काठमाडौंमा जापानी ज्याज
काठमाडौं: चर्चित जापानी गायक सदाउ वातानावेले शनिबार राजधानीको आर्मी अफिसर्स क्लबलाई संगीतमय बनाए । ज्याज संगीतमा विश्वचर्चित बनेका वातानाबेको ब्यान्डले भरिभराउ दर्शकलाई जुरुक्क हुने गरी प्रस्तुति दिए ।
उमेरले ८० नाघिसकेका वातानावेको संगीत ऊर्जाले हलमा भएका युवालाई तताएको थियो । सेक्सोफोनमा नेपाली गीत 'रेशम फिरिरी' को संगीत गुञ्जिन थालेपछि दर्शक झनै उत्साही बने । सुरुआतमै उनले नमस्ते भनेर सम्बोधन गरे ।
ब्यान्डका सबै सदस्यले परिचय दिँदा नेपाली शैलीमा नमस्ते गरेका थिए । नेपालीलाई आफ्नो बनाउन कुनै कमी नछोडी वातानाबेले सांगोमा, अलानाके, यसटर्डे, सिम्प्याथी, पेनबियालगायतका संगीत सुनाए ।
नेपाल-जापान कूटनीतिक सम्बन्ध ६० वर्ष पुगेको अवसरमा सांगीतिक कार्यक्रम गरिएको हो । जापानी दूतावासले गरेको कार्यक्रममा आइतबार पनि वातानावेले यस्तै प्रस्तुति दिनेछन् । दर्जनौं सांगीतिक एल्बम निकालिसकेका वातानावेले विश्वका थुप्रै प्रसिद्ध ठाउँमा ज्याज संगीत प्रस्तुत गरेका छन् । सेक्सोफोनमा पारंगत उनी बाँसुरीमा पनि उत्तिकै दक्ष छन् ।
ब्यान्डका अकिरा ओनोजुका, ताकासी योफु, कोइची ओसामु, मासाहरु इसिकावा र एन डियाज नियांगले उनलाई साथ दिएका थिए ।