राज्य निर्माणमा वेदकालीन ऐतिहासिकता 

राज्य निर्माणमा वेदकालीन ऐतिहासिकता 

हाम्रो देशले संघीयतामा प्रवेश पायो जसलाई २०७२ सालको संविधानले लिपिबद्ध गरिसक्यो । तर संघीयताभित्रका स्थानीय तहका संरचना कस्ता हुने हुन् संविधान बनेको एक वर्ष बित्दा पनि कुनै टुंगो लाग्न सकेको छैन । दिनहुँजसो नेपाली राष्ट्रिय छापाहरूमा विभिन्न दलका विचारहरू फेरिँदै छापिएका देखिन्छन् । एउटै दलभित्र पनि प्रष्ट धारणा देखिँदैन । दलका झुन्ड र नेता पिच्छे मत बाझिएका छन् ।

समाजशास्त्रीय दृष्टिकोणले हरेक सामाजिक संरचनामा हुने हरेक घटनाका आफ्नै खालका ऐतिहासिक विशिष्ट सन्दर्भ र कारणहरू हुन्छन् र ती ऐतिहासिक सन्दर्भको कारणको कारण, कारणको कारण खोतल्दै जाँदामात्र सम्बन्धित सन्दर्भको वास्तविक कारण पहिल्याउन सकिन्छ भन्दछ । तर हाम्रा नेता गणहरूले वर्तमानको विशिष्ट ऐतिहासिक जग र त्यसको कारणको गहिराइ खोज्ने ज्ञान प्राप्त गर्नेतर्फ नलागी मात्र सतही तर्कका आधारमा मात्र राज्य संरचनाका तह निर्धारण गर्न खोज्नाले देश समस्या नै समस्या र विवादको घेरामा गुजिँदै गएको छ ।

अहिलेको उत्तर आधुनिक युगमा आइपुग्दा पनि हामीले विशिष्टीकृत गर्न नसकेको राज्यका तहहरूलाई वर्तमानको भन्दा करिब चार हजार वर्ष पहिलाको वेदकालीन समाजले कसरी विशिष्टीकृत गर्दै लगेको थियो त ? त्यो ऐतिहासिकताको खोजी गर्दै वर्तमान नियाल्ने कि ?

राज्यको शासन व्यवस्था र पदाधिकारीहरू

वेदकालीन समाजमा राजाको नेतृत्वमा शासन व्यवस्था चल्थ्यो । राजा चुन्ने चलन वंशाणुगत तथा निर्वाचित दुवै खालको थियो । अयोग्य, अवगुणी र दुराचारी राजा जनताद्वारा पदच्युत तथा निर्वासित हुन सक्थे । वैदिक समयमा सेनापति, पुरोहित र ग्रामणी गरी प्रमुख तीन पदाधिकारीहरू रहने गरेको तथ्य पाइन्छ । सेनानी सेनाको नायक तथा अध्यक्ष हुन्थ्यो र उसको नियुक्ति राजा आफैंले गर्थे । सेनानीको प्रमुख कार्य सैनिक कार्यमा राजालाई सघाउने हुन्थ्यो । पुरोहित राजाको परामर्शदाता एवम् राज्य कर्मचारीको प्रमुख व्यक्ति मानिन्थ्यो ।

पुरोहितले सामूहिक कल्याणका लागि यज्ञ गर्ने, ऋचा तथा मन्त्रद्वारा आफ्नो राजाको विजयको कामना गर्ने, दैवी शक्तिको आह्वान गर्दै राजाको शक्तिको सुरक्षा गर्दथे । पुरोहित धर्मगुरुका साथसाथै राजमन्त्री, पथप्रदर्शक, दार्शनिक र वीर योद्धा हुन्थे । पुरोहितपछि गाउँको मुख्य अधिकारीका रूपमा ‘ग्रामणी' हुन्थे । गाउँको शासनको सम्पूर्ण जिम्मा ग्रामणीको हुन्थ्यो ।

राजाको प्रमुख कर्तव्य शान्तिपूर्वक यज्ञ कर्मको अनुष्ठान गर्ने वातावरण मिलाउने, प्रजा तथा राज्यको सीमा रक्षा गर्ने हुन्थ्यो । राजा सेनाको सर्वोच्च पदाधिकारी हुन्थे । युद्धस्थलमा नेतृत्व गर्ने, धार्मिक उत्सव तथा सामाजिक अवसरको जुलुसको समयमा आफ्नो जनताको प्रतिनिधित्व गर्ने, प्रचलित न्यायविधानअनुसार न्याय दिने र अपराधीलाई दण्ड दिने आदि काम राजाको कर्तव्यभित्र पर्दथे ।

