यो पनि काठमाडाैं
‘उमेर ४० वर्ष भो । कर्णालीका जुम्ला, मुगु, कालीकोट सबैतिर गइयो, गाडी लिएर । यस्तो डरलाग्दो बाटोमा आजसम्म गाडी हाँकेको थिइनँ', स्कोरपियोको स्टेरिङ घुमाउँदै पुरुषोत्तम घिमिरे (स्वामी) ले भने ।
घिमिरे ड्राइभिङ सिटमा थिए । बायाँपट्टि अगाडिको सिटमा थिए– काठमाडौंको त्यसै क्षेत्रका सांसद् रामेश्वर फुयाल । उनले थपे, ‘यो काठमाडौंको कर्णाली हो । हाम्रो आलापोट, भद्रबासभन्दा यो ठाउँ ३०/३५ वर्ष पछाडि छ ।' माननीय फुयालले यसोभन्दा लाग्यो– यो ठाउँसँग तुलना गर्दा कतै कर्णालीको मानहानी पो हुन्छ कि !
राजधानी काठमाडौंकै नगरपालिकाको एक भाग हो– ओखरेनी । गोकर्णेश्वर नगरपालिकाको एकछेउ हो– जोरपाटी । त्यसैको अर्को छेउमा पर्छ– ओखरेनी । माननीय फुयाल भन्दै थिए– ‘यो नगरपालिकाकै १ नम्बर वडामा पर्छ । जोरपाटीको वडालाई जति बजेट विनियोजन हुन्छ, ओखरेनीलाई पनि त्यत्तिकै बजेट छुट्टिन्छ । यहाँका मान्छेले बजेटमात्र खर्च गर्न सक्ने हो भने यहाँको अनुहारै फेरिन्छ ।'
सुन्दरीजलस्थित मेलम्ची खानेपानीको निर्माणाधीन भवनबाट उकालो लागेपछिको सात किलोमिटर सडक अत्यन्त साँघुरो छ । त्यो बाटोमा ढुंगा ओच्छ्याएको त छ, धेरै ठाउँमा वर्षाको पानीले बगाएको छ । बागमती नदीको किनार भएर जाने हुनाले सडक ओसिलो पनि छ ।
उकालो चढ्ने ठाउँका साँघुरा मोडहरू अत्यन्त अप्ठेरा छन् । ‘फोर ह्विल अलि दबाएर हाँकौं, तल छुन्छ । नलगाउँ, तान्दै तान्दैन', गाडी हाँकिरहेका घिमिरेले हैरानी पोखे । अत्यन्त साँघुरो कच्ची हिले (धुले) सडकले यो नगरपालिका घोषणालाई नै उपहास गरिरहेको छ ।
काठमाडौं महानगरपालिकासँग जोडिएको जोरपाटीदेखि ओखरेनीसम्मको दूरी २६ किलोमिटर मात्र छ । अझ सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको भवनबाट यहाँ पुग्नमात्र सात किलोमिटर दूरी तय गर्नुपर्छ । ओखरेनीबाट साँझ परेपछि भक्तपुर सहरको झिलिमिली प्रस्टै देखिन्छ तर बत्तीमुनिको दोछायामा हराउँदै आएको ओखरेनीको अवस्था देख्दा यत्ति नजिकै हो भनेर पत्याउनै मुस्किल पर्छ ।
पहिले सुन्दरीजल गाविसको १, २ र ३ नम्बर वडा थियो, अहिले ती सबै मिलाएर गोकर्णेश्वर नगरपालिकाको १ नम्बर वडा बनेको छ– ओखरेनी । वरिपरिबाट शिवपुरी राष्ट्रिय निकुञ्जले घेरेको उक्त वडामा करिब २५ सय जनसंख्याको बसोबास छ । अझ त्यसै भेगको वडा नम्बर २ को मूलखर्कसमेत जोड्दा त जनसंख्या करिब चार हजार पुग्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज बनेपछिका डेढ दशकमा अन्य काँठ क्षेत्रमा भएको विकास यहाँ अझै प्रवेश गर्न सकेन । यो जस्ताको तस्तै रह्यो ।
नेताजी आएर यसो गर्छु, उसो गर्छु भन्नुहुन्छ । चुनावका बेला खसी काटेर खुवाउनुको साटो भूकम्पपछि एक छाक राहत दिएको भए हुन्थ्यो नि । राम्रो काम गर्ने हो भने आउनुस्, नत्र ओखरेनीलाई फर्केर पनि नहेर्नुस् ।
