जरामा फलेका सिर्जना

जरामा फलेका सिर्जना

प्राकृतिक र सांस्कृतिक सम्पदामा धेरै धनी हाम्रो देश नेपालमा थुप्रै बहुमुखी प्रतिभा र कलाकारहरू छन् । कोही शब्दसँग खेल्दै रमाउँदै नयाँ सिर्जना गर्न रुचाउँछन् । सामान्य जीवनमा पनि अनौठो र केही रङ खेल्दै रमाउन मन पराउँछन् । हुन त हामी सबै एकअर्काभन्दा भिन्न छौं । हाम्रो विचार, रुचि, सोच, जिज्ञासा पनि भिन्न नै होला । त्यसरी नै कलाकारको अलग सोच, फूर्ति र कल्पनाको आकृतिले निकै भाव र अर्थ झल्काउन सक्छ ।
यस्तै आकृति अवलोकन गर्ने मौका मैले पनि पाएँ ।

अंग्रेजी विषय पढिरहेको बेला अचानक खगेन्द्र सरले ‘यिनीहरूलाई आधाघन्टा निकाल्नुपर्ने भयो’ भन्दा पहिले त हामी आत्तियौं । पछि लाइन लागेर प्रांगणमा पुग्दा देवी घिमिरे सरको कुरा सुनेर मक्ख पर्‍यौं । उहाँले भन्नुभएको ठाउँमा जानका लागि हामी लाइन लागेर बसमा चढ्यौं । हामी निकै उत्सुक र खुसी थियौं । बसमा रमाइरहेका हामी कतिखेर बबरमहलको नेपाल आर्ट काउन्सिल पुग्यौं हामीलाई पत्तै भएन ।

त्यहाँ हामीले ‘नरेन्द्रबहादुर श्रेष्ठको दृष्टिकोण, जरामा अर्थ खोज्दै’ लेखिएको ब्यानर देख्यौं । हामी केही अनौठा कलाकृति अवलोकन गर्न आएको त थाहा थियो । त्यसमा पनि त्यो ब्यानर देखेपछि त जरामा के को अर्थ होला भनेर जिज्ञासा लाग्न थाल्यो । रूखको फल मीठो हुन्छ । पात सुन्दर हुन्छन् । हाँगाबिँगा काम लाग्छन् । काठबाट विभिन्न आकारप्रकार बन्छन् ।

सुन्दर झ्याल ढोका र कलात्मक दराज पलङ बन्छन् । तर जराको सदुपयोग कति राम्ररी छुन्छ भन्ने थोरैलाई मात्र थाहा होला । नरेन्द्रले जराभित्र विश्व देखे, मातृत्व देखे, कुरुक्षेत्र रचे, बोधिसत्व देखे, भविष्य द्रष्टा देखे, भविष्यका स्रष्टालाई प्रोत्साहन गर्दै जराभित्रै कलाको दुनिया खोजिरहे ।

काठमा खोपेर आकृति बनाएको त पहिले नै देखेको र सुनेको थिएँ । जराबाट बनाएको आकृति हेर्न म उत्साहित थिएँ । हामीभित्र प्रदर्शनी हलमा पस्यौँ र सबै आकृतिहरू अवलोकन गर्न थाल्यौं । सबै आकृति र मूर्तिहरूमा मान्छे लोभ्याउने चमक थियो । छेउमै माधव घिमिरे, देवीप्रसाद घिमिरे, सुलोचना मानन्धर, हरिमाया भेटवाललगायतका कविताहरू पनि टाँसिएका थिए ।

सबै मूर्तिहरूमा कविताको पूर्ण भाव र अर्थ जल्किरहेका थिए । आकर्षक मूर्तिहरूमा अर्थ खोज्न निकै रमाइलो लागिरहेको थियो । सबै मूर्तिहरू मार्मिक र सान्दर्भिक थिए । सबै मूर्तिको अवलोकन गरेपछि हामीले साहित्यकार तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठसँग कुराकानी गर्ने मौका पायौँ ।

भित्ताहरूमा उहाँको बारेमा धेरै लेखिएका थिए । त्यसमा पनि उहाँको आफ्नै भनाइ ‘चिरिएको भित्ता हरेर म साहित्यकारबाट कलाकार भएँ’ ले ममा जिज्ञासा उब्जायो । उहाँसँग कुरा गर्ने मौका छोप्दै उहाँको बाल्यकालको सम्झना गराएँ । उहाँको जीवन र कलाकारिताको यात्रा पनि मूर्तिहरूभैँ आकर्षक रहेछ ।

तेह्र वर्षमै कविता लेख्न सुरु गर्नुभएका श्रेष्ठले फालिएका जरालाई मूर्तिको आकार दिएर मूर्तिकलाको क्षेत्रमा ठूलो योगदान दिनुभएको छ । सिर्जना गर्नका लागि आफूले कहिल्यै रूख नकाटेको उहाँले बताउनुभयो । मूर्ति बनाउँदा रङ पनि जुत्ताको पालिस प्रयोग गर्नुभएको रहेछ । यसरी आफूसँग भएका घरायसी सामग्री, औजार, फालिएका जराभित्र विचित्रको कला झांगिएको यथार्थ थाहा पाइयो ।
विज्ञता कार्की
कक्षाः ९
एम्बिसन एकेडेमी, मध्यबानेश्वर, काठमाडौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.