राज्यका निकायहरू

ऋग्वैदिक समाजको प्रारम्भिक इकाइ गृह अथवा कुल मानिन्थ्यो । कुलका प्रमुखलाई कुलपा मानिन्थ्यो । कुलपा परिवारको ज्येष्ठ सदस्यबाट छानिन्थ्यो । घरमा रहने सबै परिवारका सदस्यहरूले उसको अनुशासनभित्र रहनु पर्दथ्यो । ऋग्वेद तथा अथर्ववेदमा गृह शब्दको प्रयोग आवास अथवा घरको अर्थमा भएको छ ।

गृह, कुल तथा परिवारको समूहलाई ग्राम भनिन्थ्यो । ग्रामको नेतृत्व गर्ने व्यक्तिलाई ग्रामणी मानिन्थ्यो । गृह, कुल तथा परिवारका प्रमुखहरूमध्येबाट ग्रामणीको मनोनयन गरिन्थ्यो । ग्रामभन्दा उपल्लो राजनैतिक इकाइलाई विश भनिन्थ्यो । विशका प्रमुख तथा मुखियालाई विशपति भनिन्थ्यो । यहाँ विशको अर्थ बस्ती भन्ने बुझिन्छ ।

वेदकालीन समाजमा राज्य सञ्चालकको एकाइको रुपमा सभा तथा समितिको व्यवस्था भएको तथ्य पाइन्छ । समिति सम्पूर्ण विशको संस्था थियो । जहाँ वयस्क नागरिकहरु सम्मिलित हुन्थे । सभाले राजनैतिक प्रशासनिक न्यायिकलगायतका कार्यहरु सम्पादन गर्दथ्यो । 

ऋग्वेदमा पशुपालन एवम् पशुचरणको अनेक पटक उल्लेख भएको पाइन्छ । आफ्ना पशुहरूको झुन्ड लिएर चरनको खोजीमा घुमिरहन्थे । आर्यहरूको कृषिमा आधारित जीवन पूर्ण तथा व्यवस्थित भइसकेको थिएन । आर्य कविलाहरू कुनै स्थानमा पर बस्ने, फर्किआउने, पुनः प्रवेश गर्ने बस्तीको अर्थमा ऋग्वेदमा विश शब्दको प्रयोग भएको पाइन्छ ।

आर्य आफ्नो आरम्भिक कालमा घुमन्ते जीवन बिताउँदथे । त्यस अवस्थामा घुमन्ते कविला समूहलाई जन भनिन्थ्यो । जन गोत्रमा आधारित सबैभन्दा ठूलो एकाइ मानिन्थ्यो । जनका सदस्य गणका परस्पर रक्त सम्बन्धका नाताअन्तर्गतका हुन्थे । स्थायी रूपमा बसोबास गर्ने थालेपछि कविला प्रमुखका रूपमा मुखिया, पुरोहित तथा अन्य अगुवा रहन्थे । जनले कालान्तरमा बृहत् भौगोलिक इकाइको रूपमा विकसित भई राज्यको रूप ग्रहण गर्दथ्यो ।

वेदकालीन समाजमा राज्य सञ्चालनको एकाइको रूपमा सभा तथा समितिको व्यवस्था भएको तथ्य पाइन्छ । समिति सम्पूर्ण विशको संस्था थियो । जहाँ वयस्क नागरिकहरू सम्मिलित हुन्थे । सभाले राजनैतिक प्रशासनिक न्यायिकलगायतका कार्यहरू सम्पादन गर्दथ्यो । सभाले अदातल तथा न्याय सभाको रूपमा कार्य गर्दथ्यो । यसको प्रमुख न्यायाधीशको रूपमा राजा र सभासद्, न्यायाधीश, प्रहरी साक्षीको रूपमा रहन्थे । समितिले धेरैजसो गैरराजनैतिक कार्य गर्दथ्यो । समितिले विद्वान्हरूलाई जम्मा गरेर दार्शनिक बहस पनि गराउँथ्यो । धार्मिक उत्सव तथा स्तुतिजन्य कार्यमा पनि समितिले सहमति जुटाउने कार्य गर्दथ्यो ।