बहुसंख्यक तामाङ, केही शेर्पा, नेवार र खत्रीहरूको बसोबास छ ओखरेनीमा । समग्र विकास सेवा केन्द्रले आयोजना गरेको सार्वजनिक सुनुवाइमै वडा नागरिक मञ्चका अध्यक्ष रहेका श्रीकृष्ण तामाङले प्रश्न उठाए, ‘तामाङको ठाउँ भनेर राज्यले पनि ठग्दो रहेछ । माग्न जान्दैन भनेर ठगेको हो कि !' उनको कुरा सुन्दा समावेशी लोकतन्त्रको प्रभाव चाहिँ त्यहाँ राम्ररी परेको देखियो । ‘चुनावका बेला हामी दुईचार पैसा र थोरै मासुमा बिक्यौं, ओखरेनी पछि पर्नुको कारण त्यो पनि हो', उनले भने ।
ओखरेनीले अहिले सहरका युवाहरूका लागि रक्सी र गाँजा उत्पादन गर्ने थलोका रूपमा बदनामी बेहोर्दै आएको छ । यो प्रहरी प्रशासनको पैसा कमाउने विषय बनेको पनि स्थानीयहरू निर्धक्कसँग बताउँछन् । ‘जंगलभित्र बस्नुपर्ने बाध्यता छ । बाघको मुखको दाउरा, नागको मुखको पानी र साहूको मुखको कोदो पनि यहाँका मान्छेले खान पाउँदैनन् ।
उल्टै प्रहरी प्रशासनलाई महिनावारी उठाएर दिनुपर्छ', मध्यवर्ती क्षेत्र (बफर जोन) को अध्यक्ष रहेका मूलखर्कका शेरबहादुर तामाङले भने । उनले गाँजा बेच्न पाउनुपर्ने पनि जिकिर गरे । ‘मूलखर्क, ओखरेनीको गाँजा दुईचार पैसा दिएर खान्छन् भने किन टाउको दुखाउने ?
कोही गाँजा खाएर मरेको पनि त थाहा छैन', उनले भने । उनले भर्खर गाँजा रोपेको बेलामा ‘बजेट पचाउन' आउने प्रहरी अहिले गाँजा पाकेको बेलामा बोलाए पनि नआउने बताए । यहाँका बासिन्दाले बाटो बनाउँदादेखि घाँसदाउरा गर्दासम्म निकुञ्जसँग अनुमति लिनुपर्छ ।
यहाँका पुरुषहरू दिउँसै मातेका हुन्छन्– मादक पदार्थ सेवन गरेर । अन्तरसंवादमा सांसद् रामेश्वर फुयालले बोलिरहेका थिए, हलमा उपस्थित मदमस्त स्थानीय युवाहरू बीचैमा हल्ला गरेर हाँस्दै सही थाप्थे, ‘हो बाज्या हो, कुरो सही हो ! हाम्रो बाज्याले कस्तो राम्रो भन्यो ।'
रक्सी व्यापार नै यहाँको मुख्य आयस्रोत बताउने स्थानीय शोभा खत्रीले भनिन्, ‘रक्सी व्यापारमा त लागेका छौं तर जर्किनका जर्किन रक्सी प्रहरीले खोसेर खोलामा फाल्दिएको छ । रक्सी व्यापारको साटो के गर्ने भन्ने विकल्प चाहिँ दिइएको छैन ।' शोभाका अनुसार, त्यहाँका दिदीबहिनीले रक्सीको भारी बोकेर सहर झर्नुपर्छ तर बाटोको व्यवस्था नहुँदा भारी बोक्न पनि गाह्रो परेको छ ।
अर्की स्थानीय महिला शर्मिला खत्री विकासका लागि पैसा आएको बेलामा पुरुषहरूले महिलालाई ढुंगा बोक्न पनि नदिएको गुनासो गरिन् । ‘श्याम तामाङ बाटोको अध्यक्ष थिए । हामी ढुंगा बोक्न गयौं, उनले हामीलाई ठट्टा गरेर काम भाँडे भनेर काम गर्न दिएनन् । पैसा नभएको बेलामा चाहिँ श्रमदानका लागि दिदीबहिनी किन चाहियो, हाम्रो नाम पनि नलिनुस्', उनले भनिन् ।
