एउटा असल व्यक्तिको प्रयास
![एउटा असल व्यक्तिको प्रयास](https://annapurnapost.prixacdn.net/media/albums/Badri-Pokharel-580add79ce1332.67672308_rW7ikP3Ta1.jpg)
नेपालीमा लेखिएको अथर्ववेद, ल्यान्स् आमस्ट्रङको इट इज नट एवाउट द वाइक, ट्रान्स्परेन्सी इन्टरनेसनल नेपालले प्रकाशित गरेको प्रवृत्ति कथा संग्रह र सर्वोदय सेवा आ श्रमले निकालेको मानसाग्निको स्वधर्म भन्ने किताब निकै पठनीय रहेछन् । पढेका किताबले मान्छे ठूलो काम गर्न सक्छ तर उसलाई असल बन्न कठिन पर्छ भनेर किताबमा विश्लेषण गरेको पाइयो ।
असल कसलाई भन्ने ? उत्तर पाउन गाह्रो छ । तथापि, सम्बुद्ध चेतनाका साथ विवेकपूर्ण न्यायमा अडेर समतामयी जीवन र दिव्य विचार दिन सक्ने मान्छे असल हो भन्न सकिन्छ । तर सम्बुद्ध चेतना र विवेक पूर्ण न्यायको परिभाषा विषयगत कुरा भएकाले परिभाषा गर्नेहरू फरकफरक भएअनुसार असल मान्छे पनि फरकफरक नै हुन्छ ।
प्रथमतः असल हुन मान्छेको सोच ‘तन्मे मनः शिवसंकल्पमस्तु’ हुनुपर्छ । अहिलेको मान्छे आफ्नो स्वार्थको लागि अर्काको अहित हुने काम गर्न पछि नपर्ने र प्राप्तिबाट नअघाउने स्वभावका कारण असन्तुष्टि र दुष्कर्मतिर प्रवृत्ति बढाइरहन्छ । शरीरले गर्न नसके पनि मनले अपसोचहरू लिइरहन्छ ।
के कारणले म र मेरो कार्य सफल भइरहेको छैन भन्ने नसोचेर आफ्नो काम साध्न जुनसुकै अपकार्यको पनि चिन्तन गरिरहन्छ । यद्यपि विचार भनेको वैयक्तिक चिन्तन हो । माक्र्स भन्छन् -विचारले समाजलाई र समाजले विचारलाई प्रभावित गरेको हुन्छ ।
त्यसैलाई विचारविद्हरू द्वन्द्वात्मक प्रक्रिया पनि भन्ने गर्दछन् । व्यक्तिको विचारलाई धेरैले स्वीकार गर्न थाले पनि त्यो विचार सामूहिक र संस्थागत हुन थाल्दछ । तर त्यो स्थितिमा आउन धेरै पटक धेरै तहका सकारात्कमक सोचहरू आउन जरुरी हुन्छ ।
सोचअनुसार कर्म बन्दै जान्छ । सकारात्मक, सहयोगी र चिन्तनशील सोचले अनुकूल फल प्रदान गर्ने कर्मतिर प्रवृत्ति गराउँदछ । एउटै मान्छे हजारौं र लाखौं मान्छेका प्रेरणादायी स्रोत बन्न सक्छ । उसका कर्मले सत्कर्मतिर मार्ग निर्देश गर्न सक्छ । कर्मको स्रोत चिन्तन हुने भएकाले राग र लिप्सारहित सच्चाइको मनोभावले केही गरेर देखाउने प्रेरणा जगाउँछ ।
प्रेरणाका दुई बाटा बन्न सक्छन् - एउटा बाटो दिग्भ्रमित र अन्य मनष्कहरूलाई यात्रा तय गर्ने प्रेरणा दिने र अर्को बाटोले स्वविचारलाई साधु र ज्ञानीको रूपमा स्थापित गरेर जोगी बन्ने वा एकान्त वास गर्नेतर्फ उत्प्रेरित गराउन सक्छ । जेहोस् कर्मले जीवनलाई एउटा दृष्टि भने अवश्य दिन्छ । उपलब्धता कर्मको फल हो । कति कर्म गर्न सकिन्छ, उपलब्धि वा फल पनि त्यसैअनुसार प्राप्त हुन्छ ।