राज्यका प्रकारहरू

ऐतरेय ब्राह्मणमा वेदकालीन समयमा साम्राज्य, भोग्य, स्वराज्य, वैराज्य परमेष्ठय, महाराज्य, आधिपत्यमय र सामन्तपर्यायी गरी आठ प्रकारका राज्यहरूको चर्चा पाइन्छ । वेदकालीन समयमा साम्राज्य भनेर वर्तमानको जस्तो औपनिवेशिक साम्राज्य नभएर युद्धमा जितेपछि आफूले त्यस राज्यमाथि आधिपत्य नजमाएर हार्ने पक्षलाई नै राज्य फिर्ता दिने चलन पनि हुन्थ्यो त्यस खालको राज्यलाई साम्राज्य भनिन्थ्यो ।

भोग्य राज्यलाई दुई अर्थमा उल्लेख गरिएको छ । एक अर्थमा भोग्य भन्नाले पृथ्वीको नैसर्गिक मर्यादाहरूद्वारा परिवेष्ठित राज्य भन्ने बुझिन्छ । जसले निश्चित भौगोलिक सीमालाई संकेत गर्दछ । भोग्यको दोस्रो अर्थ जनताको आवश्यकता पूर्ति गर्नु र तिनलाई समृद्ध तुल्याउँदै जानु भन्ने बुझिन्छ ।

स्वराज्य भन्नाले संयमी, मानववादी आचारणयुक्त, राजव्यवस्था भएको राज्य भन्ने उल्लेख गरिएको छ । कल्याणकारी राज्यको स्वरूपलाई स्वराज्यको रूपमा लिइएको छ । वैराज्य भन्नाले राजाबिनाको देश तथा राज्यलाई अथ्र्याइएको छ । एउटै भाषा र समान सामाजिक व्यवस्था भएको सानो समुदायले आफ्ना जेठा बूढापाकाको सल्लाहमा आफ्नो समाज व्यवस्था चलाउने राज्यलाई वैराज्यको रूपमा उल्लेख गरिएको छ ।

पारमेष्ठी नामक राज्य व्यवस्थालाई आदि मानव समाज तथा सामाजिक व्यवस्थाको रूपमा चर्चा गरिएको छ । साना-साना र निकै संख्यामा रहेका राज्यहरूले स्वेच्छिक रूपमा एकत्रित भई महासंघ व्यवस्था गर्दथे । त्यस्तो महसंघ स्वरूपको राज्यलाई महाराज्यको रूपमा उल्लेख गरिएको छ ।

कर्मचारीतन्त्रको अधीनमा चल्ने राज्यलाई आधिपत्यमय राज्यको रूपमा चर्चा गरिएको छ । राज्यपति र अधिपति प्रशासन यन्त्रका प्रमुख अधिकृतहरू हुन्थे । तिनै राज्य अधिकारीहरूको अधीनमा चल्ने राज्य व्यवस्थालाई आधिपत्यमय राज्य भनिएको छ । सामन्तको अधीनमा रहने राज्यलाई समन्त पर्यायी राज्यको रूपमा चर्चा गरिएको छ ।

यसबाहेक पनि जनराज्य, गणराज्य र विराट् अविराज्यबारे पनि वैदिक संहितामा चर्चा पाइन्छ । विराट् राज्यको रूपमा हिमाली प्रदेशमा रहेका जनराज्य, भोज भनेर दक्षिण प्रदेशका राज्यहरूलाई संकेत गरिएको छ ।

राज्यको नेतृत्व

वेदकालीन समाजमा राज्यको नेतृत्व कुन वर्गले गर्दथ्यो भन्ने कुरा बुझ्नको लागि त्यस बेलाको वर्ग व्यवस्थाबारे थाहा पाउनु आवश्यक हुन्छ । मूलतः वर्ण व्यवस्थाले त्यस समयमा सामाजिक वर्गको स्वरूप लिएको देखिन्छ । प्रारम्भमा वर्ण, जन्मजात थिएन, वर्गीय रूपमा थियो । त्यस समयमा परिवारको समूहबाट कुल, कुलको समूहबाट ग्राम, ग्रामको समूहबाट विश, विशको समूहबाट जनको निर्माण हुँदै राज्य निर्माणको प्रक्रिया अगाडि बढेको देखिन्छ ।