श्रीकृष्णका अनुसार त्यहाँ ५० रोपनी जग्गा हुनेलाई पनि आफ्नो उत्पादनले खान पुग्दैन । गाउँमा सात कक्षासम्म पढाइ हुने ईश्वरी निमावि छ । त्यसभन्दा माथि पढ्ने विद्यार्थी बिहान ७ बजे हिँड्छन्, अँध्यारो भएपछि घर फर्कन्छन् । गाउँमा स्वास्थ्य, शिक्षा र यातायातको सुविधा छैन । महिला अस्पताल नपुर्याई बाटैमा सुत्केरी हुन्छन् ।
बिरामी अस्पताल लैजान स्ट्रेचर छैन । अझै पनि झाडापखालाले मान्छे मर्छन् रे, त्यहाँ । स्थानीय शोभा खत्रीले भनिन्, ‘यहाँमाथि सुकमाया तामाङ भन्ने एकजना दिदीको घर भूकम्पले भत्काइदिएको छ । उहाँका श्रीमान् विदेशमा हुनुहुन्छ । उहाँले १५ हजार राहत पनि पाउनुभएको छैन । कार्ड पनि बनाएको छैन । उहाँलाई राहत दिनुपर्यो ।'
स्थानीय महिला शर्मिला खत्रीले दौरा, सुरुवाल, कोट र टोपीमा ठाँटिएका सांसद रामेश्वर फुयालतिर हेर्दै भनिन्, ‘नेताजी आएर यसो गर्छु, उसो गर्छु भन्नुहुन्छ । चुनावका बेला खसी काटेर खुवाउनुको साटो भूकम्पपछि एक छाक राहत दिएको भए हुन्थ्यो नि । राम्रो काम गर्ने हो भने आउनुस्, नत्र ओखरेनीलाई फर्केर पनि नहेर्नुस् ।'
स्थानीय बासिन्दाको बुझाइमा त्यहाँको विकासको सबैभन्दा बाधक भनेको निकुञ्ज नै हो । श्रीकृष्णले भने, ‘शिवपुरी राष्ट्रिय निकुञ्जको जञ्जिर तोड्न सक्यौं भने विकास गर्न सक्छौं ।' कांग्रेस वडासभापति नारायण श्रेष्ठले सुनाए, ‘२०५८ मा राष्ट्रिय निकुञ्ज भएको, पोहोर चैतमा बल्ल ‘बफर जोन' घोषणा गरियो । त्यो पनि यहाँ सेनाको मनोमानी चल्छ ।
अस्ति भर्खर दुईजना सैनिक आए, बिनाअनुमतिका बन्दुक छन् रे भन्दै घर खानतलासी गरे । यस्तो खराब बाटो छ, त्यसमा एउटा गाडी ल्याउँदा पाँच सय ६५ रुपैयाँ तिर्नुपर्छ । तिर्नुपर्ला भनेर रातिराति लुकेर ल्याउँछौं ।'
यस्तै पीडा नै पीडा छन् ओखरेनीवासीका । स्नातक गरेका युवा पनि रक्सी बेच्न बाध्य भएकाले यसैका लागि किन पढ्नुपर्यो भन्दै पढ्न छाडेको यथार्थ सुनाए- अध्येता लक्ष्मण आचार्यले । शिक्षामा विद्यावारिधि गर्दै गरेका आचार्यले सुनाए, ‘यो ठाउँ हुम्ला-जुम्लाभन्दा कम छैन । बीए पास गरेका युवाले पनि रक्सी बेच्नुपर्ने अवस्था छ । पढेर पनि रक्सी नै बनाउने हो भने किन यत्ति धेरै दुःख गरेर पढ्ने भन्ने चेतले बीचैमा विद्यालय छाड्ने धेरै छन् ।'
सांसद् रामेश्वर फुयालले आफू ४५ वर्षअघि पहिलोपल्ट ओखरेनी देखेको बताए । उनले हिजोभन्दा ठूलो परिवर्तन आएको बताउँदै भने, ‘हिजो र आजमा ठूलो परिवर्तन छ । २०४६ सालको परिवर्तनपछि काँठमा विकासको लहर चल्यो । यो बाटोघाटो बिजुली २०५४ सालपछि आएको हो । त्यसपछि द्वन्द्वले असर गर्यो ।
म पनि सन्तोष त मान्दिनँ तर चार वर्षबीचमा पनि ठूलो परिवर्तन आएको छ । ईश्वरी निमाविमा माध्यमिक तह चलाउने स्वीकृति प्राप्त भए पनि चलाउन सकिएको छैन ।'