जीवनलाई सार्थक बनाउनु मानव जातिको एक मात्र अभीष्ट हो । सोचेर, बोलेर, लेखेर जसरी पनि आफ्नो सत्ता—अस्तित्वलाई समाज हितमा समर्पण गर्नु जीवनको सार्थकता हो ।
असल कर्मका उपलब्धि वा फल पनि त्यसैअनुसार प्राप्त हुन्छ । असल कर्मका उपलब्धि अनुकरणाीय, सुखद र अरूका लागि प्रेरणादायी हुन्छन् । दुष्कर्मले त्यसको विपरीत उपलब्धि हात पर्दछ । संसारकै अनुकरणीय ऐतिहासिक व्यक्तित्व बन्ने, ठूला विद्वान् र दार्शनिक हुने, राष्ट्रका इतिहास निर्माण गर्ने प्रशासक वा व्यवस्थापक वन्ने, समाज सुधारक हुने जे पनि बन्न सक्छ ।
एउटा सामान्य गृहस्थीमात्र भए पनि उसका कर्मको जताततै प्रशंसा हुने जस्ता उपलब्धिहरू कर्मकै उपज हुन्छन् । बिहानैदेखि रक्सीका नशामा लाग्ने, चोरी गर्ने फट्याइ गर्ने, धोका दिने, बाबुआमाको अनादर गर्ने, असल कामको विरोध गर्ने, कुतर्क गर्ने जस्ता कामहरूको फल अत्यन्त छोटो समयको लागि फाइदा दिने देखिएछ भने पनि कालान्तरमा दुःखदायी र जीवनकै लागि घातक हुन्छ ।
यस्तै सोच कर्म र उपलब्धिको विश्लेषण हालै प्रकाशित एउटा पुस्तक मानसाग्निको स्वधर्ममा निकै विशद र मननीय ढंगबाट भएको छ । स्वधर्म भित्र पर्ने शरीरयोग, विश्वयोग र अनादि योगको विश्लेषण शास्त्रीय, भौतिक, व्यावहारिक एवं प्रयोगसिद्ध अनुभूतिहरूको बेजोड समायोजनका साथ गरिएको छ ।
शरीरयोग
पवित्र हुँदाहुँदै पनि केही मान्छेहरूले शरीरलाई पापको रूपमा व्याख्या गरेर क्रमशः मानव जातिलाई नै परधर्मी बनाएका छन् । त्यसो हुँदा अध्यात्म र भौतिक विज्ञानका बीचमा ठूलो पर्खाल ठडिएको छ । आध्यात्मिक वा भौतिक दुवै पक्षबाट दृश्य सत्ताको केन्द्र शरीरलाई नै मानेकाले शरीरलाई दूषित हुनबाट जोगाएर असल र परोपकारी काममा लगाउनु पर्दछ ।
अथर्व वेदमा भनिएको छ — शरीर देवनगर अयोध्या भएकाले नै अष्टचक्र, नवद्वार र ज्योतिर्मय आत्माको त्रिकोणका रूपमा स्थापित छ । अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय, आनन्दमयजस्ता पञ्चकोषका दृष्टिले हेर्दा वा जाग्रत स्वप्न सुषुप्तिका दृष्टिले पनि शरीर महत्वपूर्ण नै छ ।
शरीरभित्रका मुटु, कलेजो, फोक्सो, मिर्गौलाजस्ता मेसिनहरूको संयुक्त सञ्चालनबाट शरीर सञ्चालन हुन सकेको भन्ने आधुनिक भौतिक र शरीर विज्ञानको सोच पनि अथर्ववेदको विश्लेषणभन्दा फरक छैन । शरीरयोग कर्मयोगको बृहत् स्वरूप पनि हो । शरीरको माध्यमबाट नै भौतिक र अभौतिक कर्महरू सम्पादन हुन सक्तछन् । योग र भोग दुवै शरीरले नै गर्ने कुरा हुन् । त्यसैले शरीरको संरक्षण गरी सधैं सत्कर्मतिर उत्प्रेरित गर्नुपर्दछ ।
विश्वयोग
