दुई वर्षदेखि परिचरको भरमा हेल्थपोस्ट
वीरगन्जः पर्साको घोडदौड पिपरा गाविस ८ लक्ष्मीपुरमा रहेको स्वास्थ्य चौकी दुई वर्षदेखि परिचरको भरमा चलिरहेको छ ।
हेल्थपोस्टमा एक हेल्थ असिस्टेन्ट (एचए), तीनजना अहेव, दुईजना अनमी र एकजना परिचर गरी सात कर्मचारीको दरबन्दी छ तर दुई वर्षदेखि परिचर सुरेश राउत कुर्मीकै भरमा हेल्थपोस्ट चलिरहेको स्थानीय जगदीश साहले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयले परिचर पनि नपठाएपछि गाविस कार्यालयले स्थानीय स्रोतबाट मासिक चार हजार रुपैयाँ तलब दिएर कुर्मीलाई हेल्थपोस्टमा राखेको हो ।
सामान्य लेखपढमात्र गर्नसक्ने कुर्मीले नै हेल्थपोस्टमा उपचारका लागि आउने बिरामीलाई हचुवाका भरमा औषधि दिन्छन् । हेल्थपोस्टमा कार्यरत अनमी पुनमदेवी रौनियार सातामा एकदुई दिनमात्र आउँछिन् । अनमी रौनियार प्रायजसो बाहिर नै रहने गरेका कारण परिचर कुर्मीले नै हेल्थपोस्ट चलाइरहेको स्थानीय भिखारी पटेलले बताए ।
‘अनमी रौनियार अधिकांश समय बाहिर नै हुन्छिन्', उनले भने, ‘हेल्थपोस्टमा आउने बिरामीको जाँच र औषधि दिने काम परिचरले नै गर्दै आएका छन् ।'
अनमी रौनियारले आफू एक्लै भएकाले कार्यालयको कामको सिलसिलामा बाहिर जानुपर्दा हेल्थपोस्ट कुर्मीकै जिम्मा लगाएर जाने गरेको बताइन् । कार्यालयकै कामका लागि सदरमुकामका साथै तालिम, गोष्ठी र खोप लगाउन अधिकांश समय फिल्डमा जानुपर्ने भएकाले बाध्य भएर आफू नियमित हेल्थपोस्टमा बस्न नसकेको उनको भनाइ थियो ।
दरबन्दीमा भएका स्वास्थ्यकर्मी र कर्मचारीलाई स्वास्थ्य चौकीमा पठाइदिन जिल्ला जनस्वास्थ्य कार्यालयमा पटकपटक अनुरोध गरेको भए पनि कुनै सुनुवाइ नभएको अनमी रौनियारको गुनासो छ । कुर्मी नआएका दिन हेल्थपोस्ट बन्द हुन्छ ।
स्वास्थ्यकर्मीको अभावका कारण महिनामा १५ दिनजति स्वास्थ्य चौकी बन्द रहने गरेको स्थानीय हरिशंकर कुर्मीले बताए । ‘गाउँमै हेल्थपोस्ट भएर पनि हामीलाई कुनै फाइदा छैन', उनले भने, ‘एक त महिनामा १५ दिनजति बन्द नै रहन्छ, अर्को खुलेको दिन पनि परिचर मात्रै हुन्छन् । उपचार गराउन मनले नै मान्दैन ।'
हेल्थपोस्टको लथालिंग अवस्थाका कारण विशेष अवस्थाबाहेक अधिकांश बिरामीले उपचारका लागि सदरमुकाम वीरगन्ज वा सीमावर्ती भारतीय अस्पतालमा जानुपर्ने बाध्यता रहेको कुर्मीले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख राजकिशोर पण्डितले लक्ष्मीपुरको हेल्थपोस्टमा केही समययता एकजना अनमी र एकजना परिचर मात्रै कार्यरत रहेको बताए ।
‘त्यहाँको हेल्थपोस्टमा स्वास्थ्यकर्मीको समस्या छ । म पनि यो स्वीकार्छु', उनले भने, ‘लोकसेवा परीक्षाको परिणाम आएपछि कर्मचारीको समस्या सामाधान हुन्छ ।'