त्यस समय राज्यको नेतृत्व गर्ने व्यक्तिहरूको समूहलाई राजन्य भनिन्थ्यो । राजा प्रारम्भमा जन्मजात नभएर जनबाट निर्वाचित हुन्थ्यो, पछि राजा हुने प्रक्रिया जन्मजात हुँदै गयो । यसरी हेर्दा राज्यको नेतृत्व राजन्यवर्गले गर्दथ्यो । तर वर्ण व्यवस्था जन्मजात नभएर श्रमका आधारमा निर्माण हुन्थ्यो भन्ने कुरालाई आधार मान्दा विश तथा शुद्र वर्गका मानिस पनि नेतृत्वमा पुग्न सक्दथे भन्ने देखिन्छ ।

आर्थिक हिसाबले हेर्दा विश र शुद्र समूह उत्पादन र सेवा कार्यमा संलग्न हुने र उत्पादन भएको चिज यज्ञमा अर्पण गर्ने गरिन्थ्यो । यज्ञको नेतृत्व पुरोहित (ब्राह्मण) वर्गले गर्दथ्यो भने पुरोहितलाई राजन्यले नियुक्त गर्दथ्यो । जसले गर्दा त्यस बखत खास कुन वर्गको शासन चल्दथ्यो त ? भन्ने जिज्ञासा रही नै रहन्छ । पशुधन तथा जमिन विस्तृतीकरण गर्न युद्ध क्षेत्रमा खटिरहन पर्ने र त्यहीँ प्रक्रियाबाट आफ्नो कुलको रवाफ, सम्पत्ति, सीमा, क्षेत्रको विस्तार हुने भएकाले युद्ध मोर्चामा रहने वर्गले नै राज्यको नेतृत्व लिन्थ्यो भन्ने तर्क गर्न सकिन्छ ।

यसरी वेदकालीन ऐतिहासिकतालाई नियाल्दा वेदकालीन समाजमा परिवार, कुल, ग्राम, विश हुँदै राज्यको स्वरूप निर्माण हुँदै गएको देखिन्छ । राज्यको नेतृत्व गर्ने वर्ग तथा समूहलाई राजन्य भनिन्थ्यो । राज्यको नेतृत्व गर्ने व्यक्तिलाई राजा भनिन्थ्यो । राजा प्रारम्भमा जन्मजात नभई जनताबाट छानिने गर्दथे । राज्य सञ्चालनको आवश्यक खर्च यज्ञमार्फत प्राप्त हुने दान दक्षिणाबाट प्राप्त गरिन्थ्यो ।

यज्ञको नेतृत्व गर्ने वर्ग पुरोहित तथा ब्राह्मण हुन्थ्यो । राज्य सञ्चालनका धार्मिक विधि विधान बनाउने, शक्ति आर्जनको लागि पूजापाठ गर्ने काम पुरोहित वर्गले गर्दथ्यो । उत्पादनमूलक कार्यमा विश वर्ग संलग्न हुन्थ्यो । विश वर्गले उत्पादन गरेको वस्तु यज्ञमा चढाइन्थ्यो । त्यहीँ यज्ञमा चढाइएको वस्तुमध्येबाट पुरोहितको पारि श्रमिक एवम् राज्य सञ्चालनको खर्चको व्यवस्था गरिन्थ्यो ।

शक्ति विस्तारका क्रममा विभिन्न राज्यहरूको बीचमा आपसी द्वन्द्व तथा युद्धसमेत हुने गर्दथ्यो । ऋग्वेदमा दशराज्ञ युद्धको चर्चाले त्यसलाई पुष्टि गर्दछ । युद्ध सफल बनाउन राजाले पुरोहित एवम् सेनापति नियुक्त गर्ने चलन हुन्थ्यो ।

अन्त्यमा वेदको अर्थ नै ज्ञान हो । त्यही ऐतिहासिक तथा मौलिक ज्ञानको खोजी गर्दै त्यसखालको ज्ञान निर्माण गर्ने समाज व्यवस्थाले तय गरेका परिवार, कुल, ग्राम, विश, जनलगायतका राज्यका विभिन्न तहगत संरचनाको सान्दर्भिकतालाई ऐतिहासिक शास्त्रबाट सिक्दै विदेशी प्रभुलाई नगुहारी मौलिकरूपमा राज्यका तह निर्माण गर्न तर्फलाग्दा देशले छिटो गति लिन्थ्यो कि ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.