विश्वयोग मानसाग्निको दोस्रो बेजोड सूत्र हो । विश्वब्रह्माण्ड सम्पूर्ण प्राणी जगत्को आधारभूमि हो । विराट शरीरको एक हिस्सा हो । यसलाई जति प्राकृतिक स्वरूपमा राख्न सक्यो सबैको कल्याण त्यसैमा निहित छ । प्रदूषण, धुलो, दुर्गन्ध, वातावरण परिवर्तन, जाडो गर्मीको समय परिवर्तन, ब्रह्माण्डलाई शुद्ध पार्न नसकिएकाले भएको विकार हो ।
मानसाग्निको स्वधर्मका अनुसार इडा र पिंगलाको दिव्य आलिंगनबाट तन्त्र चैतन्यको सुषुम्ना प्रवाहित भएर विवाह हुनु पर्नेमा पतिपत्नीबीच झगडा गर्ने अनुमतिपत्र भएको छ र सन्तान जन्माउने चैतन्य बोधको उच्चतम प्रयोग नभएर बेहोसीको मनोरञ्जन भएको छ । यसै कारणले आम-बाबु, छोराछोरीका बीच हुनुपर्ने आत्मिक सम्बन्धमा ह्रास आएको छ । विश्वयोगको माध्यमबाट यी सबै विकृतिलाई परास्त गर्दै विश्वको विशालता र विराट स्वरूपको मनन गरी बह्माण्डलाई प्रेमशान्ति र सुरक्षा दिएर आध्यात्मिक एवं भौतिक समुन्नतितर्फ अघि बढ्नु पर्दछ ।
अनादि योग
भौतिक र आध्यात्मिक दुवै जगत्ले मानिआएको अनादि सत्ता भनेकै जगत् र जीव हो । सृष्टि स्थिति प्रलय सबै नै अनादि सत्ताकै विविध रूपको अभिव्यक्ति हो । अर्थशास्त्र भन्दछ— रूप परिवर्तन, स्थान परिवर्तन र समय परिवर्तन नै उत्पादन हो । अर्थात् दुनियाँमा भएकै वस्तुलाई नै रूप, स्थान र समय परिवर्तन गरिदिए पछि उत्पादन हुन्छ ।
पिठोको उत्पादन गहुँको सत्तामा अन्तरनिहित छ । जन्मेपछि मर्नुपर्छ भन्ने बोध आध्यात्मिक र भौतिक दुवै जगत्मा समान छ । अनादि सत्ता सनातन सत्य हो । विश्व ब्रह्माण्डमा जे जति वस्तु देखिन्छन् र नासिन्छन् त्यो अनादि सत्ताकै रूप, स्थान र समय परिवर्तनकै दृश्य हो । यो बुझ्नु नै महाज्ञान वा सम्बोधि हो । नलेज हो ।
विश्वका दार्शनिक, विद्वान, साधक यै वास्तविकतामा टेकेर विराट अभिव्यक्तिको विरोध नहुने गरी आआफ्ना तर्क प्रस्तुत गर्दछन् । सत्ताको थोरै ज्ञानले पनि अन्धकार वा अज्ञानलाई हटाउन सकिन्छ । योग त्यो ज्ञान प्राप्तिको पहिलो आधारभूत चरण हो । त्यो योग नै कर्मयोग, भक्तियोग, राजयोग हो । विद्वान र दार्शनिकहरू त्यसैलाई शरीर योग, विश्वयोग, अनादियोग पनि भन्ने गर्दछन् ।
जीवनलाई सार्थक बनाउनु मानव जातिको एक मात्र अभीष्ट हो । सोचेर, बोलेर, लेखेर जसरी पनि आफ्नो सत्ता-अस्तित्वलाई समाज हितमा समर्पण गर्नु जीवनको सार्थकता हो । सामान्य हिसाबमा सबै जन्मन्छन्, बाँच्छन् तर जन्म र जीवनलाई सार्थक उपयोगी र सन्तुष्ट बनाउन केही न केही भिन्न विचारको चिन्तन अघि सार्नुपर्ने हुन्छ । त्यही चिन्तनको पूर्वाभ्यास मानसाग्निको स्वधर्मले गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)