सालमा किनेर क्यामेराको संकलन थाल्नुभएको रहेछ । त्यतिबेला दुई किलो तौल भएको क्यामेराको लेन्स र चार किलोको क्यामेरा दुई हजार रुपैयाँमा किन्नुभएको कुरा उहाँले हामीलाई सुनाउनुभयो । आजभन्दा ५३ वर्षअघिको दुई हजार रुपैयाँले काठमाडौंमा दुई रोपनी खेत आउँथ्यो रे ।

त्यतिमात्रै होइन उहाँसँग संसारकै सबैभन्दा सानो क्यामेरा मिनोक्स क्यामेरादेख विश्वमा एकमात्र अस्तित्वमा रहेको इलफोर्ड क्यामेरा पनि संकलनमा रहेछ । जापान, अमेरिका, जर्मनी र बेलायती गरी थुप्रै देश र कम्पनीका दुर्लभ क्यामेराहरू त्यहाँ थियो । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा भित्रिएको करिब एक सय किलो तौलको स्टुडियो क्यामेरा र स्ट्यान्ड पनि उहाँसँग रहेछ ।

उहाँ ठिमीको द्विगुटोल घरबाट निजी गाडी चढेर २०१६ सालदेखि काठमाडांैको न्युरोडमा आफैंले खोलेको मदन आर्ट स्टुडियो जाने गर्नुहुँदो रहेछ । त्यहाँ फोटो खिच्ने, क्यामेरा मर्मत गर्नेलगायतका काम हुँदो रहेछ । मदनबाबु अंकल क्यामेराको संकलनकर्तामात्रै नभई क्यामेरा विशेषज्ञ र क्यामेरा बनाउने टेक्निसयन पनि हुनुहुँदो रहेछ । उहाँसँग पुरानो चलचित्र भवनमा देखाइने विज्ञापन बनाइने क्यामेरादेखि नेपालका पुराना चलचित्र खिचेका मुभी क्यामेरा पनि संग्रृहीत थियो ।

नेपालमा उहाँसँगमात्रै यस्ता दुर्लभ क्यामेरा संग्रृहीत भएको थाहा पाएपछि थुप्रै मानिस यी क्यामेरा किन्न आएका थिए रे । तर उहाँले क्यामेरा कसैलाई नबेची आफ्नो नाममा नेपाल सरकारलाई सित्तैमा दिने इच्छा राख्नुभएको रहेछ । मदनबाबु क्यामेरा संग्रहालय नाम राखेर सरकारले मेरो नाउँमा क्यामेरा संग्रहालय बनाइदिन्छ भने म यी सबै क्यामेराहरू सरकारलाई दिन्छु भनेर मदन अंकलले हामीलाई भन्नुभयो ।

नेहा बस्नेत/कक्षा: ९
करियर विल्डिङ इन्टरनेसनल एकेडेमी, पेप्सीकोला, काठमाडौं ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.