बढ्दैछ नेपालमा विषादी प्रयोग
काठमाडौंः मानव स्वास्थ्यलाई हानि गर्ने विषादीको आयात दर नेपालमा बर्सेनि बढ्दो क्रममा छ । खाद्यान्न र तरकारीमा अनियन्त्रितरूपमा प्रयोग हुने विषादीको परिमाण घटाउँदै लैजाने भन्दै सरकारले १९ वर्षदेखि ठूलो लगानीमा राष्ट्रिय एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम (आईपीएम) सञ्चालन गरेको छ । तर, त्यसयता विषादीको आयातदर घट्नुभन्दा बढ्दै गएको छ । यसरी बर्सेनि आयातदर र प्रयोगदर बढ्दै जानुले विषादी नियन्त्रण गर्ने कार्यक्रम असफल भएको पुष्टि हुन्छ ।
किसानले विषादी खाद्यान्नसहित हरियो तरकारीमा प्रयोग गर्दै आएका छन् । यस्ता विषादीयुक्त खाद्यान्न र तरकारीको नियमित उपभोगले बाँझोपन, क्यान्सर, ट्युमर, मृगौला, आँखाको ज्योति गुम्ने, अपांग बच्चा जन्मिने, प्यारालाइसिससहित अन्य प्रकारका दीर्घकालीन रोग लाग्ने सम्भावना हुन्छ । यस्तै विषादीको सम्पर्कमा आउँदा तत्कालै रिंगटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, छाला चिलाउनेलगायतका समस्या देखा पर्छ ।
सरकारले २०५४ सालदेखि अत्यधिक परिमाणमा विषादी प्रयोग हुने जिल्लामा आईपीएम कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम कार्यान्वयन भएका जिल्लामा विषादीको प्रयोगदर घट्दै जानुपर्नेमा बढ्दै गएका कारण आयात वृद्धि हुँदै गएको हो । यसका कारण गत आर्थिक वर्ष २०७०÷७१ मा ५५ करोड १९ लाख मूल्यबराबरको चार लाख ५४ हजार पाँच सय ९६ किलो विषादी नेपाल आयात भएको छ ।
‘यो तथ्यांकले विषादीको प्रयोग घट्नुभन्दा बढ्दै गएको पुष्टि गर्छ', वातावरण तथा विषादी विज्ञ डा. भुपेन्द्र देवकोटाले भने, ‘किसान आम उपभोक्ताको स्वास्थ्यप्रति सचेत र इमान्दार नभएका कारण विषादी प्रयोग बढ्दै गएको छ ।'
उनका अनुसार आईपीएम कार्यक्रम सञ्चालनमा रहे पनि किसानमा इमान्दारिताको अभावका कारण विषादीको प्रयोग घट्न नसकेको हो । केही किसान आफ्नो स्वास्थ्यप्रति सचेत भएर विषादी नभएको तरकारी उत्पादन गर्दै आएका छन् । तर, व्यवसायिक रूपमा उत्पादन हुने तरकारी र खाद्यान्न उत्पादन गर्दै आएको अध्ययनको क्रममा भेटिएको डा.देवकोटाले अन्नपूर्णसँग भने ।
नेपालमा पहिलो पटक सन् १९५२ मा स्वास्थ्य मन्त्रालयले पहिलो पटक आधिकारिकरूपमा डीडीटी भन्ने विषादी आयात गरेको थियो । त्यसपछि नेपालमा विभिन्न मुलुकबाट विभिन्न महामारी रोग नियन्त्रण गर्न र बालीनालीमा लाग्ने कीरा नियन्त्रण गर्ने नाउँमा विषादीको आयात हुन थालेको हो । विषादी छाला, श्वासप्रश्वास, आँखा र मुखबाट मुख्यगरी मानव र जनावरको शरीरमा प्रवेश गर्छ । यस बाहेक माटो, पानी, हावा, खाद्यान्न र तरकारीको माध्यमबाट पनि मानव शरीरमा प्रवेश पाउँछ ।
नेपालमा सबैभन्दा बढी तरकारीमा विषादीको प्रयोग हुँदै आएको छ । प्रतिहेक्टरमा एक हजार ६ सय पाँच ग्राम विषादी तरकारीमा प्रयोग हुन्छ । निर्देशनालयका अनुसार तरकारीमा ९५ प्रतिशत किसानले रसायनिक विषादी प्रयोग गर्दै आएका छन् । आयात हुने कुल विषादीको परिमाणमध्ये ८५ प्रतिशत विषादी बारा, काभ्रे र धादिङका किसानले तरकारीमा प्रयोग गर्दै आएका छन् ।
बाली संरक्षण निर्देशनालयका वरिष्ठ अधिकृत राजीवदास राजभण्डारीका अनुसार अन्य मुलुकको तुलनामा नेपालमा विषादीको प्रयोग न्यून भए पनि सुरक्षित र सन्तुलित रूपमा प्रयोग नभएका कारण नेपालमा विषादीको प्रयोग भयावहरूपमा देखिएको हो । दक्षिण कोरियामा प्रतिहेक्टरमा १६ किलो, जापानमा प्रतिहेक्टर ११ किलो, अमेरिकामा डेढ किलो र युरोपमा एक किलो नौ सय ग्रामको हाराहारीमा विषादी प्रयोग भए पनि ती मुलुकमा विषादीबाट उत्पन्न हुने प्रकोप भने न्यून छ ।
‘विकसित मुलुकका किसानले सचेत भएर संतुलित परिमाणमा मात्रै विषादी प्रयोग गर्ने भएकाले ती मुलुकमा विषादीको प्रकोप नगण्य भेटिएको हो', राजभण्डारीले भने । नेपालमा सबैभन्दा बढी तराईमा प्रतिहेक्टर नौ सय ९५ ग्राम विषादी प्रयोग हुन्छ । उपत्यका क्षेत्रमा चार सय ७० ग्राम र पहाडी क्षेत्रमा तीन सय १४ ग्रामको हाराहारीमा विषादीको प्रयोग हुँदै आएको छ ।
नर्वेजियन सरकारको (हालको प्रचलित बजार मूल्यअनुसार) करिब ४५ करोड नेपाली रुपैयाँको आर्थिक सहयोग तथा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को प्राविधिक सहयोगमा सम्झौताअनुसार २०७० सम्म आईपीएम कार्यक्रम सञ्चालनमा थियो । अहिले ती दुवै निकायको सम्झौता अवधि सकिएपछि सरकारको आफ्नै स्रोतमा सञ्चालनमा छ ।
अर्गानिक उत्पादनमा जोड
विषादीयुक्त खानपानले मानव स्वास्थ्यमा असर पुर्याएको भन्दै विज्ञहरूले अर्गानिक उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । राजधानीमा मंगलबार सेवा नेपालले ग्रिन एक्सन विक कार्यक्रमको शुभारम्भ गर्दै उनीहरूले विषादी र मिसावट नभएको खानपानमा ध्यान दिन सुझाव दिए ।
सेवाका अध्यक्ष कल्याणी साहले विषादीका कारण हुने तत्कालीन र दीर्घकालीन घातक रोगबाट जोगिन अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताए। साहले विषादीको प्रयोगका कारण उपत्यकाको भक्तपुरका अधिकांश किसानमा बाँझोपनको समस्या भेटिएको जानकारी दिइन् ।